Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026
Thursday, April 23, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्वनाम साथी, सकलि र म

उमङ्गको चुलीमा उभिएर उनले भने- 'साथी ! सादा साथीमात्र भएर पुगेन, अब हामी कमरेड बन्ने हो ।' कुराको चुरो नबुझी त्यत्तिकै मैले सोधेँ, 'बन्न त बन्ने हौ, तर कसरी कमरेड?'

खगेन्द्र संग्रौला खगेन्द्र संग्रौला
साउन ३१, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्वनाम साथी अर्थात्‌ सुमन अर्थात्‌ शशि शेरचनसँग म भलिभाँती परिचित  छु। सकलि उर्फ सर्वहारावादी कम्युनिस्ट लिगसँगको मेरो चिनारी भने केवल  छिपछिपे छ। यो चिनारीका केवल केही छिटफुट घटना र अपूर्ण विचारमात्र अहिले मेरो धमिलो सम्झनामा छन्‌। विद्यार्थीकालीन युवावयमा मैले चिन्दा पछिका स्वनाम साथी लक्का जवान शशि शेरचन थिए। सामाजिक न्याय र समताको दीर्घ सङ्घर्षपछि उनले धेरै मानिसका मनमा स्वनाम साथीको गहिरो छाप छाडेर जीवनलाई बिसाए। हाम्रो लम्बेतान जीवनयात्रामा मैले स्वनाम साथीका तीन वटा रूप देखेँ। न्वारानको नाम सुरेन्द्रप्रसाद शेरचनले  चिनिने साथी शशि शेरचन, सकलि अर्थात्‌ सर्वहारावादी कम्युनिस्ट लिगमा सुमन नामले चिनिने अध्यक्ष कमरेड र आखिरमा स्वनाम साथीको नामले चिनिने धेरै मानिसका प्रिय स्वनाम साथी।

    सकलि गठनको पृष्ठभूमि, निर्माणसम्बन्धी अन्तरकुन्तरका मिहिन कुरा मलाई खासै थाहा छैन। मलाई केही मोटामोटी कुरामात्र थाहा छ। विक्रमाब्दको पैंतिस सालको कुरा हो यो। तिनताक म नारायणगढ, चितवनको बालकुमारी माविमा मास्टरी गर्थेँ। सकलि गठनको पृष्ठभूमि यता काठमाडौँमा निर्माण भएछ। यसका मूल निर्माता रहेछन्‌ शशि शेरचन, निरीश नेपाल र अपत्य शर्मा। बन्दिपुरे विद्याप्रसाद श्रेष्ठ सकलिको केन्द्रमा अलि पछि जोडिन पुगे।

    म काठमाडौँ आउँदा मेरो बास प्रायः मित्र शशिसँगै हुन्थ्यो। एक पटक म जब काठमाडौं आएँ, मित्र शशि बडो उल्लसित मुद्रामा भेटिए । उनमा पार्टी गठन गर्ने जब्बर धुन चढिसकेको रहेछ। उमङ्गको चुलीमा उभिएर उनले भने- ‘साथी ! सादा साथीमात्र भएर पुगेन, अब हामी कमरेड बन्ने हो।’ कुराको चुरो नबुझी त्यत्तिकै मैले सोधेँ, ‘बन्न त बन्ने हौ, तर कसरी कमरेड ?’

    ‘कम्युनिस्ट पार्टीको हँसिया-हथौडा अङ्कित झन्डा बोकेर। सङ्घर्षको मैदानमा लाल क्रान्तिको उथलपुथलकारी बिगुल फुकेर।’

    पार्टीको नेतृत्वकारी पदमा बसेर आफूलाई साथ दिन मित्र शशिले मसँग सनिवय आग्रह गरे। मेरा लागि बिल्कुल अप्रत्याशित र असम्भव आग्रह थियो त्यो। ममा न कम्युनिस्ट नेता बन्ने त्यत्रो आकाङ्क्षा थियो न ममा त्यस्तो आकाङ्क्षालाई टेको दिने साहस र उत्सर्गको भावना नै थियो। मित्र शशिको आग्रह सुनेर त्यसै त्यसै रनभुल्ल परेँ म। र,सोचीविचारीकन मित्रसामु मैले आफूनो मनको यथार्थ भाव पोखे‌ं- ‘ममा नेता बन्ने न कुनै अभिलाषा छ न त सामर्थ्य नै छ। मेरो स्वभाव र मनोभाव कम्युनिस्ट पार्टीको कठोर अनुशासन थेग्ने खालको छँदैछैन।’ मनमा कता कता मेरो अर्को चिन्ता पनि थियो।  कम्युनिस्ट पार्टीको नियन्त्रणकारी अनुशासन कतै मेरो चिन्तन र सिर्जनाको बाधक पो बन्ला कि! मनको अन्तरको यो संशय भने मैले मनमै लुकाइराखें।

    मित्र शशिले गर्नुसम्म कर गरे। उनकै शब्दमा उनलाई सङ्‍गठन एक जना लेखक चाहिएको थियो । मन मिलेका मित्रको आग्रह मैले कसैगरी टार्न सकिनँ। र, कर्मले कुनै उल्लेख्य योगदान नगरी मेरो नाम सकलिको संस्थापक नेतामा दर्ज भयो  पदले म कोषाध्यक्ष भनिएँ । जसको स्वभाव न चिप्ला कुरा गरेर चार पैसा चन्दा उठाउनसक्ने खालको थियो, न जोसँग आर्थिक व्यवस्थापनको एक थोपो कौशल थियो, उ लिगको कोषाध्यक्ष बन्यो।

    वास्तवमा केही नगर्नका लागि मित्रको उदारताबाट प्राप्त पद थियो त्यो ! करिब तीन वर्षको अन्तरालमा म सकलिका जम्मा तीनवटा बैठकमा सामेल भएँ। खासमा सकलि केन्द्रमा मेरो भूमिका सङ्गठनको कृयाशील कर्ताको होइन केवल निष्क्रिय एवं मौन पर्यवेक्षकको जस्तो थियो । कमरेड शशि र कमरेड निरीश नित्य वैचारिक वार्तालाप गरिरहन्थे, हामी अरूहरू सबै कम्युनिस्ट पार्टीमा जस्तै केवल सुन्थ्यौं र मौन सहमतिमा मुन्टो हल्लाउँथ्यौं। अहिले सम्झन्छु, लिगको अविस्मरणीय घोषणा बैठकमा म हाजिर थिएँ । घोषणापत्र  कमरेड निरीश नेपालले लेखेका थिए। त्यो उनैले पढेर सुनाए। सङ्गठनको नाम सर्वहारावादी कम्युनिस्ट लिग नै किन राखियो ? यसबारेको तर्क खुबै घतलाग्दो थियो। धेरैअघि १ जुन १८४७ मा लन्डनमा कम्युनिस्ट लिग गठन भएको थियो। त्यो अनेक  कम्युनिस्ट सङ्‍गठनको  एकीकृत एवं विस्तारित रूप थियो। बिचार र विस्तार दुवै दृष्टिले मार्क्सवाद निर्देशित पहिलो अन्तरराष्ट्रिय कम्युनिस्ट सङ्‌गठन थियो त्यो । त्यसका बेतात्रय थिए कार्ल मार्क्स, फ्रेडरिख एङ्गेल्स र कार्ल शाप्पर। मार्क्स र एङ्गेल्सद्वारा कम्युनिस्ट घोषणापत्र त्यही लिगको तर्फबाट लेखिएको थियो । हाम्रो सर्वहारावादी कम्युनिस्ट लिगको प्रेरक त्यही लिग थियो। क्रान्तिकारी गुरुहरूद्वारा स्थापित लिगको सम्झना र सम्मानमा हाम्रो लिगको त्यस्तो नाम जुराइयो । र, मुठूठी कसेर यसलाई त्यस्तै शुद्ध, सद्दै र सक्कली कम्युनिस्ट लिग बनाउने दृढ सङ्कल्प गरियो । नेता त्रयद्वारा स्थापित लिगको नामअगाडि हाम्रोमा ‘सर्वहारावादी’को पगरी गाँसियो। र, छोटोमा यसको नाम भयो-  सकलि। बैठकमा यहीमात्र नेपालको सक्कली कम्युनिस्ट सङ्गठन हो भनी सगर्व उद्घोष गर्दै उल्लासमय मुद्रामा थप्पडी बजाइयो। थप्पडी बजाउने हात जम्मा दस वटा थिए।

    यो सकलिका दृष्टिमा नेपालका कम्युनिस्ट भनिने अन्य सबै सङ्गठन नक्कली थिए। नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको सङ्गठन नक्कली थियो। कारण त्यो काशीवास गरी नेपालमा क्रान्तिको मिथ्या सपना देख्थ्यो। र, त्यसलाई संसदवादी काङ्ग्रेसको पुच्छर मानिन्थ्यो। मोहनविक्रम सिंह नेतृत्वको चौथो महाधिवेशन नक्कली थियो। कारण त्यो ताल न तुकको (देशभक्त तथा जनतान्त्रिक शक्तिहरूको सरकार’को माला जप्थ्यो। त्यो लोकका आँखामा छारो हाल्ने बुर्जुवा माला थियो। मनमोहन अधिकारी नेतृत्वको पूर्व कोशी नक्कली थियो। कारण त्यसमा दरबारमुखी लचक थियो। झापाली गुट नक्कली थियो। कारण त्यो रुमानी उत्तेजना र व्यक्तिहत्यामुखी उग्रताबाट उद्वेलित थियो। ‘चीनका अध्यक्ष हाम्रा अध्यक्ष, चारु मजुमदार हाम्रा प्राधिकार’ त्यसको मरुल मन्त्र थियो। त्यो मन्त्रले हाम्रो राष्ट्रियतालाई कमजोर बनाउँछ भन्ने सकलिको मत थियो । श्यामप्रसाद यसका अगुवा हुन्‌ भनिने अति गोप्यतावादी गुट नक्कली थियो। कारण त्यो संशयवादी थियो। त्यो अकर्मण्यताग्रस्त थियो। र, त्यो आफूनै चित्तको रहस्यवादी गुफाको कैदी थियो। सक्कली कम्युनिस्ट सङ्गठन आखिर कुन थियो त ? एकमात्र सक्कली हाम्रो सकलि थियो ! अनौठो कुरा के भने हाम्रो स्कालि आफूलाई जति सक्कली ठान्थ्यो, नेपालका अन्य सबै कम्युनिस्ट गुटहरू आफूलाई त्योभन्दा कम सक्कली ठान्दैनथे। सक्कलीको यो दाबी वास्तवमा नेपाली कम्युनिस्ट महलको यस्तो सङ्क्रामक अहङ्कार थियो, जो सर्वत्र व्याप्त थियो र जो अद्यापि सर्वत्र व्याप्त छ।

    खास छलफल र सवाल-जवाफबिना नै हाम्रो घोषणापत्र सर्वसम्मतिले पारित भयो। आयो अब लिग स्थापनाको औपचारिक निर्णय लिपिबद्ध गर्ने पालो। प्रश्न उठ्यो-यो निर्णयकारी लिखतमा यसका कर्ताहरूको सक्कली नाम राख्ने हो कि गुप्त नाम राख्ने हो? अध्यक्ष सुमनले भने- ‘यो हाम्रो सकलिको ऐतिहासिक दस्ताबेज हुनेछ। तसर्थ यसमा सक्कली नामै राखिनुपर्छ।’ चित्तमा झट्का लागेझैँ गरी निरीश र अपत्यले मुखामुख गरे। यी दुइ कमरेड अतिगोप्यवादी गुटको सङ्कीर्ण वृत्त तोडेर बाहिर निस्किएका थिए। अति गोप्यतावादीको शीर्ष नेतृत्वप्रति यिनमा चरम घृणा थियो। विडम्बनावश, निकै लामो समयसम्म अति गोप्यतावादी गुटका शीर्षस्थहरूद्वारा कमलकोटीको गुनगुनले झैँ गाँजिँदा यिनका मथिङ्गलमा उक्त गुटको संशयवादी संस्कारको गहिरो छाप परेको थियो। यी दुई कमरेड हावा लाग्दा वा रुखका पात हल्लिँदा पनि सशङ्कित हुन्थे। यही संशयवादी कोणबाट निरीशले तर्क गरे, ‘कमरेड, सुरक्षाका दृष्टिले गुप्त नाम राख्नु नै बुद्धिमानी होला।’ अध्यक्ष सुमन सहमत भएनन्‌। उनले जिरह गरे, ‘नाइँ कमरेड, नाम सक्कली नै रहनुपर्छ। उदाहरणका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दस्तावेज नै हेरौँ न। त्यसमा पुष्पलालहरूका नाम नराखिएका भए त्यो उनैको कृति हो भनी दुनियाँलाई कसरी थाहा हुन्थ्यो ?’ बैठकमा मौनता छायो। आखिरमा सक्कली नाम राख्ने मत विजयी भयो। र, हाम्रो ऐतिहासिक’ दस्तावेजमा ‘सर्वसम्मति’को छाप लाग्यो !

    सकलिको केन्द्रीय समिति बन्यो कुल पाँच जनाको।  सकलि स्थापनाको प्रक्रियामा न्यूनाधिक क्रियाशील उपस्थिति हामी जम्मा तिनै पाँच जनाको थियो। छन त त्यो प्रक्रियामा छैटौँ व्यक्त पनि संलग्न थिए, प्रेमबहादुर श्रेष्ठ। लिगको केन्द्रमा बस्ने योग्यता नपुगेर होला सायद उनी फड्के किनारको साछीमा छुटे। केन्द्रका पाँच कमरेडमध्ये चार जनाको पोलिटब्युरो बन्यो। केन्द्रीय सदस्य विद्याप्रसाद श्रेष्ठ ब्युरो बाहिर एक्लै छुटे।  अहिले यो प्रसङ्ग उठ्दा बाँकी चारै जना पोलिटब्युरोमा रहन योग्य भई केवल आफू एक जना अयोग्य हुनु परेकोमा विद्याको लवजमा असन्तोषको छनक पाइन्छ। केन्द्रीय समिति छ जम्मा पाँच जनाको, त्यसमध्ये चार जनाको पोलटब्युरो आखिर बनाउनुपन्यो नै किन? केवल यन्त्रिक रूपले कम्युनिस्ट सङ्गठनसम्बन्धी परम्परा धान्न? केवल अन्य नक्कलीहरूलाई देखाउन ? अनि विद्या कमरेडमात्र किन ब्युरोबाहिर? उमेरले कनिष्ट भएर? कि ज्ञान र अनुभवको ओजन नपुगेर? कि हाकाहाकी नबोल्नेको  चामल नबिकेर ?

    सर्वहारावादी कम्युनिस्ट लिग विधिवत्‌ रूपले बन्यो र यसको सङ्गठन विस्तारको कार्य प्रारम्भ भयो। कमरेड निरीश र कमरेड अपत्य अतिगोप्यवादी गुटबाट आफूनो अघिपछि कोही नलिई एक्लैजसो बाहिर निस्केका थिए। संशयमुखी प्रवृत्तिका कारण तिनको राजनीतिक सम्पर्क फराकिलो हुने सम्भावना नै थिएन। अध्यक्ष कमरेड सुमनको सम्पर्कमा विद्यार्थी र श्रमिकहरू थुप्रै थिए। राजधानी उपत्यकामा सङ्गठन निर्माण हेतु सम्पर्क विस्तार गर्ने कार्य मूलतः उनैले गरे। चोभारका मजदुर निरञ्जन मार्फत्‌ मजदुर फाँटमा सम्पर्क विस्तार गर्ने कार्य सुरु भयो। उमेश नामका विद्यार्थीले विद्यार्थी पङ्क्तिमा  सकलिलाई चिनाउने यत्न गरे। कालान्तरमा बन्दीपुरमा सकलिको एउटा समिति बन्यो। उक्त समितिमा जुटे विद्याप्रसाद श्रेष्ठ, ईश्वर श्रेष्ठ र राजकुमार प्रधान। अलिपछि बन्दीपुरे सुदर्शन प्रधान पनि  सकलिको छातामुनि सामेल भए। नारायणगढ, चितवनमा विद्याप्रसाद श्रेष्ठ र रामहरि श्रेष्ठको अग्रसरतामा विक्रेता मजदुरहरूलाई सङ्गठित र यदाकदा आन्दोलित तुल्याउने कार्य भयो।

    सकलिको क्रियाशील जनशक्ति त सीमित थियो नै, यसको आर्थिक स्रोत झनै सीमित थियो। त्यसैले यी सब सचेत एवं रचनात्मक प्रयत्नका बादजुद सकलि चिताएझैँ फैलिन सकेन । न लिगको दैनिकी चलाउने अर्थको कुनै नियमित स्रोत छ, न विस्तृत जनाधार छ, न त खट्ने र डट्ने पर्याप्त सङ्गठकहरू नै छन्‌। आफूना यी यावत्‌ सीमाहरूका कारण सबैलाई खोटा घोषित गर्दै बनेको सक्कली कम्युनिस्ट लिग प्रगतिको यथेष्ट गति नपाएर बिच बाटोमै अल्झियो।

    तिनताक अनेक कम्युनिस्ट सङ्गठनहरूमध्ये नेपाल मजदुर किसान पार्टी पनि अस्तित्वमा थियो। त्यसका मूल नेताद्वय थिए कमरेड रोहित र कमरेड रूपलाल विश्वकर्मा। सकलिका शुद्धतावादी दृष्टिमा यी दुइ नेता कमरेड अपेक्षाकृत असल मानिन्थे। यी दुइ नेता कमरेड आफूना विचार र अनुभव बोल्दा र लेख्दा सजिलो भाषामा प्रकट गर्थे। यिनका अभिव्यक्तिमा सिद्धान्तका गाँठा परेका अबोधगम्य सूत्रहरू हुँदैनथे। सिद्धान्तलाई सरल भाषामा घोलेर भन्न यी दुइ कमरेड सिपालु थिए। सीमित सामाजिक मानचित्रमा मजदुर-किसान पार्टी जहाँ जहाँ थियो, त्यहाँ यो शोषित र पीडितहरूमाझ रिझेभिजेको थियो। चल्तीको भाषामा यो आम मान्छेसँग नङमासुसरी एकाकार भएको थियो। सकलिका दृष्टिमा रूपलाल विश्वकर्माप्रति अफ बढी आदरभाव थियो। किन ? किनकि उनी हिन्दु वर्णव्यवस्थाको नारकीय पिँधका मानिस थिए| दलित, अपहेलित र गरिब। दुई-ढाई कक्षा पढेका रूपलालले चितवनमा छुवाछुतविरोधी आन्दोलनको ज्वार उठाएका थिए। उनले कति कुटाइ खाए त्यसको हिसाबै थिएन| तर उनी कहिल्यै दबेनन्‌, कहिल्यै थाकेनन्‌, कहिल्यै हारेनन्‌। सङ्घर्षका लहरमाथि लहर उठाउँदै उनले जुगेडी विद्रोहको नेतृत्व गरे। र, श्रमिक सङ्घर्षको यात्रामा ‘जुगेडीको बाटो हाम्रो बाटो’ भन्ने मार्गदर्शनकारी नारा रचियो।

    नारायणगढको बालकुमारी माविमा एकराज पनि पढाउँथे। सोझा, मृदुभाषी र मितभाषी एकराज बडो मिलनसार थिए। उनी कसैले पनि सजिलै चाल नपाउने गरी मजदुर- किसानमा आबद्ध थिए। म सकलिको सम्पर्क सूत्र बने, एकराज मजदुर-किसानको सम्पर्क सूत्र बने। र, यी दुई सङ्गठनबिच वैचारिक आदान-प्रदान सुरु भयो । हामीले हलकाराको भूमिका खेल्यौं, यताका कुरा उता पुच्याउने, उताका कुरा यता ल्याउने  कहिले मौखिक रूपमा, कहिले लिखित रूपमा। यो उपक्रम बढ्दै जाँदा सकलिका सुमन र मजदुर-किसानका रूपलालबिच पहिलो भेट भयो। भेटको थलो थियो नारायणगढको बसपार्क नजिकको शान्ता श्रेष्ठ र रामलाल श्रेष्ठको घर।

    भेटवार्तामा म मौन स्रोता र साछी बनें, दुइ नेता कमरेडले आधारातसम्म बात मारे। मसिनो स्वरमा, एकअर्काको अतिरिक्त मान राखेर। वार्तामा दर्शन र विचारधारा, कार्यनीति र रणनीति, कम्युनिस्ट आन्दोलनभित्रका अनेक प्रवृत्ति र शैली समेटिए। नेताद्वयको बोली कुनै बेला त यति मसिनो हुन्थ्यो कि ध्यानले कान थापेर सुन्दा पनि कति कुरा छुट्थे।

    वार्तामा सकलि र मजदुर-किसानको एकताप्रक्रिया थाल्ने निधो भयो। केही समयपछि तनहुँ, बन्दीपुरमा अर्को भेट भयो| भेटमा  सकलिको तर्फबाट सुमन र अपत्य शर्मा उपस्थित भए, मजदुर-किसानको तर्फबाट रूपलाल र हर्के हाजिर भए। नेता चारको भोजन, सुविस्ता र सुरक्षाको जिम्मा विद्याप्रसाद श्रेष्ठले लिए। नेपथ्यमा ईश्वर श्रेष्ठ र राजकुमार प्रधान पनि हुँदा हुन्‌।

    नेपाल मजदुर-किसान पार्टीमा रोहित र रूपलाल सँगै छन्‌ भन्ने सकलिको बुझाइ थियो। यथार्थ उजागर हुँदा कुरो गडबड देखियो। रोहित र रूपलाल भित्रभित्रै फुटेर दुइ फ्याक भइसकेका रहेछन्‌। रोहितरहित खण्डे मजदुर-किसानसँग एक हुन निरीश नेपाल र अपत्य शर्माले आनकानी गरे| एकता प्रक्रियामा ठेस लाग्यो। र, पाँच-सात महिना अलमल, असमझदारी र वादविवादमा बित्यो। शिक्षक हडतालमा पक्राउ परी म वीरगञ्ज जेलमा थुनामा थिएँ। निर्णायक मत दिन मलाई अध्यक्ष सुमनको आग्रह आयो। र, सुमन, विद्या र मेरो गरी तीन मतको बहुमतले एकता सदर भयो। अल्पमतमा परी निरीश नेपाल र अपत्य शर्मा सकलिबाटै बिदा भए।

    सकलिको कामको नाउँमा सिन्को भाँच्नु छैन, म व्यर्थैको सुकुलगुन्डे नेता भई कोषाध्यक्ष पदमा बसिरहेको छु। मलाई हुनुसम्म असहज अनुभूति भयो। खासमा सकलिमा मेरो क्रियाहीन उपस्थिति कुसंस्कृतिको द्योतक थियो। सकलिबाट पन्छिन मैले पटक-पटक यत्न गरें। अध्यक्ष सुमनले सुन्नै चाहेनन्‌। आखिरमा एकता सम्मेलनपछि बिदाबादी हुन मलाई नेता कमरेडको वचन प्राप्त भयो। सम्मेलन चितवनको गीतानगरको पकौडीमा सम्पन्नभयो  सम्मेलनको वातावरण हर्ष र उमङ्गले भरिपूर्ण थियो। मइन्टोलको झिलिमिली र. क्यामेराको झल्याकझुलुक स्मरणीय थियो। अनुहारको भावबाट सहजै बुझियो, क्यामेराको झल्याकझुलुक नेता रूपलाललाई कत्ति मन परेको थिएन। सुरक्षाको सवालप्रति उनी अतिरिक्त सजग थिए। सकलिका सुमनले उनलाई सम्झाए- यो ऐतिहासिक घटना हो। यसको यादगारको लागि केही न केही दिगो दसी त चाहिन्छ नि कमरेड।

    सम्मेलन सकियो। दुई सङ्गठन एक भएर सर्वहारावादी श्रमिक सङ्गठन बन्यो। सुमन नयाँ पार्टीका अध्यक्ष भए र रूपलाल भए त्यसका उपाध्यक्ष। रूपलालको त्यो विनयशीलता वास्तवमा सुमनप्रति अगाध विश्वासको प्रतीक थियो। एकाध दिनपछि ‘ऐतिहासिक’ एकताको खुसियालीमा एउटा सानो भोजको आयोजना भयो। भोजमा नवगठित सानो केन्द्रीय समितिको सहभागिता थियो । समितिबाहिरको केवल एक जना म थिएँ। भोजमा गम्भीर मुद्रामा नेता रूपलालले भनेको मलाई अझै सम्झना छ, यो नेतृत्व इमानदार रह्यो भने नेपालमा जनवादी क्रान्ति हुने छ।’

    उपाध्यक्ष कमरेडको उद्घोष सुनेर अध्यक्ष कमरेडले सहमतिमा मुन्टो हल्लाएका थिए।  रूपलालको त्यो उद्घोषमा वास्तवमा संशय ध्वनित भएको थियो।

    खण्डे मजदुर-किसानसँग एकतामा गाभिएर सकलि भूतपूर्व भयो। स्वेच्छाले र नेता कमरेडको अनुमतिले पार्टीबाट पाखा लागेर मेरो कोषाध्यक्ष पद भूतपूर्व भयो। सुमन उर्फ स्वनाम साथी र  सकलिसँग मेरो उठबस र चिनारीको छोटो कथा यही हो। 

    ‘मार्क्सीय गुरुकुल’द्वारा प्रकाशित ‘स्मृतिमा स्वनाम’ पुस्तकबाट साभार । सो पुस्तक २०७९ साउन ३० मा लोकार्पण गरिएको  थियो । 

    यो पनि हेर्नुहोस् –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      खगेन्द्र संग्रौला

      खगेन्द्र संग्रौला

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.