युबल नोहा हरारी। सन् २०२० लाई आउँदो पुस्ताले कसरी सम्झेला, त्यसबारे अनुमान गर्न अहिल्यै हतार होला। तर व्यक्तिगत तहमा हामीमध्ये धेरैले राम्रो स्वास्थ्य, सामाजिक सम्बन्ध, घुमफिरको स्वतन्त्रता र राम्रो इन्टरनेट कनेक्सनको महत्वबारे भने एक दुई कुरा बुझ्ने मौका पाएका छौं। सामूहिक तहमा, राजनीतिक असमझदारी र असफलताका बीच पनि कोभिड १९ विरुद्धको हाम्रो लडाइँमा विज्ञान विजयी बनेको छ।
नोभल भाइरस पहिचान गर्न, प्रसारण रोक्न र भ्याक्सीन विकाशका लागि विश्वभरका वैज्ञानिकहरू जुटे, समन्वयमा रहेर काम गरे। वैश्विक वैज्ञानिक सहकार्यका लागि धन्यवाद। जसका कारण आज कोभिडसँग लड्नका लागि पहिलेका विश्व महामारीको समयमा भन्दा उच्च वैज्ञानिक साधनहरू मानव जातिसँग छन्।
दुर्भाग्यको कुरो, राजनीतिकर्मीहरूले विज्ञानका यस्ता साधनहरूको विवेकपूर्ण तरिकाले उपयोग गर्न अझै सकेका छैनन्। महामारी शुरू भएको एक वर्षपछि पनि महामारीविरुद्ध लड्ने वैश्विक नेतृत्व हामीसँग छैन। भाइरसलाई रोक्ने योजना तथा आर्थिक संकटसँग सामना गर्ने कुनै वैश्विक योजना हामीमाझ छैन।
हाम्रो जातिको वैज्ञानिक सामथ्र्य र हाम्रो राजनीतिको असक्षमताबीचको दरार भने सा-है चिन्ताजनक छ जबकि कोभिडसँग कसरी भिड्ने भन्ने विषय हाम्रो ‘ठाडो राजनीतिक मुद्धा’ हुनुपर्थ्यो।
सबैले बुझेकै कुरो हो कि कुनै पनि देशमा भाइरस संक्रमण फैलने र उद्विकाश हुने क्रम जारी रहेसम्म अर्को कुनै देश सुरक्षित रहन सम्भव छैन। त्यति थाहा हुँदाहुँदै पनि हामीहरूले समन्वय गरेर यस क्षेत्रमा पर्याप्त काम गर्न सकेका छैनौं।
सोचनीय कुरो छ कि, यही अवस्थामा वातावरणीय महासंकट र आर्टिफिसियल इन्टेलिजेन्सको हस्तक्षेपजस्ता अझ जटिल चुनौतीहरूसँग मानव जातिले सामना गर्नुपर्यो भने अवस्थामा झनै कस्तो होला?
विज्ञानले मानव सामर्थ्यलाई सन् २०२१ मा झनै बढाउने कुरामा मलाई शंका छैन। मलाई आशा छ, सन् २०२१ मा राजनीति र विज्ञानको सहकार्य सम्भव हु्नेछ। र, हाम्रा सामर्थ्यलाइ कसरी भरपूर प्रयोग गर्ने भन्नेबारे पनि यही साल मानवजातिले सिक्नेछ।
नयाँ वर्षको शुभकामना ।