Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सगरमाथा चढेपछि तेन्जिङ नोर्गे शेर्पालाई यसरी बनाइयो भारतीय नागरिक

नेहरूले विजयशमशेरसँग भने, ‘उहाँको पासपोर्ट छ कि छैन?’ विजयले भने, ‘म बनाइदिहाल्छु नि।’ ‘डिप्लोमेटिक पार्सपोर्ट चाहिएला नि?’ अलिक गह्रौँ तरिकाले नेहरूले सोधे। ‘त्यो पनि हाम्रो सरकारसँग परामर्श गरेर भोलि नै बनाइदिन्छु।’

सहयोगीबाट सहयोगीबाट
असार ५, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगे। मानिसका लागि अभेद्य मानिएको सगरमाथाको चुचुरोलाई पाइतालामुनि बनाएर २९ मे, १९५३ मा उनीहरूले नयाँ इतिहास रचे।

    सगरमाथाको चुचुरोमा पुग्नु त्यतिबेला चानचुने कुरा थिएन। सगरमाथाको सफल आरोहणपछि उनीहरू सम्पूर्ण विश्वको केन्द्र बन्न पुगे। विश्वभरका मुख्य मुख्य पत्रिका र टेलिभिजनका क्यामेरा यी दुई पर्वतारोहीतर्फ तेर्सिए। नेपाली माटोमा हुर्के, बढेको ठिटोले इतिहास रचेको घटनाले नेपाली स्वाभिमानलाई ह्वात्तै माथि पुर्‍याएको थियो। तर, हिलारीले तेन्जिङलाई ‘यो पर्वतारोही होइन, भरिया हो’ भनी होच्याएको प्रसंगले नेपालीको मनमा आक्रोश पनि चुलिएको थियो।

    तेन्जिङ र हिलारी सगरमाथाबाट फर्किएपछि स्वागत गर्न काठमाडौंबाट धुलिखेलतर्फ मानिसको लर्को लागेको थियो। तेन्जिङका लागि भनेर दौरा सुरुवाल र माला लगिएको थियो। स्वागत टोलीले धुलिखेलमा तेन्जिङलाई माला लगाइदिँदै भनेको थियो, ‘अब तपाईंलाई देशविदेशका पत्रकारले अनेक प्रश्न सोध्नेछन्। म सगरमाथाको चुचुरोमा पुगेर आएको हुँ भन्नुहोला।’

    स्वागत टोलीले यसो भन्नासाथ तेन्जिङले रिसाएर माला चुँडाउन खोज्दै भनेका थिए, ‘उता हिलारी सा’बले म चुचुरोमा पुगिनँ भन्नु भन्नुभएको छ। तपाईंहरूचाहिँ पुगेँ भन् भन्नुहुन्छ। मलाई किन अप्ठयारोमा पारेको सबैले !’ तेन्जिङको यस्तो अबोध कुरा सुनेर हिलारीप्रति सबै आक्रोशित भएका थिए।

    सँगसँगै भारतीय सञ्चारमाध्यम र कर्मचारीतन्त्रले तेन्जिङ नेपाली नभई भारतीय नागरिक रहेको प्रचारबाजी गरिरहेकाले नेपालमा आक्रोशको पारो झन्झन् माथि उक्लिरहेको थियो। रेडियो नेपालले धर्मराज थापाको गीत ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत छिनछिनमा बजाएर नेपाललाई तेन्जिङमय बनाएको थियो। भारतीय दाबीका कारण काठमाडौंमा दंगा भड्किन नपाओस् भनेर सरकारले सुरक्षा व्यवस्था कडा बनाएको थियो।

    नेपाल र भारतबीच तेन्जिङ कुन राष्ट्रको नागरिक हुन् भन्नेमा रस्साकस्सी चलिरहेको थियो । सोलुखुम्बुमा हुर्के, बढेका तेन्जिङ स्वत: नेपाली भएको नेपाली पक्षको तर्क थियो । जिविकोपार्जनका क्रममा नेपालबाट दार्जिलिङ गएर उतै काम गरी बसेकाले तेन्जिङ भारतीय नागरिक रहेको भारतीय पक्षको दाबी थियो । कामका सिलसिलामा जहाँ पुगिन्छ, त्यो नै आफ्नो देश कसरी हुन्छ भन्ने नेपालीको प्रश्नको चित्तबुझ्दो जवाफ दिन नसके पनि भारतीय सञ्चारमाध्यमले तेन्जिङलाई भारतको शान र गौरब बताउन छाडेको थिएन।

    दुवै सञ्चारमाध्यमले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका वेला दुई देशबीचका कूटनीतिज्ञबीच तेन्जिङमाथि दाबी गर्ने होडबाजी पनि सँगसँगै चलिरहेको थियो। भारतका लागि पहिलो नेपाली राजदूत विजयशमशेर राणाले कूटनीतिक च्यानलमार्फत तेन्जिङ नेपाली नागरिक भएको पुष्टि गर्न कुनै कसर बाँकी राखेका थिएनन्। उनको गतिविधिका कारण तेन्जिङलाई भारतीय प्रमाणित गर्न भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पनि अप्ठयारो परेको थियो।

    जुन २८, सन् १९५३ मा तेन्जिङ नयाँदिल्लीको विमानस्थलमा ओर्लिए। तेन्जिङको स्वागत गर्न हजारौँ मानिस एयरपोर्ट पुगेका थिए। समाचार संकलनका लागि सयौँ पत्रकार पुगे। उनलाई ‘रिसिभ’ गर्न भारतीय विदेश मन्त्रालयका शिष्टाचार माहापाल र विदेश तथा गृह मन्त्रालयका ज्वाइन्ट सेक्रेटरी विमानस्थल पुगेका थिए । भारतस्थित बेलायती हाइ कमिशनका कायममुकायम हाइकमिशनर र अन्य अफिसर पनि पुगेका थिए । दिल्लीस्थित नेपाली दूतावासबाट राजदूत विजयशमशेरलगायत सबै अधिकारी तेन्जिङलाई लिन पुगेका थिए।

    तेन्जिङको दिल्ली बसाइको सम्पूर्ण कार्यतालिका नेपाली दूतावासले तयार पारेको थियो। उनको बसोबासको चाँजोपाँजो नेपाली दूतावासमै मिलाइएको थियो। लाक्पा नाम गरेका तेन्जिङका सहयोगीले तेन्जिङलाई भारतीय राष्ट्रपतिको आवासमा राख्न भरमग्दुर प्रयत्न गरेका थिए। तर, नेपाली दूतावासका अधिकारीहरूले तेन्जिङलाई दूतावासमै आतिथ्य दिलाइछाडे।

    तेन्जिङ दिल्ली पुगेकै दिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले एडमन्ड हिलारीको सम्मानमा रिसेप्सन आयोजना गरेका थिए। नेपाली दूतावासका कर्मचारीलाई पनि बोलाइएको थियो। तेन्जिङसँग भेटघाट र कुराकानी गर्न पाउँदा नेहरू त्यसै त्यसै प्रसन्न देखिन्थे।

    रिसेप्सन पार्टीमा नेहरूले नेपाली राजदूत विजयशमशेरलाई सोधे, ‘यो नेसनालिटीको विवाद के हो ? कुरा कहाँबाट उठ्यो ? यस्ता फाल्तु कुरामा मलाई विश्वास छैन्।’ केही बेर मौन रहेर नेहरूले थपे, ‘तेन्जिङलाई लिएर मेरो अफिसमा आउनूस् न, आरामसँग बसेर कुरा गरौँला।’

    तेन्जिङ दिल्ली आइपुगेकै दिन भारतीय नेता मौलाना अब्दुल कलाम आजादले आफ्ना सेक्रेटेरीलाई तेन्जिङसँग भेट्न पठाए। सेक्रेटेरीमार्फत तेन्जिङलाई आजादले भने, ‘तपाईंले बेलायत भ्रमण गर्नु राम्रो हुन्छ।’ राजदूत विजयसँग पनि आजादले यस्तै कुरा गरे। राजदूतलाई बोलाएर आजादले भने, ‘तेन्जिङ र हिलारीबीच मनोमालिन्य भएको कुरा पत्रपत्रिकाले लेखिरहेका छन्। यस्तोमा तेन्जिङ बेलायत नगई दार्जिलिङतिर लागे भने छायामा पर्नसक्छन्। पछि बेलायत जाँदा बेलायत सरकारले त्यति कदर नगर्न सक्छ। त्यसैले उनलाई अहिल्यै पठाउन पहल गर्नुभयो भने बेस हुन्छजस्तो मलाई लागेको छ। प्राइममिनिस्टर (नेहरू)को राय पनि यस्तै छ।’

    भारतीय राष्ट्रपति भवनमा तेन्जिङलाई लिएर विजयशमशेर गएका वेला नेहरूले नेपाली राजदूतसँग आजादकै लाइनमा कुरा गरेका थिए । कुराकै सिलसिलामा केही पर रहेका तेन्जिङलाई बोलाएर नेहरूले सोधे, ‘जाने होइन बेलायत ?’
    नेपाली दूतावासका अधिकारीहरूले पनि तेन्जिङलाई बेलायत भ्रमण गर्न उक्साए । सबैको आग्रहपछि तेन्जिङ तयार भए । तर, श्रीमती र छोरीहरूलाई पनि सँगै लैजान पाउनुपर्ने शर्त राखे । यसमा असहमति जनाउन कसैले आवश्यक ठानेन ।

    नेहरूले विजयशमशेरसँग भने, ‘उहाँको पासपोर्ट छ कि छैन ?’

    विजयले भने, ‘म बनाइदिहाल्छु नि ।’

    ‘डिप्लोमेटिक पार्सपोर्ट चाहिएला नि ?’ अलिक गह्रौँ तरिकाले नेहरूले सोधे ।

    ‘त्यो पनि हाम्रो सरकारसँग परामर्श गरेर भोलि नै बनाइदिन्छु ।’

    नेहरू केही बोलेनन् ।

    भोलिपल्ट तेन्जिङलाई लिएर विजयशमशेर भारतीय प्रधानमन्त्रीको कार्यालय पुगे । कुराकानीकै क्रममा नेहरूले तेन्जिङको राष्ट्रियताको प्रसंग उठाउँदै भने, ‘तेन्जिङ नेपाली भए पनि, हिन्दुस्तानी भए पनि यसमा वादविवाद किन गर्ने ? यो प्रकृतिमाथि मानवजातिको विजय हो ।’
    नेपाली पक्षले तेन्जिङको राष्ट्रियताको कुरा उठाएको थिएन । भारतीय पत्रपत्रिकाले एकाएक जबरजस्त रूपमा तेन्जिङ भारतीय रहेको प्रचारबाजी थालेको देखेर सम्पूर्ण नेपाली चकित परेका थिए ।

    ‘तेन्जिङ महोदय नेपालमा जन्मी, त्यहीँ हुर्कि–बढी, जिविका चलाउन भारत पस्नुभएको हो । नेपालमा उहाँकी आमा अझै जिवित हुनुहुन्छ, उहाँको घर अहिले पनि छ । फेरि उहाँले नेपाली नागरिकता त्याग्नु पनि भएको छैन् । तर, तेन्जिङ विगत १५/२० वर्षदेखि दार्जिलिङमा बसोबास गर्दै आएको पनि सत्य हो,’ विजयशमशेरले नेहरूलाई भने ।

    विजयको कुरा सुनेपछि तेन्जिङतिर फर्किएर नेहरूले सोधे, ‘आप ही कहिये, ये सब क्या हे ?’

    जवाफमा तेन्जिङले भने, ‘मै तो कुछ नहीँ जानता साहेब । मै तो नेपालका भी हुँ, हिन्दुस्तानका भी हुँ ।’
    तेन्जिङको कुरा सुनेपछि मुसुमुसु हाँस्दै नेहरूले भने, ‘ठीक छ, ठीक छ ।’

    तेन्जिङलाई बेलायत पठाउने तयारी सुरु भइसकेको थियो । तर, तेन्जिङचाहिँ अझै पनि पहिले दार्जिलिङ गएर त्यसपछि मात्रै बेलायत जान चाहन्थे । सबैले कर गरेपछि तेन्जिङले पहिले दार्जिलिङ जाने मोह त्यागिदिए । तर, आफ्ना सहयोगी लाक्पालाई पनि सँगै पठाउनुपर्छ भन्ने नयाँ शर्त राखे ।

    नेहरूले चाहिँ तेन्जिङका जहान, बच्चालाई मात्र पठाउने विचार गरेका थिए । विजयशमशेर र नेहरूबीच यस विषयमा छलफल भएको थियो । लाक्पालाई बेलायत नपठाउने कुरामा विजयले पनि सहमति जनाए ।

    ‘अँ साँच्ची, पासपोर्टको कुरा के भयो ?’
    नेहरूले सोधे ।

    ‘तपाईंले भनेबमोजिम हिजै गरिसकेँ ।’

    ‘तेन्जिङलाई नेपाली पासपोर्टमा उडाउन लागेको कि हिन्दुस्तानी पासपोर्टमा ?’

    ‘नेपाली पासपोर्टमा पठाउने हो । मैले सबै चाँजोपाँजो मिलाइसकेँ ।’

    ‘ठीकै छ । तर, हिन्दुस्तानको पासपोर्ट लिएर गए ठाउँठाउँमा हाम्रा मिशन भएकाले तेन्जिङलाई सबै प्रकारको सुविधा उपलब्ध हुने थियो…।’

    जवाफमा विजयशमशेरले भने, ‘हाम्रो प्रतिनिधि अथवा मिशन नभएका ठाउँमा नेपाली पासपोर्ट लिई जाने व्यक्तिलाई त्यहाँ रहेका भारतीय मिशनबाट सहयोग हुँदै आएको छ । यही सहयोग तेन्जिङलाई गरे पुगिहाल्छ ।’
    ‘ठीक छ,’ केहीबेरको मौनता चिर्दै नेहरूले सोधे, ‘अनि तेन्जिङलाई नयाँ लुगा पनि चाहिएला नि । अत्यावश्यक लुगाफाटो र सामग्री यतैबाटै पठाइदिनुस् । बाँकी बेलायतमै किन्ने बन्दोबस्त म मिलाइदिन्छु । बेलायतमा रहुन्जेल तेन्जिङ भारतीय हाइ कमिशनको पाहुना भएर बस्नेछन् ।’

    विजयशमशेरले तेन्जिङका लागि एउटा कोट, एउटा पेन्ट, एउटा डिनर ज्याकेट, दुईवटा कमिज र एउटा ओभरकोट बनाउन सुचिकारलाई दूतावास बोलाए । तेन्जिङको तर्फबाट भिसाको फर्म भरेर डिप्लोम्याटिक पासपोर्टमा बेलायत र स्विट्जरल्यान्डको भिसा लगाइदिए ।

    केही बेरपछि तेन्जिङले विजयशमशेरछेउ पुगेर भने, ‘जहानसँग कुरा गरेँ । लाक्पा गएनन् भने हामी पनि नजाने भयौँ ।’ शमशेरले लाक्पालाई लैजान हुँदैन भनि सम्झाइबुझाइ गरे । तेन्जिङ मानेनन् । कुरा नेहरूसम्म पुग्यो । नेहरूले आफ्ना मान्छेलाई नेपाली दूतावासमा पठाएर तेन्जिङलाई सम्झाइबुझाई गर्न लगाए । सुरुमा उनले कसैको कुरा सुनेनन् । तर, राम्रोसँग सम्झाइबुझाई गरेपछि तयार भए ।

    त्यसपछि उनले एकाएक अर्को शर्त तेर्साए । ‘नेपाली र हिन्दुस्तानी पासपोर्ट दुवै पाएँ भने लाक्पा नभए पनि हुन्छ,’ तेन्जिङले भने । तेन्जिङलाई यस्तो माग गर्न कसैले उकासेजस्तो देखिन्थ्यो । नत्र उनलाई दुइटा पासपोर्ट किन चाहियो ?

    त्यहीँ रहेका विजयशमशेरले भनिहाले, ‘हाम्रो पासपोर्टले भइहाल्छ, दुइटा बोक्दैमा केही फाइदा हुँदैन ।’ तर, तेन्जिङले मानेनन् । भारतीय अधिकारीहरू तेन्जिङलाई ‘मायाको चिनो’का रूपमा भारतीय पासपोर्ट दिन पाउँदा ज्यादै खुसी भए ।
    सबै कुरा मिल्यो भन्ठानेर भ्रमणको तयारीमा विजयशमशेर जुटेका वेला तेन्जिङ जहानलाई लिएर एकछिनपछि पुन: आइपुगे । ‘लाक्पालाई जान नदिने हो भने हामी पनि जाँदैनौँ,’ एकै स्वरमा दुवैले भने ।

    ‘अघिचाहिँ दुइटा पासपोर्ट भए पुग्छ भन्नुभयो, फेरि बोली फेर्नुभयो । यसरी छिनछिनमा कुरा फेर्दा मलाई अप्ठयारो पर्छ नि,’ विजयशमशेरले हल्का रिसाउँदै भने ।

    ‘जसरी भए पनि लाक्पाको बन्दोबस्त मिलाइदिनूस्, होइन भने हामी जाँदैनौँ,’ तेन्जिङदम्पती सम्झौता गर्ने मुडमा आएनन् । राजदूत विजयले टेलिफोनमार्फत नेहरूकहाँ तेन्जिङको नयाँ माग तत्काल पुर्‍याए ।

    त्यही दिन बेलुका नेहरूले तेन्जिङलाई आफ्नो निवासमा बोलाएका थिए । आफ्ना केही पुराना लुगा तेन्जिङलाई उपहारस्वरूप दिन चाहेका थिए, उनले । भारतीय प्रधानमन्त्रीको पहिरनमा तेन्जिङलाई युरोपमा उतार्न पाए उनी भारतीय हुन् भन्ने प्रोपोगन्डा फैलाउन सजिलो हुन्छ भन्ठानेर यस्तो गरिएको हुनसक्थ्यो । पुराना कपडा लिन नेहरू निवास गएको मौकामा तेन्जिङले नेहरूसँग लाक्पालाई पनि आफूसँगै जान दिनुपर्ने माग राखेछन् । नेहरूले ‘हुन्छ’ भनेछन् । तेन्जिङ फुरुंग भए ।

    अब त सबै झन्झट सकियो होला भन्ठानेका थिए, विजयशमशेरले । तर, केही बेरेपछि तेन्जिङ फेरि आए र अर्को माग तेर्साए ।
    ‘लाक्पालाई पनि मलाईजस्तै लुगा सिलाइदिनुपर्छ ।’

    ‘यस्तो गर्न कसरी मिल्छ र ? मिल्दैन,’ विजयशमशेर हल्का झर्किएझैँ गरे ।
    ‘त्यसो भए म बेलायत जान्नँ ।’

    सबै कुरा मिलिसकेकाले लुगाजस्ता सानो कुरामा अल्झेर यत्रो ठूलो कार्यक्रम बिथोल्ने कुरा आउँदैनथ्यो । दिक्क मान्दै भए पनि विजयशमशेरले लाक्पाका लागि लुगा छेकाइदिए । तर, ओभरकोटको अर्डरचाहिँ दिएनन् । अन्यमा तेन्जिङले खोजेको सबै पूरा भयो । उनी जहान, छोराछोरी, लाक्पा र अरू ब्रिटिस पर्वतारोहीसँगै बेलायततिर लागे ।

    नेपालको परराष्ट्र मन्त्रालयलाई घटनाबारे रिपोर्ट गर्दै विजयशमशेरले लेखेका थिए, ‘तेन्जिङको नेसनालिटीको विषयमा यहाँको सेक्रेटरियट तहले पनि निजलाई हिन्दुस्तानी जनाउन बहुतै कोसिस गरेको थियो । तर, माथिका मानिसहरूको बहुत असल विचार भएकाले र महोदय (परराष्ट्रमन्त्री)को आशीर्वादले हाम्रै पासपोर्टमा सफर गराउन सफल भएकोमा बहुतै सन्तुष्ट मानेका छौँ । हुन त यस किसिमको कुरा गरी मनुष्यले प्रकृतिमाथि विजय प्राप्त गरेको महान् उपलक्ष्यलाई जातीय गौरव बनाएर संकुचित दृष्टिबाट हेर्नु राम्रो नभए पनि अरूले कुरा उठाइहाले । तानातानी भएपछि हामीले पनि आफ्नोतर्फ खिच्न खोज्नु स्वाभाविकै कुरा हो । जे भए पनि सबै कुरा राम्रोसँग सम्पन्न भयो ।’

    विजयशमशेरले ‘सबै कुरा राम्रो भएको’ जाहेरी गरे पनि त्यसपछिका कुरा राम्रो हुन सकेन । सगरमाथा टेकेपछि तेन्जिङले नेपाली पासपोर्टमा भिसा लगाएर पहिलो विदेश यात्रा गरे पनि उताबाट फर्किएपछि सोझा उनलाई अनेक तिकडम गरेर भारतीय नागरिकता भिराइयो ।

    मातृकाप्रसाद कोइरालाको आत्मकथा ‘अ रोल इन अ रिभोल्युसन’मा संकलित पत्रलगायत स्रोतका आधारमा तयार पारिएको आलेख ।

    साभार : nepali.oldphotosofnepal.com

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.