मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर १. नेपाल निरंकुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिक/संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा संक्रमण हुँदै थियो, र २. सोभियत संघ र पूर्वी युरोपमा ‘समाजवाद’को पतन भईरहेको र यसर्थ, दुई ध्रुवीय विश्व संरचनामा एक ध्रुवीय तिर धकेलिएको अवस्था थियो। कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा धकेलिएको थियो।
मुलुक भित्रको त्रि-शक्ति सन्तुलनको एउटा पक्षको हैशियतमा नेपाली कम्युनिष्ट आन्दोलनले लिने दिशा तरवारको धारमा हिड्नु जत्तिकै जोखिमपूर्ण थियो। मुलुकमा स्थापित पुँजीवादी प्रजातन्त्रको यस स्वरुपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्यदिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्वको काम थियो। यो संगिन घडी थियो र यहाँ दुइटा उत्ताउला काम हुन सक्थे, मार्क्सवादी साहित्यमा भनिने गरिएका दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव| (यी दुइटैले ल्याउने त विसर्जन नै हो।)
मुलुकमा स्थापित पुँजीवादी प्रणालीलाई कसरी हेर्ने र ग्रहण गर्ने? सामाजिक क्रान्तिको सामाजिक मिशन बिर्सने र सत्ताको शान र सुविधामा हेलिने, वा ‘निरन्तर क्रान्ति’को नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाईरहने वा अर्को पनि विकल्प छ। हो, पुँजीवादी प्रजातन्त्रलाई धोखाधडीको रुपमा प्रयोग गरिदै आएको इतिहास छ। तर के त्यतिकै भरमा यसलाई अस्विकार गर्ने या त्यसलाई पनि मुक्तिको उपकरणको रुपमा ग्रहण गर्ने? सुधारवादी संघर्षको उपादेयतालाई जण्डक्रान्तिकारीको नाममा अस्विकार गर्नु जायज हुन्छ?!
मदन भण्डारीले बिना लप्पनछप्पन व्यवहारिक सोंचको अगुवाई गरे| पुँजीवादी प्रजातन्त्रका ‘रुप पक्ष’लाई ‘क्रान्तिकारी सार’मा कलमी गरे। बहुदलीय प्रणाली, कानुनी शासन, मानव अधिकार, शक्तिको पृथकीकरण जस्ता पुँजीवादी प्रजातन्त्रका विषयलाई ‘क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र र आधुनिक संस्कृति’ निर्माणमा सजाए। त्यसलाई उनले ‘जनताको बहुदलीय जनवाद’मा लिपिवद्ध गरे। तर त्यसपछि उनले त्यति मौकै पाएनन्। उनि ‘कम्युनिज्म’ ओरालो लागिरहेको बेलाका ‘Karl Marx lives in Nepal’ भनेर चिनाउदै थिए। उनले तिघ्रा न कमाई महाकालीको पानीमा देशभक्तिको खाँडो जगाएका पनि हुन्। उनको विश्वास र उनका कर्म उनका वैरीहरुको निम्ति सह्य थिएन, जसका निम्ति उनले पार्टीका अर्का नेता जीवराज आश्रित सहित शहादत दिनु पर्यो / उनिहरुको रहस्यपूर्ण हत्या गरियो।
त्यस पछिका झन्डै ३ दशक गुज्रेका छन्। मदनको अवसानपछि मदनले कोरेको लक्ष्मण रेखामा कम्युनिष्ट आन्दोलन टिक्न सकेन। यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकावको तानातानमा पर्यो। दक्षिणपन्थी अवसरवादी विचलनले उग्र वामपन्थी भडकावको निम्ति वारुद तैयार गरिदियो भने उग्र वामपन्थी भडकावले दक्षिणपन्थी अवसरवादी विचलनलाई ‘खोर बाख्री खोर’ गर्यो।
मदन भण्डारीलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुयायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे। देख्नलाई तिनको ‘देवपुजन’ त देखिन्छ तर ‘उनको आत्मा’ कहिले पोलेर खाए, खाए ! यो त्यतिबेलै देखि सुरु भयो जब तिनले उनको ‘बहुदलीय जनवाद’को ‘रुप पक्ष’ (जुन पुँजीवादी प्रजातन्त्रका विषयवस्तु थिए)लाई सिद्धान्तको सार र शास्वत पक्ष भनेर भाष्य बाढ्न थाले। अर्को दुखद पक्ष यस बीचमा उग्र वामपन्थी भडकावले पनि सम्यक पाठ सिक्न सकेन।
सुखद कुरा, यस बीचमा यस आन्दोलनका दुई ठुला धार एकीकृत भ’र मुलधार बनेका पनि हुन्। परन्तु आन्दोलन भित्रैका हस्तीहरुको आकांक्षालाई उरालेर त्यो एकता भाँडियो पनि। (तिनीहरु के स्थापित गर्न कोशिस गरीरहेका छन् भने कम्युनिष्ट आन्दोलन पनि अन्ततः शक्तिकै चेस बोर्ड न हो!) आन्दोलन भित्रको जडवत बनेर बसेको ‘प्रणालीगत’ समस्या हल न हुँदाको दुस्परिणाम पनि यो आन्दोलनले अहिले भोगि रहेको छ। यो अहिले जो उद्विग्न र उद्वेलित छ, त्यसमा सम्यक ‘प्रज्ञा’ र सम्यक ‘साधना’को निम्ति दवाव पनि छ।
त्यसको निम्ति सामाजिक मिसन प्रतिको निष्ठा, सामुहिक नेतृत्व र संस्थागत विधिको ‘धर्म’ अनुसरण गर्नु मात्रै उत्तम उपाय हो।
आज मदन भण्डारी र जीवराज आश्रित शहादत भको दिन पनि हो। हार्दिक श्रद्धान्जलि !