विश्व साहित्यिक यात्रा एउटै धारमा सीमित हुन सकेन। विशेषगरी बीसौँ शताब्दीमा आएर वैचारिक चिन्तनका बीच तीव्र प्रतिस्पर्धा र विभेद रह्यो। समकालीन विश्वका जल्दाबल्दा समस्याहरूको समाधानमा विविधताहरू देखिए। जीवन र जगत्प्रतिको दृष्टिकोणका अनेकथरी विचार जन्मिए। ठूलाठूला सामाजिक, राजनैतिक परिवर्तनका धारबाट साहित्यिक चिन्तनमा पनि फरक–फरक धारणाहरू बने र त्यसैका आधारमा सिर्जन कार्यहरू भए। यी तमाम सिर्जन कार्यका सन्दर्भमा गहन वैचारिक द्वन्द्वका ज्वारभाटाहरू उर्लिरहे। यसरी आफ्नो अस्तित्वको वरिपरि झल्किने जीवन र जगत्लाई हेर्ने आँखा र मानवताका सवालमा देखिएका भिन्नभिन्न धारणाका आधारमा नै बीसौँ शताब्दीको साहित्यिक प्रक्रियामा समाजवादी यथार्थवादी चिन्तनले विशेष स्थान लिएको पाइन्छ।
१९२०–१९३० को दशकको परिदृश्य
बीसौँ शताब्दीका अन्य क्रियाशील साहित्यिक चिन्तन आलोचनात्मक यथार्थवाद र आधुनिकतावादको तुलनामा समाजवादी यथार्थवाद युगान्तकारी ऐतिहासिक घटनासँग सम्बन्धित रहेपनि समाजवादी राज्यव्यवस्थाका आलोचक पूँजीवादी विद्धानहरूको भने यो नवीन धारप्रति सदाशयता रहेको पाइँदैन। त्यतातर्फबाट नकारात्मक टीकाटिप्पणीहरू आउनु एकदमै स्वभाविक पनि छ। समाजवादी यथार्थवादी साहित्यिक धारलाई उनीहरूले कलाको राजनीतिक सिद्धान्त वा विचारधारबाट थिचिएको अभिव्यक्ति भन्दै यसको सार र मर्मलाई एकातिर पन्छाएर कला र राजनीतिबीचको सम्बन्धलाई मात्र उछालेर यसको सौन्दर्य पक्षलाई अवमूल्यन गर्ने प्रयास गरेका छन्।
समाजवादी यथार्थवादी चिन्तनका विरोधीहरूले यसलार्य राज्य, विचारधारा र राजनीतिबाट लादिएको साहित्य भन्ने आरोप लगाएका छन्। यो आरोपले समाज विकासक्रममा जन्मिएको सौन्दर्य चिन्तलाई छोप्ने प्रयोस गरेको छ, साहित्यको कलात्मक मूल्य वैचारिक सिद्धान्तबाहिर निर्धारित हुन्छ भन्ने झुटो मान्यतालाई स्थापित गर्न खोजेका छ।
कलाको सवालमा मार्क्सवादी–लेनिनवादी मजदुर आन्दोलनले आफ्नै यथार्थिक, मानवतावादी कार्यक्रमहरू अगाडि सार्दै समाजवादी यथार्थवादी चिन्तनको जग हालेको कुरा यहाँनेर बिर्सिनु हुँदैन। यही जगमा उभिएर शोषण, दमन, उत्पीडन, अमानवीयता, जातिभेद, छुवाछुत, हत्या, हिंसा, सम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवादको विरोध गर्दै मुक्तिकामी विशाल जनसमुदायको पक्षमा अन्र्तर्राष्ट्रिय भातृत्वको भावना उमार्ने विश्वको प्रथम सामाजवादी राज्यका जनताका ऐतिहासिक उपलब्धिको कलात्मक चित्रण गर्ने क्रममा समाजवादी यथार्थवादी कला चिन्तको जन्म भएको हो। यस धाराका सिर्जन कार्यहरूमा आम मानिसको प्रतिनिधित्व र हार्दिकताको प्रकटीकरण भएको हुन्छ।
समाजको व्याख्यामात्र गर्ने होइन, त्यसलाई बदल्ने कुरा कसरी कार्ल मार्क्सले अगाडि सारे, त्यसरी नै समाजवादी यथार्थवादी साहित्यले पनि समाजको दर्शन मात्र होइन, त्यसलाई पूरै बदल्ने कुरालाई आगाडि सार्दछ। यस धारका स्रष्टाहरू यही महान ध्येयप्रति समर्पित रहेका हुन्छन्। यस अर्थमा समाजवादी र यथार्थवादी साहित्य समाजको दर्पण मात्र नभएर समाजिक रुपान्तरणको दरिलो माध्यम पनि हो भन्ने बुझिन्छ।
सन् १९१७ मा रसियामा सम्पन्न समाजवादी–अक्टोवर क्रान्तिको मर्मलाई नबुझ्ने, यो युगान्तकारी एतिहासिक घटनाका जीवन्त नायकहरूलाई नजरअन्दाज गर्ने र विश्व हल्लाइदिने राजनैतिक, सामाजिक परिवर्तनको लहरलाई नबुझ्ने हो भने समाजवादी यथार्थवादी चिन्तनको सौन्दर्यलाई देख्न सकिँदैन। समाजवादमा बसेर समाजबाट पृथक हुन खोज्नु असम्भव भएकाले व्यक्ति÷व्यक्तित्व समाजका लागि हुनपर्छ भन्ने मान्यताले समाजवादी यथार्थवाद निर्देशति भएको हुन्छ। यसको अहम्केन्द्री व्यक्तिवादको विरोध गर्दछ।
व्यक्तिलाई सर्वोपरि ठानेर हरेक मानिस सिद्धान्तत ः मौलिक छ, एउटा व्यक्ति अर्को कोहीसँग मिल्दैन भन्ने विसङगत चिन्तनमा यसको विश्वास छैन। आफ्नो नाममा आफ्नै लागि मात्र बाँच्न चाहने व्यक्तिवादी चिन्तले मानव समाजको एतिहासिक विकास प्रक्रिया र यसको गतिलाई अवरोध पु¥याउनुका साथै एउटा पिँढीबाट अर्को पिँढीमा हुने सभ्यता हस्तान्तरणको निरन्तरतालाई रोक्ने प्रयास गर्दछ भन्ने समाजवादी यथार्थवादी चिन्तनको ठहर छ।
केही बुर्जुआ समीक्षकहरू भन्ने गर्छन्– समाजवादी यथार्थवादलाई आफ्नो मूलधार मान्ने सोभियत साहित्य शाश्वत, लचिलो र बहुआयामिक छैन। तर यस चिन्तन धारणले इतिहास बाहिरको यस्तो कला मूल्यांकनलाई अस्वीकार गर्दछ। ऐतिहासिक परिवर्तनका क्रममा सौन्दर्य चेतनासम्बन्धी धारणाहरू पनि बदलिँदै जान्छन्। यस अर्थमा बीसौँ शताब्दीको सन् १९२०–१९३० को दशकको परिदृश्यलाई हटाइदिने हो भने सोभियत समाजवादी यथार्थवादी साहित्यको सारतत्वसम्म पुग्न सकिँदैन।
नयाँ नायकको युग र आमा
विश्व चर्चित सोभियन रुसी नाट्य निर्देशक स्तानिस्लाभ्स्कीले यसैकारण स्पष्टसँग भने– सोभियत युग नयाँ नायककको युग हो। नयाँ युग जहाँ स्वच्छन्दतावाद, यथार्थवाद र सामाजिक–राजनीतिक परिवेश एक अर्कासँग आत्मीयताका साथ घुलमिल भएको छ। यस युगले सामान्य नायक होइन, स्वच्छन्दतावादी क्रान्तिकारी नायकको परिकल्पना गरेको छ।
विश्व इतिहासमा पहिलो समाजवादी राष्ट्रका रुपमा स्थापित भएको नयाँ राज्य सोभियत सङ्घको आधिकारिक साहित्यिक धार नै समाजवादी यथार्थवाद भएपछि क्रान्तिकारी परिवर्तनका साथ अघि बढ्दै गएको जनसमूहको गतिसँग सोभियत लेखकहरू लयबद्ध भएको पाइन्छ। अतः सोभियत साहित्यको मानवतावाद विश्वभातृत्वको सिद्धान्तमा आधारित भएको देखिन्छ। यसका नायकहरू केवल आफ्नै मातृभूमिका लागि शहीद भएनन्, सारा विश्वलाई उनीहरूले नाजीवाद एंव फासीवादबाट मुक्त गरे।
दोस्रो जनयुद्धमा २ करोड ७० लाख सोभियत जनताले आफ्नो प्राणको आहूति दिएबाट यो कुरा स्पष्ट हुन्छ। सामाजवादी यथार्थवादी साहित्यकारहरूले दोस्रो विश्वयुद्ध मानवताविरोधी शक्तिसँग हतियार र कलम सँगसँगै लिएर मोर्चामा लडे। मोर्चामा खटिएका एक हजार स्रष्टाहरू मध्ये चार सय स्रष्टाहरू युद्धमैदानबाट कहिल्यै घर फर्केनन्। व्यक्तिले आफ्नो व्यक्तित्व समाज र समाजका आम मानिसका लागि समर्पण गर्नु पर्दछ । अन्यथा अहम्ले भरिएको मौनता र एकलकाटे व्यवहारमा जीवनको अर्थ र मानवीय गरिमा सङकुचित हुनुपग्छ भन्ने धारण समाजवादी यथातर्थवादी लेखकहरूको रहेको छ।
यही धारणालाई स्पष्ट पार्दै नेवल पुरस्कार विजेता सोभियत रुसी लेखक मिखाइल सालोखोपले जनता र मातृभूमिका अघि, सारा देशवासीको खुशीका लागि हरेक मानिस जिम्मेवार बन्नुपर्दछ भने । उनले भनझैँ सोभियतकालका प्रारम्भिक वर्षहरूमै नयाँ युगका नयाँ नायकहरू समाजवादको भविष्यसँग जोडिएका थिए। यिनले नवीन विश्व परिवेशमा नितान्त नौलो समाजवादी राज्यव्यवस्थाको नवनिर्माणमा र सारा विश्वमा त्यसको लहर पु¥याउने काममा आफ्नो जीवनलाई समर्पण गरे। समाजवादी यथार्थवादी लेखकहरू यिनै नायकहरूका गायक बन्न पुगे।
माक्सिम गोर्की (१८६८–१९३६) को नेतृत्वमा फ्योदर ग्लादकोभ(१९०१–१९५६), निकोलाई ओस्त्रोभ्स्की(१९०४–१९३६), भ्लादिमिर मायाकोभ्स्की(१८९२–१९६८), कोन्स्तान्तिन सिमानोभ(१९१५–१९९७), भासिली सुक्सिन(१९२९–१९७४) युरी बोन्दरेम(१९२४–), आदि सयकडौँ समाजवादी यथार्थवादी धारका सोभियत लेखकका कृतिहरू यसका ज्वलन्त उदाहरणहरू हुन्।
समाजवादी यथार्थवाद भनेर न्वारन गरिनुअघि नै यस दिशामा कार्यहरू भएका थिए। विशेषतः रसियामा सन् १९१७ को अक्टोवर क्रान्तिपश्चात यस क्षेत्रमा ठोस कार्यहरू भएपनि यसको बीजारोपण क्रान्तिपूर्व नै रसिया तथा रसियाबाहिर विभिन्न क्रान्तिकारी क्रियाकलापको सन्दर्भमा सुरु भइसकेको थियो। जारकालीनमा रसियामा चेर्निसेम्स्कीले सन् १८६० तिरै ‘के गर्ने?’ भन्ने उपन्यास मा यस विषयालई उठाएका थिए। यसको ४० वर्षपछि रसियामा मजदुर वर्ग धेरै सचेत भइसकेकाले उनले गरेको परिकल्पना वास्तविकतामा परिणत हुने स्थिति आयो।
क्रान्तिपूर्व नै गोर्कीका नाटक मेसाने (१९०१) र शत्रुहरू (१९०६)मा समाजवादी यथार्थवादको झलक देखाउने पात्रहरूको जन्म भइसकेको थियो। उनकै विश्वचर्चित उपन्यास आमा(१९०६)का नायकहरूका लागि समाजवाद हावादारी सपनामात्र थिएन, एतिहासिक वास्तविकता थियो। त्यसैले गोर्कीको आमा उपन्यासलाई समाजवादी यथार्थवादको नमुना कृति मानिन्छ।
अन्यत्र
बेलायतको चार्टिस्ट आन्दोलनको क्रान्तिकारी साहित्य, फ्रान्समा पेरिस कम्युनको साहित्य विशेषगरी पोतियरको ‘इन्टरनेसनल’ र जर्मनीमा समेत समाजवादी यथार्थवादका पूर्वरुप देखापरेका थिए। तर साहित्यिक धारका रुपमा यथार्थवादले बीसौँ शताब्दीको रसियामा मात्र प्रवेश पाउन सक्यो। गोर्कीका कृति र व्यक्तित्वमा यस धारको आधारस्तम्भ भेटिन्छ, जसको प्रभावले सारा संसारमा व्यापकता पाएको छ।
सन् १९४९ मा चीनमा समाजवादी क्रान्ति सम्पन्न भएपछि सोभियत सङ्घको समग्र प्रभावसँगै सामाजवादी यथार्थवादी साहित्यिक धार पनि भित्रियो। कला कलाका लागि होइन, देश निर्माणका लागि हो भन्ने नाराका साथ कृषिको सहकारीकरण, औद्योगिकीकरणको छलाङ प्रक्रियामा सहभागी हुँदै राष्ट्र निर्माणमा सहयोगीका रूपमा यो साहित्यिक धार स्थापित भयो। नयाँ राष्ट्र जनवादी गणतन्त्र चीनको नवनिर्माणलाई चिनियाँ समाजवादी यथार्थवादले मुख्य विषयवस्तु बनायो। यहाँको सिर्जन केन्द्रमा किसान, मजदुर, सिपाही, विद्यार्थी, वैज्ञानिक, नेतागण र वीरवीरङ्गना रहे। सोभियत सङ्घमा जस्तै यहाँ पनि द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी सौन्दर्य सिद्धान्तमा सिर्जन कार्यहरू हुन थाले।
लु सुनको नेतृत्वमा माओ दुन, लाओ से, बा जीन, सेन कोङ्गवेन, याङ मो, प्रभृति स्रष्टाहरूको सिर्जनकार्यले समाजवादी यथार्थवादी लेखनमा महत्वपूर्ण योगदान दियो। सोभियत सङ्घपछि समाजवादी यथार्थवादी साहित्यिक धारमा सबैभन्दा बढी सिर्जन कार्य भएको मुलुक जनवादी गणतन्त्र चीन नै हो।
नेपालमा पनि २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापनापश्चात् द्वन्द्वात्मक भौतिकवादी चिन्तनले दीक्षित स्रष्टाहरूले नेपालको परम्परागत सामन्ती संस्कृतिमा धावा बोल्दै समाजवादी यथार्थवादी धारका सिर्जनकार्यहरू गर्न थालेका हुन्। सोभियत सङ्घ र जनवादी गणतन्त्र चीनको समाजवादी यथार्थवादी साहित्यको नेपाली भाषामा भएको अनुवाद कार्यले यस क्षेत्रमा विशेष प्रेरणा दिएको पाइन्छ। नेपाली साहित्यमा समाजवादी यथार्थवादको चिन्तनलाई अङ्गीकारण गरेर कैयौँ स्रष्टाहरू देखापरे र यो धार सङ्क्रमणकालीन नेपालमा पनि सक्रिय रहेको पाइन्छ।
सोभियत सङ्घमा जन्मिएर अन्र्तर्राष्ट्रिय साहित्यिक आन्दोलन बन्न पुगेको समाजवादी यथार्थवाद र यसका संस्थापक स्रष्टा माक्सिम गोर्कीको अन्तरसम्बन्ध निकै रोचक छ। सन् १९३२ को २३ अप्रिलका दिन सोभियत राज्यले देशभित्र क्रियाशील साहित्य–कला सम्बन्धी सङ्घसंस्था पुनर्गठन सम्बन्धी निर्णय गर्यो। यसै क्रममा सर्वहारा लेखक सङघको विघटन भयो। सोभियत सत्तालाई समर्थन गर्ने तथा समाजवादी नवनिर्माणमा सहभागी हुन चाहने साम्यवादी विचारका सबै लेखककहरूलाइृ सोभियत लेखक सङ्घमा आवद्ध गरियो। सोभियत लेखक सङघलाई विधिवत रूपमा अघि बढाउन सङघको कार्यसमिति गठन गरियो र सोभियत कम्युनिष्ट पार्टीको नीति बमोजिम साहित्यिक सङ्घसंस्थाहरूको पुनर्गठन गर्ने कार्यको नेतृत्व माक्सिम गोर्कीलाई दिइयो।
गोर्कीलाई दुःख लागेको कुरा
त्यसबेला सोभियत सङ्घमा थुप्रै साहित्यिक गुट–उपगुटहरू थिए। गोर्कीले सोभियत सङ्घका साहित्यकारहरूको एकताका लागि अथक प्रयास गरे र व्यक्तिगत आकाङ्क्षा र प्रयत्नका आधारमा उत्पन्न भएको अराजक स्थिति र त्यसबाट उत्पन्न यो वा त्यो पक्षप्रतिको अनावश्यक सहानुभूति र घृणाका विरुद्ध गोर्कीले सशक्त आवाज उठाउँदै भने– साहित्यकार एंव समालोचकहरूले श्रमिक वर्गको हितमा मैत्रीपूर्ण सहकार्यको बाटो खोज्नु र त्यसको आधार तयार पार्नु जरुरी छ।
गोर्कीले नयाँ परिवेशमा जन्मेको नयाँ उत्साही मानिसको प्रस्तुतिको बाटो रोेजे। यसै सन्दर्भमा उनले सन् १९२८ मा बोलेको कुरा स्मरणीय छ-नयाँ मानिसको सकारात्मक चरित्रलाई आम पाठकका अगाडि पस्किुन पर्दछ। मेरो विचारमा यथार्थवाद र स्वच्छन्दतावादको उचित सम्मिश्रणको आवश्यकता छ।
तर गोर्कीलाई यान्त्रिक रूपमा बनाइएको यस किसिमको सम्मिश्रणले सन्तुष्टि दिन सकेन। यसलाई स्पष्ट पार्दै सन् १९२६ मा उनले लेखे–हाम्रा साहित्यकारहरूको काम ज्यादै गुजुल्टिएको छ। यस्तो अवस्थामा पुरानो परिवेशको आलोचना मात्र पर्याप्त छैन। उनीहरूले नयाँ विश्व परिवेशको अध्ययन, अनुगमन र प्रस्तुति गर्नु पर्दछ र अतितको जगमा उभिएर भविष्यको मार्ग देख्न सक्नु पर्दछ।
साहित्यकारहरूसँगको नियमित भेटघाटमा गोर्कीले यस्ता विषयहरू गम्भीरताका साथ उठाउने गर्थे। यस्तै एउटा ज्यादै संवेदनशील प्रसङ्गमा उनी बोलेका थिए–समान विचार भएका मानिसहरूबीच एक आपसमा शत्रुवत व्यवहार देख्दा दुःख लागेर आउँछ। व्यक्तिगत आरोप प्रत्यारोपमा कमरेडी एकताको सुन्दर चेतना नै हराएको आभास हुन्छ।
गोर्कीले आफ्नो जीवनको लामो समय प्रवासमा बिताए। १९१७ को क्रान्तिपूर्व र क्रान्ति पश्चात् कूल मिलाएर उनले महत्वपूर्ण सिर्जनात्मक पन्ध्र वर्ष इटालीका टापुहरूमा बिताएका थिए। सन् १९१७ पछि रसियामा ठूल्ठूला परिवर्तन आउँदैथिए। तर गोर्की भने आफ्नो मातृभूमिबाट टाढा लोककथाका पात्र झैँ थिए। यो समय लम्बिदै जान सकेन। अन्ततः सन् १९२८ मा उनी सोभियत रसियामा नै फर्किए। मातृभूमिमा समाजवाद निर्माणकार्यमा लागेका साहसी कर्मीहरूको हुल देखेर उनी छक्क परे। अनि गोर्कीले समाजवादी राष्ट्रको नवनिर्माणमा लागेको यो प्रचण्ड शक्तिको यथार्थ प्रस्तुत गर्ने र त्यसलाई यथासक्य सहयोग जुटाउने अठोट गरे।
सन् १९३१ मा सम्पन्न सोभियत लेखकहरूको विस्तारित बैठकमा गोर्कीले यस्तो प्रश्न उठाएका थिए–यथार्थवाद र स्वच्छन्दतावादलाई मिलाएर कुनै तेस्रो धार खोज्न सकिँदैन? जसले समकालीनहरूको वीरता र साहसलाई चहकिलो रङ दिन सकोस्। सन् १९३२ मा लेखकहरूलाई सम्बोधन गर्दै गोर्कीले भनेका थिए–यदि युगनायकहरूलाई प्रस्तुत गर्दा तपाईंलाई यथार्थवादका बिम्बहरू अपुग लाग्छन् भने नयाँ बिम्बहरूको खोजी गर्नुहोस्, तिनको छनौट गर्नुहोस्। यस्ता छलफलबाट माक्सिम गोर्की सोभियत साहित्यको नयाँ पद्धतिको खोजमा थिए भन्ने थाहा हुन्छ।
सन् १९३२ मा मस्कोको एक दिन गोर्कीका लागि अविस्मरणीय भएर आयो। उनी बसेको मालाया निकित्स्कायाको घरमा लेखकहरूको बैठक थियो। विषय साहित्यिक नै थियो। त्यो साँझ उनीकहाँ एउटा विशेष पाहुना आए। ती थिए राष्ट्र प्रमुख स्टालिन। आसन्न सम्मेलनका बारेमा घण्टौँ छलफल चल्यो। छलफलका क्रममा स्टालिनले कुनै तेस्रो धारका ठाउँमा समाजवादी यथार्थवादको प्रस्ताव गरे।
यो नाम तर्कसङगत थियो। यसले त्यहाँ उपस्थित गोर्की लगायत अन्य लेखकहरूको मन छोयो। नयाँ समाजवादी राष्ट्रमा उदाउँदै गरेको नयाँ युगको चित्रण गर्न समाजवादी यथार्थवादको सिद्धान्त नै आवश्यक थियो। सोभियत सङघमा भइरहेको क्रान्तिकारी विकासक्रमको वास्तविकता उद्घाटन् गर्न यही नवीन धारबाट मात्र सम्भव थियो।
इटालीबाट रसिया फर्किदा गोर्कीले समाजवादी राष्ट्रको निर्माण कार्य जोडतोडले भइरहेको देखेपछि आफ्ना अनुभवहरू सोभियत लेखकहरूबीच बाँड्न तम्सिँदै समाजवाद निर्माण कार्यमा सहयोग गर्न सबै लेखक साहित्यकारहरूलाई एकताबद्ध हुन आह्वान गरे।
सन्तुष्टिको सास
समाजवादी राष्ट्र निर्माण कार्य प्रतिबिम्बित भएका फ्योदार ग्लादकोभको सिमेन्ट, अलेक्सान्द्र सेराफिमोभिचको आग्नेय वर्ष, धारहरूका विरुद्ध, निकोललाई ओस्त्रोभ्स्को अग्निदीक्षाजस्ता दर्शनौँ कृतिहरू प्रकाशित भएपछि गोर्कीले सन्तुष्टिको सास फेरे । यी सबै कृतिहरू समाजवादी यथार्थवादका उत्कृष्ट नमुना मानिन्छन्। यिनमा समाजवादी राष्ट्र निर्माणका लागि सङ्घर्षरत पात्रहरूको सुन्दर चित्रण छ। यसप्रकार समाजवादी यथार्थवादी चिन्तनका रूपमा सोभियत सङ्घमा विस्तारित हुँदै गयो।
भविष्यको गर्भबाट वर्तमानलाई हेर्न सक्ने दृष्टि समाजवादी यथार्थवादका स्रष्टाहरूमा हुनु जरुरी छ भन्ने विचार थियो गोर्कीको। यस्तो चिन्तन नै अवलोकन प्रक्रियाको उत्तम उपाय हो भन्ने उनको ठम्माई थियो। गोर्कीको संयोजकत्वमा अखिल सोभियत लेखक सङ्घको सम्मेलनको तयारी हुन थाल्यो। यस सम्बन्धमा गोर्कीले लेखे–हाम्रो यो प्रथम सम्मेलन इतिहासको एउटा महत्वपूर्ण घटना हो। यो साहित्यको परीक्षण गर्दै राष्ट्रका सामु प्रस्तुत एक महत्वपूर्ण प्रतिवेदन हो।
तयारी समितिका अध्यक्षका नाताले यस एतिहासिक सम्मेलनको लागि गोर्कीले दिनरात नभनी काम गरे। अन्तमा ७ सेप्टेम्बर १९३३ का दिन तयारी समितिको अध्यक्ष मण्डलको विस्तारित बैठकमा गोर्कीले सबै सोभियत लेखकहरूलाई नजिकबाट चिन्न आग्रह गर्दै गोर्कीले भने–हाम्रा पाठकहरूको सङख्यामा उल्लेख्य बृद्धि भइरहेको छ। एउटा नयाँ राष्ट्र बनिरहेको छ। हाम्रा आँखा अगाडि आश्चर्यजनक घटनाहरू भइरहेका छन्। यी सबै घटनाक्रमसँग हरेक लेखक राम्ररी परिचित मात्र होइन, आत्मीयताका साथ घुलमिल हुनु आवश्यक छ।
गोर्कीको निर्देशनमा रुसी लेखकहरूलाई विभिन्न समूहमा विभाजन गरेर सोभियत गणराज्यहरूमा पठाइयो। त्यहाँ पुगेर लेखकहरू त्यहाँको स्थानीय साहित्यसँग घुलमिल भए। तिनका सिर्जनाहरूको मूल्याङकन र अनुवादको व्यवस्थापनमा पनि उनीहरूको सहभागिता रह्यो। त्यसबेला बालसाहित्यको स्थिति सन्तोषजनक थिएन। गोर्कीले बालसाहित्य सिर्जनामा विशेष जोड दिए। नयाँ नयाँ लेखकहरू गोर्कीबाट निरन्तर प्रोत्साहन पाउन थाले। एउटा साहित्यक अध्ययन संस्थानको परिकल्पनामा उनी लागे। तर त्यस्तो संस्थान जन्मनुअघि नै लेखकहरूको प्रशिक्ष्ण जरुरी थियो। त्यसमा गोर्की हार्दिकता र आशाका साथ लागे। सोभियत साहित्यको इतिहासका विश्वसाहित्य अनुवाद संस्थान/गोर्की साहित्यिक अध्ययन संस्थान उनकै निरन्तर प्रयासको परिणाम थियो।
नयाँ नयाँ लेखकहरूको उदयले गोर्कीको मन साह्रै प्रशन्न रहन्थ्यो। सोभियत सङ्घकालिन विभिन्न गणराज्य र प्रान्तीय प्रदेशमा कार्यरत लेखकहरूको समूहलाई स्थानीय नवप्रतिभाले नेतृत्व गरोस् भन्ने गोर्कीको चाहना थियो। अन्ततः यस्तै गतिविधिहरूको सेरोफेरोमा ७ अगस्ट १९३४ का दिन सोभियत लेखक सङ्घको प्रथम सम्मेलनको उद्घाटन तिथि तय भयो। त्यो दिनको आधारभूत कार्यपत्रका प्रस्तोता थिए माक्सिम गोर्की।
सम्मेलनमा समाजवादी यथार्थवादका सम्बन्धमा प्रकाश पार्दै गोर्कीले आह्वान गरे–हामी आज यस्तो मुलुकमा प्रवेश गरेका छौँ, जहाँ लेनिनवादी पार्टीको नेतृत्वमा यस मुलुकका मजदुर, किसानवर्गले आफूसँग निहित सम्पूर्ण क्षमता र प्रतिभालाई प्रस्तुत गर्ने अधिकार आफ्नै हातमा लिने अवसर पाएका छन् र हरेक दिन यी अवसरहरूको प्रयोग पनि भइरहेको छ। यस सम्मेलनको उद्घाटनका अवसरमा गोर्कीले पूँजीवादी संस्कृतिको त्यो पक्षमाथि पनि प्रकाश पारे, जहाँ निम्नवर्गीय विशाल मानव समुदायको बौद्धिक विकासको आवश्यकतालाई कहिल्यै वास्ता गरिएन।
विश्व मानचित्रमा रसिया/सोभियत सङ्घ त्यस्तो राज्यमा परिणत भइसकेको थियो जहाँ आम श्रमिक जनताको सांस्कृतिक प्रशिक्षण लक्ष्य बमोजिम नयाँ कला–साहित्य र संस्कृतिको आधारमा अगाडि बढिरहेको थियो। नयाँ संस्कृतिको यो शुभारम्भलाई अझ प्रभावकारी रूपमा अगाढि बढाउन गोर्कीले आह्वान गरे–सोभियत सङ्घका इमानदार साहित्यकारहरूले यो नयाँ आरम्भको मूल्याङ्कन गर्दै आफ्ना सम्पूर्ण गतिबिधिहरू केन्द्रित गर्नु आवश्यक छ।
उद्घाटनका दिन समारोह स्थल देश विदेशबाट आएका प्रतिनिधिहरूले भरिएको थियो। गोर्की मञ्चमा आसिन थिए। सबैको नजर उनकै अनुहारमा अडिएको थियो। उनले आफ्नो भाषणको सारमा सबै लेखकहरूलाई एउटै आवाजमा लयबद्ध हुन आह्वान गरेका थिए।
फ्रान्स, जर्मनी, डेनर्माक, पेन, अमेरिका, चेकेस्लोभाकियो, स्विडेन, ग्रिस, हलैन्ड, टर्की, नर्वे, इङलैन्ड, अस्ट्रिया, चीन र जापानबाट आएका प्रतिनिधिहरूले क्रान्तिकारी अभिव्यक्तिका साथ आफ्ना विचारहरू व्यक्त गरेका थिए। जापानी लेखक हिसिकाटोले बोलेको भलिपल्टै जापान सरकारले उनीमाथि निगरानी राख्न सुरु गरेको थियो।
यस अवसरमा मञ्चमा बोलिरहेका गोर्कीको सम्मान गर्दे फ्रान्सेली लेखक झान रिसार ब्लकले यसो भनेका थिए–उनका भावमय अभिव्यक्तिहरू समाजवादी यथार्थवादको जग बनेर मेरो स्मृतिपटलमा अडियो ।
साहित्य जनताका लागि
यस सम्मेलनमा दुई सय प्रतिनिधि वक्ताहरूलको सक्रियतामा नयाँ युगको कला संस्कृतिका बारेमा व्यापक छलफल भइरहेको थियो। सम्मेलनमा गोर्कीका विचारमा सबै प्रतिनिधिहरूले सहमति जनाए। सम्मेलनमा सोभियत लेखक इल्या एरेनबुर्गले भेनको कुरा स्मरणीय छ– हाम्रा विरोधीहरू हामी समाजवादी लेखकहरूलाई मूल उद्देश्यबाट विचलित गराउन यथासक्य कोशिसमा छन त र हाम्रो समाजले हामीलाई दिएको अभिभाराले स्पष्ट आकार लिएको छ। हामी सिर्जनाहरू गर्दछौँ हाम्रा कमरेडहरूलाई नयाँ राष्ट्रको निर्माणकार्यमा सघाउन।
समाजवादी यथार्थवादी लेखनलाई व्यवस्थित गर्न १९३४ को अखिल सोभियत लेखक सङ्घ
निम्न ४ वटा नियम प्रतिपादन गरेको थियो :
१. साहित्य आम किसान र मजदुरका लागि सम्प्रेषणीय हुनुपर्छ ।
२. दैनिक व्यावहारिक जीवनका विशेष दृश्यहरूको चित्रण हुनुपर्दछ ।
३. चित्रण यथार्थ हुनुपर्दछ ।
४. सिर्जनकार्य राज्य र पार्टीको उद्देश्यअनुसार राष्ट्रनिर्माणमा सहयोगी हुनुपर्छ ।
सोभियत लेखकहरूको प्रथम ऐतिहासिक सम्मेलनले माक्सिम गोर्कीलाई अध्यक्षमा निर्वाचित गर्दै सोभियत कला साहित्य र समीक्षाको एउटा आधारभूत पद्धतिका रूपमा समाजवादी यथार्थवादलाई स्वीकार गर्यो । यस पद्धतिले स्रष्टाबाट सत्यताको अपेक्षा गर्दै क्रान्तिकारी विकासको कसीले जनतामा वैचारिक र भावात्मक रूपान्तरणकोम माग गर्दछ ।
गोर्कीको नेतृत्वमा स्थापित समाजवादी यथार्थवादका सहकर्मी अभियन्ताहरूमा निकोलाई बुखारिन र आन्द्रेइ ज्दानोभको नाम पनि उल्लेखनीय छ । यथार्थ, आशावादिता र वीरताको त्रिवेणीमा विशाल जनसमुदायमाझ समाजवादी नैतिकताको प्रचार गर्ने यो नविन साहित्यिक धारका चिन्तक र प्रयोगकर्ताका रूपमा जियोर्जी प्लेखानोभ, अनातोली लुनाचास्र्की, लु सुन, क्रिस्टोफर कडवेल, राल्फ फक्स, हावर्ड फास्ट, जर्ज लुकास, गजानन मुक्तिबोध, जोन रिड, लुई आरागन, नाजिम हिकमत, पाब्लो नेरुदा आदि विश्व स्रष्टाहरूको उललेखनीय योगदान रहेको छ ।
आज समाजवादी यथार्थवाद गहन व्याख्या, बहस र विकासका साथ साहित्य र कलाका क्षेत्रमा एउटा विशिष्ट विचारधाराका रूपमा देखा परेको छ । यसले सौन्दर्यमूल्य शाश्वत होइन, समाज सापेक्ष र परिवर्तनशील हुन्छ भन्ने मान्यतालाई स्थापित गरेको छ । समाजवादी यथार्थवादको कुरा गर्दा यस धाराका साहित्य सिर्जना पूर्व सोभियत संघ र जनवादी गणतन्त्र चीनजस्ता समाजवादी राष्ट्रमा मात्र गरिन्छ भन्ने लाग्न सक्छ । वास्तविकता त्यसो होइन।द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तनका आधारमा टेकेर शोषण्, दमन र उत्पीडननको विरोधमा उभिएका मानिसहरूको पक्षमा न्यायपूर्ण समानतातर्फ सामाजिक, आर्थिक, राजनैतिक रूपान्तरणका लागि लेखिने सबै साहित्य समाजवादी यथार्थवादी साहित्य हुन् ।
गोर्कीले भनेझैँ समाजवादी यथार्थवादका लेखकहरू विश्वभरि सम्प्रेषणीय हुनै पर्दछ । उनीहरू विश्वमा समाजवादको विजयका लागि आधारशीला बन्नुपर्छ । गोर्की आफ्नो जीवनको अन्तिम क्षणसम्म यही उद्देश्यमा समर्पित रहे । समाजवादी यथार्थवाद सोेभियत संघको राजनैतिक र सामाजिक पद्धतिको उपज मानिए पनि यस विचारधाराले समय, भूगोलको परिवेशलाई नाघेर धेरै फराकिलो विस्तृति पाएको छ। माक्सिम गोर्कीको देहवसानपश्चात् सोभियत संघको विघटन भएको यतिका वर्षहरू बिते पनि साहित्यको यो धारा सारा विश्वमा एउटा सशक्त साहित्यिक चिन्तनका रूपमा सक्रिय छ ।
–भृकुटी त्रैमासिक