विश्व आधुनिकताको चरम उत्कर्षमा पुग्दै गर्दा नेपाल भने भाडाका मजदुर उत्पादन गर्ने देशको रूपमा विश्व श्रमबजारमा चिनिएको छ । यो नेपाली र सिंगो नेपालकै लागि विडम्बनापूर्ण अवस्था हो । यस्तो अवस्थाको सिर्जना हुनुमा सत्ता स्वार्थमा केन्द्रित राजनीति पनि हो ।
नेपाली राजनीतिक इतिहासमा श्रमजीवीका नाममा ठूला संघर्ष र युद्ध नभएका होइनन् । ती संघर्षमा आम श्रमजीवीहरूले साथ, सहयोग र समर्थन पनि गरे । तर निहित सत्ता स्वार्थमा गरिएका ती आन्दोलन र संघर्ष सम्बन्धित पक्षले सत्ताको स्वाद पाएपछि सबै कुरा बिर्सिए र श्रमिक उनीहरूको सत्ता स्वार्थको भ¥याङ मात्रै बन्न पुगे । श्रमजीवीको दैनिक जीवनमा कुनै परिवर्तन आएन । बरु दिनानुदिन बढ्दो महंङ्गी र भ्रष्टाचारका कारण नागरिकहरूको दैनिक जीवन झनै कठिन हुनपुग्यो ।
देशमा कलकारखाना तथा उद्योगहरू नहुँदा दैनिक रूपमा बेरोजगारी समस्या बढ्दै गएको छ । अर्कोतर्फ राजनीतिक दलका नेता देश र नागरिकको अवस्थाबारे गम्भीर हुनुको सट्टा दैनिक सत्ता स्वार्थको लडाइँमा केन्द्रित छन् । फलस्वरुप परिवार पाल्न र एक छाक खानकै निम्ति युवा खाडी लगायत विदेशमा श्रम बेच्न जानुपर्ने अवस्था सिर्जना भएको छ । तर विडम्बना, नेपालमा हुँदा देखेको सपनाजस्तो सरल र सहज छैन खांडी मुलुकमा ।
श्रमिकका पसिनामा सरकारको रजाईँ
विदेशमा कार्यरत नेपाली श्रमिकको दैनिक जीवन साँच्चिकै दयनीय छ । दैनिक रूपमा आएका श्रमिकका समस्या, गुनासो र पीडा सुन्ने सरकार उल्टै रेमिट्यान्स गन्नमै मस्त छ । अपर्याप्त जनशक्ति र स्रोत साधन भएका कुटनीतिक नियोगहरूले पनि यी सारा समस्याहरू सुन्न र समाधान गर्न चाहेर पनि सम्भावना न्यून छ ।
राज्यले रोजगारका लागि विदेशिएकाहरू नागरिक नै गन्दैन । त्रिभुवन अन्र्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली आकाश छोडेपछि हामी दोस्रो दर्जाको नागरिकको रूपमा गनिन्छौँ । नेपालीहरूको अभिभावक भन्दै खोलिएका हजारौं संघ संगठनहरू पनि नभएका होइनन् । यद्यपि ती सबै आफ्ना आफ्नै स्वार्थ तथा ‘जिन्दावाद र मुर्दावाद’ का नारामा बाँडिएका छन् । उनिहरूलाई सदस्यता बाँडेबापतको शुल्क भए हुन्छ । नेपाली श्रमिकको अवस्था कस्तो छ भन्ने बारेमा उनीहरूले पनि खासै चासो र चिन्ता गरेको पाईंदैन । यस्तो अवस्थामा आम श्रमिकहरूको प्रतिनिधि बनेर कसले श्रमिकका आवाजलाई सम्बन्धित निकायसम्म पु¥याउने त आम श्रमिकको समस्याको विषय हो ।
प्रवासी श्रमिकको अवस्था सुधार्नका लागि सुझाव
यतिबेला कोभिड १९ को कारण सारा विश्व नै अस्तव्यस्त छ । बेलायत, मलेसिया लगायतका देशले कोभिड १९ लाई नियन्त्रण गर्न भन्दै देशमा संकटकाल समेत घोषण गरेको अवस्थामा अदक्ष नेपाली कामदारको अवस्था कति चिन्ताजनक र चुनौतीपूर्ण होला हामी सजिलै अनुमान लगाउन सक्छौँ । यस्तो अवस्थामा विभिन्न एजेन्सी र दलालहरूबाट नै हजारौं नेपाली ठगिने र लुटिने प्रक्रिया सामान्यजस्तो बन्दै आएको छ ।
नेपाल सरकारले कोभिडको कारण स्वदेशदेखि विदेशमा अलपत्र परेका कामदारलाई निःशुक्ल औषधि उपचार तथा उचित राहत प्याकेज ल्याउनु आवश्यक छ । त्यस्तै, सरकारले नेपाली श्रमिकको २४ घण्टे जीवन बिमा अनिवार्य गर्न र कामदार पठाएर अलपत्र पार्ने म्यानपावर र कामदार लगेर अलपत्र पार्ने कम्पनीलाई कामदारको उजुरी आउने बित्तिकै रेड जोनमा राखेर कारबाही प्रक्रिया अगाडि बढाउनु उपयुक्त हुन्छ ।
यस्तै, खाडी मुलुकमा सरकारको तर्फबाट कुनै पनि श्रमिक आवासगृह नभएको हँुदा समस्या लिएर दूतावास पुगेका श्रमिकहरू अलपत्र पर्ने गरेकाले सरकारको तर्फबाट तत्काल आवासगृह व्यवस्था गर्नुपर्छ । प्रवासी नेपाली श्रमिकले समेत मतदान गर्न पाउने गरी नागरिकको अधिकारलाई ग्यारेन्टी गर्न अनलाईन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाउनु उचित हुन्छ । त्यस्तै प्रवासमा अनेक कारणबाट मृत्यु भएका श्रमिकको परिवारलाई अनिवार्य शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरिनु उचित हुन्छ ।
नेपाली श्रमिक कार्यरत कम्पनीमा सरकारको प्रतिनिधिबाट अनुगमन गरिनुपर्छ । श्रमिकलाई उचित न्याय दिन र श्रम शोषण हुनबाट जोगाउन श्रम अदालतको स्थापना गरिनुपर्छ । खाडी मुलुकमा रहेका दूतावासमा कम्तीमा दुई वटा हटलाइन नम्बरको व्यवस्था र दूतावासमा श्रमिकको संख्या हेरी सोही अनुसार आवश्यक जनशक्ति थप गर्नुपर्ने हुन्छ । यस्तै वैदेशिक रोजगारमा जाँदा अधिकांश श्रमिकहरू ठगीमा पर्ने भएकाले वैदेशिक रोजगारीका सम्मूर्ण प्रक्रिया अनलाइनमार्फत गरिनु आवश्यक छ ।
नेपाली प्रवासी श्रमिकले झेल्नुपरेका समस्या र राज्यले ध्यान दिनुपर्ने यी विषय आम नेपाली श्रमिकका साझा सरोकारका विषय हुन् । यसर्थ आम मिडिया जगत र श्रमिकको पक्षमा आवाज उठाउँदै आएका संघ संगठनहरूले समेत यी र यस्ता विषयलाई प्राथमिकतामा राखी राज्यलाई निरन्तर दवाब सिर्जना गर्न सकेको खण्डमा नेपाली श्रमिकहरूको जीवनमा केही फेरबदल र सहजता अवश्य आउने छ । र, यसको निम्ति आम नेपाली श्रमिकहरू समेत एक ढिक्का भएर आफ्नो पीडाका आवाजलाई बुलन्द गर्नु अहिले हाम्रो मुख्य आवश्यकता, कार्यभार र कर्तव्य हुन आउँछ ।
(लेखक भट्टराई नेपाली मजदुर एकता समाजका केन्द्रीय महासचिव हुन्।)