नेकपाको नाम जुधेको सवालमा सर्वोच्च अदालतले आफ्नो अधिकार क्षेत्रभन्दा पर पुगेर दिएको फैसलापछि राजनीतिको नियमित कोर्स नै बदलिएको छ। दुई तिहाईसहितको सत्ता शक्ति भत्कने गरी संसद विघटन गरेर नेकपाकै भविष्य धरापमा पार्ने खड्गप्रसाद ओली ‘फेरि बलियो’ भन्ने खालका ‘स्याल विश्लेषण’हरू सतहमा छन्। संसद विघटनपछि नियमित रूपमा थप्दै खड्गप्रसाद ओेली समूहले बनाएको त्यस समूहको २ हजार हाराहारीको केन्द्रीय कमिटीको अस्तित्व के होला भन्ने कुरो उत्तिकै रोचक छ ।
हिजो कुनै पनि नेता/कार्यकर्तासँग नसोधी एकलौटी रूपमा माओवादीसँग एकताको निर्णय गर्ने खड्गप्रसाद ओली थिए। तर आजै तिनै ओलीका साइबर स्यालहरू देशैभरी ‘एमाले पुनर्स्थापित गरियो’ भन्दै अबिर दलिरहेका छन्। मानौं, एमाले उनीहरूको विर्ता र वपौती थियो। अदालतको फैसलाका पछाडि कुन मनोग्रन्थी, समूह, शक्ति र कुन स्तरसम्म द्रव्यको प्रभाव छ, त्यो पछि खुल्ला-नखुल्ला तर प्रमूख रूपमा ओलीकै कारणले जटिल बन्दै गएको नेकपाभित्रको कलहका बीच अदालतले नेकपाको बिघटन गराई दिएको छ।
नेकपा विघटनसँगै अनेक कानुनी र व्यवहारिक जटिलता सुरु भइसकेका छन्। नेकपाकै नाम र सूर्य चिन्ह लिएर जितेका ४६ जनप्रतिनिधिहरू अब कुन पार्टीका? संसद पुनर्स्थापना हुँदा यही न्यायालयले यो सरकार संविधानको धारा ७६ (१) अनुसार बनेको ठहर गरेको थियो। ७६ को १ को भन्नुको अर्थ यो सरकार नेकपाको एकल सरकार हो।
तर न्यायाधिसद्वय कुमार रेग्मी र बमबहादुर श्रेष्ठले गरेको अजब फैसलाले भने यो सरकारलाई संयुक्त सरकारका रूपमा चिन्यो अर्थात् ७६(२) अनुसार बनेको ठहर गरिदियो । ललितानिवास प्रकरणमा जोडिएका र श्रीमतिको हत्या कवुल गरेका रञ्जन कोइरालासम्बन्धी विवादास्पद फैसला गरेका न्यायधिसहरुबाटै यो फैसला आउनु संयोगमात्र नहुनसक्छ। बिर्सन नहुने तथ्य के छ भने २ वर्षसम्म घुम्दैघुम्दै, मुद्धाको पेशी सार्दैसार्दै यी दुई न्यायाधिसको बेन्चमा पुगेपछि मात्र यो मुद्धाको फैसला भएको छ।
यी सारा संसय र प्रश्नको जवाफ अदालतले दिनु पर्छ कि पर्दैन? अदालतले यसबारे प्रष्ट पार्नु पर्छ कि पर्दैन? अनि ती ४६ जनप्रतिनिधी र उनीहरूलाई मत दिने मतदाताको हकमा के हुन्छ? जनताले उनीहरूलाई नेकपा ठानेर भोट दिएका थिए? त्यो भोट अब कसरी बाँडिन्छ? यसको न्यायिक निरुपण नगरीकनै काठमाडौंस्थित रामशाहपथको सर्वोच्च उभिराख्छ अथवा ‘चित्तमा जस्तो सुझ्यो हामीले त्यस्तै फैसला गर्ने हो’ भन्ने मान्यता स्थापित गर्न लाग्छ न्यायालय?
यो भयो अदालतप्रति प्रश्न। र, बाँकी प्रश्नचाहिँ साइबर स्यालहरूलाई। उसो त यो शव्द कोइन गर्ने अदालतद्वारा विघटित नेकपा स्थायी समितिका सदस्य र पुनर्जिवित एमालेका उपमहासचिव घनश्याम भूसाल यति संगीन घडीमा पनि कम्युनिष्टहरूकै संयुक्त सरकार बनाउन सकिन्छ कि भन्ने प्रयत्नमा लागेका खबर पढ्न पाइएको छ। तर, कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने ‘सेटिङ्ग’ सक्रिय भइरहेका बेला साइवर स्यालहरुलाई हुँइय्याँ मच्चाउन कसले पेट्रोल भरिरहेका छन् प्रष्टै छ।
पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूको एउटा अर्धभूमिगत गिरोह ‘क्यानोन’ छ। उसले अफवाह फैलाउने, ट्रम्पलाई देवत्कवरण गर्ने, ट्रम्प नै जिससका अवतार हुन् र पापीहरूबाट अमेरिकालाई मुक्त पार्नका लागि ट्रम्पको उदय भएको हो भन्ने धारणा राख्छन्। अनेक खालका काल्पनिक र षड्यन्त्र सिद्धान्तमा उनीहरू विश्वास गर्छन्। नेकपा एमालेभित्र पनि ठ्याक्कै त्यही मति र गतिका अर्धशिक्षित र दक्षिणपन्थी थोरै युवाहरूको झुण्ड छ। त्यस्तै झुण्ड नै साइबर स्यालले कुख्यात छन्।
र, अहिले ती स्यालहरू नेकपा एमालेलाई देशकै सबैभन्दा बलियो पार्टी बनाउन लागेका नेता र कार्यकर्ताहरूलाई उल्टै ‘एमालेमा स्वागत छ’ भन्दैछन् । मानौं,साइबर स्यालहरूको विर्ता हो एमाले। यी स्यालहरू तिनै हुन् जो विधि, पद्धति र कम्युनिष्ट सिद्धान्तलाई तिलान्जली दिई गुलामवादको नेतृत्व गर्ने खड्गप्रसाद ओलीलाई आफ्नो सर्वश्व र आदर्श मान्छन्। ओली तिनै हुन्, जसले एमाले खारेज गर्ने सन्धीपत्रमा सबैभन्दा माथि सही गरेका हुन्। र, आज कुन काकतालि या षड्यन्त्रबाट एमाले पुनर्स्थापित हुँदा यिनीहरू भन्दैछन् –एमालेमा स्वागत छ ।
२००६ सालमा जन्मिएको नेकपा आज पनि अनेक मोर्चामा छिन्नभिन्न छन्। जुनजुन मोर्चामा भए पनि सबै कम्युनिष्ट पार्टीहरू त्यही मूल पार्टीका प्यारा सन्तान हुन्। र, यदि कम्युनिष्ट आदर्शलाई निष्ठापूर्वक मान्ने हो भने सबै कम्युनिष्ट पार्टीका लक्ष्य र सपना एउटै हुन्–सम्पूर्ण रूपमा समतामूलक समाज। सोही कारण खड्गप्रसाद ओली र प्रचण्डले एमाले र माओवादी केन्द्रलाई एकिकरणको प्रयत्न गर्दा उतिखेर चुपचाप लाखौं कम्युनिष्ट कार्यकर्ताहरूले त्यसलाई स्वागत गरेका हुन्। एमालेलाई खारेज गर्ने कुराको स्वागत थिएन त्यो, बरु बलियो कम्युनिष्ट शक्तिको स्वागत थियो त्यो। ओलीले त केवल प्रधानमन्त्री हुनका लागि त्यो एकताको नाटक गरेका थिए भन्ने कुरा आज पटाक्षेप भएको छ। किनकि सर्वोच्चले नेकपा फुटाएको फैसला गर्दा चर्को तालमा रत्यौली नाच्नेहरू ओलीकै क्षुद्र सिपाहीहरू छन्।
आजका सबै कम्युनिष्ट पार्टीहरू इमान्दार नेता–कार्यकर्ताहरूको साझा निर्माण हो। न्यायमूलक समाजको निर्माणको परिकल्पना गर्नेहरूकै कारण तिनको सिर्जना भएको हो। ठीक त्यसैगरी नेकपा एमाले बनेको हो। हजारौं र लाखौं नेता–कार्यकर्ताको रगत र पसिनाको आर्जन हो एमाले। अनेक आन्दोलन र युद्धको परिणाम हो। र, कम्युनिष्ट आदर्श र नैतिकता नभएपनि आजको दिन पनि ओलीहरुको पार्टी एमाले नै हो। एमाले बौरेपछि जसरी खड्ग ओली एमाले फर्केका छन् उसैगरी माधवकुमार नेपाललगायत सबै नेताहरू फर्केका छन्। र, यसबेला नेकपा (एमाले) को मूल भवनभित्र बसेर ‘वेलकम ब्याक’ भन्ने वैधानिकता कोसँग छ?
बरु स्यालहरूले ख्याल राखुन्, घरको आधिकारिक स्वामित्व भएका सिद्धान्तनिष्ठ मूलीहरू नै घर फर्केपछि तिमीहरूजस्ता म्यादी, सिद्धान्तहिन र दक्षिणपन्थीहरूको हैसियत र हालत के हुन्छ? घरको जग बसाल्ने घरमूलीहरू घर फर्केका बेला बरु तिमीहरूले बेलैमा आफ्नो बाटो तय गर। को हौ तिमीहरू हामीलाई हाम्रै घरमा स्वागत गर्ने?