‘बा’ भनेर ढोग्ने अराजनीतिक युवाहरूले एकछिन हल्ला गरे: सुरेन्द्र पाण्डे

0
383

शनिबार चितवनस्थित राप्ती नगरपालिकाको नेकपाको पार्टी नगर–कमिटीको बैठक सुरू हुँदै गर्दा त्यहाँका मेयर प्रभा बराल बैठकमा छिर्नुभयो । बैठक विरेन्द्रनगरमा हुँदैथियो । उहाँसँगै ८–१० जना केटाहरू पनि बैठकमा पसे । म ती सबैलाई चिन्दछु । ती हाम्रा भोट हाल्ने मान्छे हुन्। पार्टी कमिटीमा रहेका व्यक्ति भने होइनन् । पहिलाको चितवनको जिल्ला कमिटी अध्यक्ष जगन्नाथ थपलियाका छोरा पनि बैठकमा आएका थिए । जगन्नाथ अहिले वाग्मती प्रदेश प्रमुख डोरमणी पौडेलका मुख्य सल्लाहकार छन् । जगन्नाथका छोरा वाग्मती प्रदेशका कृषि मन्त्री दावाँ लामाको पिए र दावाँकै साख्खै छोरीज्वाइँ पनि हुन् । दावाँका अर्को पिए प्रकाश कालाखेती र दावाकै छोरा पनि बैठकमा आएका थिए । केदार आचार्यलगायत त्यहाँ आएका सबै गाउँका ठिटाहरू हुन् ।

बैठकमा बोल्दै हाम्रो कार्यदलले कसरी सर्वसम्मत रूपमा रिपोर्ट पेस गर्‍यो । पार्टीभित्रको झगडाको आधार कसरी मदन भण्डारी, पुष्पलाल र अन्य नेताका नाममा खोलिएका फाउण्डेसन/प्रतिष्ठानहरू बने भन्नेबारे चर्चा गर्दै थिएँ । फाउण्डेसनहरूका नाममा तलका गतिविधीहरू नगरौं र माथिका कार्यक्रमहरू पनि स्थगित गरौं भनेर पार्टीमा हामीले सिफारिस गरेको र पार्टीले त्यस विषयलाई निर्णय गरिकन सर्कुलर पनि गरेको बताउँदै थिएँ । सोहीबीचमा कार्यक्रममा छिरेका तीनै एक दर्जन हाराहारीका युवाहरूले ‘मदन भण्डारी फाउण्डेसन जिन्दावाद, जबज जिन्दावाद, राजनेता केपी जिन्दावाद’ जस्ता नारा लगाउन थाले ।

र, बैठकमा मैले पार्टी अध्यक्ष केपी ओली शर्माप्रति कुनै टिप्पणी गरेको पनि थिइनँ । म पार्टीको समस्याका कारणहरूबारे व्याख्या गर्दै मात्रै थिएँ । अन्य समस्याहरूबारे त बैठकमा उल्लेख गरेको पनि थिइनँ । उनीहरूले हल्ला गरेपछि म एकैछिन चुपो लाग्दै हाँसेर बसिरहेँ । एकैछिनमा बैठक सुचारु भयो । फेरि त्यहाँ सबै हाम्रा साथीभाइहरू नै थिए । कार्यक्रम भइरहेको ठाउँ मेरो गाउँ नै हो ।

त्यो नियोजित रूपमा गरिएको कृत्य थियो । प्रभा बराल बैठकमा आसन ग्रहण गर्दा मात्रै होइन, उनले भाषण गरिरहँदा पनि बारम्बार ताली पिट्दै थिए यी ठिटाहरू । पहिलेदेखि नै अलि अस्वभाविक देखिएको थियो उनीहरूको त्यस्ताे गतिविधी । यिनीहरू सुनियोजित रूपमा कार्यक्रममा आएका हुन् कि भन्ने आशंका लागिरहेको थियो । यो अराजनीतिक घट्ना हो । अराजनीतिक संस्कारलाई मदन भण्डारीका नाममा अघि बढाएर मदन भण्डारीको इज्जतलाई लिलाम गर्ने काम हो यो ।

मदन भण्डारी हाम्रा पार्टीका श्रद्धेय महासचिव हुनुहुन्थ्यो ।भण्डारी त पार्टीको साझा नेता हो नि ! पार्टीको कुनै एक व्यक्तिको नेता हो र ? जननेता भनेर हामी सबैले निर्णय गरेका हौं । उहाँ बित्दाखेरी पार्टीका यस खालका गुटहरू पनि थिएनन् । कसैले मदन भण्डारी मेरो नीजि पेवा हो भनेर हुन्छ र ? यो नित्तान्त गैरराजनीतिक प्रवृत्ति हो ।

माक्सर्वाद र लेनिनवादका कुराहरूको रक्षा गर्ने विषय पो राजनीतिक विषय हो । पुष्पलाल, मदन भण्डारीलगायतका सबै नेताहरूको विचारको प्रचार गर्ने पाे हाे हामीले । गैरराजनीतिक तरिका अवलम्बन गर्ने त होइन नि । यो त पंचायतले सिर्जना गरेको अराजनीतिक संस्कृति जस्तै भयो ।

केपी ओलीलाई नेता मान्नेहरूमा उहाँलाई ‘बा’ भनेर ढोग्ने एउटा चलन विकसित छ । नेतालाई बा, आमा, काका र मामा भन्ने व्यक्तिहरू राजनीतिक संस्कृति भएका व्यक्ति होइनन् । राजनीतिक नेतालाई त नेताका रूपमा सम्मान गर्ने पो हो । तर कुनै अवसरमा ओलीलाई भेटे भने ‘बा’ भनेर हातमा ढोगिदिन्छन् यी केटाहरूले । अाज बैठकमा हल्ला गर्नेहरू त्यस्ता खालका युवाहरू हुन् ।

व्यक्तिगत रूपमा कसैलाई बा-आमा भन्न पनि नपाइने होइन । तर पार्टीका हिसाबमा त कोही पनि बा र हजुरबा हुन्नन् । पार्टीका त आफ्ना माैलिक संस्कृति हुन्छन् । समाजमा हामी कसैलाई भेट्दा नमस्कार भन्छौं । समाजमा अनेक आदरार्थी शब्दहरू छन् । कोही जय नेपाल भन्छन् । कोही अभिवादन भन्छन् । कोही लाल सलाम भन्छन् । आफ्ना–आफ्ना पार्टीमा सम्मान र अभिननन्द गर्ने जनाउने शब्दहरू छन् । प्रहरीमा जय नेपाल भन्छन् । आर्मीमा ‘सलाम साप्’ भन्छन् । सम्मानका सबैका आफ्ना विधी छन् । सलाम् साप् भन्ने ठाउँमा बा भनेर कमाण्डर इन चिफको हात ढोग्न थालियो भने सैनिकको इज्जत र संचालनको अवस्था के होला ?

पाँच जना एकातिर र ओली एकातिर हुँदा अहिले केपी शर्मा ओली अल्पमतमै देखिनु भएको छ । यसको व्याख्या गर्नै पर्दैन । स्थायी रूपमा अल्पमत या बहुमत के हो, म जान्दिनँ । त्यो पार्टीभित्रको स्थायी कुरो पनि होइन । पार्टीका इस्युहरूमा भएका बिमतीहरू सहमतीमा रूपान्तरण हुँदै पनि जान्छन् । त्यस क्रममा कोही यता उभिन्छन्, कोही उता उभिन्छन् । त्यसो हुनाले बहुमत भएकाहरूले पनि ‘अब हाम्रो बहुमत भयो, अब ठटाउँछु’ भनेका छैनन् । अल्पमतमा हुनुपर्नेले पनि आत्तिनुपर्ने कुरा छैन । पार्टीको बैठकमा जाने, निर्णय गर्ने र पार्टीको बैठकले गरेका निर्णयअनुसार काम गर्ने हाे । यत्ति त हो नि पार्टीभित्रका अाजका समस्या । त्यो मान्नेवित्तिकै पार्टीमा के समस्या छ र ? नीति र विचारको बारेमा कहिँ बहस छ र अहिले ?

समाजवाद उन्मुख जनताको जनवाद भन्या छ । कसैले त्यसमा नाइँनास्ती गरेको छैन । वैचारिक कुनै कुरा छ भने महाधिवेशनमा छलफल गर्ने भनेर भनेकै छौं । अहिले पार्टी चल्नुपर्ने त पार्टीको विधिअनुसार होइन र ? विधी, पद्धती, संगठननिर्माणका सिद्धान्त पनि पार्टीकै विचारको अंग हो । त्यो राजनीतिक र वैचारिक कुरा पनि हो । जस्तो कि राजावादीहरू राजा नै सर्वेसर्वा हो भन्छन् र त्यही कुरो नै उनीहरूको विचार हो । राजतन्त्र या राजा भनेको एउटा संगठन पनि हो नि । त्यसको नेतृत्वकर्ता राजा हुन्छ । त्यो एउटा संगठन पनि हो र विचारको पक्ष पनि हो ।
कम्युनिष्ट पार्टी र अन्य पूँजीपति पार्टीहरूले पनि व्यक्तिलाई विचारको केन्द्रविन्दु मान्दैनन् । र, कमिटी निर्माण गर्दछन् । र, कमिटी निर्माणको आधारमा नेतृत्व बनाउँदै र फेर्दै जान्छन् । संसारभरीको चलन हेर्दा पनि संगठन बनाउने कुरो पनि एउटा स्विकृत सिद्धान्तकै आधारमा हुन्छ । कतिपय मान्छेहरू त्यसलाई नबुझेर संगठन निर्माणको कुरा केबल प्राविधीक कुरो हो भन्ठान्छन् । त्यस्तो होइन ।

आज देखिएको प्रवृत्ति अराजनीतिक हो । यसले न पार्टी बनाउन मद्धत गर्छ, न पार्टी संस्कार नै विकास हुन्छ । यस्ता गतिविधिहरू निन्दनीय छन्।

(नेकपा स्थायी कमिटी सदस्य पाण्डेसँग शनिवार साँझ गरिएको टेलिफोन कुराकानीमा आधारित)

फेसबुकबाट तपाईको प्रतिक्रिया