नयाँ वर्षलाई म घृणा गर्छु – एन्टोनियो ग्राम्सी

प्रत्येक बिहान, म जब फेरि उही घुरमैलो आकाशमुन्तिर बिउँझन्छु, मलाई त्यही क्षण नै नयाँ वर्षझैं लाग्छ।

त्यसकारण म यी नयाँ सालहरुलाई घृणा गर्छु किनकि नयाँ सालहरु बजेटजस्तो बनेर आउँछन्, जसले जीवन र मानव मनोभावहरूलाई आर्थिक नाफाघाटामा तौलन्छ, बदल्छ। बजेटहरूमा तिर्न बाँकी पैसाको कुरा हुन्छ, नयाँ व्यवस्थापनका लागि भनेर निश्चित रकम छुट्याइएको हुन्छ।

नयाँ सालको तथाकथित मितिले जीवनका निरन्तरता र मनोभावहरूलाई हटाउँछ। हामी ठान्नपुग्छौं कि गत वर्ष र नव वर्षका बीचमा विश्राम छ। र, नयाँ इतिहास सुरू हुँदैछ भन्ने ठान्छौं हामी। त्यसैले, हामी नयाँ प्रतिज्ञाहरू गर्छौं। पूरा गर्न नसकेका प्रतिज्ञाहरूप्रति पश्चाताप गर्छौं। यस्तै, यस्तै…। खासमा मितिहरूको समस्या नै यही हो।

कालक्रम इतिहासको मेरूदण्ड हो भन्छन् मान्छेहरू। ठीकै छ, तर प्रत्येक असल मान्छेका दिमागमा कमसेकम चारपाँचवटा मितिहरू गढेर बसेका हुन्छन् र ती मितिहरू इतिहासका खराब सन्दर्भका हुन्छन्। र, खासमा ती मितिहरू पनि नयाँ वर्ष नै थिए। रोमन इतिहासको नयाँ वर्ष, मध्ययुगको नयाँ वर्ष अथवा आधुनिक युगको नयाँ वर्ष।

र, यी नयाँ साल र मितिहरू हाम्रा दिमागमा यति गढेर बसेका छन् कि, यति आक्रामक छन् कि हामी कहिलेकाहीँ यस्तो ठान्ने अवस्थामा पुग्छौं–७५२ मा इटलीमा बल्ल जीवनकोे अध्याय शुरू भयो। १४९० र १४९२ को मितिचाहिँ हिमालहरूजस्तै लाग्छ हामीलाई। हामी ठान्छौं–मानव सभ्यतामा त्यतिखेर ठूलो तख्तापलट भयो, मानव सभ्यताले बिल्कुलै नयाँ जीवनमा आफूलाई पायो। यसकारण अवरोधक बन्न पुग्छन् मितिहरू। त्यस्तो पर्खाल बन्न जान्छन् मिति, जसले हामीलाई ‘बिना कुनै अवरोध त्यो आधारभूत र अपरिवर्तनीय रेखाबाटै इतिहास अघि बढ्छ’जस्तो लाग्छ, जसरी फिल्मका बीचमा आँखै तिर्मिराउने गरी मध्यान्तर हुन्छ।

त्यसकारण म नयाँ सालहरू मन पराउन्नँ। मेरा लागि प्रत्येक बिहान नै मेरो नयाँ साल बनुन् जस्तो लाग्छ। विश्रामका लागि कुनै दिन खाली समय नराखीकन प्रत्येक दिन म आफूलाई समीक्षा गर्न रूचाउँछु, नविकरण गर्न रूचाउँछु। जब म जीवनका तिव्रताहरूमा डुब्छु/मातिन्छु र पशुतुल्य भई त्यसबाट नयाँ जोश निकाल्न खोज्छु, त्यतिखेर म आफ्नो लागि छोटाछोटा फुर्सद र आराम आफैं तय गर्छु।

अध्यात्मिक सेवामा हाजिर हुन्न म। बितेका समयमाहरूमा जोडिएरै पनि म मेरो जीवनका प्रत्येक घण्टालाई नयाँ हुन् भन्ने ठान्दछु।

मलाई त्यस्तो कुनै उत्सव मनाउनु छैन, जसमा अनिवार्य र सामूहिक लय होस्। र, ती चासै नभएका मान्छेहरूबीच मलाई त्यो तथाकथित उत्सव मनाउन मन छैन। हजुरबाउका पनि हजुरबाउ र एवम् रीतले मनाइयो नयाँ साल भन्दैमा त्यो मनाइनु आवश्यक छैन। दिक्क लाग्छ मलाई यस्ता कुरा।

म यसका लागि पनि समाजवाद पर्खिरहेछु। किनकि समाजवादले हाम्रा मनोभावहरूमा कुनै झंकार नभएका मितिहरूका ती सबै फोहरहरूलाई धुलिसात् पार्नेछ। र, हाम्रा पुर्खाहरूबाट अनिवार्य स्विकार्नै पर्ने झंकार होइन कि, यदि झंकारहरू बन्ने नै छन् भने पनि तिनीहरू हाम्रो आफ्नै हुनेछन्।

(जनवरी १, १९१६ मा आभान्ती पत्रिकामा छापिएको ग्राम्सीको यो लेख लेफ्टभोइसडटओआरजीबाट अनुवाद गरिएको हो।)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया