जब आइन्सटाइन अमेरिकी विश्वविद्यालयहरुमा प्रवचन दिइरहेका हुन्थे, त्यसबेला उनलाई विद्यार्थीहरुद्वारा सबैभन्दा बढी सोधिने प्रश्न थियो:
के तपाईं इश्वरमा विश्वास गर्नुहुन्छ?
र आइन्सटाइन सधैं जवाफ दिन्थे: म स्पिनोजाको इश्वर माथि विश्वास गर्छु।
बारुच दे स्पिनोजा डचल्याण्ड निवासी एक दर्शनशास्त्री थिए, जसलाई १७औं शताब्दीको दर्शनमा देस्कार्ट्स जसरी नै महान विवेकवादी मानिन्छ।
बारुच दे स्पिनोजाका भगवानले भन्दथे : “प्रार्थना गर्न बन्द गर। म तिमीहरु घरबाट बाहिर निस्केर संसारको आनन्द लिएको हेर्न चाहन्छु। म तिमीहरूले गाएको, रमाइलो गरेको र मैले तिमीहरुका लागि बनाइदिएका सम्पुर्ण कुराहरुको आनन्द उठाउ भन्ने चाहन्छु।
“तिमीहरूले मेरो घर हो भन्दै बनाइदिएका ती अध्याँरा र चिसा मन्दिरहरुमा जान बन्द गर। मेरो निवास त हिमालहरु, जङ्गलहरु, नदिहरु, समुद्र किनारहरुमा छ। म त त्यहाँ पो बस्छु र त्यहाँ बसेर पो तिमीहरू प्रतिको मेरो प्रेम ब्यक्त गर्छु।
“तिम्रो दुखी जीवनको दोष मलाई दिन बन्द गर; मैले तिमीमा कुनै कमजोरी छ वा तिमी पापी हौ वा तिम्रो यौनिकता अभिसाप हो भनेर कहिल्यै भनिन। यौन मैले तिमीलाई दिएको एक सुन्दर उपहार हो, त्यसको तिमीले आफ्नो प्रेम, परम आनन्द र उल्लास ब्यक्त गर्न सक्छौ। अतः अरुले तिमीलाई विश्वास दिलाएका यावत कुराहरुको लागि मलाई दोष नदेऊ।
“मसँग असम्वन्धित कथित पवित्र ग्रन्थहरु पढ्न बन्द गर। यदि तिमी सुर्योदयमा, प्राकृतिक छटाहरुमा, आफ्ना मित्रको हेराईमा, तिम्रो छोराको आँखामा मलाई पढ्न सक्दैनौ भने तिमीले मलाई कुनै पुस्तकमा भेट्ने छैनौ।
“मेरो काम म कसरी गरौं?” भनी मलाई नसोध। मसँग यति बिङ्घ्न डराउन बन्द गर। म तिम्रो परीक्षा लिइरहेको हुन्न, वा तिम्रो आलोचना गर्दिन। म न त तिमीसँग रिसाउँछु वा न त दिग्दार हुने गर्छु। म पवित्र प्रेम हुँ।
“क्षमा माग्न बन्द गर, माफि दिनुपर्ने त्यस्तो कुनै कारण छैन।
“यदि मैले तिमीलाई बनाएको हो भने मैले तिमी भित्र अनुराग, कर्तव्यसीमाहरु, आनन्द, भावना, आवश्यकताहरु, असंगतिहरु र सबैभन्दा उत्तम स्वतन्त्र चाहना भरिदिएको छु। मैले भरिदिएका केही कुराहरु प्रति तिमी प्रतिक्रिया जनाउछौ भने मैले तिमीलाई दोष किन दिने?
“मेरा प्रिय ! यो जीवन कुनै परीक्षा होइन, माथि चढ्ने खुट्किलो होइन, न त यो रियाज वा स्वर्गको पूर्व–अभ्यास नै हो। यहाँ र अहिलेको यो जीवन नै सर्वस्व हो- र तिमीलाई चाहिने सबैथोक यही हो।
“मैले तिमीलाई पुर्णरुपमा स्वतन्त्र छोडिदिएको छु, कुनै दण्ड र पुरस्कार छैन, न पाप वा पुण्य छ, न भाग्य लेख्ने भावी छ, न कर्मको फल राख्ने चित्रगुप्त छ।
“आफ्नो जीवनकालभरी तिमी जे कुरा पनि रचना गर्न पूर्ण स्वतन्त्र छौ। त्यो तिमी नै हौ जसले स्वर्ग र नर्क बनायौ।
“जीवन यसरी बिताऊ मानौ यो जीवन पारी अरु केही छैन। मानौ आनन्द उठाउने, प्रेम गर्ने र अस्तित्वमा आउने यो एकमात्र अवसर हो। अनि त तिमीले मैले दिएको अवसरबाट आनन्द लिएका हुनेछौ।
“यदि पुनर्जन्म हुन्छ नै भने पनि निश्चिन्त बन कि “यदि मैले नै तिमीलाई बनाएको हो भने तिमी यस्तो भयौ भनेर म तिमीलाई कसरी सजाय गर्न सक्छु? के तिमीलाई लाग्छ -अनन्तसम्म खराब व्यवहार गर्ने आफ्ना सन्तानलाई जलाउने स्थान म कसरी निर्माण गर्छु? कस्तो प्रकारको ईश्वरले त्यसो गर्न सक्छ?
“आफ्ना दौतरीको सम्मान गर र जुन वस्तुको तिमी चाहना राख्दैनौ त्यो वस्तु उपहार नदेऊ । म केवल तिमीले आफ्नो जीवनलाई ध्यान देऊ भन्ने चाहन्छु- चनाखोपन तिम्रो मार्गदर्शक हो।
म तिमीलाई ठिक वा बेठिक कुन ढङ्गले व्यवहार गर्यौ भनेर सोध्ने छैन। म त सोध्नेछु, `के तिमीलाई (मेरो उपहार) जीन्दगी मन पर्यो? तिमीले कतिको रमाइलो गर्यौ? सबैभन्दा बढि आनन्द के गर्दा भयो? यसबाट तिमीले के शिक्षा लियौ´?
“म माथि विश्वास गर्न बन्द गर; विश्वास गर्नु ढुक्क हुनु हो, अनुमान गर्नु हो, कल्पना गर्नु हो। जब तिमी आफ्नी प्रेमीकालाई चुम्छौ, मलाई अनुभव गर, आफ्नी छोरीलाई काखमा राखिरहँदा, आफ्नो कुकुरलाई सुमसुम्याइरहँदा र समुद्रमा नुहाइरहँदा मलाई अनुभव गर।
“मेरो जयजयकार गर्न बन्द गर। यसबेला म कस्तो अहमत्याई लागेको बौलाहा भगवान रहेछ भन्ने तिमीलाई लागेको होला? म आफ्नो प्रशंसा सुनेर दिग्दार भएको छु। कृतज्ञताको ओइरोले म वाक्क भइसकेको छु? के तिमी अनुग्रहित छौ? आफ्नो, आफ्नो स्वास्थ्य, आफ्ना नातादारहरुको र यस दुनियाको सेवा गरेर अनुग्रहित भएको प्रमाणीत गर। आफ्नो उल्लास ब्यक्त गर! मेरो प्रशंसा गर्ने उपाय यहि हो।
“कुराहरुलाई जटिल बनाउन र सुगा झै म बारे तिमीलाई घोकाइएका कुराहरु भट्याउन बन्द गर। तिमीलाई थप चमत्कारहरु किन चाहियो? यति विंघ्न व्याख्या किन चाहियो? एउटै सत्य कुरा – तिमी यहाँ छौ, तिमी जिवित छौ र यो संसार चमत्कारहरुले भरिपूर्ण छ।