हाम्रा कुराकानी, अनुभव, पत्रपत्रिका, टेलिभिजनका दृश्यहरूमा मात्रै होइन, जताततै हामीले लिङ्गभेदसँग ठक्कर खाइरहनुपरेको छ। धेरैजसो केसमा पुरुषहरू यस्ता लैङ्गिक हिंसाका कर्ता हुन्छन्, जसको शिकार अन्त्यमा महिला हुन्छन्। विश्वको आधा जनसंख्या महिलाको छ, यसका बावजुद अहिले पनि महिलाहरूले असमानता तथा भेदभावको सामना गर्नुपरेको छ। आम रूपमा महिलाका मुद्दालाई नजरअन्दाज गर्ने गरिन्छ। जबकि यो एउटा कुनै दुर्गम क्षेत्र वा विश्वको कुनै एउटा कुनाको मात्रै कथा होइन। विश्वका जुनसुकै ठाउँका महिलाहरूले हरेकदिन भोग्ने कथा हो यो, जुन समाजको हरेक तप्कामा फैलिएको छ।
भर्खरै एकजना फ्रान्सेली साथी भारत घुम्न आएकी थिइन्। उनका अनुसार उनी आफ्नो श्रीमानसँग अफिसको काम छ भन्ने बहाना बनाएर साथीहरूसँग घुम्न आएकी रहिछन्। उनी एउटा उदाहरणमात्र हुन्। यदि तपाईँ पश्चिमी समाजमा महिलाहरूको अवस्था आशाजनक छ भनेर सोच्दै हुनुहुन्छ भने यो एउटा भ्रम मात्रै हो, जुन डोनाल्ड ट्रम्पजस्ता व्यक्ति अमेरिकाका राष्ट्रपति चुनिएपछि टुटेको छ।
महिलाबाटै लिङ्गभेदलाई पोषण
लिङ्गभेद अथवा लिङ्गकै आधारमा हुने भेदभावले जुनसुकै लिङ्गलाई पनि प्रभाव पारेको हुन्छ। तर यहाँ महिलामाथि भएको विभेदका विषयमा मात्रै कुरा गर्दैछु। लिङ्गको आधारमा हुने हिंसा एउटामात्रै लिङ्गलाई अरुभन्दा माथिल्लो स्तरमा राख्दाको परिणाम हो। यो हिंसा यति विश्व्यापी छ कि धेरै जसो महिलाहरूले नै यसलाई सामान्यीकरण गर्ने गर्छन्। सामाजिक संरचनाले निर्धारण गरेको लैङ्गिक भूमिका समाजको अघोषित नियम नै बनेको छ, जसले भेदभावलाई दिगो र संस्थागत बनाएको छ। लैङ्गिक भूमिकालाई वैधानिकता दिने काम पुरुषबाट शासित सामाजिक–राजनीतिक संस्थाले गरेका छन् भने यसलाई समर्थन गर्ने काम सञ्चारमाध्यमले गरिरहेका छन्।
पितृसत्ताको प्रभावले गर्दा केही महिलाहरू आफूभित्रको सम्भावनालाई महशुस गर्न सकिरहेका छैनन्। केही महिलाहरूले पुरुषलाई नै श्रेष्ठ सम्झिन्छन् र उनीहरूलाई आलोचना भन्दा बाहिर राख्छन्। पुस्तौँदेखि महिलाहरूले महिला भएर जन्मिएकोमा आफैँलाई धिक्कारिरहे र आफ्नै आलोचना तथा अस्तित्वलाई इन्कार गरेर आफूमाथि दमनको औचित्य साबित गरिरहे।
आधा आकाश ढाकेका महिलाहरूविरुद्धको विभेद र स्त्रीद्धेषी मानसिकतामा हजारौं वर्षदेखि सफलतापूर्वक कायम रह्यो। पितृसत्ताको पहिलो दोषी पुरुष हो भन्ने कुरामा कुनै शंका छैन। र, यो पनि सत्य हो कि यसलाई कायमै राख्ने र पोषण दिइरहने काम महिलाहरूले नै गरे वा उनीहरूलाई गराउन लगाइयो। यो चाहिँ अनौठो कुरा हो।
शिक्षित महिला पनि भ्रममा
मेरो कार्यालयमा कर्मचारी छनौटको समयमा मैले आफ्ना सहकर्मीहरूसँग भनेँ, ‘अबको छनौटमा म पर्छु भन्ने कुरा कसलाई थाहा छ?’ मेरो कुरा भूइँमा खस्न नपाउँदै मेरी एक सहकर्मीले जवाफ दिई, ‘तिमी त छनौट हुन्छौँ, किनकी तिमी यति धेरै राम्री छौँ।’ यो कुराले मलाई चोट पु-यायो। मैले उनलाई सच्याउँदै भनेँ, ‘मलाई मेरो योग्यता र अनुभवका कारण छनौट गरिएको हो, मेरो कामको पूर्व योग्यतामा मेरो शरीर र अनुहार बेच्ने काम सामेल छैन।’
हामी कतिपटक जानी नजानी एक अर्कालाई तल झार्छौँ। यहाँसम्म कि कति महिलाहरू आफ्ना महिला सहकर्मीहरूको ‘बडी सेमिङ’ गरिरहेका हुन्छन्, ‘ड्रेस सेन्स’को नाममा उनीहरूको मजाक उडाइरहेका हुन्छन् र अरुको वैवाहिक जीवनको अनावश्यक अड्कलबाजी गरिरहेका हुन्छन्। यसरी विस्तारै–विस्तारै र लगातार उनीहरू हाम्रो विचार र विश्वासलाई एउटा आकार दिन्छन्। यसरी नै उनीहरूका कुराले हाम्रो दिमागमा डेरा जमाउँछन्, यी कुरा हाम्रा रगतमा घुल्न थाल्छन् र एउटा स्थायी प्रभाव पार्छ, जसलाई हटाउन अझै पनि मुश्किल छ।
हामी अन्जानमै लिङ्गभेदलाई कायम राख्नका लागि अपमान, अनुमोदन, प्रशंसा, समावेश आदिको प्रयोग गर्छौ। समयसँगै लिङ्गभेदलाई हामीले आत्मसाथ गरिसकेका हुन्छौँ। हामी एउटा अकल्पनीय चित्रतर्फ विस्तारै दौडिँदै गर्दा महिलाहरू पुरुषहरूको हेराईमा आफूलाई सही सावित गराउनका लागि प्रतिश्पर्धा गर्छन् र क्रितिम मोडमा आफूलाई फिट राख्न खोज्छन्। जसले हामीलाई मानसिक तनाव दिन्छ, समय, पैसा र उर्जाको बरबादी हुन्छ र हामी आत्मसम्मान गुमाउन थाल्छौँ।
कति महिलाहरूले पितृसत्ताको यो परिस्थितिक प्रणालीलाई आत्मसाथ गरेका छन्। त्यस प्रणालीले महिलाहरूलाई कम आत्मविश्वासी, मृदुभाषी, आफ्नो विचार राख्न नचाहने, पालिनुपर्ने र संरक्षित गरिनुपर्ने प्राणीका रूपमा लिन्छ।
गरीब तथा अशिक्षित महिलामा मात्रै यो भ्रम हुन्छ भन्ने तपाईँलाई लाग्छ भने तपाईं गलत हुनुहुन्छ। यहाँ धेरै महिलाहरू छन्, जसले भयानक तरिकाले लिङ्गभेदलाई समर्थन गरेका छन्। तपाईँले त्यस्ता कामकाजी महिलाहरू भेट्नुभएको छ होला, जो आफ्नो आम्दानीमा गौरव गर्छन्, तर उनीहरू आफ्नो श्रीमानको लामो आयुका लागि व्रत बस्ने गर्छन् वा विवाहपछि आफ्नो थर परिवर्तन गर्छन् वा श्रीमानद्वारा शासित हुन मन पराउँछन्।
सामूहिकतामा बल
महिलाहरूको मजाक उडाइन्छ, महिलाहरू सताइएका छन् र तपाईँले कल्पना गर्न सक्ने जति सबै तरिकाहरूबाट महिलाहरू पीडित बनाइएका छन्। यो कुरा हामी सबैलाई थाहा छ र यो दुःखेसो एक अर्कालाई पोख्ने पनि गर्छौँ। केही महिलाहरू नै अरु महिलाको पीडालाई छिट्टै उपहास गरिदिन्छन्, तर यो पनि सबैलाई थाहा छ कि यस्तो परिस्थिति घुमिफिरी तिनै महिलाहरूको जीवनमा पनि आइपुग्छ।
हाम्रो सामाजिक संरचनामा प्रायः हामी सबै महिलाले कुनै न कुनै तवरबाट कष्ट भोगेकै छौँ। त्यसैले, यदी हामीलाई परिवर्तन गर्नु नै छ भने किन हामी कुनै सामूहिक समाधान खोज्दैनौं? अब महिलाहरूका बारेमा कुराकानी गरिनु र अफवाह फैलाउनुलाई सबैले आफ्नो तर्फबाट ठाडो अस्वीकृति दिऔं।
आखिर हामी सबै एउटै समूहमा छौ। तर हामी नै विभाजित हुन्छौँ भने हाम्रो टिमले कहिले जित्ने? केही सफल महिलाहरूको कदर गरौं र उनीहरूबाट पे्ररित बनौँ। हामी महिलाहरू एक ठाउँमा बाँधिनुपर्छ ताकि हामी हाम्रो गठबन्धनलाई अझै अगाडि बढाउन सकौँ।
मलाई अहिले पनि याद छ, मेरो एक आफन्त दिदीले मलाई उनको श्रीमानलाई मैले खोसेको आरोप लगाएकी थिइन्।
राति अबेरको समयमा उनको श्रीमान्कै जिद्दीका कारण उनले मलाई घर ल्याईपु¥याइदिएका थिए। महिलाका बारेमा यो पुरातनवादी सोच राख्नु वास्तवमै विश्वासघातको पराकाष्ठा हो। त्यसैले तपाईँ स्वयं महिला भएर कोही पनि महिलामाथि पितृसत्ताले बनाएको कुनै भाष्यको प्रयोग गर्दै हुनुहुन्छ भने एकपटक रोकिनुहोस् र सोच्नुहोस्। पितृसत्ताले आप्mनो सहजताका लागि बनाएका निति, नियम र धर्महरूलाई त्यही रूपमा नलिनुस्। प्रश्न गर्न सिक्नुस्।
हामी एकजुट हुनका लागि सबैभन्दा पहिले पितृसत्ताबाट समाजलाई परेको नकारात्मक प्रभावलाई स्वीकार गर्न सक्नुपर्छ। एउटा भनाई छ ‘तिमी भित्रैबाट सचेत नभएसम्म बाहिरका कुनैपनि नराम्रा पक्षमाथि जित हाँसिल गर्न सक्दैनौ।’ एक अर्कामा करुणा र सहयोगको प्रतिबद्धताले नै महिलालाई स्वतन्त्रता दिन सक्छ र सशक्त बनाउँछ। यसर्थ, एक अर्कामा माया बढाऔँ। जब हामी सँगै अघि बढ्छौँ, तब मात्रै एउटा तागत बन्न सक्छौँ। शोषण गर्नेले आफूअनुकुल नियम बनायो। तर उसले बनाएकै नियमको प्रतिरक्षामा उत्रन छाडौँ। उसले बनाएका नियमले हामी शोषणको जाँतोमा पिँधिएको धेरै भयो, अब प्रतिकारमा उत्रौँ।
(युथकि आवाजबाट मेनुका बस्नेतको अनुवाद)










