झापाको बाह्रदशीमा कोरोना सङ्क्रमित फेला परेका छन् । झापाको बाह्रदशीमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका उनी पुरुष हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनी कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ।कोरोना संक्रमण भएका व्यक्ति अहिले अस्पतालको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । झापामा भेटिएको यो दोस्रो केस हो ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीका अनुसार ती ब्यक्ति मुस्लिम धर्मगुरु जमाती हुन् । बाह्रदशी— ४ स्थित मस्जिदमा बस्दै आएका ती मुल्बी भारतबाट फर्केको जनाइएको छ । अहिले ती व्यक्तिलाई एम्बुलेन्समा कोरोना अस्पताल विराटनगर पठाउने तयारी गरिएको छ ।
यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि १२ वैशाखमा दमकका ६२ वर्षीय पुरुषमा सङ्क्रमण भेटिएको थियो ।
झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या ५२ पुगेको छ । नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन् । आइतबार मात्रै पर्साको वीरगञ्जमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।