प्रस्तावित बाहिरी चक्रपथ

काठमाडौ, नेपालको राजधानी

हाल काठमाडौँ उपत्यका भनिने, पहिले नेपाल खाल्डो (नेपाः गाः) भनेर परिचित नेपाः उपत्यका, राजधानी यस्तो छ। अब यस्तो हुनुपर्छ भनेर व्यापक बहस गरिएको पाइन्छ। यस्तो हुनुपर्छ भन्ने कुराले विकास यो हो, त्यो हो, भन्ने आम जनमासमा  चर्चा चल्ने गरेको छ। विकास के हो त भनेर आम जनमानसलाई प्रश्न गर्दा उनीहरूको मन मस्तिष्कमा अग्ला अग्ला गगनचुम्बी भवन र फराकिलो चिल्ला सडकहरूकै परिकल्पना हुन्छ। कारण किनभने, हाम्रो मानसिकतामा विकास भनेको यही हो भनेर घुसाइसकिएको छ।

तर के विकास भनेको फराकिलो सडक मात्र हो? के विकास भनेको गगनचुम्बी भवन मात्र हो? पक्कै पनि होइन। हाल नेपालमा विकास र समृध्दिको नाराले देशै गुञ्जायमान छ तर नेपालमा विकास गर्छु भन्ने नेता र  अड्डाले  विकास भनेको के हो, यस्को सीमा के हो, र यो कसरी गर्ने भनेर  गम्भीर छलफल नै चलाएन । यसो हुँदा स्थानीय जनताको सोच र सभ्यता विपरित गरिएका कैयन विकास कार्य र प्रयासले खासगरी काठमाडौँ उपत्यका विकास होइन विनाश तर्फ लम्कँदै छ। यसै फेरोमा हालसालै चर्चामा आएको बाहिरी चक्रपथ निर्माण र स्याटलाइट शहरको परिकल्पना पनि विकाश भन्दा विनास निम्त्याउने  तथाकथित विकास कार्य हो। यी प्रयाशले विकास होइन नेवार सभ्यताका साथै वातावरणीय विनास गर्दैछ । कसरी गर्दैछ यस लेखमा मैलै  केही कारणहरू पेश गर्छु।
१ उच्च जनसङ्ख्या वृद्धि
२. केन्द्रित विकास
३.  स्रोत साधानमा असर (उर्वरा भूमिको नष्ट र खाद्यान्नमा प्रभाव, जलस्रोतको समस्या
४. प्रदुषण र वातावरण
५. स्थानीय रैथाने झन् मर्कामा
६. सम्पदाको नाश
७. नेवार बस्तीको सौन्दर्य र मौलिकता जोखिममा ।

१.उच जनसङ्ख्या वृद्धि

सन २०११ को जनगणना अनुसार येँदे (काठमाडौँ जिल्ला)मा स्थायी बसोबास गर्नेको सङ्ख्या १,७४०,९७७ रहेको छ भने यलदे (ललितपुर जिल्ला)मा ४६६,७८४ र ख्वपदे (भक्तपुर जिल्ला)मा ३०३,०२७ व्यक्तिहरूले बसोबास गर्ने आँकडा देखाएको छ। यसलाई एकमुष्ट भन्नु पर्दा पूरै नेपाल उपत्यकामा २५ लाख १०हजार ७८८ को सङ्ख्यामा मानिसहरू बसोबास गर्छन्। यो हिसाबले हेर्दा पूरै उपत्यकामा एक वर्ग किलोमिटरमा ८९९ व्यक्ति बस्छन् भने येँदे (काठमाडौँ)मा ३८५, यलदे (ललितपुर)मा ३८५ र ख्वपदे (भक्तपुर)मा ११९ जनघनत्व रहेको छ।

नेपाल उपत्यकाको क्षेत्रफल मात्र ५७० वर्ग किलोमिटर छ। नेपालको पूर्ण जनसङ्ख्या भने झन्डै ३ करोडको हाराहारीमा छ। यो ३ करोडको हाराहारीमा रहेको जनसङ्ख्यामा ५०% भन्दा बढी जनसंख्या यही सानो क्षेत्रफलमा कोचिएर बसेका छन्। अनुमानका आधारमा दिनहुँ थक्वाः(थानकोट)बाट लाखौँ मानिसहरू भित्र बाहिर गर्छन् र यहाँको जनचाप बाहिरिनु भन्दा बढी भित्रिएको पाइन्छ।  नेपाल उपत्यका अहिलेको अवस्थामै उच्च जनघनत्व भैसक्यो। यसको पुष्टि माहानगर क्षेत्र, असं जमःको त्यहाँका साना गल्लीहरूमा देखिने मानवीय घुइँचोले नै गर्छ।

प्रस्तावित स्याटलाइट शहर उपत्यकाको १ कुनामा १ लाख रोपनी जग्गामा फैलने छ। यसमा २ आना जग्गामा न्युनतम ४ जना व्यक्तिहरू बस्ने अनुमान छ,  यस्तो आँकडाले, नेपाल उपत्यकाको हालको करीव २५ लाखको जनसङ्ख्यामा अझ २० लाख जनसङ्ख्या थप्ने छ। के यो सानो उपत्यकाले फेरि यति ठूलो जनसङ्ख्या धान्न सक्छ? हामी अहिलेको अवस्थामा नै नेपाल उपत्यकामा निसासिसक्यौँ। यो अतालिनुको आभास कुनै पनि उपत्यकावासीले महसुस गर्न सक्छ। तीव्र जनसङ्ख्या वृद्धि पश्चात अन्य प्रकारका धेरै समस्याहरू उत्पन्न हुने पक्ष पनि हेरिनुपर्छ।

नेपाः उपत्यकाले देशको ०.४% भूभाग मात्र ओगट्छ, जब आज स्थायी बासिन्दाहका रूपमा ११.८% प्रतिशत जनसङ्ख्या यो ०.४% भूभागमा छन्।

२. केन्द्रिकृत विकास

स्थानीय तहको निर्वाचनमा अधिकारका मामिलाहरूमा  निकै चर्को नारा लाग्यो,  सिंहदरवार गाउँ गाउँमा पुग्यो। अधिकार गाउँ गाउँमा पुगेपछि त्यहाँ  विकास निर्माणका कार्यहरू पनि पुर्‍याउनु पर्ने होला तर किन अझैपनि नेपाल उपत्यकामा केन्द्रित अझ त येँदे(काठमाडौँ) केन्द्रित विकास निर्माण भैरहेको छ। यसो हुनुमा  विभिन्न जिल्लाहरूबाट नेपाल उपत्यकामा बसाइँ सर्ने प्रवृत्तिलाई अझै बाध्य पारिनु हो।  अब पनि सिंहदरवार केन्द्रिकृत विकासमा  तल्लिन रहन्छ भन्ने संकेत हो। स्मरण रहोस्!  केन्द्रिकृत विकास नै नेपाः उपत्यका, त्यसमा पनि विशेषगरी येँदे (काठमाडौँ) मा बसाइँ सर्न बाध्य हुने प्रमुख कारण हो।

उक्त प्रस्तुत तस्वीर धेरै टाढाको होइन। यही नेपाः उपत्यकासँग जोडिएको जिल्ला धादिङको हो। यहाँ एउटा पुल नभएर स्कुले बालबालिकाहरू आफ्नो ज्यान जोखिममा राखेर पढ्न जान बाध्य छन्। यो त मात्र एउटा उदाहरण हो। नेपालमा यस्ता धेरै स्थानहरू छन् जहाँ अझै पनि पहुँच पुगेकै छैन। अहिले प्रस्तावित बाहिरी चक्रपथले बस्ती जोड्ने कार्य गर्ने भनेको छ। तर यी बस्ती जोड्न बाहिरी चक्रपथको होइन, एउटा राम्रो पुल र २ लेनको पक्की सडक भए पुग्छ। मानिसलाई खास चाहेको चिल्ला सडक र बाटो होइन! मानिसलाइ चाहेको हो पहुँच”(accessibility)। यसको आपूर्ति ८ लेनको सडकले मात्र गर्छ भन्ने होइन। त्यसैले सोचनीय कुरा हो। हामीलाई सडकको आवश्यकता र शहर निर्माणको आवश्यकता कुन स्थानमा छ।

 ३. स्रोत साधनमा असर
     (उर्वरा जमिनको नष्ट, खाद्यान्न अभाव र जलस्रोत समस्या)

हामी सबैले पढ्दै आएको, सुन्दै आएको र देख्दै आएको कुराको नेपाः उपत्यकाको जमिनको उर्वरा शक्ति। यसबारे धेरै चर्चा गरिरहनुपर्दैन होला। किनभने जति मलजल नेपाः उपत्यका बाहिरका पहाडी र तराइका खेतहरूमा गर्नुपर्छ, त्यति यहाँ गर्नुपर्दैन। नेपाः उपत्यकाको उब्जनी, परम्परागत खेतीले नै यहाँका जनतालाई खादाँखाँदै नसकिने अवस्थामा थियो कुनै दिन। अझै पनि बुङ्ग, ख्वना, थसि, आदिका मानिसहरू आफ्नो खेतको एकपटक उब्जनीबाट वर्षभरी खान सक्छन्।

उक्त प्रस्तुत तस्वीरले यो मापाङ्कन गर्छ कि उपत्यकाको कुन भूभागमा धेरै उब्जनी हुन्छ। वास्त्वमा भन्नु पर्दा नेपाः उपत्यकाको पुराना टाउन प्लानिङ यही जमिनको विशेषतालाई मध्यनजरमा राखेर गरिन्थ्यो। मल्ल कालमा नेपाः उपत्यकाका नेवाःहरूले बस्ती जहिल्यै माथिल्लो परेको भूभागमा बसाउँथे भने खेती गर्ने जमिन तल्लो भेगमा हुन्थ्यो। यसै गरी उपत्यकाका भित्री भेगमा सिँचाइ व्यवस्थाको लागि “तिक्व”(पानी बग्ने ढल) बनाउने चलन थियो। विभिन्न नदी खोलाबाट “तिक्व” मार्फत् पानी लगेर सिँचाइ गरिन्थ्यो र वर्षेनी २/३ पटक उब्जनी हुन्थ्यो। यति मात्र नभएर, नेपाः उपत्यकालाई खाद्यान्न बढी भएर पाहाडी क्षेत्रमा बेच्न पनि लगिन्थ्यो।

तर अहिले यस उपत्यकामा भूमाफिया, हाउजिङ कम्पनि र प्लटिङ व्यवसायले नराम्रो फाइदा उठाउँदैछन् र साथै नेपाः उपत्यकाको अनियन्त्रित शहरीकरण र अस्तव्यस्तता थप्न काम गर्दैछन्। परिणामस्वरूप नेपाः उपत्यका झन झन कुरुप र अधोगतिमा लाग्दैछ र तत्काल यसकाबारे केही गरिएन भने नेपाः उपत्यकाको एक खतराजनक स्थान बन्नेछ। स्वस्थ माटो र जमिन, मानवको पोषण र स्वास्थ्यका लागि पनि महत्वपूर्ण देखिन्छ। उर्वरा जमिन र खेतले मात्र खाद्यान्न सुरक्षा हुदैन । यसका लागि वातावरण सन्तुलन, पानी रिचार्ज हुने स्थान, अनि अन्य धेरै कारणहरु महत्वपूर्ण हुन्छन्।

कृषि विकास मत्रालयको सन २०१२-१३को मापाङ्कनमा, नेपालले त्यस वर्षमा ९९/३४ अर्ब रूपियाँको खाद्यान्न आयात गरेको थियो। यस अगाडि २०११-१२ को मापाङ्कन भन्दा ३०.६३% प्रतिशतले बढेको मन्त्रालयको भनाइ छ। नेपाल खाद्यान्नको मामिलामा घाटा खाँदै आएको देश हो। यसरी खाद्यान्न आयात बढ्दै गएमा र यदि नेपाः उपत्यकाका बाकी उर्वरा र अति उर्वरा जमिनमा विभिन्न तरिकाले खाद्यान्न उत्पादन गर्न सकिएन भने, हामी खाद्यान्नमा पूर्णरूपले तराईमा मात्र होइन, भारतसँग निर्भर हुनुपर्ने स्थिति आउँछ।

हामीले यही अतिउर्वरा भूमि बुङ्गमा रोपेको साग, २० मिनेटको दूरीमा यल आइपुग्दा त्यस सागको गुणस्तर र त्यही यलमा धादिङबाट २/३ घण्टा गाडीमा राखेर ल्याएको सागको गुणस्तर र स्वस्थतामा धेरै फरक हुन्छ। उर्वरा जमिनको नाशले सिधै खाद्यान्न सुरक्षालाई असर पार्छ त पार्छ, तर सँगसँगै अन्य विभिन्न तत्वहरूमा पनि हानी पुर्‍याउँछ। बाहिरी चक्रपथ निर्माण र स्याटलाइट शहरका कारण १३ लाख रोपनी जग्गाको नाश हुनेछ।

कुनै पनि योजना नबनाइकन विकास निर्माणका कार्य भनेर उर्वरा भूमिलाई नष्ट गर्नु देशको खाद्यान्न सुरक्षाका लागि घातक हुन सक्नेछ। हामी सबैलाई अहिलेको नेपाः उपत्यका र यहाँको खाद्यान्न सुरक्षाको अभावबारे अवगतै छ। यदि परम्परागत खेतीलाई छोडेर आधुनिक कृषि, अर्गानिक खेती गर्ने हो भने खेतबारी भएकाहरूले यसबाट सुलभ आर्थिक लाभ प्राप्त गर्न सकिन्छ, र यो खाद्यान्नको दृष्टिकोणले पनि सही छ। यसैले यी अति उर्वरा जमिनलाई समय रह्ँदै नमासिकन, संरक्षण गर्ने नीति नियम ल्याउनु पर्छ। यसै गरी यी उर्वरा भूमिका जग्गा धनीहरूलाई आर्थिक लाभ हुने गरी कृषि मन्त्रालय र सम्बन्धित निकायले ध्यान दिनुपर्छ।

भू-उपयोग वर्गिकरणको सशक्त नीति ल्याउन अत्यावश्यक छ

पानीको अभाव कसरी?

नेपाः उपत्यकाको कुल जनसङ्ख्या सन् २०१६ मा ३० लाख बढी नाघ्ने अनुमान गरिएको थियो र क्रम बढ्दो छ। बाहिरी चक्रपथ निर्माण पछि र स्याटलाइट शहर बनाइसकेपछि जलस्रोत आपूर्ति कसरी हुन्छ त? यस प्रश्नमा विशेष गरी एउटै उत्तर आउँछ कि त डीप बोरिङ कि त कुवा खन्नु। हाल सरकारले ल्याएको मेलम्चीको पानीले के ३० लाख बढी जनसङ्ख्यालाई पुग्छ त?

MDPI को एउटा मापन अनुसार नेपाः उपत्यकामा ४ करोड लिटर पानी एकै दिनमा आवश्यक पर्दै आएको छ। जनसङ्ख्या ४ गुणाले बढ्दा यो आवश्यकता पनि उत्तिकै बढ्ने देखिन्छ।

उक्त तस्वीरमा सोही संस्थाको मापाङ्कन हो। यो अनुमान शायदै बाहिरी चक्रपथ वा स्याटलाइट सहर बन्ने प्रस्ताव अगाडि गरिएको हो, त्यसैले आंकडा यस प्रकारले छ भने ती परियोजना बनिसकेपछिको अवस्था अझै दर्दनाक हुनेछ।

माथि दिइएको यस तस्वीरलाई नचिन्ने धेरै छैनन् होला। ल्वहं हिति, ढुङाले बनेको प्राकृतिक पानीको धार २४ घण्टा बगिरहने धारा र जमिन सतहबाट निकै तल खनेर बनाइएका गाःहिति। कुनै दिन यस्तो पनि थियो जब यस्ता हितिहरूबाट १ मिनेटमा २० लिटरको पानी भरिन्थ्यो। गर्मी याममा चीसो पानी आउने र जाडो याममा तातो पानी आउने यी हितिहरू अब इतिहासमै सिमित हुने अवस्थामा छन्।

४. प्रदुषण र वातावरण

विकास निर्माणका कार्य र प्रदुषणको तादाम्य सम्बन्ध हुन्छ। जब निर्माणका कार्य हुन्छ, वातावरणलाई कही न कहीबाट हानी हुन्छ। तर यसको अर्थ यो होइन कि विकास निर्माण हुनुहुँदैन। तर निर्माण गर्ने क्रममा वातावरणलाई पूर्णरूपले नजरअन्दाज गरेर क्षति हुने कार्य र प्रयाशलाई विकास भन्न मिल्दैन।

नेपाः उपत्यका यत्तिकै विभिन्न दृष्टिकोणबाट प्रदुषित भैसकेको स्थान हो। विशेषगरी अहिलेका शहरी इलाकामा प्रदुषण उच्च स्तरमा छ भने अर्धशहरी क्षेत्रमा केही हदसम्म कम। तर बाहिरी चक्रपथका कारण पुनः नेपाः उपत्यका भरीको वातावरणमा हानी पुर्‍याउने देखिन्छ।

कङ्क्रिट घर बढ्नु र तापक्रम पनि बढ्नु

नेपाः उपत्यका, विशेष गरी येँ(काठमाडौँ) माहानगरमा बस्ने ७० वर्ष कटेका एक व्यक्तिलाई सोधेर हेर्नुस् यहाँको मौसम परिवर्तनबारे। कङ्क्रिट घर ह्वात्तै बढ्नाको नतिजाले गर्दा नेपाः उपत्यकाको तापक्रम पनि बढ्दै छ। किनभने कङ्क्रिटका घरहरूले तापलाई सोसेर राख्छ। यसकारण अब येँ (काठमाडौँ)मा जाडो मौसममा पनि कुहिरो परेको कमै देख्न पाइन्छ।

बाहिरी चक्रपथ निर्माणले यसमा कतिको असर गर्छ। के ठीक्कको मौसममा बस्दै आएका उपत्यकावासीहरूले तीव्र तापक्रम वृद्दिमा आफूलाई ढाल्न सक्छन्?

कङ्क्रिटको शहर र जमिन भासिने डर

नेपाः उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ। जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन्। आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी  निकालिएको छ। रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएको छ । पानी रिजार्ज हुने र पानी निकालिनेबीचमा  सन्तुलन मिलेको छैन। यसबाट भयावह अवस्था आउन सक्ने सम्भावना छ।

उक्त तस्वीरमा हामी देख्न सक्छौँ, इँटा बिच्छ्याइएको सडक। इँटा बिच्छ्याइएको स्थानमा पानी पर्ने क्रममा पानी जमिन मुनी पुग्छ र पानी रिचार्ज हुन्छ। तर कङ्क्रिटले पानी तल पस्न दिँदैन। भूमिगत जलस्रोत विकास समितिका अनुसार किपू (कीर्तिपुर)मा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ सालपछि ११ मिटरमुनि मात्रै पानी भेटिएको छ। यलदे (ललितपुर)को लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ। मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको समत थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ। त्यस्तै, पुलां सिनामङ्गलमा ०६५ सालमा ३० मिटर मुनी पानी भेटिन्थ्यो भने ०७१ सालमा ३८ मिटर मुनी पुगेको छ। यी क्षेत्रको नमुना परीक्षणका आधारमा विज्ञले उपत्यकाको सतह भासिन सक्ने विश्लेषण गरेका छन्।

नेपाः उपत्यकाको जमिन बालुवा र गेग्रानले बनेको कमजोर भु–बनावट भएकाले भासिने खतरा रहेको हुन्छ। जमिनमुनीबाट पानी निकाल्ने तर, पानी जाने अवस्था नभएमा स्वत खाली भएको भाग भासिन सक्छ र नेपाः उपत्यकाको अहिलेको अवस्था यही हो। यसमा अझै पनि कङ्क्रिट जङ्ललाई बढाउने हो भने यस उपत्यकाको भविष्य कस्तो होला त? भौगोलिक भूवनावट अनुसार जमिनमुनी पानी रिर्चाज हुन्छ। नेपाः उपत्यकामा सबैभन्दा धेरै पानी रिचार्ज हुने क्षेत्रमा अत्याधिक घरहरु बनेपछि  समस्या बढेको हो, अझै त्यस्ता बाँकी स्थानहरूमा पनि बाहिरी चक्रपथ र स्याटलाइट शहर बन्दै छ। पछिल्ला केही बर्षहरु यता बर्षा कम भएकाले जमिनमुनी पानी थोरै मात्र रिचार्ज हुने गरेको छ। तर, पानी तान्ने क्रम बढिरहेको छ र नयाँ शहर आएपछि यो क्रम तीव्र हुनेछ।

भ्वताहिति मा भासिएको सडक, ४ पटक पुर्दा पनि सोही ठाउँमा जमिन भासिएको

विज्ञहरुका अनुसार बाःमति खुसि (बाग्मती नदि)को दायाँबायाँ क्षेत्रमा धेरै आकाशे पानी रिचार्ज हुन्छ। सबैभन्दा धेरै रिचार्ज हुने क्षेत्रमा त्वखा (टोखा), भुइजःसि (बुढानिल्कण्ठ), सुन्दरीजल, गोकर्ण, बासबारी, हिजाःखुसि (धोविखोला) क्षेत्र, सक्व (साँखु), च्वबहाः(चोभार) र फम्पि(फर्पिङ) हुन्। यी क्षेत्रमा पनि अहिले जनघनत्व बढेको छ भने धेरै घर बनाइएको छ भने यिनै क्षेत्रमा बाहिरी चक्रपथ र स्याटलाइट शहर प्रस्तावित छन्।

प्रदुषण बढ्नु र स्वास्थ्य एवम् मानव जीवनमा असर

नेपाः उपत्यका, विशेषगरी अनियन्त्रित शहरीकरणको चपेटामा परिसकेका स्थानहरू कतिको दुषित र प्रदुषित छन्, यसमा कुनै व्याख्या विश्लेषणको आवश्यकता छैन होला। हामी सबैलाई थाहा नै छ काठमाडौँ शहर विश्वकै तेस्रो प्रदुषित शहर हो। यसकारण धेरै व्याख्या गरिरहनु आवश्यक नै छैन।

वायु प्रदूषण भनेको हावाको गुणस्तरमा कमी आउनु हो। अर्थात् श्वासप्रश्वास प्रक्रिया अन्तर्गत हामीले सासभित्र लिने र बाहिर फ्याँक्ने गर्छौं । यो शरीरका लागि अनिवार्य अक्सिजन परिपूर्ति गर्ने प्रक्रिया हो। तर, हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजन मात्र होइन, धेरै मात्रामा हानी गर्ने तत्वहरु मिसिएका छन् भने त्यसलाई प्रदूषणका रुपमा बुझ्नुपर्छ। हावासँगै विभिन्न कणहरु उडिरहेका हुन्छन् । ती हामीले सास फेर्दा सँगै शरीरभित्र जान्छन्। तीमध्य कतिपय कणलाई हाम्रो श्वासप्रश्वास प्रक्रियाले पचाउँछ वा बाहिर निस्कासन गर्छ। कतिपय कणलाई भने केही गर्न सक्दैन र ती फोक्सोमा गएर बस्छन्। रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुग्छन् र समग्र स्वास्थ्यस्थिति बिगार्छन् ।

धुलोधुवाँमा विभिन्न हानिकारक तत्व हुन्छन् । दाउरा, फोहोर, कोइला र गाडीको धुवाँधुलोका कारण कार्बन डाइअक्साइड, कार्बनमोनोअक्साइड निस्किन्छन्। ढुंगा, बालुवा, सिमेन्टजस्ता तत्व मिसिएका सडक, घर आदि भौतिक संरचना भत्काउँदा निस्किएको धुलो नै काठमाडौँको आकासमा फैलिएको धुलोको प्रमुख स्रोत हो। यसमा सल्फेडाइअक्साइड, नाइट्रेटअक्साइड, सिलिका, ग्रेनाइट जस्ता रसायनिक तत्व नहोला भन्न सकिन्न। यसको असर तुरुन्तै नदेखिन सक्छ। अबको चार–पाँच वर्षपछि देखिएला। भविष्यमा काठमाडौँबासीलाई फोक्सोसम्बन्धी विभिन्न समस्याहरुसाथै ढुंगा फोड्ने र घर भत्काउने मजदुरलाई बढी देखिने एस्कोसिस, सिलिकोसिस जस्ता समस्या आउने सम्भावना प्रवल छ। सिमेन्ट वा ढुंगामा प्रचुर मात्रामा सिलिका हुन्छ। सिलिका श्वाप्रश्वासको माध्यमबाट फोक्सोमा गयो भने त्यसलाई रक्त कोषिकाले तान्छ। यसलाई पचाउन वा फुटाउन नसकिने हुनाले फोक्सोमा बसिरहन्छ। विस्तारै सास फेर्ने क्षेत्रमा खराबी आउँछ। पछि खत बस्छ र फाइब्रोसिस हुन्छ। सिलिका जस्ता हानिकारक तत्वहरु फोक्सोमा गएपछि क्षयरोग र फोक्सोको क्यान्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ।

वायु प्रदूषणकै कारण मुटुसम्बन्धी रोग लाग्न सक्छ । श्वासप्रश्वासको माध्यमबाट छिरेका हानीकारक कणहरु कार्डियोभास्कुलर प्रणालीमै पुगेपछि शरीरको जताततै असर पुग्छ । ती त साना कणले पार्ने असर हुन् । ठूला कणले पनि विभिन्न समस्या ल्याउँछन् । काठमाडौँको धुवाँधुलोले नाक र घाँटीसम्बन्धी विभिन्न समस्या निम्त्याएका छन् । धुलोमा रहेका ठूला कण शरीरका यिनै अंगमा अड्किन्छन् । सामान्य हिसाबले बाहिर निस्किएनन् भने शरीरले आफ्नो प्रणालीको प्रयोग गरेर यी कणलाई बाहिर निकाल्छ । जसका कारण एलर्जिक राइनोसाइनोसाइटिस र फेरेन्जाटाइटिस बढिरहेको छ ।

उक्त तस्वीरले नेपाः उपत्यकाको वायु संचालनलाई देखाइएको छ। नेपाः उपत्यका कचौराको आकारमा भएको उपत्यका हुनाले यहाँको वायु बाहिरिँदैन, अर्थात् यहाँको हावा यही उपत्यकामा नै घुमिरहन्छ र यहाँबाट बाहिरिँदैन। त्यसैले यहाँ हुने हरेक धुवाँ धुलो आदि इत्यादि यहीँको आकाशमा तुँवालो सरह बसिरहन्छ र त्यही प्रदुषित हावा यही उपत्यकाको वायुमण्डलमा घुमिरहन्छ। आजकै अवस्थामा “यो उपत्यका बस्न अयोग्य भैसक्यो” भनेर दाबी गरिसकिएको छ। अब पनि यस्तो स्थानमा नयाँ बस्ती र नयाँ शहर विस्तार गर्नु आत्महत्या हुँदैन र? किनभने मानव जीवनका हरेक कृयाकलापमा यी वातावरण प्रदुषणका तत्वहरू जोडिएका हुन्छन्।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ दशमलब ५ पिपिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरु हुनुलाई स्वस्थ मानिन्छ। तर, अहिले काठमाडौँमा २ दशमलब ५ पिपिएम एक सय ९० सम्म पुगेको एउटा तथ्यांकले देखाएको छ। जसलाई हानिकारक हावा मानिन्छ। प्रदुषणका कारण यो नेपाः उपत्यका अहिले नै बस्न अयोग्य हुँदै गएको खण्डमा विकासको प्राथमिकता के हुनुपर्छ?

वातावरण क्षति मापाङ्कन

कुनै पनि निर्माणका परियोजनाले वातावरणमा असर गर्नु स्वभाविक हो। यसको अर्थ यो होइन कि निर्माण गरिनु हुँदैन। तर फेरि वातावरणलाई पूर्ण बेवास्ता गरेर निर्माण गराइनुहुँदैन। असर न्यून भए मात्र गरिनुपर्छ, तर वातावरण नै धरापमा पर्ने गरी निर्माण गरिएमा त्यो विकास होइन।

५. स्थानीय रैथाने झन् मर्कामा 

फेसबुकमा पोष्ट गरिएको  यो तस्वीर निकै मार्मिक छ।
सडकले घर मिच्यो कि घरले सडक मिच्यो ? मेरो पुर्खाले यहाँ घर बनाँउदा न त यहाँ सडक थियो न त पेटी, पछि सडक बन्यो,  सडकलाई पेटी आबश्यक भएकोले मेरो घरको घाम ताप्ने, बालबालिका खेल्ने, धान सुकाउने आँगन पेटीमा परिणत भयो, चुपचाप बसें। पछि शहरमा बाहिरको मानिसहरुको चाप बढ्यो, सडक साँघुरो भयो रे, उनिहरुको सुविधाको लागि सडक फराकिलो गर्नुपर्ने भयो रे ! सरकारले मेरो घर नै पर्ने गरी सडक मापदण्ड तोकिदियो, अब मैले सडक मिचेर घर बनाँए रे ! अब भन्नुस! सडक बन्नु भन्दा अगाडि बनेको घरले सडक मिच्यो कि पछि बनेको सडकले मेरो घर र आँगन मिच्यो ? तैपनि म सहेर बसें। अब हुँदाहुँदा सर्वोच्च अदालतमा बिचाराधीन रहेको र सरकारको नाममा रोकादेश भएको मुद्दामा सरकारले बर्दिधारीहरु तैनाथ गरी दिनडाहाडै मेरो घरमा डोजर लगाँउदा हामी निरिह जनता पीडित भयौं कि भएनौ ? यो कानुनी राज्यको उपहास हो कि हैन ?

स्याटलाइट शहर र बाहिरी चक्रपथ अन्त्य होइन, सुरुवात हो विस्थापनको

अहिले नेपाः उपत्यकामा जति पनि सडक विस्तारका मुद्दा उठेका छन् सबैको कारण एउटै हो: जन चाप बढ्नु र बस्ती बढ्नु। बस्ती बढ्नु र जनसङ्ख्या बढ्नु निकै स्वभाविक र प्राकृतिक कुरा हो र हुँदै पनि आएको छ। तर नेपाः उपत्यकामा बढेको जनसङ्ख्याको कारण यो होइन। यहाँ जनसङ्ख्या बढ्नुको कारण माथि नै स्पष्ट उल्लेख गरिएको छ।

जति जति बस्ती बढ्दै जान्छ त्यति नै सडक साँघुरिदै। अनि के यो विकास हो र? हालको जनसङ्ख्याले नै बाटो साँघुरो बनाइसक्यो। यसमा अझै २० लाख बढी स्थायी बसोबास गर्ने मानिसहरू थप्दा के फेरि बाटो बढाउनु नपर्ला? यस्तै तालले बढ्दै गए त नेपाः उपत्यकामा कहिल्यै बाटो पनि पुग्दैन, र यो केवल बाटैबाटोको सहर बन्ने छ।

विशेष गरी भित्री शहरमा सरकारले सडक विस्तार गर्न सकेको छैन। किनभने यसबाट रैथानी स्थानीयलाई हानी हुन्छ। बाहिरी चक्रपथ र नयाँ शहर बन्नासाथ सरकारलाई भित्री बस्ती (देसे दुने)मा सडक बढाउँछु भन्न केही बेर लाग्दैन। यसले स्थानीय जनतालाई मर्कामा पार्ने छ।

मुआब्जा: भरोसा गर्ने कि नगर्ने?

कुनै पनि विकास निर्माणका कार्य हुँदा मर्कामा परेका र विस्थापनमा परेका पीडितहरूले मुआब्जा पाउनुपर्ने हुन्छ र यो उनीहरूको अधिकार हो। न्यायिक क्षतिपूर्ति बिना कसैलाई उठीबास गराउने वा कसैको जग्गा सरकारले अधिग्रहण गर्न पाउँदैन। तर के नेपालको सन्दर्भमा यस्तो कहिल्यै भएको छ? के हामी भूतका अनुभवलाई स्वीकार गर्ने कि पुन सरकारको आशा गर्ने?

आज सम्मको अनुभवमा नेपाः उपत्यकामा जोड दिँदा यस्तो थोरै मात्र उदाहरण छ, जहाँ पीडितले न्यायोचित मुआब्जा पाएका छैनन्। अर्थात धेरै जस्ता विकास निर्माणको चपेटामा विस्थापनमा परेकाहरूले न्यायिक मुआब्जा नै पाएका छैनन्। कतिले पाउँदै पाएनन, केहिले पाए पनि अपुग र अन्यायिक ढङ्गले पाएका छन्। यही चरित्र रहँदै आएको छ राज्यको, उपत्यकावासीप्रति। अझै पनि कथा सुनाउँछन् पहिलो चक्रपथ बनाउँदा जग्गा परेका पीडितहरू, हामीले न्यायोचित मुआब्जा र सरकारले गरेको वाचा पूरा भएको पाएनौँ। पहिलो चक्रपथ बन्दा आदामा चिरिएको ग्वल बस्ती(पशुपतीको पुरानो बस्ती)का विस्थापित मानिसहरूलाई सोधे पुग्छ। माइतीघर मण्डला बनाउँदा पाएको मुआब्जाले एउटा अर्को घर पनि किन्न नसकेका पीडितहरूलाई सोध्दा हुन्छ।

के अब पनि यी परियोजनाबाट हामीले आशा राख्नु?

स्थानीय जनताको आफ्नो भूमिबाट सम्बन्ध विच्छेद

यी दुबै परियोजनाले स्थानीय जनता रैथाने नागरिकको स्वामित्वमा रहेको जग्गा जमिनलाई आफूबाट विच्छेद गराउने काम गराउँछ। स्थानीय जनताको सहभागिता बिना कुनै विकास निर्माणका कार्य गरिनुहुँदैन। विकास निर्माणका कार्यमा स्थानीय जनता पूर्ण सुसूचित हुनुपर्छ। स्थानीय जनतालाई यी परियोजनाको सबै अनुसन्धान पत्र, यसका फाइदा बेफाइदाबारे सुचित नभएसम्म यो कार्य गरिएको हुँदैन।

६. सम्पदाको नाश

उक्त तस्वीर खास्ति चैत्यको हो। खास्ति चैत्यलाई बौद्ध पनि भन्ने गरिन्छ। नभन्दैमा केही दशक अगाडि यति सुन्दर यो सम्पदा क्षेत्र आज एकै चोटी विकासका नाममा कुरुप र अस्तव्यस्त बन्न पुगेको छ। शायदै खास्ति चैत्यको एरियामा भद्रगोल र डावाँडोल यति बढेको छ कि त्यस क्षेत्र अस्त व्यस्तता बयान गर्न सकिँदैन। आज ठुलठूला भवनहरूले चैत्यलाई होच्याइसकेको अवस्था छ।

मौलिक नेवाः बस्ती (सम्पदा बस्ती)

नेपाः उपत्यका भनेको नेवाः सभ्यताको उद्गभ भूमि हो। यही ठाउँ हो जहाँ नेवाः सभ्यताको विकास भएको थियो। नेवाः सभ्यता विकासका क्रममा मल्लकालीन अवस्थासम्म आर्थिक, सामाजिक, सांस्कृतिक र अन्य धेरै आधारमा समपन्न भैसकेको सभ्यता हो। हाल त्यो सुसम्पन्नता शाहहरूको हातमा परेपछि आजसम्म आउँदा नाजुक अवस्थामा छ।

नेपाः उपत्यका भनेको नेवाः सभ्यता विकास भएको थातथलो हो। नेपाः उपत्यका आसपासका क्षेत्रमा फिजिएको भूभाग जसलाई नेपाल मण्डल भनिन्छ, यसलाई नेवाः सभ्यताको उषा भूमि मानिछ। बस्ती विकासका क्रममा नेवारहरूको तत्कालीन परिस्थितिमा जीवनस्तर उच्च बनाउन लायक र हरेक दृष्टिकोणले सुहाउँदो घर ढाँचा र बस्ती शैली बनाएकाले यो विश्वमै भिन्न बस्ती हो। विश्वया यो भिन्न बस्तीहरू नेपाल मण्डल क्षेत्रमा बाहेक अरु कतै पाइँदैन। यसमा पनि नेपाः उपत्यकामै ५३ वटा नेवाः बस्तीहरू छन्। मौलिकताको हिसाबले यो नेवाःहरूको मात्र नभएर देशकै धरोहर हो। तर दुःखलाग्दो कुरा के हो भने ख्वप, पन्ति, र केही स्थानहरूमा बाहेक यसको संरक्षण भएकै छैन।

हुन त नेवाः शैलीको घरै सर्वोकृष्ट हो भनेर चाही अति घमण्ड पनि गर्नु हुँदैन। यसमा पनि कमिकमजोरी नभएका होइनन्। तर यी कमिकमजोरीलाई समयको माग अनुसार परिवर्तन गर्दै लैजाने हो भने नेपाः उपत्यका विश्वकै भिन्न शहर बन्थ्यो। पहिले नयाँ बस्ती थिएन, र पो सबै घरहरू नेवाः शैलीका थिए। अब नयाँ बस्ती बढ्नाले, पुरानो बस्तीमा पनि नीति र सोचको अभावले यो मौलिकता नाश हुँदैछ।

नेवाः बस्तीको विशेषता थुप्रै छन्। यसको व्याख्या गर्दै गएमा विषयवस्तु अन्यत्र मोडिने हुनाले अङ्ग्रेजी भाषामा लिखित एक लेखको लिङ्क हालेको छु जसमा नेवाः बस्ती, यसको विशेषता, महत्व र दीर्घकालीन विकास सँग सम्बन्ध देखाउँछ।

नेवार बस्तीहरूमा कला, कौशलता र शीपको ज्वलन्त प्रदर्शनी हुन्छ, त्यसैले यसलाई सम्पदा बस्ती पनि भनिने गरिन्छ। हिन्दु धर्मावलम्बी र बौद्धमार्गी दुबैको संगम भरपूर अनुभव गरिन सकिन्छ भने कति त नेवाः मुस्लिमहरूको पनि उपस्थिति छ। अहिलेको काठमाडौँ, काठमाडौँ जस्तो देखिँदैन। हुन त काठमाडौँ राजधानी मात्र पनि होइन, यो संस्कृतिको राजधानी हो। हाम्रा विशेष सम्पदाहरू यही नेवाः सभ्यताकै पराकाष्ठा हुन्।

हामीले नयाँ बस्तीहरू बनाएका छौँ। तर कसरी भन्दा खेतका जमिनमा प्लटिङ गरेर प्लटिङ व्यवसायीको जथाभावी ढङ्गको आधारमा। यदि हामीले पहिले जस्तै उचित योजना लगाएर गरेका थियौँ भने आज उपत्यका बिग्रने नै थिएन। घर पुरानै नेवाः शैलीमा बनाउने सकिन्छ, तर भित्रबाट उत्तिकै अत्याधुनिक पनि। किन नयाँ बस्तीमा गःलि हुनु हुँदैन? नयाँ बस्तीमा पनि बहाः, लाछि, ननि, चुक बनाऔँ न? नयाँ बस्तीमा कलात्मक घरहरू बनाउँदा केही बिग्रन्छ र? किन नयाँ बस्तीमा फल्चा दबू बनाइनु हुन्न र?

हामी नेवाः टाउन प्लानिङमै बस्ती बसाल्न सक्थ्यौँ तर हामीले वास्ता गरेनौँ। किनभने हामीलाई थाहा नै छैन यसको महत्व र विशेषताबारे। नेवाः बस्तीमा गरिएको स्पेस व्यवस्थापन, कला कृति र जीवनशैलीको हिसाबले दीर्घकालीन विकाससँग मेल खान्छ।

यो तस्वीर हो जापानको राजधानी टोक्यो शहर। यहाँ विकास यसरी भएको छ। पहिले जापानको राजधानी क्योटो थियो जुन एउटा सांस्कृतिक शहर हो। त्यसको पहिचान जोगाउन राजधानी सारेर टोक्योमा ल्याइएको थियो।

                               

यो हो त्यही देश जापानको क्योटो शहर। यहाँ विकास यसरी भएको छ। गुगल खोजी गर्दा भेटाउनु हुनेछ, यस शहरमा बिजुलीको खम्बा राख्नाले सहर कुरुप भयो भन्दै पोल निकालेर बिजुली लाने अर्कै विकल्प अपनाइएको थियो। चाह्यो भने विकास र पहिचान सँगसँगै लग्न सकिन्छ।

अष्ट्रेलिया जस्ता देशहरूको इतिहास र मौलिक पहिचान खासै केही छैन। किनभने त्यो देश जहाँ पहिले अबोरजिनलहरू बस्थे र युरोपेलीहरूले कब्जा जमाए, उनीहरू आफ्नो पहिचान बनाउने, इतिहास बनाउन, १०० वर्ष पुरानो चीजहरू पनि धरोहर बनाइरहेका छन्। तर हामीसँग यहाँ नेवार बस्तीमा लिच्छवीकालिन र मल्लकालीन थुप्रै धरोहरहरू छन्। हाम्रो त अझै आफ्नै किसिमको टाउन प्लानिङ, वास्तुकला, धातुकला, चित्रकला, आदि इत्यादि छन्। यसको विकास किन गरिन सक्दैन नेपाः उपत्यकामा?

बचाउने भन्दा पनि बिगार्ने

मुख्य रूपमा प्रस्तावित बाहिरी चक्रपथले उपत्यकाका विभिन्न पुऱाना बस्तीहरू चिर्ने देखिन्छ। यसै क्रममा नेवार बस्तीहरू हराउने प्रकारको योजनाका रूपमा लिन सकिन्छ। यति मात्र होइन, कतिपय स्थानहरूमा बस्ती नै धरापमा पर्ने अवस्था छ। जस्तै बुङ्ग, ख्वना जस्ता यलदे (ललितपुर)का बस्तीहरू बाहिरी चक्रपथले अलिकति, फास्ट ट्राकले अलिकति गर्दै स्याटलाइट शहरले  त पूरै बिगार्ने जोखिममा पनि छ।

त्वखा(टोखा) सडक विस्तारमा त्यहाँको बिस्काः जात्रा गर्ने पुखू(पोखरी) पुर्नुपर्ने हुन्छ भने बस्तीभित्र चिरेर गनेद्यः देगः भत्काउनु पर्ने हुन्छ। अन्यथा त्यहाँको खेतीयोग्य जमिनबाट गएर सपन्ति तीर्थलाई हानी हुनेछ। बुङ्गमा बन्ने योजनाले बुङ्गद्यः को १२ वर्षे जात्रामा प्रभाव पर्ने देखिन्छ। यसैगरी विभिन्न स्थानहरूमा बस्ती धरापमा पर्ने देखि लिएर उठीबास हुने र जात्रा पनि मनाउन नपाउने किसिमले परियोजना आएको छ। एउटा सरल उदाहरण: यल(पाटन)मा जात्रा हुन्छ। त्यो जात्रा गर्दा विभिन्न टोल/स्थानको मानिसहरूको भूमिका हुन्छ। यदि त्यो जात्रा आयोजकको एउटा टोली खेदिएर लामाटार तिर जानुपर्‍यो भने के हुन्छ? यति सडक बनाउने नाउँमा त्यो रुट नै ब्लक गरियो भने के हुन्छ?

के साँच्चै नै बाहिरी चक्रपथ नै आवश्यकता हो?

बाहिरी चक्रपथ आवश्यकता देख्दिनँ। बाहिरी चक्रपथको लोजिक कसरी दिइएको छ भन्दा, एउटा उदाहरण थेच्वबाट बुङ्ग जान कि एउटा कच्चि बाटो र झुलुङ्गे पुलको माध्यम छ। त्यसले कनेक्टिभिटी नभएर घुम्दै बुङबाट हालको चक्रपथमा आएर घुमेर अनि फेरी थेच्व पस्नुपर्छ। तर त्यो कच्चि सडकलाई पक्की बनाएर झुलुङ्गे पुललाई पक्की पुल बनाउँदा पुग्ने कामलाई यत्ति ८ लेनको सडक दायाँ र फेरि ८ लेनको सडक बायाँ, के यो आवश्यकता हो त?

सडकको होइन सडक सुदृढीकरणको आवश्यता छ नेपाः उपत्यकामा। यसै गरी यदि विकेन्द्रीकरण गरियो,  देशका १० कुनामा शहर निर्माण गरियो भने नेपाः उपत्यकाबाट अनुमानित ५०% जनसङ्ख्या फर्कन्छ। त्यसपछि सोच्नुस्, कति खुल्ला छ यो उपत्यका। दिनको बेलामा जामले भ्याइ नभ्याइ ग्वार्को चोक, राती ९ बज्नासाथे सुनसान र बाटो काट्नै डरलाग्दो हुन्छ। दशैँका दिनहरूमा जाम त के गाडी कहाँ कहाँ मात्र लगुम् जस्तो उत्साहित भावना आउँछ चालकहरूमा।

समस्या हो काठमाडौँ केन्द्रिकरण। यसलाई विकेन्द्रित नगरेसम्म अनेकौँ समस्याहरू आइरहन्छ।

के साँचै सही हिसाबले स्याटलाइट शहर बन्न सक्छ?

हामी यहाँ विकेन्द्रीकरणको कुरा किन गर्दैछौँ भने नेपाः उपत्यकामा मानिसको चाप अत्याधिक हुनाले हो। हरेक शहरको एउटा सीमा हुन्छ, त्यहाँ भन्दा बाहिर जान खोजे विष्फोट हुन्छ। काठमाडौँको पनि एउटा धान्न सक्ने क्षमता छ। कति संरचना धान्ने कति मान्छे धान्ने, यो शहरमा। यस्तो पाटोलाई नहेरी, अझै ४० लाखमा २० लाख बढी मानिसहरू बढ्यो भने उपत्यकाको रूपरेखा हामी कल्पना गर्न सक्दैनौँ।

अर्को महत्वपूर्ण कुरा। के हो स्याटलाइट शहर? के प्रस्तावित स्याटलाइट शहर वास्तवमा स्याटलाइट शहर हुनेछ त?

स्याटलाइट शहर भनेको एउटा ठूलो शहर भन्दा केही टाढा बनाइने स-साना शहर हो, जो आफूमै निर्भर हुन सक्ने हुन्छ। अर्थात् स्याटलाइट शहर तब सफल हुन्छ जब त्यसको आवश्यकता त्यसले धान्न सकोस्। तर प्रश्न यो छ कि, के प्रस्तावित स्याटलाइट शहरले आफ्नो आवश्यकता आफै धन्न सक्छ। किनभने यो शहर त अहिलेको वर्तमान शहरसँगै जोडिएको शहर हुनेछ। मान्यता अनुसार कुनै अलिक टाढा पनि नहुने शहर। यसै त नेपाः उपत्यकामा उत्पादन घट्दो छ। त्यसमा हुने एउटा कृषि उत्पादन पनि विकास नगरीकन यो कङ्क्रिट जङ्गल बनाउनु कतिको उचित होला? के यी नयाँ शहरहरूले स्याटलाइट शहरको मान्यता अनुसार बन्न सक्छन्? खाद्यान्न र पानीको आपूर्ति ?  फेरि बस्ती बढेर बाटोको आपूर्ति?

विश्वका धेरै उदाहरणहरूमा वर्तमान शहरको एकदम निकट बनाउँदा परिणाम भयावह पनि भएको पाइन्छ। यससँगै, स्याटलाइट शहर भन्दा पनि उही ढङ्गले यो उपत्यकाको शहरी क्षेत्र विस्तार गरिए सरह जस्तो हुन्छ।

वास्तवमा नेपाः उपत्यकाका लागि स्याटलाइट शहर कुनै नयाँ विषयवस्तु होइन। किनभने मल्लकालमा यल(पाटन) एउटा शहर थियो भने त्यहाँ मानव चाप बढ्नाले, यलदे (ललितपुर)मा कुनै अनिकट स्थानमा गएर, थसि, लुभु, थेच्व, बुङ्ग, आदि जस्ता टाउन बनाइएका थिए, जहाँ खाद्यान्न पनि त्यही उत्पादन हुन्थ्यो, पानीको आपूर्ति गर्ने हिति पनि, यति व्यवहारिकता थिए कि संस्कृतिमा पनि यसको नियम अनुसार आफ्नै जात्रा, पर्व हुने गरी प्लानिङ गरिएको थियो।

अब हामीले यही स्याटलाइट टाउनको स्तरोन्नति र सुदृढिकरणमा ध्यान दिएर, देशका अन्य कुन्नमा शहरीकरणको विकास गर्ने कि?

नेपाः उपत्यकामा मात्र समस्या हुने होइन

माथि लिखित जति पनि समस्याहरू छन् यसले नेपाः उपत्यकालाई मात्र होइन, पूरै देशलाई असर गर्छ।

नेपाः उपत्यकामा प्रदुषण भएर यहीलाई मात्र असर गर्दैन। नेपाः उपत्यकाको प्रदुषणले यहाँ सर्वप्रथम असर गर्छ। तर यहीँको धुवाँका कारण हिमालहरू पनि पग्लिरहेका छन्। यसका कारण हिमनदीहरू बढ्नाले धेरै गाउँहरू डुबानमा पर्ने देखि लिएर बाढी र पहिरो पनि निम्त्याउँछ

यसै गरी, अस्तिको भूकम्पमा एउटा द्वाल्खाको मुद्दा थियो। दोलखाको पुरानो नेवार बस्ती जसलाई “द्वाल्खा” भनिन्छ, त्यहाँ पुनःनिर्माणका लागि काम गर्ने हातै थिएन, प्राय धेरै जस्तो जनसंख्या काठमाडौँमै बसिसकेका थिए। यस्तै समस्या विभिन्न गाउँहरूमा छ। अझै पनि ४० लाख मानिसहरूलाई यस उपत्यकाले स्थायित्व दियो भने यहाँ उपत्यकामा आउने प्रभाव त बाँकी नै छ, यसले ग्रामीण विकासको सम्भावना अझै घटाउँछ। धेरै जसो गाउँहरू त रित्तिने अवस्थामा छ। यसमा पनि सरकारको ध्यान जाओस्।

अन्त्यमा
धेरैजसो व्यक्तिहरूले यो पढ्ने बित्तिकै मलाई विकास विरोधी ठान्लान्। तर म विकास विरोधी होइन, विनाश विरोधी हुँ। विकास भनेको संरचना होइन। विकास भनेको बाटो होइन। वास्तवमा कसैलाई संरचनाको आवश्यकता भएको होइन। आफ्नो सुखद जीवनको आवश्यकता हो, जीवन स्तर बढाउने आवश्यकता हो, त्यस कारणले संरचना निर्माण गरेको हो। तर यदि त्यही निर्मित संरचनाले जीवनका धेरै पाटोमा हानी गर्छ भने त्यो विकास होइन।

त्यसैले नेपाल सरकारले नेपाः उपत्यकामा उर्वरा भूमि संरक्षण एवम् कृषि पेशामा आर्थिक लाभ; भएका बस्तीहरूको स्तरोन्नति र सुदृढिकरण लगायत भएका बाटोहरूको विकास गर्दै; स्थानीय जनता बाहेक अरुलाई जग्गा बेचबिखनमा रोक लगाई, स्थानको खोजी रहेको स्थानीय जनतालाई भने नयाँ बस्ती हाम्रै मौलिक ढाँचामा एकदम योजनाबद्ध रूपले बनाइनुपर्छ; विकास निर्माण र नयाँ शहर निर्माणका कार्य देशको कुनै अन्य कुनामा लगेर गर्दा देश र जनताको लागि लाभदायी हुन्छ।

साभार: रुक्शनानेवा डट वर्डप्रेस डट कम /
Rukshana Kapali ‘Minjala’ मिँजला  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया