मलाई जब स्कुल पठाउन शुरु गरिएको थियो, त्यस बखत हाम्रो समाजमा आजको जस्तो वातावरण थिएन । र, आज जो मुस्लिम समुदायका सरपरस्त (अभिभावक) बनेका छन् शायद तिनलाई त्यो परिवेश थाहा पनि थिएन होला। किनभने विद्यालयको वातावरण निकै सौहार्द थियो। स्कुलमा हामी सबै समुदायका बालिकाहरू एकै किसिमका स्कर्ट र सर्ट तथा केटाहरु सर्ट र हाफ(गर्मीमा) पाईन्ट वा पाईन्ट लगाएर जाने गर्दथ्यौं। कुनै अभिभावकले विद्यालयमा आई ‘मेरी छोरीलाई स्कर्ट होइन, सुरुवाल–कुर्ता लगाएर पठाउँछौ भनेको मलाई सम्झना नै छैन।’
उतिखेर बाँके (नेपालगञ्ज)मा छोरीलाई मात्रै पढाउनको लागि भनेर सरस्वती विद्यालय स्थापना गरिएको थियो। त्यहाँ न्यून मात्रामा मुस्लिम समुदायका बच्चीहरूलाई पठाईन्थ्यो। तर मलाई चाहिँ त्यहीको केटाकेटी दुबै पढ्ने विद्यालयमा पढ्न पठाईयो। मेरो समयमा मुस्लिम समुदायमा छोरीलाई विद्यालय पठाउने चलन नै थिएन। किनकि छोरी पढिन् भने भोलि उनी सक्षम बन्ने छिन् भनेर समाज र परिवार डराउँथ्यो।
छोरीले पढी भने छोरी बिग्रिन्छिन भन्ने समाजमा भय र डर देखाईएको थियो। त्यसैकारण, छोरीलाई पढाउने चलन थिएन। तर छोरा पढ्यो भने उसले भोलिका दिनमा बाबुआमालाई स्याहार्छ भन्ने मान्यता थियो। ‘छोरी अर्काको घर जाने जात हो, त्यसैले बेकारमा किन लगानी गर्ने छोरीमाथि?’ भन्ने सोँच आम अभिभावकमा थियो । यसर्थ, छोरी घरकी निःशुल्क घरेलु कामदार थिईन् ।
छोरीमाथि पनि हाम्रो समुदायले छोरासरह नै लगानी गरेको भए शायद आज यो समुदायको आर्थिक र सामाजिक परिवेश अर्कै हुने थियो। तर पनि खुशी के मान्नु पर्छ भने विस्तारै परिवेश फेरिँदै गयो र अन्य समुदायसरह छोरीलाई पनि पढाउने चलन मुस्लिम समुदायमा पनि बृद्धि भयो। तर शुरु भएको छ नयाँ षडयन्त्र : अहिले लुगालाई लिएर विशुद्ध पुरुष सोच महिला/छात्रामाथि लादिँदै छ ।
कपडालाई लिएर मुस्लिम समुदायमा संकिर्णता थियो नै र छ पनि । आफूलाई सहज लाग्ने वा जे लगाउदा आफूमा आत्मविश्वास जाग्दछ, त्यो लगाउन महिला र छात्राहरूलाई छुट छैन। यही लादिएको सोँचका कारण निरन्तर बहसमा छ मुस्लिम महिला को पोशाक। यो नेपालमा मात्रै होईन, विश्वमा नै यसरी चलिरहेको छ।
‘छोरीले छाती र घुँडा ढाकेर हिँड्नुपर्छ,’ अरे, कति आत्तिनु हुन्छ हो पुरुष दाजुभाईहरू ? बहसका विषय विश्वमा र देशभित्र अरू पनि छन् । कसरी महिलालाई अधिकभन्दा अधिक राजनितीक र सामुदायिक नेता बनाउन सकिन्छ? कसरी डाक्टर–ईन्जिनियर वा कानून व्यवसायी र शिक्षक बनाउन सकिन्छ ? कसरी हिंसामुक्त समाज बनाउन सकिन्छ? यतातिर सोचौं न। र, छोरीलाई अब आफ्नो तरीकाले बाँच्न दिनुस्। सक्षमता र आत्मविश्वासको सास फेर्न दिनुस्। कहिले सम्म लादिएका सोँचमा बाँच्नुपर्ने हाम्रा छोरीहरूले ?
(अधिकारकर्मी अन्सारीको फेसबुकबाट ।)