– पारुल शर्मा
पृथ्वीमा बढ्दो तापका विनाशकारी नतिजाहरू देखिन थालेका छन्। बढ्दो आगलागी, डढेलो, मरुभूमिकरण जस्ता परिवर्तनले मानव जीवनमा प्रत्यक्ष असर परिरहेको छ। बढ्दो तापका कारण ग्लासियर पग्लिने क्रम बढेको छ भने तटीय शहर तथा द्विपहरू डुबानमा पर्ने खतरा छ। पिउने पानीको अभाव बढ्दो छ भने खेतीपातीमा कमी आइरहेको छ। जसको प्रत्यक्ष असर मानिस, वनस्पति र अन्य जीवहरूमा पर्छ। जलवायुमा आएको यो परिवर्तनसँग जुध्ने क्रममा जीव तथा वनस्पतिहरूमा अनुवांशिक परिवर्तन आउँछ, जसबाट नयाँ–नयाँ रोगहरू निम्तिने गर्छ।
जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरूबाट सबै देशको अर्थव्यवस्था प्रभावित हुन्छ नै, मानिसहरूको मानवअधिकारको पनि व्यापक रुपमा हनन हुने निश्चित छ। जलवायु परिवर्तनबाट सबैभन्दा खानाको अधिकार, स्वस्थ रहने अधिकार, पानीको उपलब्धता, आवास, स्वच्छता जस्ता मूलभूत मानवअधिकार प्रभावित हुन्छन्। यस्तै मानिसहरूको विस्थापन, पलायन, आर्थिक विकासमा अवरोध र असमानतामा बढोत्तरी जस्ता मुद्दाको सामना गर्नुपर्ने हुन्छ।
हुन त ग्लोवल वार्मिङ्ग पूरै विश्वका लागि खतरा हो। तर यसको असर केही खास क्षेत्र, वर्ग, लिंग, उमेर वा कुनै समुदाय विशेषका मानिसलाई बढी पर्ने गर्छ। पहिलेबाटै बञ्चित र समस्याग्रस्त मानिसहरू यो परिवर्तनको मुख्य निशानामा पर्ने गर्छन्। इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी)द्वारा जारी एक रिपोर्टमा स्पष्टसँग भनिएको छ, ‘जलवायु प्रणालीमा मानवको प्रभाव स्पष्ट छ र अहिले भइरहेको मानवजनित ग्रीन हाउस ग्याँसको उत्सर्जन इतिहासमा सबैभन्दा बढी छ। मानव र पर्यावरणमा जलवायु परिवर्तनको प्रभाव व्यापक परेको छ।’ यसका साथै रिपोर्टले जलवायु परिवर्तनबाट खासगरी सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक र संस्थागत रुपले सीमान्तकृत मानिसहरू पीडित रहेको उल्लेख गरेको छ। जलवायु परिवर्तनबाट असर पर्ने मूलभूत मानवअधिकारका विषयहरू के के छन् त?
बाँच्न पाउने अधिकार
सम्मानपूर्वक जीवन ज्यूँने अधिकारको त कुरै छाडौँ, जलवायु परिवर्तनबाट बाँच्ने मूलभूत अधिकार पनि खतरामा परेको छ। क्लाइमेट भल्नरेबल फोरम र DARA International को एक रिपोर्ट अनुसार जलवायु परिवर्तनबाट हरेक वर्ष ४,००,००० मानिसको मत्यु हुन्छ र यो संख्या सन् २०३० सम्ममा ७ लाखसम्म पुग्ने अनुमान गरिएको छ। बाढी, आँधीबेहरी, हिटवेभ, डढेलो, सुख्खा, खडेरी, जल तथा वायु प्रदुषणबाट हुने रोगहरू, भोकमरी र कुपोषणबाट हुने मृत्यु जलवायु परिवर्तनका नै परिणाम हुन्।
स्वस्थ रहने अधिकार
जलवायु परिवर्तनबाट विश्वमा ठूलो जनसंख्यालाई गम्भीर असर परिरहेको छ। संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनमा गरिएको एउटा अध्ययनका अनुसार सन् २०१९ मा तापक्रममा वृद्धिका कारण जापानमा १०० भन्दा बढी र फ्रान्समा १,४६२ मानिसको मृत्यु भयो। सोही वर्ष बढेको तापका कारण डेंगु भाइरसको प्रकोप बढेको थियो। विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार जलवायुमा उष्णता बढोत्तरीका कारण मुटु तथा श्वास सम्बन्धी रोगहरूमा वृद्धि हुन्छ। त्यस्तै दुनियाँका विकासशील देशहरूमा झाडापखाला, हैजा, क्षयरोग, पितज्वरो जस्ता संक्रामक रोगहरूमा वृद्धि हुन्छ।
यसका अलावा रोगका अणुहरूका नयाँ–नयाँ प्रजातिहरू पनि उत्पन्न हुन्छन्। अमेरिका र विश्वका अन्य भागहरूमा भारी वर्षाका कारण क्रिप्टोपोराइडोसिस जस्ता रोग देखा परे। ल्यान्सेट आयोगले जलवायु संकटलाई २१ औँ शताब्दीको सबैभन्दा वैश्विक स्वास्थ्य खतरा भनेको छ र यसबाट वैश्विक स्वास्थ्यको क्षेत्रमा पछिल्लो पाँच दशकहरूमा गरिएको प्रगति पनि खतरामा परेको आयोगले उल्लेख गरेको छ।
खानाको अधिकार
जुन देशको अर्थव्यवस्था कृषिमा निर्भर छ, त्यहाँ जलवायु परिवर्तन नजरअन्दाज गर्नै नसकिने विषय हो। जलवायु परिर्वतनको असरबाट वैश्विक भोकमरी उत्पन्न हुन्छ। यूएनद्वारा प्रकाशित ‘एमिसन ग्याप रिपोर्ट’ (Emission Gap Report) मा भनिएको छ, ‘यदि पृथ्वीको तापक्रम यही दरमा बढ्दै गयो भने शताब्दीको अन्त्यसम्मा यो दर ३.२ डिग्री सेल्सियस भन्दा बढी हुनेछ। खाद्य उत्पादनमा ३१ प्रतिशत र पशुचौपायाबाट प्राप्त हुने उत्पादनहरूमा ३४ प्रतिशतको गिरावट आउने छ।’ यस्तै विश्व बैंकको एक अनुमानअनुसार वैश्विक तापक्रममा २ डिग्री सेल्सियसको वृद्धिका कारण १०० मिलियनदेखि ४०० मिलियनको संख्यामा मानिसहरू भोकमरीको शिकार हुनसक्छन्।
जलवायु परिवर्तनले खानाको पोषण स्तरलाई पनि प्रभावित गर्छ कार्बनडाइअक्साइडको अधिक कन्सन्ट्रेसनबाट अन्नमा प्रोटिन, जिंक र आइरन तत्वमा कमी हुन जान्छ। परिणामस्वरुप सन् २०५० सम्म अनुमानित अतिरिक्त १७५ मिलियन मानिसले जिंक र १२२ मिलियन मानिसले प्रोटिनको कमीको मार झेल्नुपर्ने हुन्छ। यसमध्ये सबैभन्दा बढी खतरा सीमान्तकृत मानिस तथा समुदायलाई हुन्छ। संयुक्त राष्ट्रसंघद्वारा जारी रिपोर्ट ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस २०२१’ ले २०२० का दौरान विश्वका ५५ देशका करिब १५.५ करोड मानिस गम्भीर रुपले खाद्य संकटको सामना गरेका छन्, जो पछिल्लो ५ वर्षमा सबैभन्दा बढी छ। रिपोर्टका अनुसार यस खाद्य असुरक्षाको स्थितिका लागि जलवायु परिवर्तन र कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकट मुख्य रुपले जिम्मेवार थियो।
आवासको अधिकार
रोजगार, शिक्षा तथा सुविधाहरूका लागि मानिसहरू गाउँदेखि शहर जाने क्रम त सधैँ चलिरहने प्रक्रिया हो। तर पछिल्ला केही वर्षमा जलवायु परिवर्तनका कारण यसमा वृद्धि भएको छ। इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी)ले सन् १९९० मा एउटा प्रक्ष्योपण गरेको थियो, ‘जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव पलायनको रुपमा देखा पर्नेछ।’ वर्ल्ड माइग्रेसन रिपोर्ट २०२० का अनुसार हरेक वर्ष हिंसा र संघर्षको तुलनामा प्राकृतिक विपदका कारण मानिसहरू पलायन हुने क्रम बढेको छ। विस्थापनका कारण मानव तस्करीका घटनाहरूमा पनि वृद्धि भएको देखिन्छ। यूएन एनवायरमेन्ट प्रोग्रामको अनुमान छ, ‘प्राकृतिक विपद्का दौरान हुने पलायनसँगै २० देखि ३० प्रतिशतसम्म मानव तस्करीका घटना बढेका छन्।
विस्थापनको असर खासगरी बालबालिका, महिलाहरू, वृद्धवृद्धा, रोगी बिरामी मानिस र पहिलेदेखि नै बञ्चित मानिसहरूमा सबैभन्दा बढी पर्छ। कति ठाउँमा पानीको कमीका कारण खेतीमा नकारात्मक असर परेको छ, जसको परिणाम स्वरुप मानिसहरू कृषिबाट विमुख हुन्छन र रोजगारका लागि अर्को ठाउँमा विस्थापित हुन्छ। विश्व बैंकका अनुसार समुन्द्रको जलस्तर लगातार बढेका कारण यो शताब्दीमा करिब ९ करोड मानिस विस्थापित हुनेछन्।
शुद्ध पानीको अधिकार
पानीको लगातार दोहनका कारण स्वच्छ पानीको उपलब्धतामा कमी हुन थालेको छ। जल संशाधन तीव्र रुपमा घटिरहेको छ। वर्षाको बदिलएको प्याटर्नका कारण सतही जल उपलब्धतामा कमी आइरहेको छ र भू–जलमा निर्भरता बढीरहेको छ, जसका कारण भू–जलको स्तरमा दिन प्रतिदिन गिरावट आइरहेको छ। वर्ल्ड बैंकको एक रिपोर्टका अनुसार तापमानमा दुई डिग्री सेल्सियसको वृद्धिबाट एक देखि दुई बिलियन मानिसको जल आपूर्तिको मूलभूत आवश्यकता प्रभावित हुनसक्छ। बाढी र सुख्खापनका कारण पानीसँग सम्बन्धित स्वास्थ्यको मुद्दा पनि उत्पन्न भइरहेका छन्।
बाढीका कारण रोगका किटाणुहरू तीव्र रुपमा फैलिन सक्छन्। जसका कारण पानीबाट सर्ने रोगहरूको खतरा बढिरहेको छ। यसबाट झाडापखाला रोगको खतरा हुन्छ। झाडापखाला हरेक वर्ष पाँच लाख भन्दा बढी बालबालिकाहरूको मृत्युको कारण बन्छ।
शिक्षाको अधिकार
जलवायु परिवर्तनका कारण बाबाललिकाको शिक्षामा पनि गहिरो प्रभाव पर्छ। प्रकृतिक विपद्का कारण बालबालिकाहरू विद्यालय छोड्न बाध्य हुने गर्छन्। तटीय क्षेत्रमा चक्रवात, बाढी जस्ता मौसमी घटनाहरूका कारण विद्यालयका भवनहरू क्षतिग्रस्त हुन्छन्। यसका अलावा प्राकृतिक विपद्का कारण विस्थापित बन्न पुगेकाहरूलाई विद्यालयका भवनहरूमा बस्ने व्यवस्था मिलाउनुपर्ने हुँदा बालबालिकाहरूको शिक्षा प्रभावित हुन जान्छ। जलवायु परिवर्तनबाट उत्पन्न संकटहरूको असर छाक टार्नै मुस्किल पर्ने परिवारका बालबालिकामा अझै बढी पर्छ। जलवायु परिवर्तनबाट प्रभावित तथा आर्थिक रुपले विपन्न परिवारले विद्यालयको शुल्क तिर्न नसकेपछि बालबालिकाले कम उमेरमै मजदुरी गर्नुपर्ने हुन्छ। विपन्न परिवारका, खासगरी छात्राहरू यसको मारमा झन् बढी पर्ने गर्छन्। यस्तै परिवार पेट पाल्नकै लागि अर्को ठाउँमा विस्थापित हुनुपरेका कारण पनि बालबालिकाहरू विद्यालय छोड्न बाध्य हुन्छन्।
उत्पीडितहरूमा असर
माथि बताइए जस्तै जलवायु परिवर्तनको असर सबैभन्दा बढी आर्थिक रुपले पछाडि परेका र सीमान्तकृत मानिसहरूमा पर्ने गर्छ। जलवायु परिवर्तनका कारण पशुपालन, माछापालन, वर्षामा आधारित खेती र जंगलमा निर्भर रहेका मानिसहरूको जीवनमा गम्भीर प्रभाव परिरहेको छ। नदीको निरन्तर दोहनका कारण नदी नजिकै बस्ने मानिसहरू आफ्नो थातथलो छोडेर अर्को ठाउँमा जान बाध्य छन्। चरम मौसमी घटनाहरू, समुन्द्रको पानीको क्षारतामा आएको बदलाव र बढ्दो प्रदुषणका कारण समुन्द्री माछाको संख्यामा कमी आउँछ, जसका कारण माछामा निर्भर व्यवसायहरू धरापमा पर्छन्। यसका अलावा जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरूको रोकथामको प्रयासहरूबाट पनि उत्पीडित समुदायका मानिसहरूको अधिकार खतरामा पर्छ।
जलविद्युतका लागि बनाइएका बाँध र अन्य नवीकरणीय उर्जा परियोजनाहरूका कारण पनि ती स्थान नकिकैका मानिस विस्थापन हुन बाध्य हुन्छन्। यस्तै शरहमा बढ्दो वायु प्रदुषणका कारण सबैभन्दा बढी असर आर्थिक रुपले कमजोर तप्कालाई पर्न जान्छ। सम्पन्न मानिसहरू त आफ्नो घरमा एअर प्युरिफायर र एअर कन्डिसन लगाउन सक्छन्, तर दिनहुँ मजदुरी गरेर पेट पाल्ने तथा फुटपाथमा रहनेहरूले दिनरात प्रदुषणको सामना गर्नुपर्छ। विडम्बना ! प्रदुषणका लागि जुन वर्ग सबैभन्दा कम जिम्मेवार छ त्यही वर्गले यसका असरको मूल्य चुकाउनु परेको छ।
महिलामा असर
उत्पीडित मानिस र समुदाय मध्येमा पनि महिलाहरूको अनुपात बढी भएकाले यो समस्याबाट महिलाहरू बढी प्रभावित हुन्छन। जलवायु परिवर्तनले कृषि तथा पानीको उपलब्धतामा पारेको असरबाट प्रत्यक्ष रुपमा महिलाहरू प्रभावित हुन्छन्। ग्रामीण क्षेत्रमा घरभित्र चुल्हो बाल्दा आउने धुँवा र त्यसले पार्ने वायुप्रदुषणबाट पर्ने जोखिम महिलाहरूले नै मोलिरहेका छन्। पुरुषहरू रोजगारको खोजीमा शहरतर्फ लागेपछि बालबालिका, खेतीपातीसहित घरको सम्पूर्ण जिम्मेवारी महिलाले एक्लै सम्हाल्नुपर्ने हुन्छ।
यस सम्बन्धमा गैर सरकारी संगठन एक्सन एडले जारी गरेको रिपोर्टअनुसार ग्रामीण क्षेत्रमा बढी संख्यामा मानिसहरू रोजीरोटीका लागि शहर पस्छन्, त्यससँगै बालबालिका र वृद्धवृद्धाको सारा जिम्मेवारी महिलाहरूमाथि आउँछ। प्राकृतिक विपद् बढेसँगै महिलाहरूको तस्करीमा पनि वृद्धि हुने गर्छ।
पछिल्ला केही दशकहरूमा जलवायु परिवर्तन समग्र विकास र मानिसको अधिकारमा अवरोध बनेर देखा परेको छ। यसलाई नियन्त्रणमा लिनका लागि सबै राष्ट्रहरूले पहलकदमी लिन आवश्यक छ, त्यसमाथि ती राष्ट्रहरू अघि सर्नुपर्छ, जो यस संकटका लागि बढी जिम्मेवार छन्। जलवायु परिवर्तनका सम्बन्धमा भइरहेका अन्तर्राष्ट्रिय वार्ताहरूमा पर्यावरणको रक्षा र भावी पिँढीका लागि प्रकृतिक संसाधनहरूको संरक्षणमा जोड दिनुका साथै सबैभन्दा प्रभावित मानिसहरूको अधिकार सुनिश्चिततालाई पनि महत्व दिन आवश्यक छ। यदि उत्पीडित र प्रभावित मानिसका आधारभूत आवश्यकतामा ध्यान दिने हो भने पर्यावरणको संरक्षणमा उनीहरू आफैंले योगदान गर्न सक्छन्।
(फेमिनिजम इन इन्डियाबाट भावानुवाद।)