Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्स र एंगेल्सको कम्युनिष्ट घोषणापत्रमा के छ?

nepal_readers nepal_readers
मंसिर २६, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    माणिकलाल श्रेष्ठ। कम्युनिष्ट पार्टीको घोषणापत्र बुझ्न कसैको व्याख्या सुन्नुभन्दा यसलाई पढ्नुपर्दछ । कुनै उपन्यास वा नाटकझैं यो सारांश भन्न सक्ने विषय होइन किनभने यसका एक एक लाइन नै सारांशको रुपमा छन्, व्याख्या छैन । मार्क्स र एंगेल्सले तत्कालीन परिस्थितिमा कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशित गर्नुभयो र त्यसमा उहाँहरूले आफूले भन्नुपर्ने मुख्य–मुख्य कुरा एकदम छोटकरीमा राखी केही पेजमा सम्पूर्ण घोषणापत्र सिध्याउनुभएको छ। घोषणापत्रको सुरुमा एकैपल्ट भनिएको छ– Spectre of Communism Spector, यसको नेपाली अर्थ प्रेत अथवा मरेको मानिस हुन्छ। त्यसबेला कम्युनिष्टहरूको खतरा छ भनी सम्पूर्ण यूरोपभरि फैलिएको थियो । घोषणापत्र प्रकाशित भएको समयमा सबै देशहरूमा जनविरोधी, प्रतिक्रियावादीहरूको शासन थियो । कतै सामन्ती तानाशाही थियो त कहीं गणतन्त्र आइसके पनि पुँजीपतिहरूको तानाशाही थियो । जब कम्युनिष्ट सिद्धान्त एवं विचारको कुरा आयो, परस्पर लडिरहेका सामन्त र पुँजीपतिहरू पनि एक हुन गए।

    कम्युनिष्ट पार्टीको घोषणापत्र मार्क्सर एंगेल्सले सबभन्दा पहिले फेबु्रअरी १८४८ मा पर्चाको रुपमा निकाल्नुभएको थियो । मैले हालसालै एउटा पत्रिकामा पढेँ फेबु्रअरी १, १८४८ भनेर । उहाँहरूले १८४७ को डिसेम्बरबाट घोषणापत्र लेख्न सुरु गरी करिब २ महिनापछि १८४८ को जनवरीमा पूरा गर्नुभयो । त्यसपछि त्यसलाई पुस्तकाकारमा प्रकाशित गर्नुपूर्व एउटा पर्चाको रुपमा त्यसलाई सार्वजनिक गर्नुभयो । त्यो सार्वजनिक गरिएको मिति १८४८ बाट १९९८मा १५० वर्ष हुन्छ । अहिले हामी यो वर्षलाई १५० औं वर्षगाँठ भनी मनाइरहेका छौं । यस वर्षभरि कम्युनिष्ट घोषणापत्रको महत्व र नेपालको कम्युनिष्ट आन्दोलनमा यसबाट हामीले लिनुपर्ने शिक्षालाई उजागर गर्ने उद्देश्यले देशका विभिन्न कम्युनिष्ट पार्टीहरू मिलेर एउटा समूह बनाइएको छ । त्यस समूहमा नेकपा (एमाले) सम्मिलित छैन । घोषणापत्रको मुख्य उद्देश्य मजदुर वर्गको अधिनायकत्व र वर्गसङ्घर्षलाई एमालेले छोडेको अर्थात् मार्क्स र एंगेल्सको कम्युनिष्ट घोषणापत्रको मुख्य स्पिरिट नै त्यागिसकेकोले उहाँहरू त्यस समूहमा अटाउन सक्नु भएन ।

    कम्युनिष्ट घोषणापत्र अहिलेसम्म कति सान्दर्भिक छ भन्ने कुरा धेरैले उठाउने गर्छन्। यस विषयमा का.किम इल सुङ र का. किम जङ्ग इलका कृतिहरूमा लेखिएको छ कि मार्क्सले १८४८ मा अर्थात् १४९ वर्ष पहिले कम्युनिष्ट घोषणापत्र प्रकाशित गर्नुभएको थियो। अहिलेसम्म परिस्थिति धेरै बदलिसकेको छ । त्यसकारण त्यसका धेरै कुराहरू बदल्नुपर्छ तर बदल्नुको अर्थ त्यसलाई त्याग्नु होइन। अरुको कुरा छोडौं, मार्क्स र एंगेल्स स्वयंले घोषणापत्र पहिलोपटक प्रकाशित भएको २५ वर्षपछि सन् १८७२ को जर्मनी भाषाको नयाँ संस्करणको भूमिकामा भन्नुभएको थियो । “२५ वर्षमा विश्वको खासगरी युरोपको परिस्थिति धेरै नै बदलिसकेको छ त्यसकारण हामीले घोषणा पत्रमा क्रान्तिको लागि के के कदम उठाउनुपर्छ भनेर लेखेका छौं । त्यसमा सिद्धान्तमा जोड दिएर भन्छौं सिद्धान्त अहिले पनि ठीक छ किनभने त्यो वैज्ञानिक सिद्धान्त हो ।” मतलब २५ वर्षभित्रै उहाँहरूले आफ्नो कार्यक्रम बदल्नुपर्ने सोच्नुभयो । अहिले त १५० वर्ष भइसकेको छ, यस विषयमा धेरै नै सोच्नुपर्ने देखिन्छ।

    मार्क्स र ऐंगेल्सले घोषणा पत्रमा कम्युनिष्ट सिद्धान्तलाई विज्ञानको रुपमा व्याख्या गर्नुभएको छ । विभिन्न दर्शनमा पनि पहिलो वैज्ञानिक दर्शन मार्क्सको द्वन्दात्मक भौतिकवाद हो। विज्ञान भनेको आफ्नो अनुभव र प्रयोगबाट निकालेको ज्ञान हो । उहाँहरूले भन्नुभयो – अहिलेसम्म जति पनि समाजहरू आए, ती सबै समाजको इतिहास वर्ग सङ्घर्षको इतिहास हो। उहाँहरूले वर्ग सङ्घर्षको नारा दिनुभएको होइन, वर्ग सङ्घर्ष गर्नुपर्छ भन्नुभएको पनि होइन, वर्ग सङ्घर्ष त भइआएको कुरा हो भन्नुभयो । उहाँहरूले वर्ग सङ्घर्षकै क्रममा समाजवाद र साम्यवाद आउँछ भन्नुभयो । उहाँहरूले समाजवाद ल्याउनुपर्छ भन्नुभएन, यो चाहीं हामीले कहिल्यै बिर्सनुहुँदैन। मार्क्सभन्दा पहिले पनि धेरै समाजवादीहरू आएका थिए, जस्तो सेन्ट साइमन, रोवर्ट ओबेन । अझ प्राचीन कालमा पनि कति समाजवादीहरू आए होलान्। उनीहरू सबैले सामन्तवादी र पुँजीवादी समाजले हामीलाई ज्यादै अन्याय गर्‍यो, शोषण गर्‍यो, त्यसैले यो ठीक भएन र हामीलाई समाजवाद चाहियो भने। तर समाजवाद कुनै असल मान्छेको सदासयबाट आइने होइन । कसैले यस्तो भए हुन्छ भनेर पुकार गर्दा समाजवाद आउने होइन। मार्क्स र एंगेल्सले समाजवाद यसरी, यसप्रकारले, यो यो क्रमबाट आउँछ भनेर देखाए।

    मार्क्सको Observation (अवलोकन) मा पनि गल्ती भएको छ। पछि उहाँहरूले नै स्वीकार्नुभयो। जस्तो अहिलेसम्म आएका सबै समाजहरूको इतिहास वर्ग सङ्घर्षको इतिहास हो भनी उहाँहरूले भन्नुभयो। तर समाजको विकास क्रमको एक चरण पुगेपछि मात्र वर्ग सङ्घर्ष आएको थिय । सुरुमा जब बनमान्छे (Ape) बाट मान्छे भयो, मानिसहरू सिकार गरी सब मिलेर खान्थे, पाइएका कुराहरू बाँडीचुँडी खान्थे, वर्ग सङ्घर्ष थिएन किनभने त्यसबेला वर्ग नै विकास भएको थिएन । जब व्यक्तिगत सम्पतिको विकास भयो, वर्गको सुरुआत भयो र त्यससँगै वर्ग सङ्घर्ष पनि। त्यसकारण ऐंगेल्सले मार्क्सको देहावसानपछि भन्नुभयो –“लिखित इतिहास जुन बेलादेखि आयो त्यस बेलादेखि वर्ग सङ्घर्ष आयो।” १८७१ मा पेरिस कम्युनको अनुभव प्राप्त गरेपछि घोषणापत्रमा एउटा अर्काे सुधार गर्नुपर्‍यो।

    यहाँनिर पेरिस कम्युनको विषयमा एउटा रोचक प्रसङ्ग उल्लेख गरुँ – पेरिस कम्युनको आन्दोलन सुरु हुनपूर्व परिस्थिति ठीक छैन भनी मार्क्सले त्यसको विरोध गर्नुभयो र जब उहाँको विरोध हुँदाहुँदै पनि पेरिस कम्युनको विद्रोह भयो, तब मार्क्सले समर्थन गर्नुभयो। अब मान्छेहरूले तपाईंले सुरुमा पेरिस कम्युनको विरोध गर्नुभयो तर अहिले किन समर्थन गर्नुभएको भनी सोध्दा उहाँले “पेरिस कम्युन त आखिर मजदुरहरूले गरेको विद्रोह हो, सर्वहारा वर्गको आन्दोलन हो, यो सफल हुने नहुने अर्काे कुरा हो । मैले विरोध गरेको त क्रान्ति सफल हुँदैन भनेर हो। अहिले पनि सफल हुँदैन नै भन्छु” भन्नुभयो । त्यसबेला पेरिस कम्युन दबाउन फ्रान्सको सरकारलाई त्यसका दुस्मनहरूले पनि सघाएका थिए। प्रतिक्रियावादीहरू एकजुट भएर क्रान्तिकारीहरूलाई दमन गर्न खोज्दा तिनीहरू गलत हुन् भन्नु प्रतिक्रियावादीहरूलाई समर्थन गर्नु थियो। यसै सन्दर्भमा नेपालमा माओवादीहरूले चलाएको जनयुद्धलाई पनि हेरिनुपर्दछ। मलाई ठीक लाग्छ हाम्रो देशमा जुन जनयुद्ध भइरहेको छ । यो जनयुद्धलाई एकदम गलत हो, यो अवसरवाद मात्र हो, यो उग्रवामपन्थी दुस्साहसवाद हो भनेर विरोधमा कराउनु प्रतिक्रियावादीहरूको समर्थन गर्नु हो। मार्क्सले पेरिस कम्युनको आन्दोलन चलुञ्जेल त्यसको विरोध गर्नुभएन, त्यो फेल भएपछि त्यसको विरोधभन्दा पनि त्यसका गल्तीहरूबाट शिक्षा लिई कम्युनिष्ट आन्दोलनको निम्ति बाटो तयार गर्नुपर्छ भनी पछि घोषणापत्रमै संशोधन गर्नुभयो। पेरिस कम्युनको अनुभवबाट मार्क्स र ऐंगेल्सलाई सर्वहारा वर्गको अधिनायकत्वको अपरिहार्यताबारे छर्लङ्गयाउन थप मद्दत मिल्यो। सर्वहारा वर्गको अधिनायकत्वविना शोषणलाई अन्त्य गर्न सकिन्नथ्यो।

    शक्ति प्रयोग नगरी वा चुनावकै माध्यमबाट राज्ययन्त्र आफ्नो हात पार्न सकिन्छ भन्ने नेकपा (एमाले) को सोचाइको विषयमा पनि घोषणपत्रमा भनिएको छ कि मजदुर वर्गले तयारी राज्ययन्त्र प्रतिक्रियावादीहरूको हातबाट लिइँदैमा समाजवाद आउँदैन, आफ्नो हातमा आइसकेपछि राज्ययन्त्रलाई नै ध्वस्त गरिनुपर्छ। पहिलेकै राज्ययन्त्रमा काम गर्‍यो भने त समाजवाद कहिल्यै पनि ल्याउन सकिन्न। यो कुरा एमालेको नौ महिने शासनकालले पनि सिद्ध गरी सकेको छ। फेरि पुँजीवादी संसद्मा पस्नै हुँदैन भन्ने पनि होइन।

    सन् १८८३ को घोषणा पत्रको अर्काे जर्मन संस्करणको भूमिकामा ऐंगेल्सले भन्नुभएको छ–समाजको संरचना आर्थिक उत्पादनमा निर्भर गर्दछ। आर्थिक उत्पादनकै आधारमा त्यस युगको राजनैतिक र बौद्धिक इतिहासको जग बसेको हुन्छ। कसै कसैले यसलाई मोडेर मार्क्स र ऐंगेल्सले सम्पूर्ण राजनैतिक इतिहास उत्पादनको साधनमा मात्र निर्भर गर्छ भनी गलत भन्नुभयो भनेर भने। तर उहाँहरूले त्यो भन्नुभएको थिएन। उहाँहरूले त उत्पादनको साधनले समाजको संरचना बनाउँछ भन्नुभएको हो । सारांशमा भन्नुपर्दा प्रत्येक राजनैतिक व्यवस्थाको आफ्नै किसिमको संरचना हुन्छ – जस्तो सामन्तवादको। सामन्ती शोषण भनेको व्यक्ति वा परिवारले विशेष अधिकारको आधारमा अरुलाई शोषण गर्ने हो। त्यसको उपयुक्त व्यवस्था राजतन्त्र भयो । सबै मानिस बराबर हुन्, राजाको छोरा मात्र होइन सबैसँग शक्तिमा जाने अधिकार हुनुपर्छ, त्यसको लागि मत्स्य प्रतिस्पर्धा हुनुपर्छ भन्ने विचार आउनेबित्तिकै त्यसअनुरुपकै राजनैतिक व्यवस्था आयो – पुँजीवादी संसदीय व्यवस्था। संसदीय व्यवस्था भनेको पुँजीवादी व्यवस्था हो । हामी कम्युनिष्टहरूले संसदीय व्यवस्थामा जानुको मतलब उनीहरूको हातबाट त्यसलाई खोस्नु हो तर त्यही व्यवस्थाबाट समाजवाद आउँछ भनी घोषणा पत्रमा कहीं उल्लेख गरेको छैन। अझ घोषणा पत्रले नै यस व्यवस्थाबाट समाजवाद आउन सक्दैन भनी खबरदारी पनि गरेको छ।

    घोषणा पत्रमा वर्ग सङ्घर्षलाई अति जोड दिइएको छ। सर्वहारा वर्ग वा कामदार वर्गले शोषण र उत्पीदनबाट मुक्त हुन आफूलाई मात्र मुक्त गरेर पुग्दैन, सम्पूर्ण समाजलाई नै मुक्त गर्नुपर्दछ । सन् १७९३ मा बुर्जुवाहरूले सामन्ती शोषणबाट मुक्त हुन फ्रान्सेली क्रान्ति गरे । बुर्जुवाहरूको शोषणबाट मजदुर वर्ग मुक्त हुनु भनेको एक किसिमको शोषण व्यवस्थालाई हटाएर अर्काे किसिमको शोषण व्यवस्था ल्याउनु होइन, शोषणलाई सधैंको निम्ति हटाउनु हो । घोषणा पत्रमा उल्लेख छ कि आजसम्मको इतिहास वर्ग सङ्घर्षको इतिहास हो र अबको वर्ग सङ्घर्षले वर्गलाई खतम पार्दछ । यसको ठीक विपरीत खु्रश्चोवले १९६७ मा के भने अहिले मजदुर वर्ग वा सर्वहारा वर्गको पार्टी कम्युनिष्ट पार्टी सरकारमा छ, त्यसैले वर्ग सङ्घर्ष अब चाहिन्न भन्नुभयोे । पछि लेनिनवादकै व्याख्या गर्दै माओ त्सेतुङ्गले भन्नुभयो –कम्युनिष्ट पार्टी सरकारमा गइसकेपछि बुर्जुवाहरू फालिन्छन्, अनि उनीहरू कम्युनिष्ट पार्टीभित्रै पस्छन् । कम्युनिष्ट पार्टीको विरोधमा षड्यन्त्र गर्छन् । त्यसकारण हामीले पार्टीभित्र आउने संशोधनवादको विरुद्ध निरन्तर सङ्घर्ष गर्न सकेन भने भोलि पार्टीमा उनीहरूले नेतृत्व कब्जा गरी पार्टी खतम गर्न सक्छन् र पुँजीवाद नै पुनरुत्थान हुनसक्छ । त्यसैले उहाँले सांस्कृतिक क्रान्तिको नारा दिनुभयो । त्यसैले वर्ग सङ्घर्ष कहिल्यै त्याग गर्न सकिन्न । अझ नेपालमा त चुनावबाट संसद्मा पुगेर अल्पमतको सरकार बनाउने बित्तिकै एमालेले हामी सरकारमा पुग्यौं, अब वर्ग सङ्घर्ष नै चाहिन्न भन्ने विचार ल्यायो । स्टालिनले भन्नुभएको थियो मजदुर वर्गको सरकार आएपछि यसलाई खतम गर्न खोजिरहेको छ भने वर्ग सङ्घर्ष जारी नै रहन्छ। सर्वहारा वर्गको अधिनायकत्व पनि जारी रहन्छ । स्टालिनले बाहिरको शत्रुलाई इङ्गित गर्नुभयो भने माओले पार्टीभित्रको शत्रुलाई देखाउनुभयो । त्यसबेला वर्गसङ्घर्ष चाहिँदैन भन्नुको मतलब वर्गसमन्वयको नारा भयो।

    घोषणापत्रमा उल्लेख भएको अर्काे कुरा हो सर्वहारा वर्ग विभिन्न चरणबाट विकास हुँदै गएपछि आखिरमा उनीहरूले क्रान्ति उठाउँछन् । सर्वहारा वर्गले एकैचोटी क्रान्ति गर्दैन । त्यो चरण कुन किसिमले अगाडि बढ्छ भन्ने राम्रो चित्र घोषणापत्रमा देख्न सकिन्छ । सुरुमा मजदुर वर्गले आफूलाई शोषण गर्ने पुँजीपति वर्ग हो भनेर पुँजीपति वा मिल मालिकसँग लड्नमात्र खोज्छ, व्यवस्थाको विरुद्ध लड्न जानेको हुन्न । फेरि कहिलेकाहीं त गलत धारणा लिएर हामीलाई शोषण गर्ने त मेसिन हो भनेर मेसिनलाई फोर्छन् । यसलाई व्याख्या गरेर स्तालिनले दिनुभएको एउटा सानो उदाहरण यहाँ पेश गरुँ–मेरो घरको छिंडिमा एकजना ज्यादै गरिब सार्की बसेको छ । जुत्ता मर्मत गर्नुको साथै अर्डरअनुसार नयाँ जुत्ता सिएर उसको गुजारा चलिरहेको हुन्छ । त्यही बेला त्यस टोलमा कसैले एउटा जुत्ता कारखाना खोलिदिन्छ । अनि त सार्कीको पसल खत्तम हुने भयो । उसले सम्झने छ– मेरो दुश्मन यो कारखाना हो । तर दुश्मन भएर के गर्ने उसले अरु काम जानेको छैन–अनि ऊ त्यही कारखाना जान बाध्य हुन्छ । सुरुमा उसले पहिले मालिकलाई दुश्मन सम्झन्छ, दोस्रो मेसिनलाई दुश्मन सम्झन्छ, तेस्रो म यहाँ काम गर्छु र एक वर्ष काम गरेपछि अलिकति पैसा जम्मा हुन्छ फेरि म मेरो पसल खोल्छु भनेर उसमा बुर्जुवा विचार पलाउँछ । तर निकै वर्ष काम गर्दा पनि उसले पैसा जम्मा गर्न सकेको हुन्न । अनि उसको चेतनामा परिवर्तन आउँछ । दिनभरि काम गर्दा पहिलाभन्दा मेरो जीवन अलिकति एक कुरामा सुखी छ त्यो हो–पहिले पसल खोल्दा ग्राहकहरूको गाली खानुपथ्र्यो, पिटाइ खानुपथ्र्यो तर अहिले दिनभरी काम गर्‍यो भने ज्याला लियो, आराम छ । बरु काम गर्नसक्ने बेलासम्म त ज्याला आयो, बिरामी भएपछि के गरी खाने ? त्यसैले ज्याला बढ्नुपर्छ भन्ने सोचाइ उसमा आउँछ । त्यही बेला एकजना कम्युनिष्ट त्यहाँ पस्छ, उसले मजदुरहरूको शोषण भएको कुरा गर्छ । उसले मजदुरहरू सङ्गठित हुनुपर्नेमा जोड दिन्छ । हड्ताल गर भन्छ । फेरि मजदुरहरू हड्ताल गर्न डराउँछन् । तैपनि खानै पाउँदैन भने सबै मिली हड्ताल गर्छन् । हड्ताल गर्नेबित्तिकै नयाँ चरण सुरु हुन्छ । हड्ताल सफल हुन्छ । मिल मालिकले तिनीहरूको ज्याला बढाई दिन्छ । हड्तालबाट निकै हौसला बढ्छ । उसले सङ्गठित हुनुपर्नाको महत्व बुझ्छ । केही गरी हड्ताल विफल भयो भने वा आन्दोलनलाई दबाइयो भने, मर्नैपरे खुट्टै तानेर मर्छु भनी झन् राम्ररी लड्छ । यसरी मजदुर वर्गको पुँजीपति वर्गविरुद्धको आन्दोलन क्रमिक रुपमा विकसित हुँदै अन्तमा विद्रोह हुन्छ ।

    सुरुमा मेसिनको विरुद्धमा मजदुरहरू उत्रँदाको एउटा अर्को रोचक घटना यहाँ बताउँछु–बेलायतमा भर्खर औद्योगिकीकरण भएको थियो र त्यतिबेला त्यसको विरोधमा कामदारहरूले मेसिन तोड्ने आन्दोलन गरे। यसै सिलसिलामा बेलायतको संसदले मेसिन फोर्नेलाई ज्यान सजाय दिने विधेयक पारित गर्‍यो। हाउस अफ कमन्समा पास भएपछि त्यो विधेयक हाउस अफ लर्डस्मा गयो। त्यहाँ भाषण दिँदै अङ्ग्रेजी भाषाका एक कवि बाइरनले भन्नुभयो–हाम्रो देशको कानुनमा मृत्युदण्ड छैन। मानिस मार्‍यो भने जन्मकैद हुन्छ, मान्छेलाई अङ्गभङ्ग गर्‍यो भने दश वर्ष कैद लाग्छ । मेसिन फोर्‍यो भने मृत्युदण्ड दिइन्छ। यहाँ मजदुरहरू यो ऐन पास नगर भनी जुलुस आउँछन् र म गेटमा बसेर सबैलाई भित्र पसाली भन्छु कि तपाईंहरू आउनुस् र यी जम्मै सांसदहरूको टाउको फोर्नुहोस्। टाउको फोर्‍यो भने १० वर्षमात्र कैद लाग्छ, मेसिन फोर्‍यो भने मृत्युदण्ड हुन्छ। यसरी बाइरनले सो ऐनको विरोध गर्नुभयो। त्यति भनिसकेपछि उहाँले नारा लगाउनुभयो “Down with all the king except king Ludd” यसरी उनले लूड नामक मजदुर नेताहरू राजा भनी सम्बोधन गर्दै सबै राजाहरूको शासन खत्तम होस्, मजदुरहरू राजा होस् भनी भने।

    कम्युनिष्टहरूको विरोधमा पुँजीपतिहरूले गरेको प्रचारको राम्रो जवाफ पनि घोषणापत्रमा छ । हामीलाई थाहा छ – नेपालमा पहिले आम निर्वाचन हुँदा गणेशमानले यही भक्तपुरमा आएर बोल्नुहुँदा कम्युनिष्ट आयो भने सबभन्दा पहिले दालभात तरकारी अरु सबै सरकारी हुन्छ भने । मतलब कम्युनिष्टले सबलाई खान दिन्छ, आफू केही पनि गर्दैन, जम्मै सरकारले लिन्छ र हुँदाहुँदा मान्छेले कमाएको व्यक्तिगत सम्पत्तिसमेत कम्युनिष्टले खोस्छ भनी उहाँले दोषारोपण गर्नुभयो। त्यसबारेमा घोषणापत्रमा भनिएको छ–कम्युनिष्टहरूले मजदुरहरूले काम गरी कमाएको अलिकति सम्पत्ति खोस्ने होइन, त्यति त पुँजीवादी व्यवस्थाले नै खोसिसकेको हुन्छ। कम्युनिष्ट व्यवस्थामा व्यक्तिगत सम्पत्ति भनेको मिल र उद्योग चलाएर शोषण गरी कमाएको पैसालाई जनाइन्छ। हामीले काम गरी पसिना बगाई कमाएको पैसा पुँजीपतिले खोसिसकेको छ। कम्युनिष्टहरूले खोस्न खोजेको त शोषण गरेर कमाएको पैसा (सम्पत्ति) हो र श्रमिकहरूको मेहनतको पैसा होइन।

    दोस्रो पुँजीपतिहरूले दिने अर्को नारा कम्युनिष्टहरू आए भने त स्वास्नी पनि सामूहिक हुन्छ। सबै सामूहिक भएपछि लोग्नेस्वास्नी पनि रहन्न। घोषणापत्रमा यसको जवाफ छ–“तपाईंले भनेको ठीक रहेछ किनभने कम्युनिष्टहरूले सम्पत्तिलाई सामूहीकीकरण गर्ने भन्यो, अब स्वास्नीलाई पनि सम्पत्ति नै सम्झने पुँजीपतिहरूले स्वास्नी पनि समुहीकीरण गर्छ होला भनी सोच्नु अस्वाभाविक होइन। अनि कम्युनिष्टहरूले परिवारलाई बाँकी राख्दैन भन्नेबारे हामीले परिवार भनेर लोग्ने स्वास्नीको दाम्पत्य सम्बन्धलाई खत्तम गर्ने भनेको होइन । हामीले त सामन्ती परिवार खत्तम गरी सम्पूर्ण समाजलाई नै एउटा परिवार बनाउने भनेका हौं।

    अहिलेको कम्युनिष्ट पार्टीको घोषणापत्रमा हाम्रो देशमा कसरी क्रान्ति गर्ने, के के कार्यक्रम राख्ने भन्ने किसिमको हुन्छ तर मार्क्स र एंगेल्सले तयार पार्नुभएको घोषणापत्रमा तत्कालीन परिस्थितिलाई लिएर कम्युनिष्टहरूले के के गर्छन् भन्ने विषयमा स्पष्ट गर्ने, त्यसको दर्शन दिने र कम्युनिष्टहरूको विरोधमा भएका गलत प्रचारको जवाफ दिने हिसाबले लेखिएको छ। घोषणापत्रमा उहाँहरूले जोड दिनुभएको छ–पुँजी कहिल्यै व्यक्तिगत हुनसक्दैन, यो सामाजिक हुनुपर्छ। दिनभरि काम गरी पाउने ज्याला व्यक्तिगत हो। तर एक पुँजीपतिले पुँजी लगानी गरी कमाएको नाफा मजदुरहरूको श्रमको कारणबाट मात्र हुने भएकोले त्यो एक्लैको हुनसक्दैन।

    यसरी कम्युनिष्ट घोषणापत्रले ल्याएका मुख्य–मुख्य कुराहरूमा पहिलो हो प्रथम पटक यसले वैज्ञानिक अवधारणा दियो। दोस्रो यसले समाज परिर्वतन गर्ने विचार दियो । घोषणापत्र आउनुभन्दा पहिलेसम्म आएका राजनैतिक पार्टीहरूले विद्यमान समाजभित्र कुन किसिमको काम गर्‍यो भने जनतालाई सुख होला भनी कार्यक्रम दिन्थे। सबैले राम्रै गर्‍यो, यो होइन । तर पहिलोपटक मार्क्सले यो समाजलाई बदलेर कस्तो किसिमको समाज ल्यायो भने जनतालाई सुख होला भनी सोचे। मार्क्सभन्दा पहिलेका दार्शनिकहरूले यो संसारलाई मानव समाजलाई, प्रकृतिका प्रक्रियाहरूलाई व्याख्यामात्र गर्न खोजे। अनि मार्क्सले भन्नुभयो– दार्शनिकहरूको उद्देश्य त संसारलाई परिवर्तन गर्नु हुनुपर्दछ। कस्तो किसिमको परिवर्तन भन्ने प्रश्नको जवाफमा घोषणापत्र आयो । कम्युनिष्टहरूको उद्देश्य अहिले विद्यमान व्यवस्थालाई संस्थागत गर्नु होइन । भर्खरै राधाकृष्ण मैनालीले भन्नुभयो – ‘‘०४६ सालको जनआन्दोलनबाट प्राप्त व्यवस्थालाई सुदृढ पार्न हामी सरकारमा गएका हौं। शक्तिको लोभले होइन।” ठीक छ, शक्तिको लोभले व्यवस्थामा जानुभएको नहोला त व्यवस्थालाई सृदृढ गर्ने काम गर भनी कम्युनिष्ट घोषणापत्रमा भनिएको हैन। विद्यमान व्यवस्थालाई सुदृढ गर्नेतर्फ लाग्यो भने त भोलि कसरी समाजवाद आउँछ ? कम्युनिष्टहरूको मुख्य उद्देश्य त व्यवस्थालाई बदल्नु हो।

    २०५४ चैत १६ गते कम्युनिष्ट घोषणापत्र प्रकाशनको १५० औं वार्षिकीको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्राध्यापक माणिकलाल श्रेष्ठले दिनुभएको मन्तव्य अनलाइन मजदुर डटकमबाट साभार।

     

    यो पनि पढ्नुहोस् –

    बाकुनिनसँग तुलना गर्दा सारा संसार बुर्जुवा देखिन्थ्यो – मार्क्स   

    किन लेखें – मार्क्स फर्किए… 

    कार्ल मार्क्सको दूर्लभ अन्तरवार्ता  

    फेक न्युजको जमानामा पत्रकार कार्ल मार्क्सको सम्झना  

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.