-बलराम तिमल्सिना-
प्रेमको लागि रहेछ पहिलो सर्त,
एकले अर्काको स्वतन्त्रताको सम्मान गर्ने
सम्मान मात्र होइन अझ
स्वतन्त्रताको संरक्षण गर्ने
हामीले कहिल्यै त्यसो गर्न सकेनौँ
हामीले मिचिरह्यौँ सीमा
एक अर्काका स्वतन्त्रताका
कहिल्यै सुखी हुन सकेनौं
कहिल्यै खुसी हुन सकेनौं
एउटा पट्यारलाग्दो व्यवस्था मानेर
हामीले जिन्दगी लतारिरह्यौँ
प्रेम हुनको लागि रहेछ दोस्रो शर्त,
तिमीभन्दा म सानो पनि होइन
तिमीभन्दा म ठूलो पनि होइन
मभन्दा तिमी सानी पनि होइन
मभन्दा तिमी ठूली पनि होइन
एकदम बराबर
एकदम उस्तै उस्तै
तर हामी कहिलै बराबर बनेनौँ
किन कि
यी कुराको आविष्कार नै थियो
असमानताको जगमा
न पुरुष सत्ता
न महिला सत्ता
सत्ताभन्दा बाहिर
एकदम स्वतन्त्र
साँच्चैको स्वतन्त्र
त्यस्तो हुनु पर्थ्यो हामी
तर हामी कैलै बराबर हुन सकेनौं
त्यसैले प्रेमी र प्रेमिका बन्न सकेनौं
श्रीमती हुनका केही सुविधा होलान
त्योभन्दा धेरै दलन नै दलन छन
त्योभन्दा बढी दुखै दुख
र अपमान नै अपमान छन्
सुनकै भए पनि पिंजडा पिंजडा नै हो
तिमी त्यही पिंजडामा छौ
श्रीमान हुनका कैयन् सुविधा होलान्
तर प्रेम प्राप्त गर्ने सुविधा नहुने रहेछ
इतिहासले जन्माएको
दश हजार वर्ष बुढो लोग्ने दर्जा
जहिले पनि ठूलो भैरह्यो
जहिले पनि शासक भैरह्यो
जहिले पनि शोषक भैरह्यो
र हेपिरह्यो श्रीमतीलाई
इतिहासले जन्माएकी
दश हजार वर्ष पुरानी श्रीमती
जहिले पनि सानै भैरही
दासी भैरही
अबला भैरही
र खपीरही दलन पुरुष सत्ताको
मालिकले दासलाई
दया गर्न सक्ने रहेछ प्रेम होइन
तिमीले त्यही दयालाई प्रेम ठान्यौ सायद
दासले मालिकलाई
चाकरी गर्न सक्ने रहेछ प्रेम होइन
मैले त्यही चाकरीलाई प्रेम सोचें सायद
दाम्पत्य जीवनको
दिव्य दुई दशकमा
एक दिन पनि प्रेम नपाएको म लोग्ने
एक मिनेट पनि प्रेम नपाएकी
तिमी पिंजडाकी चरीसँग
गरिरहेछु यो प्रस्ताव
आजैबाट विघटन गरिदिऊँ
यो अत्यास लाग्दो नाता
र सुरु गरौं प्रेमको नयाँ अध्याय !
भन भन भन
तिमी मेरी प्रेमिका बन्ने कि श्रीमती बन्ने ?