-डा. वेद प्रताप वैदिक-
करिब ६० वर्षअघि प्रसिद्ध फ्रान्सेली चिन्तक पियरे जोसेफ प्रोधोंलाई पढ्दै गर्दा उनको एउटा वाक्यले म छक्क परेको थिएँ। त्यो वाक्य थियो– ‘सबै सम्पत्ति चोरीको सामान हो।’ अर्को शब्दमा भन्नुपर्दा, सबै धनीहरू चोर र डाँकु हुन्। त्यतिखेर मैले त्यस्तो कसरी हुन सक्छ भन्ने ठान्थेँ। तर अहिले संसारमा गरीब र धनीबीचको खाडल देख्दा मलाई फ्रान्सेली अराजकतावादी विचारक प्रोधोंको भनाइमा केही सत्यता छ जस्तो लाग्छ।
कार्ल मार्क्सको दास क्यापिटल र विशेषगरी कम्युनिष्ट घोषणापत्र पढ्दै गर्दा मैले अन्ततः यो वाक्य पनि देखेँ कि, ‘मजदुरहरूले गुमाउनका लागि आफ्नो शोषणको साङ्लो (बन्धन)बाहेक हरु केही छैन।’ अब यी दुई वाक्यहरूबारे मनन गरौँ।। हामीले सोच्न थालेपछि मात्र शब्दको पूर्ण अर्थ बुझिन्छ। जब विश्वका धनी र गरीब देशहरू र मानिसहरूका बारेमा म गम्भीरतापूर्वक सोच्न थाल्छु, तब किन धनी झनै धनी हुन्छ र गरिब किन झनै गरिब हुन्छ भन्ने प्रश्नको उत्तर पहिल्याउने प्रयास गर्छु।
र, म निचोडमा पुग्छु कि धेरै बौद्धिक भएकोले कोही धनी भएको होइन, धेरै मेहनती भएकोले वा भाग्यले गर्दा पनि हुँदै होइन। किनकि भाग्य भन्ने त्यस्तो कुनै संयन्त्र वा व्यवस्था नै छैन। भाग्य त भ्रम हो। कोही धनी हुनुको रहस्य त्यस व्यक्ति वा उसको पुर्खाको चतुराईमा लुकेको छ। जसबाट मुट्ठीभर मानिसहरूले उत्पादनका साधनहरूमा कब्जा गर्छन् र मजदुरहरूलाई त्यति मात्रै ज्याला दिन्छन्, जसले जसोतसो कुनै न कुनै रूपमा मजदुरहरू बाँच्न सकून्।
यस संसारमा जन्मदा हरेक मानिस रित्तो हात आउँछ। तर त्यसरी जन्मिएका व्यक्तिमध्ये एउटाको हातचाहिँ हिरा मोतीले भरिन्छ भने अर्कोको हातमा चाहिँ इँटाढुङ्गा हुनुको कारण के होला? र, हाम्रो सामाजिक व्यवस्था (धर्म÷परम्परा÷मूल्य÷मान्यता) र कानून आदि यसरी बनाइएको छ कि यो असमानतालाई कसैले अनैतिक वा अनुचित पनि मान्न सक्दैन। हाल ५० प्रतिशत मानिससँग विश्वको कुल सम्पत्तिको २ प्रतिशत मात्रै छ। जबकि १० प्रतिशत धनीमानीहरूसँग ७६ प्रतिशत सम्पत्ति छ ।
र, आजकै दिनमा संसारको कुल आम्दानीलाई सबै मानिसमा समान रूपमा बाँडियो भने प्रत्येक व्यक्ति करोडपति बन्नेछ। सबै व्यक्तिसँग करीब एक करोड नेपाली बराबरको सम्पत्ति हुनेछ। प्रत्येक व्यक्तिको आम्दानी नै मासिक २ लाख नेपाली हुनेछ। तर वास्तविकता के छ त? भारतमा ५० प्रतिशत मानिस यस्ता छन् जसको महिनाको आम्दानी मात्र नेपाली ७२ सयजति छ। दैनिक २ सय ५० जति कमाइ छ। दिनहुँ सय रुपैयाँ पनि आम्दानी नभएकाहरू करोडौं छन् भारतमा। उनीहरूलाई रोटी, कपडा र घर पनि राम्ररी उपलब्ध छैन। शिक्षा, चिकित्सा र मनोरञ्जन त धेरै टाढाको कुरा भयो।
तर यिनै गरीब जनताले मिहिनेत गरेपछि मात्रै धनीले समेत खाने खाद्यान्न उत्पादन हुन्छ, कलकारखाना चल्छ। तिनीहरूकै श्रममा टेकेर मध्यम र उच्च वर्गका मानिसले मस्ति गर्छन्। अतः धनी र गरीबबीचको खाडल निकै गहिरो छ। आम्दानी र खर्च दुबैको अनुपात एक र दशको भयो भने चारैतिर खुशीयाली फैलन्छ। तर के धनीहरू सबैलाई खुसी बनाउन तयार छन्? हाम्रो शासनसत्ता त्यसो गर्न तयार छ? छैन, किनभने आजका संसारका सबै सत्ताहरू धनीहरूबाटै पालित पोषित छन्।
(डा. वेद प्रताप वैदिकको ब्लग www.drvaidik.in बाट)










