ने.क.पा. मात्र वाहुनहरूको पार्टी हो र? अन्य पार्टीहरू चैं के समानुपातिक छन्? आदिवासी-जनजाति, मधेसीहरूको वाहुल्य रहेको पार्टीलाई के भन्ने? मलाई लाग्छ, वाहुन र वाहुनवाद फरक हो।
‘वाहुनवाद’ वाहुन जातमा मात्र नभई, आदिवासी-जनजाति, मधेसी, मुस्लिम र दलितमा पनि हुनसक्छ – पाइन्छ। जसका प्रशस्त प्रमाण र उदाहरणको फेहरिस्त हामी सामु रहेको छ। समानुपातिक-समावेशीको नीति अंगिकार गरेपनि संरचनागत तथा भूमिकामा शून्य छ र त्यस्तै प्रशस्त समानुपातिकता – समावेशी भएर पनि राजनैतिक र नीतिगत रूपमा प्रतिकूल छ भने, यी दुबै नकारात्मक पक्ष हुन्। तर, राजनैतिक तथा नीतिगत रूपमा र भूमिका- जिम्मेवारीको क्षेत्रमा पनि समानुपातिक-समावेशी हुँदा मात्र त्यो स्वस्थ-सन्तुलित हुनजान्छ।
वि.स.२००७ साल देखि २०६२-६३ को जनआन्दोलनसम्म आउँदा देश र जनतामा संगठित समुदायहरूको माग नै उक्त दुई माग थियो। यसैका लागि सशस्त्र संघर्ष देखि जनआन्दोलनहरूमा जन-समुदायहरू होमिएका थिए। नतिजागत रूपमा धोका भयो। धोका नेकपा मात्रले हैन, नेपाली काँग्रेस लगायतका दलहरूबाट भयो। याँहासम्म कि, ‘पहिचान र समानुपातिक’ लाई मुद्दा बनाउँने दलहरूमा पनि यस्तो समस्या देखियो। दलको सत्तामा रहेका नेताहरूले आफ्ना जातिलाई संरक्षण र प्राथमिकतामा राख्न सफल भए। तर, गैरहरूलाई सामान्य कारिन्दामा सीमित गरेको सोही दलका भुक्तभोगीहरूको रोइलो सुनिन्छ।
उपरोक्त अवस्थाबाट भन्न सकिन्छ कि, यो वर्गीय चेतना र सँस्कृतिको निरन्तरता हो। नेपालमा राजनैतिक परिवर्तन भएपनि राजतन्त्र, समाजवाद-साम्यवाद, प्रजातन्त्र-लोकतन्त्र र संघीय गणतन्त्रवादी दलहरूको लामो लाइन त देखिन्छ। तर, आफ्नै सिध्दान्त र राजनैतिक नाराहरूलाई खुलेआम बलात्कार पनि स्वयमले गर्नपुगेको अवस्थालाई किनारा राख्न सकिन्न। दलहरूको अस्तित्व र सिध्दान्ततः फरक-फरक अस्तित्वमा देखिन्छ। तर, वर्गीय स्वार्थ, चरित्र र हैसियतको हकमा अलग नरहेको स्पष्ट छ। त्यसैले यी दलहरू “एकै सिक्काको दुई पाटो” र “फरक पात्रका एकै चरित्र” भन्ने गरेको पाइन्छ।
नेपालको राजनैतिक परिवर्तनहरूले केवल वाक स्वतन्त्रता र आस्थाको राजनैतिक संगठन गर्न मात्र स्थापना गर्यो। तर, जातीय – वर्गीय विभेद विरूध्दको सम्विधान-कानून, राज्यसंरचना र समानुपातिक भूमिका, जिम्मेवारी र हैसियत निर्माणको अवसरहरू कहिल्यै पनि समाजवादी-साम्यवादी, प्रजातन्त्रवादी-लोकतन्त्रवादी , संघीय गणतन्त्रवादीहरूले प्रदान गरेनन्। बरू यसलाई सत्तारोहणको रूपमा उपयोग भने प्रचुर मात्रामा गर्यो। सामाजिक न्यायका लागि जातीय मुक्ति र सबैखाले विभेदको अन्त्य र श्रोत र अवसरहरूको समानुपातिक वितरणको लागि वर्गीय मुक्ति बिना हाम्रो समाज र राष्ट्रले गतिलिने अवस्था देखिन्न। यसको प्रमुख वाधक र विरोधी भनेकै सामन्तवाद, नोकरशाही दलाल पूँजिवाद, नव उदारवाद र उपभोक्तावादी चेतना र साँस्कृतिक निरंकुशता, एकाधिकारवाद र अधिनायकवाद नै हो भन्ने कुरा अहिलेको राजनैतिक कोर्ष र राज्यको चरित्रले स्पष्ट गरेको छ।
“ने. क. पा. (पार्टी) भनेको बाहुनहरुको पार्टी हो” भन्नु कुरा गलत होइन। (नवम्वर २५, २०१८ मा ग्लोवल नेटवर्कले अपलोड गरेको एक अन्तर्वार्तामा प्रा डा. महेन्द्र लावतिले “ने. क. पा. (पार्टी) भनेको बाहुनहरुको पार्टी हो” भन्नु भएको थियो)। तर, अधुरो छ। यसलाई पूर्णता दिन श्रम र पूँजिमा मात्र हैन, सामाजिक र साँस्कृतिक रूपमा समेत एकाधिकारवादी अधिनायकवादी वर्गीयता विरूध्द अबको राजनैतिक चेतना, सँस्कृति र संघर्ष मुखरित हुन जरूरी छ। जो आर्य-खस भित्रका वर्गशत्रु मात्र नभई, आदिवासी -जनजाति, मधेसी, मुस्लिम लगायत गैरहरू भित्रका वर्गशत्रु विरूध्द पनि प्रहार र उच्छेद हुनु जरूरी हुन्छ। तबमात्र वास्तविक पहिचान सहितको सामाजिक न्याय, वर्गीय उन्मुक्ति सम्भव होला। अनिमात्र जनतामा संगठित समुदाय र देशले गौरवशाली इतिहासको पुनरलेखन र समृध्दि हासिल गर्न सक्ला। अर्को अर्थ नलगाइयोस्।
-पाख्रिन मणी लामाको फेसबुक वालबाट साभार।