शिक्षा मन्त्रलय र नेपाल शिक्षक महासंघले परीक्षा सार्न नमानेपछि सरकार र अस्थायी शिक्षकहरुको वार्ता निस्कर्ष वीहिन बन्न पुगेको छ । शिक्षा मन्त्रालयमा ६ घण्टासम्म चलेको वार्तामा प्रमुख तीनदलका प्रमुख सचेतक, महासंघका प्रतिनिधी, शिक्षा मन्त्रालयका कर्मचारी र अस्थायी शिक्षकहरुको सहभागिता रहेको थियो।
शिक्षा मन्त्रालय र शिक्षक महासंघले शिक्षा ऐनको नवौं संशोधनको प्रक्रिया अगाडी बढे परीक्षा आफै सर्ने तर त्यो बिना कुनै हालतमा परीक्षा सार्न नमिल्ने अडान लिएपछि शुक्रवारको वार्ता निस्कर्षमा पुग्न नसकेको हो।
दिउँसो एक बजे देखि शुरु भएको वार्ता साँझ साढे सातबजेसम्म चलेको थियो। वार्तालाई निर्णायक बनाउने र आजै अस्थायी शिक्षकको आमरण अनशन तोडाउने उद्देश्यका साथ कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेकहरु समेत संलग्न वार्ता दुवैपक्षले आ–आफ्नो अडान नछाडेपछि सहमतिमा पुग्न सकेन।
वार्तामा अस्थायी शिक्षकहरुले भाद्र ३ गतेको परीक्षा कुनैहालतमा सार्नुपर्ने अडान राखेका थिए भने शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल र महासंघका नेताहरुले शिक्षा ऐनको संशोधन प्रक्रिया अघि नबढेसम्म परीक्षा सार्न नसकिने अडान राखेका थिए ।
दुवैपक्षले अडान नछाडेपछि दिक्क मानेका दलका प्रमुख सचेतकहरुले अब मन्त्रालय, महासंघ र अस्थायी शिक्षकहरुका बीचमा मोटामोटी सहमतिको खाका नबनेसम्म फेरी वार्तामा नबस्ने भन्दै हिडेका थिए । उनीहरुले सहमतिको खाका बनेपछि मात्रै अन्तिम निर्णायक वार्तामा सहभागी हुने स्पष्ट पारेका छन् ।
अस्थायी शिक्षकहरुले भने परीक्षा नसरेसम्म वार्ता निस्कर्षमा नपुग्ने र आमरण अनशन समेत नटुंगिने स्पष्ट पारेका थिए । अनशन बसेका र आन्दोलनमा सहभागी शिक्षकहरुले परीक्षाको तयारी नै गर्नै नपाइ कसरी परीक्षामा सहभागी हुन सक्छन् । संयुक्त अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष हेमनाथ चौलागाईंले भने–वार्तामा हामीले यही विषय राख्यौं तर परीक्षा सार्न मन्त्रालय र महासंघ तयार भएन र वार्ता पनि निस्कर्षमा पुग्न सकेन । उनका अनुसार पुनः बस्ने गरी वार्ता टुंगिएको छ ।
वार्तामा प्रमुख तीनदलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठ, एमालेका भानुभक्त ढकाल र माओवादी केन्द्रका रेखा शर्मा, महासंघका तर्फबाट अध्यक्ष केशव निरौला, महासचिव तिलक कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भोला सापकोटा, नेपाल शिक्षक संघका महासचिव राजेन्द्रराज पौडेललगायत, शिक्षा मन्त्रलयबाट प्रवक्ता डा. हरि लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, अस्थायी शिक्षकका तर्फबाट हेमनाथ चौलागाई, सुरेन्द्र अधिकारीलगायतको सहभागीता रहेको खबर एजुकेसनपाटीमा छ ।