Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

को थिए ‘चरित्रहीन चेली?’

सहयोगीबाट सहयोगीबाट
फाल्गुन २७, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    पासपोर्ट लिन र विदेश जान महिलाहरूले बाबु, लोग्ने, अभिभावकहरूको अनुमति लिनुपर्छ भन्ने सोच कुन हरिलट्ठकको हो? १८ वर्ष उमेर पुगेपछि हामी घुमफिरको पूर्ण स्वतन्त्रता उपभोग गर्छौं। यो स्वतन्त्रतालाई सीमित गर्नुभन्दा राज्यले आफ्नो दायित्व पूरा गरी हामीले यात्रा र काम गर्ने तथा बस्ने विदेशी मुलुकका सम्बन्धित राजदूतावामार्फत सुरक्षा प्रदान गर्नुपर्छ। 

    २२ फागुन २०६० मा कान्तिपुर दैनिकमा प्रकाशित चरित्रहीन चेलीको घोषणापत्र।

    यी हरफ पढिरहँदा लाग्दो हो, अध्यागमन विभागले हालै प्रस्ताव गरेको महिलालाई विदेश जान परिवार र वडाको सिफारिश चाहिने प्रावधानविरुद्धको अभिव्यक्ति हो। तर, यो आजभन्दा १७ वर्षअघि ‘चरित्रहीन चेली’ ले जारी गरेको घोषणापत्रको बुँदा नम्बर २३ हो।

    चरित्रहीन चेलीले त्यो बेला नै उठाएको स्वतन्त्रतापूर्वक र विनात्रास महिलाले हिँडडुल गर्न पाउनुपर्ने माग अहिले आएर पुनः दोहोरिएको छ। यो मात्र होइन, महिला अधिकारका लागि भद्रकालीदेखि सिंहदरबार महिला मार्च र ‘इनफ इज इनफ’ को उद्घोषसमेत त्यो वेला नै भएको थियो।

    ४० बुँदे घोषणापत्रमार्फत चरित्रहीन चेलीले आफूहरूको स्वायत्तता र अधिकार प्रत्याभूतिका निम्ति राज्य र समाजसामु खरो शब्दमा आवाज उठाएका थिए।

    चरित्रहीन चेलीले इमेलमार्फत पठाएको ४० बुँदे घोषणापत्र २२ फागुन २०६० मा कान्तिपुर दैनिकमा ‘चरित्रहीन चेलीको मुक्ति घोषणा’ शीर्षकमा प्रकाशित भएको थियो (हे. तस्वीर)। यसबारे अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा पनि पूरै घोषणापत्रसहितको लेख छापियो।

    नेपालको नारीवादी आन्दोलनको इतिहासमा त्यसले ठूलो तरंग ल्यायो। चरित्रहीन चेलीहरू युवा महिलाको भूमिगत समूह थियो, यसका सदस्य कहिल्यै सामुन्ने आएनन्। उनीहरूको घोषणापत्रमा भनिएको थियो, “हामी भूमिगत छौं, किनभने त्यहाँ मुनि साह्रै रमाइलो छ। हामी तपाईंको आसपास, गल्ली, कार्यालय र तपाईंको घरमा समेत छौं। याद गर्नुस्, तपाईं हाम्रो निगरानीमा हनुहुन्छ।”

    तर, घोषणापत्र, त्यसका अठोट र मागहरू बेवारिसे छोडिएकोमा आलोचना भयो। नयाँ पुस्ता भने यसबारे पूरै अनभिज्ञ छ। यसको उदाहरण सालोक्यले करीब तीन वर्षअघि लेखेको ब्लग हो। उनले सन् २०१८ मा ब्लगमा लेखेका थिए, “आज एक जना खतरै महिलावादीसित कुरा हुँदा बिचरीलाई चरित्रहीन चेली भनेको के हो नै थाहा रहनेछ।” ब्लगमा चरित्रहीन चेलीको छोटो परिचय थियो।

    चरित्रहीन चेलीमा को थिए, उनीहरू के गर्थे, कहाँ भेट्थे, किन त्यस्तो घोषणापत्र सार्वजनिक गरे भन्नेबारे केही समय खूब खोजीनिती भयो। मानिसहरूले उनीहरूबारे अनेक अड्कल काटे। पढेलेखेका, अङ्ग्रेजी जान्ने, विदेश डुलेका, काठमाडौंका प्रभावशाली र कुलीन महिलाहरूको जत्था नै ‘चरित्रहीन चेली’ हो भन्ने अनुमान धेरैको थियो।

    फागुन २०६० मा नेपाली टाइम्समा प्रकाशित चरित्रहीन चेलीको ४० बुँदे घोषणापत्र।

    जानकारहरूका अनुसार घोषणापत्रको भाषाले नै चरित्रहीन चेलीहरू को–को थिए भन्ने प्रष्टै झल्किन्थ्यो। “घोषणापत्रमा ज्ञानेन्द्रले कू गरेपछि प्रजातन्त्र पुनःस्थापना नभएसम्मका लागि सेक्स बहिष्कारको आह्वानसमेत थियो,” सालोक्य ब्लगमा लेख्छन्, “यसलाई काउन्टर दिन चरित्रवान् चेला गठनको असफल प्रयाससमेत भएको थियो।”

    सालोक्यले ब्लगमा उल्लेख गरेको ‘चरित्रवान् चेला’ बारे खोजी गर्दा चरित्रवान् डट ब्लगस्पट डटकम भन्ने साइट भेटियो। त्यसमा १२ फागुन २०६३ मा ३६ बुँदे प्रतिक्रिया पोस्ट गरिएको छ।

    चरित्रवान् चेलाले आफ्नो प्रत्युत्तरमा प्रधान, शर्मा, रञ्जित, थापा… लाई सम्बोधन गरेका छन्। एक ठाउँमा त ‘पेन्टर’ पनि भनिएको छ। तिनले चित्रकार अस्मिना रञ्जितलाई इंगित गरेका हुनसक्छन्। हामी अस्मिनाकहाँ पुग्यौं। उनी पहिलो पटक चरित्रहीन चेलीबारे मिडियासँग गफिन थालिन्।

    “मान्छेहरूले अस्मिना त चरित्रहीन चेली हुनैपर्छ भन्थे,” घुँडाको शल्यक्रियापछि हाल आराम गरिरहेकी उनले भनिन्, “त्यो वेला हामी अन्डरग्राउन्ड हुने कि नहुने भनेर लामो सल्लाह भएको थियो। मलाई अन्डरग्राउन्ड हुनैपर्छ भन्ने लागेन, अहिले पनि लाग्दैन। तर, कतिपय साथीलाई पारिवारिक र अन्य कारणले र सुरक्षाको हिसाबले पनि सार्वजनिक हुन सहज थिएन। हामी त्यो वेलाको संकुचित समाजमा थियौं। त्यसैले अन्ततः भूमिगत हुनु नै ठीक ठान्यौं।”

    अस्मिनाले चरित्रहीन चेलीका सदस्यबारे बताउन चाहिनन्। हामीले प्रयास गर्दा अन्य केही सदस्यले आफूहरू अझै भूमिगत रहेको र यसलाई लिएर मिडियामा नआउने बताए भने कोही सम्पर्कमै आएनन्। यद्यपि, अस्मिनाकै कुरा सुन्दा त्यसमा लेखक, पत्रकार, संगीतकर्मी, चलचित्र निर्माता महिलाहरूको सहभागिता थियो भन्ने बुझियो।

    अस्मिनाका अनुसार उक्त अभियानमा संलग्न सबै सदस्य ‘आफ्ना भोगाइ र ब्राह्मणवादी पितृसत्तात्मक समाजमा महिलामाथि हुने संरचनात्मक विभेदविरुद्ध प्रतिकार गर्न’ एकजुट भएका थिए। “हामी थुप्रै साथीहरू थियौं त्यसमा,” उनले भनिन्, “त्यसअघि हामी व्यक्तिगत तहमा प्रतिरोध गर्दै आएका थियौं। तर, त्यतिले पुगेन, अब सामूहिक रूपमा आउन जरुरी छ भन्ने लाग्यो र चरित्रहीन चेली शुरू गर्‍यौं।”

    त्यो समूहका एक दुई जनालाई औंल्याएर कुलीन भनिए पनि त्यसमा सहभागी सबै कुलीन थिए कि थिएनन् भन्ने अर्को पाटो रहेको अस्मिनाको भनाइ छ। “कहिलेकाहीँ हामी भन्थ्यौं, तिम्री बहिनी वा तिम्री छेउकी जोसुकै महिला चरित्रहीन चेली हुनसक्छे,” अस्मिना भन्छिन्, “घोषणापत्र प्रकाशित भएपछिको माहोल बम पड्के जस्तो भएको थियो। हाम्रा नजीकका केही पुरुष साथीहरू ‘यी महिलाहरूले कसरी यस्तो गर्ने आँट गर्न सक्छन्१’ भन्थे भने कोही साह्रै सपोर्टिभ थिए।”

    कसरी शुरू भयो चरित्रहीन चेली?
    अस्मिना त्यो वेला अस्ट्रेलियाको पढाइ सकेर स्वदेश फर्केकी थिइन्। त्यसअघि सन् १९९८ मा उनले ‘विमेन एन्ड सेक्सुआलिटी’ (महिला र यौनिकता) शीर्षकमा कला प्रदर्शनी गरिन्। जसले खैलाबैला नै मच्चाएको उनको भनाइ छ। “बुबासँग मेरो झगडै पर्‍यो, म घरै छोडेर हिडें,” उनी भन्छिन्, “अस्मिनाले छाडा चित्र बनाई, बिग्रिई, खत्तम भई भन्थे। बुबाले पनि राम्रो मान्नुभएन, उहाँहरू यही पितृसत्तात्मक समाजको उत्पादन न हो। दुनियाँसँग लड्नुभन्दा परिवारसँग लड्नु सबैभन्दा गाह्रो भयो।”

    उनले अर्को घटना पनि सुनाइन्, जसमा उनलाई कला क्षेत्रकै एक पुरुषले अभद्र व्यवहार गरेका हुन्छन्। अस्मिनाले नाकदेखि निधारसम्म लगाउने नागको चित्रबारे जिज्ञाशा राख्ने बहानामा ती व्यक्ति नजिक आएको र आफूलाई असहज महसुस भएपछि प्रतिकार गरेको बताइन्।

    अस्मिना रञ्जित, चित्रकार । तस्वीर: अमित मचामसी

    यी घटना उनले साथीहरूलाई सुनाइन्। तिनले पनि आफ्ना भोगाइ साटासाट गरे। त्यही वेला अभिनेत्री श्रीषा कार्कीको आत्महत्याको खबर फैलियो। त्यसपछि आफूहरू चुप रहन नसकेको अस्मिना बताउँछिन्।

    एक पत्रिकामा श्रीषाको नग्न तस्वीर छापिएपछि उनले आत्महत्या गरेकी थिइन्। “श्रीषाका जस्ता घटना थुप्रै थिए,” अस्मिना भन्छिन्, “ती सबै हाम्रो मस्तिष्कमा जम्मा हुँदै गइरहेका थिए। हामीले बच्चैदेखि भोगेका दुव्र्यवहारका कुरा पनि साथै थिए। जब हामी सबै एक ठाउँमा आएर यसबारे गफगाफ गर्न थाल्यौं, त्यसपछि प्रतिकार गर्ने निर्क्योल भयो।” प्रतिकार चलिआएको शैलीमा गर्नुभन्दा फरक तरिकाले गर्ने सोचेर घोषणापत्र सार्वजनिक गरेको उनी बताउँछिन्।

    घोषणापत्रमा भनिएको थियो, “पूरानो ढर्राको विद्रोहबाट हामी थाकिसक्यौं। भद्रकालीबाट सिंहदरबारसम्म प्लेकार्ड बोकेर प्रर्दशन गर्नु समयको बर्बादीबाहेक केही होइन। यसले हाम्रो फोक्सोलाई प्रदूषित मात्र गर्छ। हामी हाम्रो राजनीतिक अभ्यास अहिंसावादी गुरिल्ला रणनीति समेतबाट गर्छौं।”

    किन चरित्रहीन?

    त्यो समूहले किन ‘चरित्रहीन’ शब्द छान्यो भन्नेबारे प्रश्न उठेका थिए। चरित्रहीनको सट्टा चरित्रवान् राख्दा के जान्थ्यो भन्नेहरूको आफ्नै तर्क थियो। भूमिगत टोलीले कहिल्यै कुनै प्रश्नको जवाफ दिएन। आन्दोलनको उद्देश्य के हो, कहाँसम्म जाने, कसरी जाने भन्नेबारे समूहले स्पष्ट विधि र विचारधारा प्रस्तुत गर्न नसकेको भन्दै अझै पनि बेलाबखत टिप्पणी हुने गरेका छन्।

    नामबारे अस्मिना भन्छिन्,“महिलाको चरित्रलाई साह्रै उछालिन्छ,चरित्र उछालेकै कारण महिलालाई डिसमिस (बेवास्ता) गरिन्छ र त्यही चरित्रले गर्दा मान्छेले आत्महत्या गर्नुपर्ने अवस्था आउँछ। पितृसत्ताले निर्माण गरेको यो चरित्र भन्ने चिज कति बलवान् रहेछ!’ चरित्रहीन चेलीलाई आफूहरूले प्रश्नका रूपमा अघि सारेको उनले बताइन्। प्रश्न थियो– मेरो चरित्र प्रमाणित गर्ने तिमी को हौ? उनकै शब्दमा चाहिँ ‘हु द हेल यु आर टु डिफाइन माई चरित्र ?’

    “महिलाको उपस्थितिलाई सजिलोसँग नलिने, बेवास्ता गर्ने र उनीहरूसँग बौद्धिक रूपमा प्रतिस्पर्धा गर्न नसकेपछि वा तिनको बौद्धिकताको कदर गर्न नसकेमा महिलालाई पूरै बेवास्ता गर्ने सजिलो तरिका भनेको तिनको चरित्र हत्या गरिदिनु हो,” अस्मिना भन्छिन्, “यो यस्ती आइमाई हो, यसको चरित्र यस्तो छ, चरित्रहीन छे, यो त फलानोसँग हिँडेकी, मसँग यसो गरेकी थिई भन्दिने। पितृसत्ताले महिलाको चरित्रलाई ठूलो हतियार बनाएको थियोरछ। महिलाहरू पनि चरित्र जोगाउनुपर्छ भन्दै बस्छन्।” चरित्रलाई जोडेर गरिने महिलाको अपमानको प्रतिकार गर्न चरित्रहीन चेली खडा गरिएको उनी बताउँछिन्।

    घोषणापत्रमै सीमित!

    चरित्रहीन चेलीहरू अचानक ठूलो बेगमा आए र उसैगरी सेलाए भन्ने आरोप छ। नयाँ पत्रिकामा गएको १० मंसीरमा छापिएको मुक्तिको बहस अंश–अंशमा कि समग्रतामा? शीर्षक लेखमा धनकुमारी सुनार र सुशीला शर्माको भनाइ छ, “भूमिगत रूपमा घोषणा गरिएका उनीहरूका लहडबाजी कुनै गतिविधि नगरी गुमनाम भए।”

    पहिचान खुलाउन नचाहने चरित्रहीन चेलीकी अर्की एक सदस्यले आफूहरू गुमनाम नभएको र अझै पनि आन्दोलन जारी रहेको हिमालखबरलाई बताइन्। “नाम त्यही नहोला, तर हाम्रो आन्दोलन चलिरहेकै छ,” उनले भनिन्, “यो लामो आन्दोलन हो। एकपछि अर्को पुस्ताले चरित्रहीन चेलीलाई अगाडि डोहोर्‍याइरहेको छ।”

    अस्मिनाका अनुसार घोषणापत्र सार्वजनिक गर्नुअघि र पछि पनि विविध गतिविधि सञ्चालन गरिएका थिए। “महिलाहरू भट्टीमा जानु हुँदैन भनिन्थ्यो, हामी भट्टीमै गयौं,” उनी भन्छिन्, “भट्टी भनेको सार्वजनिक स्थल हो, सार्वजनिक स्थल भनेका पुरुषका मात्रै हुन्, महिलाका होइनन्, त्यहाँ जानेबित्तिकै हामी बिग्रियौँ, चरित्रहीन भयौं भन्ने सोच छ। त्यसैलाई चुनौती दिन भट्टी रोजिएको थियो।” तत्कालीन गुरुकुल थिएटर, पाटन दरबार स्क्वायर क्षेत्रमा पनि बैठक आयोजना गरिएको उनले सुनाइन्।

    घोषणापत्रको बुँदा नम्बर ६ मा लेखिएको छ, “हामी विनाअवरोध घुमफिर गर्छौं। हामी ती ठाउँमा घुम्छौं, जहाँ महिलाहरू पुग्ने अपेक्षा गरिन्न। घर, कार्यालय र छिमेकी टोलबाहेक अनुमति नदिइने तथा स्वागत र अपेक्षा नगरिने स्थानमा हामी निर्धक्क प्रवेश गर्छौं।”

    त्यो वेला जुन खालको आन्दोलन आवश्यक थियो, आफूहरूले त्यही गरेको र त्यसको प्रतिविम्ब अझैसम्म देखा परिरहेको अस्मिनाको ठहर छ। “त्यो स्वतस्र्फूत रूपमा, दमनविरुद्ध आवाज उठाउने उद्देश्यले शुरू भएको आन्दोलन थियो,” उनले भनिन्, “हामी पूर्ण रूपमा त्यही काम गरेर त बस्न सक्दैनथ्यौं। यति हुँदाहुँदै पनि, हामीले व्यक्तिगत रूपमा आ–आफ्नो ठाउँबाट आन्दोलनलाई निरन्तरता अझै दिइरहेकै छौं।”

    ‘उग्र र अतिवादी आन्दोलन’

    कान्तिपुरमा प्रकाशित ममता शर्मा नेपालको ‘आन्दोलनमा विचारहीनता’ लेखमा चरित्रहीन चेलीलाई नारीवादका विभिन्न धारमध्येको उग्र नारीवादी धारबाट प्रभावित आन्दोलन भनिएको छ। सालोक्यले पनि त्यसलाई नेपाली नारीका ‘अतिवादी’ भूमिगत आन्दोलन मध्येको एक भनेर लेखेका छन्।

    यसबारे अस्मिना भन्छिन्, “उग्र भनेको सुन्दा हामी हाँस्थ्यौं। उग्र भनेको के हो? अनि त्यसको मापदण्ड कति हुनुपर्ने? दमनको मापदण्ड कति हुनुपर्ने? र, दमितले प्रतिकार गर्दा त्यसको मापदण्ड कति हुनुपर्ने? अरूले अतिवाद भने पनि हामीलाई कहिल्यै अतिवाद लागेन। हाम्रा लागि ती माग सामान्य थिए। एक गिलास बियर खायो भन्दैमा कसैको चरित्र कम हुने भन्ने हुन्छ? एक खिली चुरोटमा, एक प्याला रक्सीमा, आफूखुशी हिँड्दैमा महिलाको चरित्र नाप्ने ठेक्का लिनेहरूले आफ्नो ठेक्का चाहिँ किन लिँदैनन्र’”

    उग्र भनेर टिप्पणी गरिएका घोषणापत्रका केही बुँदा यस्ता थिए-

    –हामी सार्वजनिक स्थलमा पान चपाउँछौं। आवश्यक परे मुक्का पनि हान्छौं। खुल्लमखुल्ला परिवार नियोजनका साधन किन्छौं। मनले चाहेअनुसार खान्छौं, मद्यपान र धूमपान जेसुकै गर्छौं। हामीबाहेक कसैले हामीलाई नियन्त्रण गर्न सक्दैन।

    –विवाहले यौन दुराचार वा बलात्कार गर्ने अनुमति दिँदैन। पुरुषहरू हो! यदि नारीले टाउको दुख्यो भन्छिन् भने उनलाई टाउको दुखेकै हो। त्यति वेला कन्डम होइन, सिटामोलका लागि हात बढाउनुहोस्।

    –हाम्रो शरीरको सार्वभौमसत्ता हामीसँगै छ।

    धनकुमारी सुनार र सुशीला शर्माका अनुसार यौन स्वतन्त्रताको माग प्राथमिकतामा राखेका चरित्रहीन चेली र त्यसपछिका केही नारी आन्दोलनले पुरुषहरूलाई आक्रोशको तारो बनाएका थिए। “पुरुषले गर्ने तमाम गलत कामहरू महिलाले पनि गर्न पाउनुपर्छ भन्नेजस्ता यिनीहरूका प्रमुख मुद्दा थिए,” सुनार र शर्माको तर्क छ, “आवश्यक परे महिला हिंसा गर्नेविरुद्ध भौतिक रूपमा आक्रमण गर्दै तह लगाउने उनीहरूको कार्यक्रम थियो।”

    अस्मिनाले यसको खण्डन गरिन्। चरित्रहीन चेलीले कहिले पनि पुरुषलाई तारो नबनाएको उनको भनाइ छ। पुरुष होइन, ब्राह्मणवादी पितृसत्तालाई ‘थप्पड हानेको’ अस्मिना बताउँछिन्।

    झन् चरित्रवान् चेली, चरित्रवान् चेला, फुलनदेवी समूह

    साथीहरू तितरबितर भएपछि आफूहरूले चरित्रहीन चेलीको नयाँ अवतार ‘झन् चरित्रहीन चेली’ सार्वजनिक गरेको अस्मिनाको भनाइ छ। चरित्रहीन चेलीलाई नै अगाडि बढाउन झन् चरित्रहीन चेली शुरू गरेको बताइन्। झन् चरित्रहीनले पनि कान्तिपुरमै १२ फागुन २०६३ मा १२ बुँदे घोषणापत्र सार्वजनिक गरेका थियो (हे. तस्वीर)। आफूहरू मूल समूहबाट विभाजित भई बनेको कट्टरपन्थी समूह भएको त्यसमा उल्लेख थियो।

    झन् चरित्रहीन चेलीले आफ्ना मागहरू मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवससम्ममा पूरा नगरे ‘राष्ट्रव्यापी चुल्हो र चोलो बन्द’को घोषणा गरेका थिए। उनीहरूको घोषणापत्र आएपछि नै चरित्रवान् चेलाले लामो प्रत्युत्तर लेखेका थिए।

    त्यसपछि वैशाख २०६७ मा विज्ञप्ति सार्वजनिक गर्दै फुलनदेवी समूह चर्चामा आयो। “चरित्रहीन चेलीलाई अझै अगाडि बढाउनुपर्‍यो भनेर अर्को पनि एउटा युवा महिला टोली हाम्रो सम्पर्कमा आएको थियो,” अस्मिना भन्छिन्, “उनीहरूले पनि नयाँ अभियान थालेका थिए। भित्ताहरूमा ‘चरित्र हरायो’ भनेर लेख्थे। शौचालयमा पनि विभिन्न नारा लेख्दै हिँडेका थिए। पछि चाहिँ भूमिगत नभई अर्कै किसिमले आन्दोलन गर्ने भनेर हिँडे।”

    अस्मिनाले आफूलाई चरित्रवान् चेलाबारे जानकारी नभएको सुनाइन्। “ए त्यस्तो पनि थियोरु” उनले आश्चर्य प्रकट गरिन्, “त्यो वेला के–के भयो, भयो। कतिपय कुरा भुलिसकेँ। मसँग त अहिले पूराना दस्ताबेज पनि केही बाँकी छैनन्। सबै कुरा, माइन्युटहरू कम्प्युटरमा थियो, क्य्रास भएर जम्मै उड्यो।”

    चरित्रहीनको देन के हो?

    चरित्रहीन चेलीको घोषणापत्रले नेपालको नारीवादी क्षेत्रमा प्राज्ञिक विमर्शलाई अभिप्रेरित गरेको कान्तिपुरमा प्रकाशित ममता शर्माको लेखमा छ। उनीहरूले भूमिगत भएर, अनुहार लुकाएर, अनुत्तरदायी शैलीमा काम गरेको भन्दै शर्माले त्यसमा प्रश्न पनि गरेकी छन्। अस्मिना आफूहरूको ‘भूमिगत विम्ब’ लाई ठूलो कुरा मान्दिनन्। उनका अनुसार भूमिगत हुनु त्यो वेलाको आवश्यकता थियो।

    अस्मिना उक्त आन्दोलनलाई एउटा झिल्को मान्छिन्। “हामीकहाँ आगो बल्यो, सेलायो भनेर आलोचना हुन्छ,” उनको तर्क छ, ‘चरित्रहीन चेली हामीले शुरु गर्‍यौं, त्यसैले त्यो हाम्रै बिर्ता हुनुपर्छ भन्ने होइन । धेरैले यसलाई विभिन्न तरिकाले अघि बढाउन सक्छन् । मुद्दा चाहिँ के हो भन्दाखेरी हाम्रो अस्तित्वको कुरा हो, हाम्रो पहिचान र स्वतन्त्रतको कुरा हो । त्यो वेलाका हाम्रा आवाज कसरी प्रतिविम्बित र परावर्तित भएर आइरहेका छन् भन्ने हेर्नुपर्छ। अहिलेको भोकल भएर आइरहेको नयाँ पुस्ता चरित्रहीन चेलीको नयाँ स्वरूप हो।”

    यति हुँदाहुँदै पनि महिलामाथि हुने संरचनात्मक विभेद ज्याद्रो भएर बसेकाले जतिसुकै विद्रोह गर्दा पनि महिलाका माग पूरा नभएकोमा दिक्क लाग्ने उनले बताइन्। ‘अफसोच, हामी अझै पनि भित्तासँग कुरा गरिरहेका छौं जस्तो लाग्छ,” उनी भन्छिन्, “भित्तासँग कुरा नगरेको भए हाम्रा माग पूरा हुन्थे। सुरक्षा, संस्कृति र विभिन्न नाममा कसरी हुन्छ, हाम्रा अधिकारमा रोक लगाउने काम भइरहेको छ। कहिलेकाहीँ थाकिन्छ, तर हामीलाई थाकिरहने सुविधा छैन।” (२६ फागुन, २०७७ मा हिमालखबरमा प्रकाशित सजना बरालको रिपोर्ट।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.