महिला हिंसाको कुरा गर्नेबित्तिकै हाम्रो मानसपटलमा महिलामाथिको कुटपिट, बलात्कार, यौन हिंसा, शारीरिक यातना तथा अन्य कुनैपनि प्रकारका हिंसा र महिलाको रोनाधोनासहितको अनुहार चित्रित हुन्छ। वास्तवमा शारीरिक हिंसा र महिलाको दयालाग्दो कथाकहानीमात्रै हिंसाको रुप होइन। महिलामाथि हात नउठाइ र उनीमाथि कुनैपनि प्रकारको गालीगलौज नगरी पनि हिंसा हुने गर्छ, जसलाई हामी मानसिक हिंसा भन्ने गर्छौँ। यो पनि महिलामाथिको हिंसाको एउटा डरलाग्दो रुप हो।
ब्रेक थ्रु नामको संस्थाले घरेलु हिंसाको मुद्दामाथि बनाएको एउटा भिडियोले महिलामाथि हुने हिंसालाई प्रष्टसँग बुझिनेगरी देखाएको छ। हात नउठाई वा कुनैपनि गालीगलौज नगरी पनि महिलामाथि हिंसा हुने गर्छ भन्ने कुरा यो भिडियोले सिर्जनात्मक ढंगले प्रस्तुत गरेको छ। २ मिनेट १८ सेकेण्डको यो भिडियोले मानसिक हिंसाको त्यस्तो रुपलाई उजागर गरेको छ, जसलाई हामी झेल्छौं तर पहिचान गर्न सक्दैनौं।
पहिचान नै हुन सक्दैन
पितृसत्तात्मक व्यवस्थामा महिलालाई सधैँ पुरुषभन्दा निच वा तल्लो दर्जाको व्यक्तिका रुपमा लिने गरिन्छ। र, बाल्यकालदेखि नै सोही अनुसारको प्रशिक्षण गराइन्छ। एउटी महिलालाई जन्मिएदेखि मृत्युपर्यन्त ‘लिंगकै आधारमा पुरुष महान् हुन्छन्’ भनेर सिकाइन्छ। त्यसैले महिलालाई सधैँ पुरुषको दास वा सेवकको रुपमा नै उभ्याइन्छ। खासगरी श्रीमान र श्रीमतीको सम्बन्धलाई हेर्ने हो भने श्रीमानलाई ‘पति’ वा ‘परमेश्वर’ को दर्जा दिइनुले पनि यो कुरालाई पुष्टि गर्छ। महिलालाई सानै उमेरदेखि पुरुषको दास बन्न, पुरुषको पूजा गर्न र पुरुषकै इशारामा चल्नका लागि प्रशिक्षण गराइन्छ र यसका लागि पूरै व्यवस्था लागिपरेको छ।
बदलिँदो समयसँगै हाम्रो सामाजिक व्यवस्था र मानिसको चेतनामा धेरै परिवर्तन आयो। महिलाको हक अधिकार सुरक्षित गर्नका लागि विभिन्न कानूनहरू पनि बने। यस प्रकारको परिवर्तन आउनुमा कानूनको पनि ठूलो भूमिका छ भन्ने कुरामा दुइमत छैन। कानूनले महिलामाथि हिंसा गर्नेलाई सजाय दिलाउने काम मात्रै गरेको छैन, यसले महिलामाथि हुने गरेका हिंसाको परिभाषा पनि दिएको छ। तर महिलामाथिको मानसिक हिंसा यस्तो हिंसा हो, जसको दोषीलाई कानूनी कठघारामा ल्याउनका लागि ठोस प्रमाण जुटाउन नै धेरै अड्चनहरू हुने गरेका छन्।
महिलामाथि हुने गरेका मानसिक हिंसाका बारेमा पत्रपत्रिका तथा कुनै सभा सम्मेलनमा चर्चा हुने गरेपनि यस विषयमा कतिपय महिलाहरू नै अनभिज्ञ छन्। कति महिलाहरूले आफूमाथि भइरहेको मानसिक हिंसालाई पनि पहिचान गर्न सकिरहेका छैनन्।
आत्मविश्वासमा कमी
हाम्रो सामाजिक व्यवस्थाले महिलालाई पुरुषभन्दा कमजोर बनाएको छ भने पुरुषलाई ‘बलवान’को पगरी भिराइदिएको छ। त्यसैले समाजका धेरै क्षेत्रको नेतृत्व पुरुषले गरेको छ र सारा अधिकार पनि पुरुषलाई नै दिइएको छ। यसै व्यवस्थाले महिलालाई भने पुरुषको दास बन्न र हिंसा सहनका लागि अभ्यस्त बनाएको छ। समाजमा आज पनि महिलामाथि हुने हिंसा र भेदभावको सामान्यीकरण गरिन्छ। पितृसत्ताले सिकाएको पाठको असर महिलामा यतिसम्म परेको हुन्छ कि महिलाले यही विभेदपूर्ण व्यवस्थामा आफूलाई ‘फिट’ राखेकी हुन्छिन् भने आफूमाथि हुने गरेका हिंसा महशुस गर्न समेत उनलाई मुश्किल परिरहेको हुन्छ।
मानसिक हिंसाको प्रभाव शारीरिक हिंसाभन्दा कम हुँदैन। बाल्यकालबाटै परिवारभित्रै तथा समाजबाट महिलाले मानसिक हिंसा भोगिरहेका हुन्छन्। फलस्वरुपः महिलामा आत्मविश्वासको कमी हुँदै जान्छ र महिलाले आफूमा भएको हिंसाको पहिचान गर्न नै सक्दिनन्। मानसिक हिंसाले कुनै पनि मानिसको व्यक्तित्वलाई नै प्रभाव पारिरहेको हुन्छ। यसले मानिसको आत्मविश्वासलाई कमजोर पार्ने काम गर्छ र यसको प्रभाव बढ्दै गएमा खतरनाक मानसिक समस्याहरूको सामना पनि गर्नुपर्ने हुन्छ।
प्रतिकार गरौँ
यसकारण महिलालाई यसप्रकारको हिंसाका बारेमा भरपूर जानकारी हुन जरुरी छ। यसप्रकारका हिंसाका कारण महिलाको आत्मविश्वास त कमजोर हुन्छ नै उनले आफूविरुद्ध भइरहेको हिंसाको प्रतिकार पनि गर्न सकिरहेकी हुन्नन्। त्यसैले पनि यी विषयमा महिलालाई जागरुक बनाइनु पर्छ। कुनैपनि सम्बन्धमा महिलालाई मानसिक हिंसा हुन्छ भने त्यस्तो सम्बन्धबाट टाढा रहनेसम्मको हिम्मत महिलालाई समाज र परिवारले जुटाइदिन सक्नुपर्छ अथवा त्यस्तो हिम्मत राख्नसक्ने वातावरण बनाइनुपर्छ।
मानसिक हिंसाले महिलालाई बाल्यकालदेखि नै कमजोर बनाउनमा अहम भूमिका निर्वाह गर्ने गर्छ। यदि कुनै घरमा कोही महिला मानसिक हिंसाको सामना गरिरहेकी हुन्छिन् भने त्यस घरका बालबालिका पनि हिंसाबाट प्रभावित हुन्छन्। साथै अन्य महिलाहरूमा पनि यसको प्रभाव हुन्छ।
मानसिक हिंसा महशुस गर्न सकिन्छ। तर शारीरिक हिंसाको जस्तै यसको निशाना हुँदैन। तर यसो भन्दैमा यो नजरअन्दाज गर्ने विषय भने होइन। यसको प्रभाव गहिरो हुन्छ, जसले मानिसको ज्यानसमेत लिनसक्छ। कतिपय महिलाहरू शारीरिक हिंसा नभएको आधारमा आफूमाथि भएको मानसिक हिंसाका बारेमा बेखबर हुन्छन् वा यसलाई वास्ता गर्दैनन्। तर भित्रभित्रै यसले नकरात्मक प्रभाव पारिरहेको हुन्छ।
जब महिला आफैंले यसको पहिचान गर्न सकिरहेका छैनन् भने यसलाई न्यूनिकरण गर्ने दिशामा जान पनि व्यवधानहरू हुनसक्छन्। त्यसैले परिवार र समाजभित्र महिलामाथि हुनेगरेका मानसिक हिंसालाई पहिचान गरौं र यसको प्रतिकार गरौं।
फेमिनिजम इन इन्डियाबाट अनुवाद।