नेकपा एमालेका कर्णाली प्रदेशका चार सांसदले आफ्नो पार्टीले जारी गरेको ह्वीप उल्लंघन गर्दै त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गरेर कम्युनिष्ट एकताका पक्षमा आफ्नो मत जाहेर गरेका छन्। प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गरेर शाहीलाई मत दिएका हुन्।
विश्वासको मत को पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएसँगै शाहीको प्रदेश सरकार जोगिएको छ । शुक्रबारको बैठकमा जम्मा ३७ जना सांसद उपस्थित थिए। जम्मा ३९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक पर्थ्यो। प्रदेशसभामा शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना सांसद छन् ।
६ जना सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई नै विश्वासको मत दिएको थियो। एक सदस्य रहेको राप्रपा भने तटस्थ रहेको थियो। चार जना सांसदहरूले शाहीका पक्षमा गरेको भोटिङलाई ओली पक्षधरहरूले पार्टीको अनुशासन र नियम नमानेको भनेर टिप्पणी गर्दै गर्दा कम्युनिष्ट एकता पक्षधरहरूले भने चार सांसदले फ्लोर क्रस गरेरै भएपनि कम्युनिष्ट एकताको पक्षमा आफूलाई उभ्याएको भन्दै सामाजिक संजालमा तारिफ गरेका छन्। कर्णालीको चिसो पानीको तरङ्ग सम्भवत : नेपालको केन्द्रीय संसदमा पनि देखिन सक्ने कतिपय विश्लेषकहरूको अनुमान छ ।
तस्वीर स्रोतः दृष्टि