रामबहादुर थापा बादललाई चिन्न मलाई २५ वर्ष लागेछ । जनयुद्धमा भयंकर रूपमा एउटा मिथक बनाएर हामीले उनलाई नेतृत्वमा स्थापित ग-यौँ । एउटा मगर समुदायमा जन्मेको ‘भयंकर नेता’ ठान्थ्यौं हामी पहिले । तर अहिले उनलाई सम्झँदा र उनको कृत्य देख्दा मलाई आत्मग्लानी र पश्चाताप महशुस भएको छ ।
वादल दार्शनिक रूपले घोर दक्षिणपन्थी विर्सजनवाद, राजनीतिक रूपले घोर अवसरवाद र वैचारिक रूपले गद्धार लिम्पियाओवादमा पतन भएका छन् । आदर्श क्रान्तिकारीका रूपमा ठानिएको व्यक्तिको यो स्तरको विसर्जनले सा-है नमजा लाग्दोरहेछ । अहिले पनि कतै आफूले ठानेका आदर्शहरू भोलि त्यसैगरि पतन हुने त होइनन् भनेर त्रास जाग्दोरहेछ ।
दार्शनिक रुपमा उनी कसरी विसर्जनवादी भए भने वादल प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनको घोर मतियार बने। वादल आज उनी प्रतिगमनको प्रतिरक्षामा धेरै खरानी घसेर जानीनजानी लागिरहेका छन्। उनले अग्रगमन र क्रान्तिकारिताको बाटो नभएर विसर्जनको बाटो अख्तियार गरेका छन् ।
यी तिनै रङफेरुवा वादल हुन् जसले चुनवाङ बैठकमा ‘म लिम्पियाओवादी नै हुँ त ?’ भनेर रुँदै कार्यकर्तामाझ प्रशिक्षण गरेका थिए। रोएर संवेदना जित्न खोजेका थिए। आफू लिम्पियाओवादी होइन भनेर उनले उतिखेर दाबी गरेका थिए । तर इतिहासले आज उनलाई गद्धार र लिम्पियाओवादी नै भएको पुष्टि ग-यो । यी तिनै वादल हुन् जो संविधानसभाको दोस्रो निर्वाचन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा निर्वाचन गराउने महान अभियानका क्रममा संविधान सभाको चुनावलाई बहिस्कार गर्दै उल्टो बम पड्काउनतिर लागे।
नमुना मतपेटिका फुटाएर चुनाव बहिस्कार गर्न आग्रह गर्दै त्यसको प्रतिकात्मक विरोध गरे । तर संविधान जारी भएलगत्तै लाजै नमानी यतातिर आएर उनले बहिस्कार गरेको संविधानसभाले बनाएकै संविधानको धारामा टेकेर उनी गृहमन्त्री बने। इतिहासमाथिको कति भद्धा मजाक हो यो! र, अहिले आएर यिनी संविधानमाथि भएको ‘कू’ को पक्षमा निर्लज्ज लागेका छन्।
खड्गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गरेपछि केही दिन अलमल गरेका बादलका लागि अघिल्लो दिनसम्म ओली कदम प्रतिगतमन थियो। भोलिपल्ट जब ओलीले उनलाई स्थायी रूपमा गृहमन्त्रीको जागिर तोकिदिएपछि वा लालपुर्जा दिइएपछि उनका लागि यो कदम अग्रगामी भयो। गजब छ बा!
अझ हुँदाहुँदा त अग्रगामीहरुलाई चिडियाखानामा लगेर थुन्छौँ भन्ने अभिव्यक्ति दिँदैछन् यी धुर्त मनुवा! त्यसकारण, अब वादल चरम अवसरवाद र लिम्पियाओवादीमा विसर्जन भएको इतिहासले पुष्टी गरेको छ । रामबहादुर थापाका लागि क्रान्तिले स्थापित गरेको ‘बादल’ नाम पनि अब त अशोभनीय लाग्छ । यसर्थ, मिस्टर रामबहादुर दोस्रो संविधान सभा निर्वाचन अगाडि मोहन वैद्य किरणसँग गएर मिलेका थिए । किरणसँग बस्न अनुकूल नदेखेपछि फेरि मूल माओवादीमै आएर नेता बने र अहिले प्रतिगमनको सती गए ।
अहिले आएर उनले नेकपाको मूल नेतृत्वलाई धोका दिएका छन्। संविधानलाई धोका दिएका छन्। उनी कतिसम्म लाचार र विवश देखिन्छन् कि महेश बस्नेतजस्ता अराजनीतिक व्यक्तिहरूले ‘माओवादीहरू जंगली हुन्’ भन्दा पनि सहजै सहन र सुन्न सक्छन् । हिजोको आन्दोलनको निन्दा सजिलै पचाउन सक्छन् । खड्ग ओलीले पनि ‘जनयुद्ध कुहिएको फर्सी हो’ भन्दा विरोध नगरीकन कालो चस्माभित्र आँखा लुकाउन सक्छन् । कस्तो दिन देख्नुप-यो! हिजोका जनयुद्धका ठूला सिपाही बादल आज आफ्नै इतिहासप्रति कुनै गर्व नभएको लाचार र गद्धार पात्रका रूपमा स्थापित भएका छन् ।
यस्तो देख्दा हामी त लाजले पानी पानी हुन्छौं तर अवसरवादले यस्ता कुरा कसरी पचाउँछ कुन्नि !
(किरातीँ नेकपाका केन्द्रीय सदस्य हुन् ।)
रामबहादुर थापाको तस्वीर स्रोतः अनलाइनखबर