मेयर दण्डपाणीले गर्भवती भएपछि के के गरे?

बर्खाको एक घमाइलो दिन कुरुले नगरपालिकाका मेयर दण्डपाणी विक्रम शाह खेततिर जाँदै थिए। बाटोमा उनले एउटा ढुङ्गो भेटे। ढुङ्गो घाम जस्तै धपक्क बलिरहेको थियो।

“म सूर्य देवता हुँ” एउटा आकाशवाणी सुनियो। “बरदान माग।”

दण्डपाणीका सन्तान थिएनन्, एउटी छोरी जन्मेकी थिई  तिनको न्वारान नहुँदै मृत्यु भएको थियो। त्यसपछि उनकी श्रीमतिको गर्भ बस्न सकेको थिएन।  “मलाई एउटा सन्तान चाहिन्छ” उनले भने। तुरुन्तै उनको पेट बढ्न थाल्यो।” म? म?”  दण्डपाणी अक्मक्किए। “मलाई सन्तान चाहिँदैन” उनले भने।

“तिमीलाई चाँहिदैन ?” घामजस्तै बलिरहेको ढुङ्गोले सोध्यो।

“होइन,  होइन ‍…  पुरुषको काम बच्चा जन्माउने होइन।”

“के बच्चा जन्माउन विष्णु भगवानले मोहिनीको रुप धारण गरेको तिमीलाई थाह छैन? अब तिम्रो पालो।” सूर्य देवता हाँसे। यो समाचार एकैछिनमा भाइरल बन्यो।

विस्तारै दण्डपाणीको पेट बढ्न थाल्यो। उनलाई चाडै थकाइ लाग्न थाल्यो। भोक पनि चाँडै लाग्न थाल्यो। बिहानै वान्ता पनि गर्नथाले। यी सबै कुराहरु उनकी श्रीमति पार्वतीले कसरी सहिन् होला उनले विचार गर्न थाले। छोरी जन्माउँदाको व्यथा लाग्दा उनकी श्रीमतिले निक्कै चिच्याएको कारण उनले अहिले बुझ्न थाले।

पार्वती गर्भवति हुँदा गाग्रीमा पानी ओसार्थिन्, दाउरा बोक्थिन्, खाना पकाउथिन् र बच्चा जन्माउने दिनसम्म खेतको काममा सघाउँथिन्। तर दण्डपाणी सानातिना काम गर्दा नै थाक्छन्। उनलाई श्रीमतिले कपडा लगाइदिनसमेत सघाउनु पर्छ। अहिले उनलाई पार्वती गर्भवती हुँदा सहयोग नगरेकोमा निकै पछुतो लागेको छ।

अब बच्चा जन्माउनेबेला उनलाई मर्छु जस्तो लाग्न थालेको छ। उनलाई सुर्ता लाग्न थाल्यो। उनले नगरसभा बोलाए। सो भेलामा उनलाई हेर्न भनेर पनि धेरै गाउँलेहरु आए। धेरै महिलाहरु पनि भेला भए। स्वास्थ्य कार्यकर्ता र अनमी दिदीहरु पनि आए। एकजना बुज्रुक उठेर भने “हाम्रो भेगमा धेरै महिलाहरु बच्चा जन्माउँदा मर्छन्।”

“र, धेरै बच्चाहरु पनि मर्छन्” एक महिलाले तुरुन्तै थपिन्। “यत्रो दुख र पीडा सहेर पनि बच्चा गुमाउनु कति दुखलाग्दो हो” – मेयरले अर्थ्याए। सबै गाउँलेले एकै स्वरमा “हाम्रा मेयरलाई यस्तो हुनुहुन्न” भने।

स्वास्थ्य कार्यकर्ताले भने “सबैभन्दा महत्वपूर्ण  कुरा गर्भवतीलाई प्रशस्त खाना र आरामको जरुरत पर्दछ।” तब दण्डपाणीले आदेश दिए “सबै गर्भवती महिलालाई केही न केही विशेष खाना खुवाउन सरकारले नभएपनि हामी आफैले भएपनि अण्डा दूध सागसव्जी उपलव्ध गराउनु पर्छ र तिज आउन लागेको छ भोकभोकै ब्रत बस्न दिनुहुँदैन। ब्रत नबसेपनि हुन्छ बसे नै पनि बच्चा दुई वर्ष नाघेपछि बसे हुन्छ।”

अनमी दिदीले भनिन् “सबै गर्भवति महिलाले दुई पटक टिटानशको खोप लिनुपर्छ।” दण्डपाणी मेयर भएपनि सुई लगाउने कुरा सुन्नासाथ औधी डराए। तैपनि उनले भने “त्यसोभए नगरका को को गर्भवतीले टिटनेसको सुई लगाएका छैनन् त्यसको लगत बनाई  बाकीँ रहेका सबैलाई लगाउनु परो।”

र, सोही भेलमा हरेक महिनाको एक दिन सबै गर्भवती महिलाहरु नगरपालिका भवनमा भेला हुने र नर्सबाट खोप लिन निर्णय पनि गरियो।

त्यसपछि स्वास्थ्य कार्यकर्ताले थपे “एउटा कुरा बिर्सिएछ, त्यो के भने सबैभन्दा बढी जोखिम बच्चा जन्माउने वेथा लागेपछि हुनसक्छ। तर तालिमप्राप्त धाइ वा स्वास्थ्यकार्यकर्ताको सहयोग लिएमा साधारणतया खतरा टर्न सक्छ।”

तर त्यस पालिकामा सुत्केरी गराउने तालिम ककसले र कतिले लिएका छन्, त्यसबारे मेयरलाई थाहा थिएन। सोधखोज गर्दा जम्मा दुईजनाले तालिम लिएको पत्तो लाग्यो। अरु दुईजनालाई तुरुन्तै तालिम पठाउने निर्णय पनि त्यसैबेला गरियो।

“अब उप्रान्त कुरुलेमा बच्चा जन्माउँदा तालिमप्राप्त धाइ वा स्वास्थ्य कार्यकर्ताको सहयोग लिनैपर्छ” उनले घोषणा गरे।

त्यस वर्ष कुरुलेमा जन्मेका सबै बच्चा जिउँदै र स्वस्थ जन्मिए। अलिकति जटिल आउने सम्भावना भएकालाई धरानको घोपा अस्पतालमा पठाइयो। सबै श्रीमानहरुले धेरैजसो समयमा आफ्ना गर्भवती श्रीमतिको स्वास्थ्यलाई ध्यान दिइरहे र आवश्यक परेका बेला स्वास्थ्य कार्यकर्ताको सेवा मागे। कुरुले नगरका मेयरका यस्तो अभियान सुनेर जिल्लाका अरु नगरपालिकाका जनताहरुले अर्को पटक दण्डपाणी जस्तै मेयर वा मेयर छान्ने भनेर चर्चा गर्न थाले।

अन्तमा दण्डपाणीको गर्भ ९ महिनाको भयो र बेथा लाग्यो।” च्याहाँ, च्याहाँ” नवजात शिशु रुयो।” मेरो छोरा!  म तिम्रो आमा! …  हैन हैन म बुबा हुँ” दण्डपाणीले भने।

“आहा छोरी पो जन्मिन्छन्” धाइ दिदीले भनिन्। दण्डपाणी खिस्रिक्कै परे। भगवानले उनलाई धोखा दिए। तर नगरपालिका सदस्यहरु भेला भई दण्डपाणीलाई भने “धन्दा नमान्नुस्!  हामी सुर्य देवतालाई समाउँछौं र अर्को पटक छोरै हुनुपर्नेमा कबूल गराउँछौ।”

फेरि गर्भवती हुनुपर्ने सोचेर दण्डपाणी चिन्तित भए। उनलाई पुरुष भएर पनि गर्भवती हुनुमा पीर थिएन। तर फेरि उही दुख र सास्ती उनका लागि अति नै हुन्थ्यो। “छोरा या छोरी यसले के फरक पार्छ र?” दण्डपाणीले भने। “यदि भगवानले अर्को दिएपनि कसलाई पो चाहिएको छ र? छोराले गर्नसक्ने छोरीले चै नसक्ने त्यस्तो कै नै पो छ र? म मेरो छोरीलाई धेरै पढाउने छु र छोरी कमजोर भन्ने आखिर हाम्रो सोचाइ गलत न हो।”

यस्तो कुरा सुनेर पार्वती साँच्चै खुशी भइन्। तर उनका नातेदार र बुज्रुकहरुले अझै छोरा पाउन जोड दिन्छन् कि भन्ने डर थियो। उनीहरुले कुनबेला विचार फेर्ने हुन् कसैलाई थाहा थिएन।

त्यसकारण दण्डपाणीले नगरपालिकाको बैठक बोलाएर घोषणा गरे, अब उनले सबैकुरा बुझिसकेका थिए। “सबैले ध्यान दिएर सुन्नुहोस्! कुनै पनि आमाले दुईभन्दा बढी बच्चा जन्माउँदा उनको स्वास्थ्य खतरामा पर्नसक्छ। हामी निर्वाचित सदस्यहरुले पनि यो कुरा बुझौं, हाम्रो थप जिम्मेवारी भनेको महिलाका दुई सन्तान जीवित र स्वस्थ हुर्काउन सहयोगी वातावरण मिलाउनु पनि हो। यदि सन्तान जीवित र स्वस्थ भए उनले दुईभन्दा बढी सन्तान जन्माउने छैनन्।”

केरला सास्त्र साहित्य परिषदद्वारा वितरित एक पुस्तिकाबाट,अनुवाद: दामोदर उपाध्याय।

फेसबुकबाट तपाईको प्रतिक्रिया