मानिलिनुस्, बैङ्कको मुद्दती खातामा दश लाख बचत छ। त्यसको बार्षिक ब्याज रु एक लाख बीस हजार अर्थात मासिक दस हजार छ। त्यो दश लाखलाई स्थिर बचतमा राखी वर्षभरी त्यही ब्याज एक लाख बीस हजार अर्थात् मासिक दश हजार रुपैयाँबाट फारो गरी आफ्नो आवस्यकता पुर्ती गर्ने गरी योजना बनेको छ।
तर पछि आउने जोखिमको ख्यालै नगरी बर्षभरिको ब्याज (आम्दानी) पहिलो नौ महिनामै खर्च गरेर सक्काइयो भने के होला? यदि नौ महिनामै बचतको व्याज सकाइयो भने बाँकी ३ महिनाका लागि फेरि त्यो स्थिर–बचतबाट पैसा झिक्नुपर्यो। मानिलिउँ, बाँकी तीन महिनाको खर्चको जोहो गर्न हामीले तीस हजार त्यही स्थिर बचतबाट झिक्यौँ भने आउने बर्षको स्थिर मौज्दात त केबल नौ लाख सत्तरी हजार मात्र बच्न पुग्छ। यसरी अधिक खर्च गर्नाले स्थिर बचत भण्डार बर्सेनि रित्तिँदै जान थाल्छ। स्थिर बचत नै घट्दै गएपछी क्रमशः ब्याजबाट प्राप्त हुने आम्दानी पनि घट्ने नै भयो। पहिलो वर्षमा बर्षभरीको ब्याज (आम्दानी) नौ महिनामै खर्च भएको थियो भने अब आठ महिनामै सक्किने भयो।
‘यसरी खर्च गर्ने प्रवृत्ति अत्यन्तै घातक र अविवेकी हो’ भन्नका लागि हामीले दोहोर्याएर सोच्नै पर्दैन। यसरी खाता रित्तिदै जाँदा जो कोही एक दिन टाट पल्टिने निश्चित छ। कोही यही कारणले टाट पल्टिएको अवस्थामा उस/उनको विकल्प भनेकै मागेर खाने हो। आफू मात्र टाट पल्टिए त त्यस व्यक्तिले दुनियाँसँग हात फैलाएरै जीवन चलाउला तर सबैको खर्च प्रवृत्ति यस्तै रही टाट पल्टिएमा चाहिँ त्यस व्यक्तिले कोसँग आर्थिक सहयोग माग्ने?
अहिले प्राकृतिक संसाधानको प्रयोगको हिसाबले युरोप, अमेरिका, चीन, जापान र मध्यपुर्वका देशजस्ता औद्योगिक र विकसित राष्ट्रहरु टाट पल्टिएका राष्ट्रहरु हुन् भने नेपाल, भुटान र बर्माजस्ता कम बिकसित र न्यून उपभोग प्रवृत्ति भएका राष्ट्रहरू भने दाता राष्ट्र हुन्। त्यो कसरी भन्ने कुरा जान्ने प्रयास गरौँ। New Economics Foundation का शोधकर्ता तथा प्रसिद्ध अर्थ–पर्यावरण लेखक एन्ड्रयू सिम्सले सन् १९८७ मा ‘उपभोग प्रवृत्ति र पर्यावरण असन्तुलन’सम्बन्धी एउटा नयाँ अवधारणा अगाडि सारे। त्यसु अवधारणलाई पछि Earth overshoot Day भनियो। यसलाई सजिलो गरी यसरी बुझौँः
पृथ्वीले बर्षभरी आफ्नो नवीकरणीय वस्तु वा पदार्थको कति उत्पादन गर्छ र त्यो उत्पादन कति अबधिमा मानवीय क्रियाकलापबाट उपभोग हुन्छ। यो बिचको अन्तर अवधी नै Earth overshoot Day अर्थात ’पृथ्वीको अधिक दोहन दिवस’ हो।
१) एक बर्षभरीमा समुन्द्रमा जति माछा मारिन्छन्, के त्यति नै माछा त्यो बर्ष भरी उत्पादन हुन्छन् त ?
२) बर्षभरी जति रुख काटिन्छन्, के त्यति नै मात्रामा नयाँ बिरुवाहरू रोपिन्छन्/हुर्काइन्छन त?
३) वर्षभरी जति कार्बनडाइअक्साइडजस्ता उष्ण ग्यास वातावरणमा छोडिन्छन्, के त्यस्ता ग्यास सोस्ने पर्याप्त जङ्गल क्षेत्र उपलब्ध हुन्छ त?
पृथ्वीको नवीकरणिय स्रोतको यो उत्पादन र उपभोगको असन्तुलनको मापन गर्दै पहिलो पटक सन् १९८७ मा यसरी मापन गरियो।
पृथ्वीको जैविक क्षमता ×३६५
पृथ्वीको जैविक उत्पादनको उपभोग
त्यो समयमा EOD २३ अक्टोबर थियो। अर्थात पृथ्वीको वार्षिक उत्पादन हामी ३७ दिन अगाडि नै सक्काउथ्यौँ। र, बाँकी अबधिमा हामी पृथ्वीको स्थिर भण्डारणबाट झिकेर पृथ्वीको साधनस्रोतको उपभोग गर्ने गर्थ्यौँ। यो असन्तुलन बढ्दै जादा अघिल्लो बर्ष (२०२१) मा जुलाई २९ मै Earth Overshoot Day आयो। अर्थात् पृथ्वीको वार्षिक नवीकरणीय उत्पादन हामीले ७ महिनामै अर्थात् १५० दिन अगावै सक्कायौँ। अत्यन्तै अविवेकी र मुर्खतापुर्ण उपभोग प्रवृत्ति (कन्जम्सन प्याटर्न) को परिणाम हो यो।
जनसंख्या र उपभोग–परिमाणको सिधा सम्बन्ध भएपनि सबै कारक जनसंख्या होइन, बरु उपभोग प्रवृत्ति कति किफायती र विवेकपुर्ण छ भन्ने हो। भारतिय लेखक चन्द्र भुषनद्वारा ‘सन डाउन टु अर्थ’ म्यागेजिनमा प्रकाशित रिपोर्ट अनुसार एक औषत भारतीयको तुलनामा एक औषत अमेरिकनले ३७ गुणा बढी पृथ्वीको साधन–स्रोतको उपभोग गर्छ। ख्याल गर्नुपर्ने कुरा छ, हाम्रा हरेक उपभोग्य सामानमा प्राकृतिक संसाधन प्रयोग भएकै हुन्छ। पानी, खनिज पदार्थ, फोसिल इन्धन, वनजङ्गल, जनावरको आदिको कम वा बेसि दोहनबाट नै हामीले उपभोग गर्ने बस्तुको उत्पादन हुने हो। र, यस्तो दोहनबाट फैलिने कार्वन उत्सर्जन र त्यसले निम्त्याउने पर्यावरण प्रदुषणको कुरा त छदैँछ।
सयुक्त राष्ट्र संघ–खाध्य तथा कृषि सङ्गठनका अनुसार अमेरिकामा सन् २०१८ मा दस करोड तीस लाख ट्रक खाना खेर फालियो। यो कुल उपभोग्य खानाको ३५% हुन आउँछ। यस्तो खानाको अंशमा अत्यधिक प्राकृतिक संशाधन खपत हुने मासु तथा दुग्धजन्य पदार्थको हिस्सा ठूलो छ। यसका अतिरिक्त अनियन्त्रित रूपमा सौन्दर्य प्रशाधनका सामाग्री, प्लास्टिकजन्य सामाग्री, इलेक्ट्रोनिक ग्याजेट, अत्यधिक पानी खपत गर्ने र जल प्रदुषण निम्त्याउने गार्मेन्ट सामाग्रीको उपभोग अत्यावश्यकको तुलनामा सैयौँ गुणा बढी छ। निम्न देशहरूको जस्तो उपभोग शैली कायम राख्दा पर्यावरण सन्तुलन राख्न हामीलाई कतिवटा पृथ्वीको आवश्यकता पर्छ, हेरौँ:
१) अमेरिका–५.१ पृथ्वी
२) अस्ट्रेलिया–४.५ पृथ्वी
३) नेपाल–०.८ पृथ्वी
४) जर्मनी–३ पृथ्वी
विकसित र धनी भनिएका र अघिल्लो शताब्दीमै औद्योगिक क्रान्ति गरिसकेका राष्ट्रहरूको कुकर्मको परिणामअ हामी गरीब देशका गरिब जनता भोग्दै छौँ। यदि प्राकृतिक न्यायको सिद्धान्त अनुसार स्वस्फूर्त गणना (spontaneous measurement) गर्ने हो भने हामीले ती धनी र औद्योगिक राष्ट्रबाट ठूलो धनराशि क्षतिपुर्ती पाउनुपर्छ। र,एमसीसीमा आएको अनुदान त एउटा पित्को मात्र हो। यसलाई दान, भिक्षा र भिख भन्नेहरुले एकपटक मनन समेत गर्नुहोला। मैले यो लेख लेख्दा आमाको मुख हेर्ने दिन पर्दै थियो। र, हामीहरू धर्तीलाई ‘धर्तीमाता’ पनि भन्ने गर्छौँ। आजका दिनमा धर्तिमाता निख्रिँदै छिन्। रित्तिँदै छिन्। हामी ‘धर्तिमाता’लाई निचोर्दैछौँ। यो निचोर्ने र रित्याउने क्रम यही दरमा अघि बढ्ने हो भने केही दशकमै पृथ्वी बस्न योग्य हुनेछैन। आमाको मृत्युपछि हाम्रो हालत के होला? आमाको स्वास्थ्य खराब भएपछि दुध चुस्ने बच्चाको हालत के होला?