नेकपा स्थायी समिती सदस्य तथा पूर्व कृषिमन्त्री घनश्याम भूसालले अर्थमन्त्री विष्णु पौडेलले आफ्नो चुनावी बाचाविपरित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका छन्। प्रतिनिधिसभामा यही क्षेत्रबाट उम्मेदवार हुँदा पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभई औद्योगिक कोरिडोरको कुनै काम शुरु भए राजनीतिबाटै सन्यास लिन्छु भनेर पटकपटक वाचा गरेको तर यस क्षेत्रको कुनै समस्या समाधान नगरी शुक्रबार स्थानीयमाथि लाठी बर्साएर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको भन्दै भुसालले एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको यस्तो कदमप्रति निन्दा व्यक्त गरेका हुन् ।
स्थानीयवासीको चर्को विरोध हुँदाहुँदै अर्थमन्त्रीसमेत रहेका रुपन्देही २ का सांसद पौडेलले शुक्रबार औद्योगिक क्षेत्रको शिलान्याश गरेका थिए । शिलान्यास गर्दैगर्दा स्थानीयवासीले ढुंगामुढा गरेपछि पौडेल र शिलान्यासमा संलग्न अर्का मन्त्री लेखराज भट्ट भागेका थिए । रुपन्देही ३ का सांसदसमेत रहेका भुसालले विज्ञप्तिमा लेखेका छन्, ‘स्थानीय बासिन्दाको माग पूरा नगरी हतारमा औद्योगिक क्षेत्रको शिलान्याश गर्नु जग्गा दलालीको वातावरण बनाउने वाहेक केही होइन।’ करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिएको तथा वातावरणीय प्रभाव मूल्याङकन समेत नगरी केवल राजनीतिक प्रचारका लागि शिलान्याश गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि कामचलाउ सरकारका दुई जना मन्त्रीले दमनपूर्ण हर्कत गरेका छन् । वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अघि बढाउने विषयमा उद्योग मन्त्री, औद्योगिक व्यवस्थापन लि.का अधिकारीहरुसँग भएको सहमति समेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नांगो नाच नाचेका छन्, त्यसको हिसाब किताब हुने नै छ ।’