मैले आफ्नो मुखलाई पवित्र अग्निबाट शुद्ध गरेँ कि म प्रेमको सम्बन्धमा केही भन्न सकूँ तर जब मैले आफ्नो मुख खोलें त्यतिखेर म अवाक भएँ। प्रेमसँग परिचित हुनु अघि म प्रेमको गीत गाउने गर्थेँ, तर जब म प्रेमसँग परिचित भए तब शब्दहरू मेरा मुखमा सास बनेर अवरुद्ध भए र जुन संगीत बाहिर आउन आतुर थियो, जुन मेरो हृदयमा तरङ्गित भइरहेका थिए, ती सबै गहिरो मौनतामा हराए।
योभन्दा पहिले तपाईंले मलाई प्रेमको रहस्य र भेदबारे सोध्नु भएको भए म वास्तविक तथ्यका साथ उत्तर दिने थिएँ। तर अहिले मलाई प्रेमले आलङ्गिन गरेको छ। म आफैँ तपाईंका सामू प्रेमका विधिहरू, शैलीहरू र त्यसका चमत्कारहरूका सम्बन्धमा सोध्न आउँदैछु।
तपाईंहरू मध्ये को हुनुहुन्छ, जसले मेरो अन्तरङ्गलाई मेरो हृदयमा र मेरो आत्मालाई म आफैँमा प्रकट गर्न सक्नु हुन्छ ?
अब मलाई भन्नुहोस् कि मेरो हृदयमा कस्तो ज्वाला दनदनाइरहेको छ, जसले मेरो शक्ति क्षीण गरिदियो, मेरा आशाहरू र इच्छाहरूलाई जलाएर भस्म गरिदियो? यो कसको पातलो सुकोमल र प्यारो हात हो, जसले मेरो आत्मालाई एकान्त क्षणहरूमा आफ्नो वशमा पारेको छ र मेरो हृदयको प्यालामा सुखको तिक्तता र दुःखको मिठासको मिश्रित मदिरा हालिरहेको छ?
यो कसको पखेटा हो, जसले रातको लामो निस्तब्धतामा मेरो पलङको वरपर फटफटाइरहेको छ, यसैकारण म रातभर जागा बसी, थाहा छैन, कसको प्रतिक्षामा रहिरहन्छु? म त्यो आवाजमा ध्यान दिन्छु, तर त्यस आवाजलाई नै म सुन्न सक्दिन र त्यो देखिँदैन पनि, त्यसलाई म अँगालो मार्न पनि सक्दिनँ।
हो, म जागै छु, लामो श्वास फेर्दै छु, किनकि मेरो लागि अत्याहाट र शोक आनन्द र हाँसोभन्दा अत्याधिक प्यारो छ। म एक यस्तो अदृश्य शक्तिको हातमा जागृत छु, जसले मलाई मार्छ र पुनर्जीवित गर्छ। यहाँसम्म कि बिहान हुन्छ र मेरो कोठामा प्रकाश छरिन्छ। पुनः म सुत्छु तर मेरा थाकेका परेलाहरूमा मेरा जागरणका प्रतिच्छायाँ लहराउँछ र मेरो पाषाण–शैयाका वरपर एउटा सपना घुमिरहन्छ।
यस्तो के चीज हो, जसलाई हामी प्रेम भन्छौँ?
मलाई बताउनुहोस्, हाम्रो आत्माको छायाँभित्र कस्तो रहस्मय भेद लुकेको छ, जसले हाम्रो अस्तत्विको अन्तरङ्गमा निवास गर्छ? यो कुन महान् मुक्ति हो, जुन समस्त परिणामहरूको कारण र सबै कारणहरूको परिणाम हो। यो कुन शक्ति हो, जुसले मृत्यु र जीवनलाई एक गर्छ र पुनः तीमध्ये एकमा सपना देखाउँछ, जो जीवनभन्दा अधिक विचित्र र मृत्युभन्दा बढी गहिरो छ?
मेरा भाइहरू! मलाई भन कि जब तिम्रो आत्माले प्रेमपूर्ण सुकुमार औंलाहरूको स्पर्श अनुभव गर्छ भने तिमीहरूमध्ये को हौ, जो जीवनको यस रंगीन र मधुर स्वप्नबाट जागेर उठ्दैनौ?
जब तिम्रो प्रेयसी तिमीलाई आफूतिर नजिक बोलाउछिन्, तिमीहरूमध्ये को छौ, जो आफ्नो आमा बुवा र जन्मस्थानलाई छोड्दैनौ?
यस्तो को नवयुवक हो, जो संसारको अन्तिम कुनासम्म पुग्दैन, जब यहाँ एक यस्तो मोहिनी सुन्दरी उसको प्रतीक्षा गरिरहेकी होस्, जसको श्वास, आवाज र स्पर्शमा एक मादक रस र तृप्ति होस्?
यस्तो मानिस को छ, जो त्यस देवतालाई आफ्नो आत्माको आहुति दिँदैन, जो उसको इच्छाहरूको ध्यान राख्छ र उसका अनुनयहरूलाई पूरा गर्छ ? हिजो मात्रै म मन्दिरको द्वारमा उभिएको थिएँ र मेरा नजिकैबाट जाने सबै व्यक्तिहरूसँग प्रेमको रहस्यहरू र लाभहरूको बारेमा मैले उनीहरूलाई सोधेँ।
एक अधवैंशे व्यक्ति त्यहीँबाट जाँदैथिए। उनको शक्ति क्षिण हुँदै जादैथियो र उनको भृकुटी चढेको थियो। उनले भन्न थालेः
‘प्रेम एक जन्मजात दुर्बलता हो, जसलाई हामीले आदि–पुरुषबाट उत्तराधिकारमा प्राप्त गरेका हौँ।’
फेरि एक नवयुवक, जसको शरीर र पाखुराहरू सुदृढ थिए, उनी भन्दै आएः ‘प्रेम एउटा यस्तो दृढ निश्चय हो, जो हाम्रो आत्मासँगै हुन्छ, र जो वर्तमानलाई अतीत तथा भावी युगहरूसँग जोड्छ।’
त्यसपछि एक दुखित महिलाले सुस्केरा हाल्दै भन्न लागिन्ः ‘प्रेम यस्तो घातक विष हो, जसले भयंकर र काला–काला भुजधर पातालको गहिराइहरूबाट सारा लोकमा फैलाउँछ, जसबाट यो विष शीतको थोपाको रूपमा प्यासी आत्माहरूमाथि पर्छ। केही समयका लागि आत्मा उसको प्रभावबाट नशामा मस्त हुन्छ र फेरि त्यहाँ केही समय सम्हालिएर सधैँका लागि नष्ट हुन्छ।’
तर एउटा फूलजस्तै गुलाबी अनुहार भएकी सुन्दर केटीले ओठमा मुस्कानसहित भनिन् ‘हेर, प्रेम अमृत हो, जसबाट बिहानीको दुलही बलवान पुरुषका लागि बर्सिन्छिन्, जससँग उनी रातमा आभायुक्त बनेर उठ्छिन र दिनमा आनन्दको भोग गर्छिन्।’
त्यसपछि कालो वस्त्र लगाएका अर्का मानिस आयो। उसको लामो दारी उसको छातीसम्म लहराइरहेको थियो। उसले तीव्रताका साथ भन्योः ‘प्रेम एक मुर्खता हो, जवानीको प्रभात सँगसँगै यो प्रकट हुन्छ र संध्याकालसँगै विदा हुन्छ।’
उपछि एक अर्काे व्यक्ति आयो, जसको अनुहार तेजपूर्ण र शान्त थियो। उसले प्रसन्नताका साथ भन्योः
‘प्रेम एक दैवी ज्ञान हो, जसले हाम्रो भित्र र बाहिरको आँखालाई उज्यालो दिन्छ, जसमार्फत हामी सबै वस्तुहरूलाई देवतासमान देख्न थाल्छौँ।’
फेरि एउटा दृष्टिविहिन मान्छे मक्किसकेको लौरो टेक्दै, बाटो खोज्दै आयो। उसले रुनै लागेको आवाजमा भन्नथाल्यो : ‘प्रेम एक गहिरो तुँवालो हो, जसले आत्मालाई ढाक्छ र जीवनको वास्तविक दृश्यमा पर्दा लगाइदिन्छ। जसका कारणले त्यो आत्मा पत्थरिलो चट्टानमा भड्किएर आफ्नो इच्छाको प्रतिच्छायाँको सिवाय अरु केही पनि देख्दैन, केही पनि सुन्दैन। निर्जन मैदानमा उ आफ्नो आवाजको प्रतिध्वनीबाहेक अरु केही पनि सुन्दैन।
त्यसपछि एउटा नवयुवक विणा बजाउँदै, यस्तो गीत गाउँदै आउँछः प्रेम एक स्वर्गीय ज्योति हो, जसले सुक्ष्मग्राही आत्माको अन्तरंगबाट चम्किएर आफ्नो आसपासका सबैै वस्तुहरूलाई उज्यालो बनाउँछ। जसबाट यो आत्माले समस्त लोकको दृश्य यसप्रकार देखोस्, मानौँ, उसको सामुन्ने हरियो र कल्कलाउँदो मैदानमा एउटा जुलुस आइरहेको छ। उसले यस्तो देखोस् कि जीवन एक जागरण र अर्को जागरणबीच सौन्दर्यको भव्य सपना हो। यो नवयुवकपछि अर्को एक बुढो मान्छे काँप्दै र थर्थराउँदै आयो र भन्न लाग्योः ‘प्रेम एक दुखी शरीरको सुस्ताउने त्यस्तो ठाउँ हो, जुन कुरा उसलाई केबल चिहानमा प्राप्त हुन्छ। र, प्रेम आत्माको त्यस्तो आश्रय हो, जुन उसलाई अनन्तको तीव्रतामा मिल्छ।
फेरि त्यहाँ पाँच वर्षको एउटा बालक आयो। बेस्सरी दौडँदै गर्दा चर्को स्वरमा उसले भन्योः प्रेम मेरो बा हुन् र प्रेम मेरो आमा हुन्। मेरा बाआमाबाहेक कसैले पनि प्रेम के हो भनेर बुझ्न सक्दैनन्।
र, अब दिन डुब्नै लागेको थियो र सबै मानिस मन्दिर अगाडिबाट गइसकेका थिए। यीमध्ये हरेकले प्रेमको सम्बन्धमा केही न केही भनेका थिए र प्रत्येक शब्दमा आ–आफ्नो भावना र इच्छाहरूलाई प्रकट गरेका थिए र जीवनको गुप्त रहस्यहरूलाई खुलाएका थिए।
जब साँझ पर्यो, सबै मानिस आआफ्ना घर गए र सबैतिर सन्नाटा छायो।
त्यसपछि मैले मन्दिरमा यो आवाज सुनेँ, ‘जीवन दुई चीजको नाम हो–एक, जमेको नदी र दोस्रो, दनदन बल्दै गरेको आगो। दनदनी आगो नै प्रेम हो।’
तब म पनि मन्दिरमा प्रवेश गरेँ र भूइँमा घुँडाले टेकेर आफ्नो हृदयको गहिराईबाट प्रार्थना गरेँ, ‘हे प्रभु, मलाई यस जल्दै गरेको आगोको भोग बनाऊ, हे प्रभु , मलाई यस पवित्र अग्निको आहुति बनाऊ।’
‘तथास्तू।’
खलिल जिब्रानको प्रोफेटबाट।










