Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
Wednesday, April 15, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आदिम कालदेखि आधुनिक युगसम्मका २४ महामारी, यस्तो छ इतिहास

सहयोगीबाट सहयोगीबाट
बैशाख २१, २०७८
- यो हप्ता, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ ।

    पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ । वनस्पति, प्राणी, जीवाणु र विषाणुबीचको सन्तुलन बिग्रियो भने जीवाणु र विषाणुले कुनै पनि बेला र कुनै पनि रुपमा प्राणीमाथि आक्रमण गर्न सक्छन् ।

    आजसम्मका विश्व इतिहासमा विभिन्न कालखण्डमा देखा परेका महामारीहरुदेखि कोभिड–१९ को महामारी यसैका उदाहरणहरु हुन् । ‘सबैजसो जीवाणु, विषाणु र परजीवीहरुले रोग लगाउँदैनन्, कतिपय मानव जातिका लागि फाइदाजनक पनि हुन्छन् भने कतिपयले विभिन्न खालका रोगहरु लगाउँछन् । तिनै रोग लगाउने नयाँ र पुराना जीवाणु वा विषाणुहरुले कहिलेकाहीँ महामारीको रुप पनि लिन्छन् ।’ (डा. झलक गौतम) कोभिड–१९ महामारी यसैको पछिल्लो कडी हो ।

    प्रागैतिहासिक कालदेखि आधुनिक कालसम्म अनेक प्रकारका रोगव्याधिका कारणले महामारीका घटनाहरु घटेका छन् । आदिम कालदेखि आधुनिक युगसम्म घटेका केही ऐतिहासिक महामारीहरुबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ-

    १. प्रागैतिहासिक महामारी – ३००० ईसापूर्व दक्षिणी चीनको ‘हेमिन् मंघा’ र ‘मियाओजिगोयु’ भनिने पुरातात्विक महत्वको क्षेत्रमा फैलिएको महामारीले समस्त बस्तीलाई नै ध्वस्त बनाएको थियो । उक्त महामारीमा सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण मानिसको मृत्यु हुन गई उक्त बस्तीलाई एउटा चिहानमा परिणत गरिदिएको थियो । चीनको यो क्षेत्र आज विश्वसम्पदा क्षेत्रमा सूचीकृत भएको छ ।

    २. एथेन्सको प्लेग – ४३० इसापूर्व एथेन्समा ज्वरोको महामारी फैलिएको थियो । पाँच वर्षसम्म फैलिएको यो महामारीबाट एक लाख मानिसको मृत्यु भएको थियो । एथेन्स र स्पार्टाबीच भएको लडाईंमा स्पार्टाका सेनाले एथेन्सका सैनिकहरुलाई आफ्नो शहरको रक्षाका लागि ‘लामो पर्खाल’ भनिने किल्लाहरुको पछाडि शरण लिन बाध्य पारेको थियो । युद्धका कारण सैनिकहरुको बढ्दो भीडले महामारी फैलिएको थियो । महामारीले कमजोर भएको एथेन्स स्पार्टासँग पराजित हुन पुग्यो ।

    ३. एन्टोनाइन प्लेग – विश्व इतिहासमा अभिलिखित एन्टोनाइन प्लेग सन् १६५ देखि १८० को बीचमा फैलिएको महाविनाशकारी महामारी थियो । रोमन साम्राज्य शक्तिशाली भएको समयमा ‘पार्थिया’ सँगको युद्धबाट फर्किएका रोमन सेनाहरुबाट यो महामारी रोमन साम्राज्यमा फैलिएको थियो ।

    यो पनि पढ्नुहोस् – भाइरसको दृष्टिकोणबाट महामारी 

    यस महामारीबाट रोमन साम्राज्य लगायत एशिया, ग्रीस, इटाली समेत गम्भीर रुपमा प्रभावित भएका थिए । यस महामारीबाट ५० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । यस महामारीले रोमन साम्राज्यलाई कमजोर बनाएको थियो ।

    ४. साइप्रियन प्लेग – सन् २५०–२७१ सम्म फैलिएको साइप्रियन प्लेग महामारीले यूरोपमा आतङ्क मच्चाएको थियो । यस महामारीमा रोम शहरमा मात्र प्रतिदिन पाँच हजार मानिसको मृत्यु भएको थियो ।

    यो महामारीपछि मानिसहरुको अभावमा खाद्यान्न उत्पादनमा कमी हुन गई रोमन साम्राज्यमा भोकमरीको स्थिति उत्पन्न भएको थियो । यो महामारीलाई ट्युनिसियाको कार्थग शहरका पादरी सेन्ट साइप्रियनले ‘संसारको अन्त्यको संकेत’ को रुपमा व्याख्या गरेका थिए । यसैले यो महामारीको नाम सेन्ट साइप्रियनको नामबाट साइप्रियन प्लेग रहन गएको हो ।

    ५. जस्टिनियन प्लेग – सन् ५४१ देखि ५४२ सम्म फैलिएको यो महामारीबाट एशिया, उत्तर अफ्रिका, अरेबिया र यूरोपसम्म गम्भीर रुपले प्रभावित भएको थियो । बेन्जाटाइन साम्राज्यका सम्राट बेन्जाटाइनको शासनकाल (सन् ५२७–५६५) मा बेन्जाटाइन साम्राज्य मध्यपूर्वदेखि पश्चिम यूरोपसम्म फैलिएको थियो ।

    सम्राट जस्टिनियनले साम्राज्यको राजधानीको रुपमा रहेको कन्सटान्टिनोपल (हालको स्तानबुल) मा एउटा ठूलो ‘हगिया सोफिया’ (पवित्र ज्ञान) नामक गिर्जाघर निर्माण गर्नुभएको थियो । बेन्जाटाइन साम्राज्यको राजधानीबाट फैलिएको यो महामारीबाट विश्वको १० प्रतिशत जनसंख्या घट्न गई पाँच करोड मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

    ६. कालो मृत्यु – (सन् १३४६–१३५३) ः सन् १३४७ देखि १३५१ सम्म फैलिएको ब्युवोनिक प्लेगलाई कालो मृत्यु (ब्ल्याक डेथ)को नामले चिनिन्छ । यर्र्सििनया पेस्टिस जीवाणुका कारण फैलिएको यो महामारी मुसाबाट उत्पत्ति भई झिङ्गाको माध्यमबाट मानिसमा सङ्क्रमण भएको थियो । यो महामारी एशियाबाट शुरु भई यूरोप लगायत संसारभर फैलिएको थियो ।

    सन् १३४७ को अक्टुवर महिनामा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा ब्ल्याक सी हुँदै १२ वटा पानीजहाज आएर रोकिए । ती रोकिएका जहाजभित्र हेर्दा वीभत्स दृष्य देखियो । जहाजमा रहेका धरैजसो यात्रुको मृत्यु भइसकेको थियो भने मृत्युको अन्तिम अवस्थामा पुगेका जीवित यात्रुहरु रगत र पीपले बनेको कालो फिँजले पुरिएका थिए ।

    ती जहाजहरुमा रहेका मुसाहरु शहर पसे पछि फैलिएको महामारीले संसारभरि २० करोड मानिसको मृत्यु भएको थियो । यूरोपमा मात्र जनसंख्याको एक तिहाइ अर्थात दुई करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो महामारीपछि यूरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न २०० वर्ष लागेको थियो । यो महामारीले यूरोपको मार्ग परिवर्तन गरेको इतिहासकारहरुको मत रहेको छ ।

    यो रोगको उत्पत्ति, रोकथाम र उपचारबारे मानिसहरुलाई थाहा थिएन । रोगी मानिसको नजिक नगएमा रोग सर्दैन भन्ने थाहा भएपछि भेनेसियनहरुको नियन्त्रणमा रहेको रसुगा शहरले पानीजहाजबाट आउने यात्रुहरुलाई बिरामी नभएको प्रमाणित नभएसम्म एकान्तमा ३० दिन (पछि ४० दिन बनाइयो) राख्ने नियम बनाइयो जसलाई ’क्वरान्टिनो’ भनिन्थ्यो । हाल प्रचलनमा रहेको क्वारेन्टाइनको पूर्वरुप यही नै हो।

    ७. अमेरिकन प्लेग – यो महामारी सन् १५११ देखि १५३२ सम्म यूरोपेली अन्वेषकहरुबाट अमेरिकी महादेशमा फैलिएको थियो । नाक–कान बाट रगत बग्ने र अधिक ज्वरो आउने लक्षण भएको यो महामारीबाट एक करोड ८० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ । यस महामारीबाट पश्चिम गोलार्धमा रहेका आदिवासीहरुको ९० देखि ९५ प्रतिशतसम्म मृत्यु हुनाका साथै ‘एज्टेक सभ्यता’ र ‘इन्का सभ्यतालाई’ विनाश गरेको थियो ।

    यो पनि पढ्नुहोस् – कोरोना भाइरस महामारी: चार करोडभन्दा बढीको ज्यान लिएको स्पेनिश फ्लूबाट हामीले के सिक्यौँ?

    ८. कोको लिज्ट्ली महामारी– सन् १५४५–१५४८ को अवधिमा साल्मोनेला उपसमूहको एस. प्यारासाइटको सङ्क्रमणबाट मेक्सिकोबाट शुरु भएको यो महामारीबाट संसारभर एक करोड ८० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

    ९. ग्रेट प्लेग अफ लण्डन – सन् १६६५ को अप्रिल महिनादेखि १६६६ को सेप्टेम्बर महिनासम्म फैलिएको यो महामारीमा एक लाख मानिसको मृत्यु भएको थियो । यो महामारीबाट लण्डन शहरका १५ प्रतिशत मानिसले ज्यान गुमाएका थिए ।

    १०. ग्रेट प्लेग अफ मार्सेल (सन् १७२९–१७२३) – मध्यपूर्वबाट मालसामान ल्याएर आएको ’ग्रयाण्ड्स सेन्ट एन्टोइन’ नामक पानीजहाजबाट निस्केर शहर पसेका सङ्क्रमित मुसाहरुबाट फ्रान्सको मार्सेल शहरबाट फैलिएको यो महामारीबाट मार्सेल शहर र आसपासको क्षेत्रमा एक लाख मानिसको मृत्यु भएको थियो जसमा ३० प्रतिशत मार्सेल शहरका बासिन्दाहरु थिए ।

    ११. रसिएन प्लेग – सन् १७७० देखि १७७२ सम्म रुसको मस्को शहरमा फैलिएको यस महामारीमा एक लाख मानिसले ज्यान गुमाएका थिए । कारखानाका कारण महामारी फैलिएको भनी सरकारले सबै कारखानालाई मस्को बाहिर सार्ने निर्णय गर्नुपरेको थियो ।

    १२. स्पेनिश फ्लु (सन् १९१८–१९२०) – प्रथम विश्वयुद्ध सकिए लगतै स्पेनिश फ्लुको महामारी फैलिएको थियो । यस महामारीबाट त्यसबेलाको विश्वको जनसङ्ख्याको एक तिहाइ हिस्सा अर्थात ५० करोडभन्दा बढी मानिस सङ्क्रमित हुनाका साथै पाँच करोडदेखि १० करोडसम्म मानिसहरुको मृत्यु भएको थियो ।

    यस महामारीबाट भारतमा मात्र जनसंख्याको ६५ अर्थात एक करोड ८० लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो भने चीनमा ४० लाखदेखि ९४ लाखसम्म, इण्डोनेसियामा १५ लाख, इरानमा नौ लाखदेखि २४ लाखसम्म, अमेरिकामा छ लाख ७५ हजार र जापानमा चार लाख मानिसको मृत्यु भएको थियो ।

    यो महामारीको नाम स्पेनिश फ्लु रहनुमा पनि एक रोचक कथा छ । यो महामारी स्पेनबाट फैलिएर यसको नामकरण स्पेनिश फ्लु रहन गएको होइन । प्रथम विश्व युद्धमा ब्रिटेन, फ्रान्स र रुसको एउटा गठबन्धन थियो भने जर्मनी, अष्ट्रिया, हंगेरी र इटालीको अर्को गठबन्धन थियो । तर स्पेन भने कुनै गठबन्धनमा सम्मिलित थिएन । ऊ तटस्थ थियो ।

    प्रथम विश्व युद्धमा गठबन्धनमा सम्मिलित देशहरुमा प्रेसमा एक प्रकारको प्रतिबन्ध थियो । सेनाको मनोबल गिराउने कुनै सामग्री छापिदैनथ्यो । सैनिक शिविरबाट शुरु भएको यस महामारीको सत्यतथ्य समाचार युद्ध सम्मिलित राष्ट्रका सञ्चार माध्यमले सार्वजनिक गर्ने अवस्था थिएन ।

    तर युद्धमा समावेश नभएको तटस्थ रहेको स्पेनमा तुलनात्मकरुपमा प्रेस स्वतन्त्रता थियो । त्यसैले स्पेनी सञ्चार माध्यमले यस महामारीबारे सत्यतथ्य जानकारी सार्वजनिक गरेकाले यस महामारीको नाम स्पेनिश फ्लु रहन गएको हो ।

    १३. बिफर – सन् १५२० देखि १६०० सम्म यूरोप, दक्षिण अमेरिका, एसिया, अरेबिया लगायत विश्वमा महामारीको रुपमा फैलिएको बिफरले पाँच करोड ६० लाख मानिसको ज्यान गएको थियो भने बचेका मानिसहरुमा विभिन्न दाग रहनाका साथै अपाङ्ग भएका थिए ।

    पश्चिमी गोलार्धको अमेरिका र मेक्सिकोमा ९० देखि ९५ प्रतिशतसम्म आदिवासीहरुको मृत्यु हुनाका साथै इज्टेक र इन्का सभ्यतालाई समाप्त पारेको थियो । यो रोगबाट विभिन्न समयमा नेपालमा पनि धेरै मानिसको मृत्यु हुनाका साथै कतिपय अपाङ्ग भएका थिए । यस रोगको खोप पत्ता लागेपछि हाल यो रोग उन्मूलन भएको छ ।

    १४. हैजा – सन् १८४० देखि १८६० सम्म भारतबाट शुरु भएको हैजाको महामारी एसिया, यूरोप, उत्तर अमेरिका, अफ्रिका लगायत सारा विश्वमा फैलियो । यस महामारीमा परी १० लाख मानिसको मृत्यु भएको थियो ।

    विश्वको विभिन्न भागमा विभिन्न समयमा हैजा फैलिन गई करोडौं मानिसको मृत्यु हुने गरेको छ । यो रोगबाट नेपालमा पनि विभिन्न समयमा धैरै मानिसको मृत्यु भएको इतिहास छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो रोगबाट हरेक वर्ष १३ लाखदेखि ४० लाखसम्म मानिसहरु प्रभावित हुनाका साथै हरेक वर्ष एक लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

    १५. एचआइभी–एड्स (सन् १९८१ देखि हालसम्म) – पश्चिम अफ्रिकामा चिम्पाञ्जीबाट मानिसमा सरेको यो रोगबाट हालसम्म तीन करोड ५० लाख मानिसको मृत्यु भएको छ भने सात करोड भन्दाबढी मानिस यस रोगबाट सङ्क्रमित छन् । अहिलेसम्म यसको खोप पत्ता लागेको छैन । यस रोगको रोकथामका लागि एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) मार्फत यसको उपचार हुने गरेको छ ।

    १६. स्वाइन फ्लु (सन् २००९–२०१०) – मेक्सिकोबाट शुरु भएर संसारभर फैलिएको यो रोगबाट आजसम्म एक लाख ५२ हजारदेखि पाँच लाख ७५ हजारसम्म मानिसको मृत्यु भएको अनुमान गरिएको छ । सुँगुरबाट मानिसमा सङ्क्रमण भएको यो रोगको खोप पत्ता लागिसकेको छ ।

    १७. पश्चिमी अफ्रिकन इबोला (सन् २०१४–२०१६) – बाँदरबाट मानिसमा सरेको इबोला भाइरसबाट यो महामारी फैलिएको हो । अफ्रिकी मुलुक गिनीबाट फैलिएको यो महामारीबाट सन् २०१४ देखि २०१६ सम्म यूरोप, अफ्रिका र अमेरिकी महादेशमा ११ हजार ३२५ मानिसको मृत्यु भएको थियो ।

    १८. एशिएन फ्लु (सन् १९५७–१९५८) – कुखुराबाट मानिसमा सङ्क्रमण भई चीनबाट सिङ्गापुर, हङ्गकङ्ग हुँदै विश्वभर फैलिएको यो महामारीबाट ११ लाखभन्दा धेरै मानिसको मृत्यु भएको थियो जसमध्ये अमेरिकामा मात्र एक लाख १६ हजार मानिसको मृत्यु भयो ।

    १९. हङ्गकङ्ग फ्लु – सन् १९६८ को जुलाईदेखि सेप्टेम्बर महिनासम्म फैलिएको यो महामारी हङ्गकङ्गबाट शुरु भई भियतनाम, सिङ्गापुर र अमेरिकासम्म फैलिएको थियो । यो रोगबाट १० लाख मानिसको मृत्यु भएको थियो । अधिकांशतः ४५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्ति र दीर्घ रोगीहरु यो रोगबाट बढी प्रभावित भएका थिए ।

    यो पनि पढ्नुहोस् – सार्स महामारी विकसित राष्ट्रको सन्मुख पुगेका मुलुकहरुका विरुद्धको हथियार

    २०. सार्स कोरोना – सन् २००३ मा २६ वटा देशमा फैलिएको यो रोगबाट ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    २१. मर्स कोरोना – सन् २०१२ मा मध्यपूर्वका अफ्रिकी देशहरुमा देखा परेको यो रोगबाट ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    २२. जिका भाइरस (सन् २०१५ देखि आजसम्म) – एसिट एजेप्टि नामक लाम्खुट्टेको टोकाइबाट यो रोग सर्छ र रोग सार्ने जिका भाइरसले हो । ब्राजिलबाट फैलिएको यो रोगबाट २४ मुलुकका ४० लाख भन्दाबढी मानिस सङ्क्रमित भई हालसम्म ८५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

    २३. औलो – औलो रोगले पृथ्वीमा मानिसको उत्पत्ति भएदेखि नै प्रभावित पार्दै आइरहेको छ । सन् १८८० मा फ्रान्सेली सैन्य चिकित्सक ल्यावेरनले औलोको कारक प्रोटोजोआ परजीवी हो भन्ने पत्ता लगाए । यसको लागि उनलाई सन् १९०७ मा नोबेल पुरुस्कार प्रदान गरियो ।

    एशिया, अफ्रिका र अमेरिकी महादेशको उष्णीय क्षेत्रमा फैलिने यो रोगले प्रत्येक वर्ष करोडौं मानिसलाई प्रभावित पार्नाका साथै प्रत्येक वर्ष दशदेखि ३० लाख मानिसको मृत्यु हुने गर्दछ ।
    यो परजीवीलाई एउटा मानिसबाट अर्को मानिसमा सार्ने काम एनेफिलिसमाउ लामखुट्टेले गर्छ । औलो रोगका कारण हालसम्म करोडौ मानिसको मृत्यु भइसकेको छ । औलो रोगको कारण

    नेपालमा पनि विभिन्न समयमा धेरै मानिसको मृत्यु भएको थियो । अहिले औलो रोग उन्मूलन भएपनि यो विश्वभर छिटफूटरुपमा देखा पर्ने गरेको छ ।

    २४. कोभिड–१९ महामारी – चीनको हुवेइ प्रान्तको वुहान शहरबाट सन् २०१९ को डिसेम्बर महिनाको दोस्रो सातादेखि फैलिएको कोभिड महामारीको चपेटामा आजसम्म विश्वका १२० देश तथा आश्रित क्षेत्रहरु र दुई वटा पानीजहाज परिसकेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले २०२० जनवरी ३ मा कोभिड–१९ लाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट’ घोषणा गरेको थियो भने २०२० मार्च ११ मा यसलाई महामारीको रुप लिएको घोषणा गरेको थियो । चीनको वुहान शहरबाट २०७६ पुस २० गते नेपाल फर्किएका ३३ वर्षीय नेपाली विद्यार्थीलाई जाँच्ने क्रममा माघ १० गते कोभिड–१९ पोजेटिभ भएको पुष्टि भएको थियो ।

    कोभिड–१९ सङ्क्रमित राष्ट्रको रुपमा दर्ज भए लगत्तै नेपालले कोभिड–१९ को सामना गर्ने क्रममा अन्तर्राष्ट्रिय सीमा बन्द गर्नाका साथै अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गरी २०७६ चैत्र ११ देखि लकडाउन गर्न शुरु गर्‍यो । यसलाई २०७७ वैशाख २५ गतेसम्म लम्ब्याइएको छ ।

    कोभिड–१९ महामारीको पछिल्लो ताजा स्थिति हेर्दा विश्वको महाशक्तिको रुपमा रहेको संयुक्त राज्य अमेरिका लगायत विश्वका विकसित एवं शक्तिशाली राष्ट्रहरु कोभिड–१९ को महामारीबाट सबैभन्दा वढी प्रभावित भएको देखिन्छ ।

    आजसम्म विश्वभर दुईलाख २४ हजार मानिसको यस महामारीबाट मृत्यु भइसकेको छ । कोभिड–१९ महामारी नेपालमा अहिलेसम्म नियन्त्रण मै छ, कोभिड–१९ बाट कसैको पनि मृत्यु भएको छैन । तर अमेरिका, बेलायत, युएई, टर्की, आयरलैण्ड, नेदरलैण्ड, जापानमा समेत गरी अहिलेसम्म ५४ जना नेपालीको निधन भएको दुःखद् जानकारी एनआरएनले दिएको छ ।

    आफ्नो नागरिकको सुरक्षा गर्नु राज्यको प्रथम दायित्व भएकाले नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकको जीवन रक्षाका लागि उनीहरुको साथमा सरकार छ भन्ने प्रत्याभूति दिने गरी हरसम्भव प्रयास र पहल गर्नुपर्दछ ।

     

    -डा. झलक गौतम (लेखक पूर्वमन्त्री हुन्) हाम्रो इकोनोमी बाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.