नेपाल वायुसेवा निगमका विमान चालक तथा चलचित्र कलाकार विजय लामाको एउटा सानो भिडियो अन्र्तवार्ताको क्लिप सामाजिक संजालमा फैलिरहेको छ। र, उनले दिएको त्यस भिडियो वक्तव्यलाई कतिले संजालमा प्रशंसा पनि गरेका छन्। सामाजिक सेवामा संलग्न र लामाको ‘आइकनिक अभिवादन- जय चन्द्रसुर्य’कै कारण पनि धेरै मान्छेका माझ चिनिएका लामाले जातभातका बारेमा भिडियोमा यसो भनेका छन्:
‘आज जातभातको कुरामा किन अल्झिरहेको? हामी त भन्दैनौँ नि कसैलाई पनि नराम्रो। मलाई किन सम्झाउनुहुन्छ जात के हो भनेर, नसम्झाउनुस् न। सबै जात एउटै जात हो, नेपाली जात हो। हामी माया गरौँ न, आफैँले आफैँलाई किन सानो जात भन्ने? आफैँले आफैँले किन ठूलो जात मान्ने? ठूलो जात भन्ने पनि खराब, आफूले आफूलाई सानो जात भन्ने पनि खराब हो। किनकि यस्तो कुरा निकालेर मनमुटाव ल्याएर देशलाई ध्वस्त पार्ने कुराबाहेक के हुन्छ?’
गहिरो सोचमा नडुबी, नेपाली समाजको जातीय जटिलता नबुझी लामाको तर्क सुन्दा उनको वक्तव्य सान्दार लाग्छ। वास्तवमै जातपातविरोधी र गम्भीर ‘राष्ट्रवादी’लाग्छ। जातभात नमान्ने र सबै नेपालीलाई एउटै ठान्ने कति राम्रो सोच लामाको! तर उनले भनेका यी शब्द र यसभित्र लुकेका कुराहरूलाई गम्भीर रूपमा केलाउँदा भने नेपाली समाजभित्रको जात व्यवस्था नामको महारोगबारे पाइलट लामाको अज्ञानता प्रष्टिन्छ। जात व्यवस्था ‘केबल थरको कुरोमात्रै हो’ भन्ने भ्रममा परिन्छ।
यहाँ पाइलट लामालाई उल्लेख गर्न खोज्नुको कारण के हो भने औसत पढालिखा नेपालीले जातिवादको समस्यालाई जसरी बुझ्छन्, लामाले पनि उसैगरी बुझेका छन्। आफूले नबुझेको विषयमा सबैको प्यारो हुन र चर्चित बन्नकै लागि आम मान्छेहरू पनि लामाले झैँ ‘न्यानो तर हावा–क्रान्तिकारी टिप्पणी’ गर्छन्। लामा त एक पाइलट र औषत कलाकार मात्रै हुन्, नेपालका ‘परिपक्व र क्रान्तिकारी’ नेताहरू पनि समाजको जातीय चरित्रलाई बुझ्न नसक्दा बेलाबेला यस्तै हल्का र हचुवा टिप्पणी गर्ने गर्छन्। र, उनीहरूभित्र रहेको जातिविभेद कहिले केशब बडालका रूपमा प्रकट हुन्छ त कहिले दिपक ज्ञवालीका रूपमा।
विजयवाणीलाई पहिले सर्सती केलाउँ। उनले भनेको पहिलो वाक्य छ: हामी जातभातको कुरामा किन अल्झिरहेको? मानौँ, समाजमा सबै कुरा ठीकठाक छ। मानौ, हाम्रो समाजमा कसैले कसैलाई जातको आधारमा विभेद गरेको छैन। र, जातकै आधारमा कोही पनि सम्मानित/अपमानित तथा धनी र गरीब नभएको अवस्थामा लामाले माथि भनेको कुरा ठीकै हुन्थ्यो। तर दक्षिण एसियाली समाजमा कमसेकम ४ हजारदेखि ३ हजार वर्षयता मान्छेलाई हिन्दू सनातनी धर्म(यसलाई पहिले व्राह्मण धर्म पनि भन्ने गरिन्थ्यो)ले गरेको वर्गीकरण र विभेदले निश्चित समुदायका मान्छेहरूको आर्थिक र सामाजिक अवस्था जर्जर छ।
यसलाई अझ प्रष्ट्याउँ, विगत ४ हजार वर्षदेखि दक्षिण एसियाको बँगैचामा अनेकौँ खालका रूखहरू रोपिएका छन् तर ‘सुद्र या अछुत’ नामको रूखमा चाहिँ बिरलै पानी र मल हालिएको छ। तर पाइलट लामा भन्दैछन्, ‘यी रूखहरूमध्ये कुनै ठूला र साना भए, कसैले फल दिए या कसैले दिएनन् भन्ने विषयमा किन फजुल बहस चलाएको? हामी किन यस्तो विषयमा अल्झेको?’
लामाजी, अघाएको मान्छेले भोको र दरिद्रको पीडा बुझ्न सक्दैन। हजारौँ वर्षदेखि दलन र उत्पीडनमा परेकाहरूले ‘अहिले पनि किन हामीमाथि विभेद गर्छौ हामीलाई? हामीलाई मान्छे बनेर बाँच्न देउ’ भनेर आवाज उठाएका हुन्। ‘हिजो बाउबाजे/आमा हजुरआमामाथि राज्य र तथाकथित ठूलो जातिद्वारा थिचोमिचो गरिएकाले अहिले पनि हामी उत्पीडित र गरीब हुन बाध्य छौँ, हामीलाई मद्धत चाहियो’ भनेका हुन्।
जसरी अमेरिकन प्रहरीले आफ्नो घाँटी थिचिरहँदा अश्वेत अमेरिकन जर्ज फ्ल्योडले ‘मैले श्वास फेर्न सकिनँ’ भनेर चिच्याइरहेका थिए, त्यसैगरी नेपालमा दलितहरूले ‘हामी पनि अन्य मान्छेझैँ बाँच्न पाउँ’ भनेर आवाज उठाइरहेका हुन्। कसैबाट कुटिएकाले ‘म कुटिएँ’ भन्नु, बिरामी भएकाले ‘म बिरामी भएँ’ भन्नु, अप्ठ्यारोमा परेकाले ‘मलाई अप्ठ्यारो पर्यो’ भन्नु ‘अल्झनु’ होइन लामाजी, बाँच्न खोज्नु हो। मान्छे हुनुको चरित्र हो। खोलामा डुबिरहेकाले पाखामा रहेकाहरूलाई ‘मलाई बचाउ’ भन्दै गुहार माग्नु मानवीय स्वभाव हो। बाँच्ने उम्मिद हो। खोलामा डुबेकाहरूले गुहार माग्दा तिनको उद्धार गर्ने र भविष्यमा उनीहरू नडुबुन् भनेर तिनलाई पौडन सिकाउनुचाहिँ जिउँदा मान्छेहरूको कर्तव्य हो।
लामा थप्छन्, ‘हामी त भन्दैनौँ नि कसैलाई पनि नराम्रो। मलाई किन सम्झाउनुहुन्छ जात के हो भनेर, नसम्झाउनुस् न। सबै जात एउटै जात हो, नेपाली जात हो। हामी माया गरौँ न, आफैँले आफैँलाई किन सानो जात भन्ने? आफैँले आफैँले किन ठूलो जात मान्ने? ठूलो जात भन्ने पनि खराब, आफूले आफूलाई सानो जात भन्ने पनि खराब हो।’
सम्भवतः उनले यहाँ ‘नराम्रो’ भनेर उल्लेख गरेको विषय ‘दलित’ शब्द हो। र, उनी आफूले कसैलाई ‘दलित’ या अछुत नभनेकोमा दंग छन्। स्पष्ट हुनुपर्ने कुरा के छ भने दलित शब्द आफैँमा कुनै खराब र नराम्रो शब्द होइन। जसरी गरीब शब्द नराम्रो होइन। समाजमा गरिबी रहेसम्म मान्छेलाई गरिब भन्न छाडिन्न। र, समाजमा दलन रहेसम्म दलित शब्द रहनेछ। र, अझै अर्को उल्लेख्य कुरा छ कि दलित शब्द आफैँमा गर्बिलो शब्द हो किनकि दलनविरुद्धको दक्षिण एसियाली आन्दोलनको नाम हो ‘दलित’। दलित आन्दोलन स्वभिमानको लामो आन्दोलन हो।
र, लामाले भने पनि, नभने पनि समाजमा छुत र अछुतको समस्या छ। दलनकै आधारमा हजारौं वर्षदेखि सिर्जित आर्थिक अवस्था विद्यमान छ। र, समाजमा अहिले विद्यमान दलन कसैले ‘भनेको’ कारण भएको होइन। समाजमा जातकै आधारमा विभेद रहेका कारण मान्छेहरूले सोबारे ‘भनेका’ हुन्। र, हजारौँ वर्षदेखि ‘अछुत’ पहिचान दिने शासक र दिइएका पूर्खाहरूकै कारण आज पनि दलितका सन्ततीहरू पीडित छन्। र, शब्दमा नभन्दैमा समाजबाट दलनको समस्या हट्ने होइन। हजारौँ वर्षदेखिको दलनका कारण उनीहरू गरिब भएका हुन्, ‘ठाउँ’मा नपुगेका हुन्। र, जबसम्म उनीहरू अन्य तथाकथित उच्च जातिकै स्तरमा सामाजिक, प्रशासनिक र आर्थिक अवस्थामा पुग्दैनन्, उनीहरूले हामीलाई गार्हो भयो भनेर भनि नै रहनेछन्।
र, ‘हामी सबै नेपाली एउटै हौँ’ भनेर रट्दैमा या गीत गाउँदैमा समाजमा समता आउने होइन। दलित र उत्पीडितहरूले आफ्नो पहिचान सार्वजनिक गरेका कारण उनीहरू ‘अन्य’बाट हेपिएका पनि होइनन्। अरुले हेपेको हेप्यै गरेपछि उनीहरूले ‘हामीमाथि अत्याचार भयो’ भनेर कराएका हुन्। पछिल्लो पटक रुपा सुनारले सोही विषय उठाएकी हुन्। अघिल्लो वर्ष रुकुममा तथाकथित ठूलो जातको परिवारको छोरी माग्न जाँदा नवराज विकसहित ६ जनाको हत्याभएपछि सो अत्याचारको विरुद्ध उठेको आवाज त्यही हो।
लामाजी, जर्ज फ्लोयडले आफूलाई अश्वेत भनेर प्रहरीमाझ परिचय दिएपछि अमेरिकन श्वेत प्रहरीहरूले उनको घाँटी थिचेका होइनन्। सैयौँ वर्षदेखि त्यहाँ विद्यमान जातीय/रंगभेदी विभेदको चिन्तनबाट ग्रस्त सेता प्रहरीले फ्ल्योडको घाँटी थिचेका हुन्। गोरा बहुल मुलुकमा काला र गैरश्वेतहरूलाई गर्ने विभेदी सोचका कारण फ्लोयड मारिएका हुन्। ‘कालाहरू प्राय सबै हत्यारा, चोर र ठगहरू नै हुन्छन्, त्यसकारण तिनीहरूलाई जस्तो व्यवहार गर्दा पनि हुन्छ’ भन्ने चिन्तनले प्रायः फ्ल्योड र फ्लयोडहरू मारिने गरेका छन्। र, त्यहाँका श्वेतहरू अहिले पनि भन्दैछन्, हामीलाई रङ्गका आधारमा विभेद नगर। कालो भएकै आधारमा विभेद नगर। र, फ्ल्योड एउटा प्रतिनिधि पात्र मात्र हुन्।
छालाको ओरियन्टेसनकै आधारमा विभेद भयो भनेर किन अमेरिकाका अश्वेतहरू चिच्याइरहेछन्? मध्यपूर्व, पाकिस्तान र बंगालदेशका लिबरलहरू त्यहाँको धार्मिक सत्ताले बोल्न दिएन भनेर बेलाबेला सामाजिक संजालमा किन चिच्याउँछन्? भारतमा त्यहाँका अल्पशंख्यक र दलितहरू किन त्यहाँको सत्ता र समाजले गरेको विभेदबारे प्रश्न उठाउँछन्? पूर्वोत्तर भारतका मंगोलियनहरूलाई ‘चिंकु’ भनेर किन त्यहाँका आर्यन् र द्रविडहरूले अपमानित गरिएकोबारे किन प्रश्न उठाउँछन्? संसारभर यो या त्यो नाममा किन सर्वत्र विभेद छ?
रूपा सुनारको केस अघि आएपछि उच्चजातीय, सम्भ्रान्त र मध्यम वर्गका पढालिखा मान्छेहरूले पनि तपाईँको जस्तै तर्क गर्न थालेका छन्। उनीहरूको मत छ, ‘समाज धेरै अघि बढिसकेको थियो, यो युगमा पनि जातको कुरा गरेर मान्छेहरूलाई किन फेरि जातीय विभेद सम्झाइदिएको?’ उहाँहरूको तर्क सुन्दा यस्तो लाग्छ, ‘नेपालमा सिद्धिइसकेको जातिवाद रुपा सुनार र नवराज विकहरूका केसपछि बौरिएको हो।’ उनीहरूको कुरा सुन्दा यस्तो पनि लाग्छ, ‘दन्किरहेको आगोलाई बाहिर देखाउनुहुँदैन। त्यसलाई लुकाउनुपर्छ। यसो गरेपछि आगोको असर रहँदैन। आगोले क्षति पुर्याउँदैन। रन्किरहेको पिलोलाई लुगा या ब्यान्डेजले छोप्नुपर्छ।’ तर समस्या त्यसरी त समाधान हुन्न!
‘जातका कुरा गर्नुहुँदैन’ भन्ने लामाजी र लामाजीजस्ता सहज र सम्भ्रान्त जीवन बाँचिरहेकाहरूले अब भने बुझ्नुपर्छ, हजारौँ वर्षदेखि थिचिरहेकाहरूले अहिले ‘म थिचाईँमा परेँ, पेलानमा परेँ’ भनेर अहिले चिच्याइरहेका हुन्। लामाजीहरूले समाजमा दलन देख्नुभएनछ, मान्छेहरूले दलित, छुवाछुत, छुत अछुतजस्ता शब्दहरू प्रयोग गरेको मात्रै सुन्नुभएछ। तर धरातलीय यथार्थ यही हो कि हाम्रोमा हजारौँ वर्षदेखि दलन थियो र आज पनि छ। र, त्यसलाई कम गर्नुपर्छ। त्यसलाई न्युनिकरण गरेर समाज रूपान्णतरमा अघि बढ्नुपर्छ भनेर अचेल आवाज उठ्न थालेको हो। के तपाईँ यो दलनको जड बुझ्न तयार हुनुहुन्छ? दलनविरुद्ध उठेको स्वभिमानको आन्दोलनमा संलग्न हुन तयार हुनुहुन्छ?
आदिवासी समुदायमा जन्मेर पनि लामाजीले सम्भ्रान्त परिवारको शुख र समृद्धि प्राप्त गरेका छन्। अपवादको जिन्दगी जिएका कारण पनि उनले समाजको विज्ञान नबुझ्नु भएको हुनसक्छ। तर दलनजस्ताे महारोगबारे टिप्पणी गर्नुबारे उनले समाज विज्ञानका केही पुस्तकहरू अवश्य पढ्नुपर्थ्यो।र, लामाजीले दलिहरूले आत्मसम्मान र समताको आवाज उठाउँदा त्यसलाई ‘मनमुटाव ल्याएर देशलाई ध्वस्त पार्ने कुरा’ भन्नुभएछ। लामाजी, कुनै जात वा परिवारमै जन्मेका कारण मान्छेले विभेद र अत्याचारमात्रै भोग्छ भने उस/उनलाई यो देश र परदेशमा के फरक? सम्मानपूर्वक जीवन जीउन नपाएकालाई देश हुनु के, नहुनु के?