“म तपाईंहरूलाई बताउन चाहन्छु कि ‘पर्यावरणीय विराम’ लगाउने घोषणा गर्दछु, यसको अर्थ आगोले प्रभावित क्षेत्रका जमिनको बिक्रीबट्टामाथि प्रतिबन्ध लगाईएको छ”।
बोलिभियाका राष्ट्रपति एभो मोरालेसले गोठ मालिकहरू (ranchers) र कृषि–पूँजीपतिहरूलाई आगो निभिसकेपछि त्यहाँको जमिनबाट नाफा कमाउनबाट रोक्न र ती जमिनबाट नाफाखोरी होइन बरु जङ्गलको पुनस्थापना गर्न सकियोस् भनेर अमेजनमा लागेको आगोद्वारा प्रभावित क्षेत्रका जमिनको खरिदबिक्रीमाथि प्रतिबन्ध लगाएका छन । मोरालेसले ‘सुपर ट्याङ्कर’ को मद्दतले बोलिभियामा पर्ने अमेजन जङ्गलको एउटा क्षेत्रमा लागेको आगो नियन्त्रण गरिसकिएको पनि घोषणा गरे।
मंगलबार राती रोबोरेमा ‘आपतकालीन मन्त्रीमडल’ र आगो निभाउनमा खटिएका मानिसहरूसँगको भेटपछि बोलिभियाका राष्ट्रपति एभो मोरालेसले आगोद्वारा प्रभावित क्षेत्रका जमिनको खरिदबिक्रीमाथि प्रतिबन्ध लगाइएको र आगोद्वारा प्रभावित क्षेत्रमा त्यहाँ भएको नोक्सानीको पुनर्स्थापना स्वरूप उक्त क्षेत्रमा एकीकृत पर्यावरणीय योजना लागु गरिने घोषणा गरेका छन्।
मोरालेसले, “म तपाईंहरूलाई बताउन चाहन्छु कि ‘पर्यावरणीय विराम’ लगाउने घोषणा गर्दछु, यसको अर्थ आगोले प्रभावित क्षेत्रका जमिनको बिक्रीबट्टामाथि प्रतिबन्ध लगाईएको छ र यस विपत्तिमाथि विजय पाउन आगो निभेपछि गरिने कामको योजना बनाइरहेका छौं” भने।
यी उपायहरूले जङ्गलमा आगो झोसेर जमिन खाली गराई गोठ राख्ने वा अन्य गतिविधि सञ्चाल गर्नेहरू निरुत्साहित हुनेछन् भन्ने आश गर्न सकिन्छ। यस्ता गतिविधि ब्राजिलमा अत्यधिक प्रचलनमा छन् र अमेजन क्षेत्रको जङ्गलको ठूलो हिस्सा फडानीका लागि जिम्मेवार छन्। यो कदम चालिनाले कृषि–पूँजीपतिहरूले उक्त जमिनको शोषण गर्नसक्ने छैनन् र आगो निभेपछि त्यहाँ पुन वृक्षारोपण गर्न सकिन्छ।
एउटा जङ्गलमा लागेको आगो निभाइसकिएको छ
‘पर्यावरणीय विराम’ लगाइएको घोषणा साथै मोरालेसले बोलिभियाली सरकारले ठेक्कामा लिएका ‘सुपर ट्याङ्कर’ को प्रयोगद्वारा अमेजनको ‘जर्मन बुस्च (German Busch) प्रान्तको ओटुक्वीस जङ्गलमा लागेको आगो नियन्त्रण गरिसकिएको बताए।
ओटुक्वीस जङ्गलको आगो नियन्त्रणलाई आगोमाथिको महत्वपूर्ण विजयको रूपमा लिइएको छ । समाचार अनुसार ‘सुपर ट्याङ्कर’ ले २६२.३०५ हेक्टरमा फैलिएको ”टुकाभाका” पर्यावरण संरक्षण क्षेत्रमा आगो फैलनबाट रोकेको छ। चिक्वीटानिया क्षेत्रमा लागेको आगो उक्त संरक्षण क्षेत्रमा पुग्ने अनुमान गरिएको थियो।
आगो निभाउने अभियान थालेको केहि दिनमै १८ लाख ९२ हजार ३३० लिटर पानी आगोमाथि खन्याई सकिएको छ जसमध्ये ‘सुपर ट्याङ्कर’ ले मात्र ९ लाख ७९ हजार लिटर पानी छर्कियो। यसका अतिरिक्त ५ वटा हेलिकप्टरले ८लाख ७३ हजार ७२० लिटर र भाडामा लिइएका जहाजले ३९,६१० लिटर पानी आकाशबाट झारे।
यु एन ले बोलिभियाको वामपन्थी सरकारको आगो निभाउने प्रयासको प्रशंसा गरेको छ । यो सबै ठूलो शक्ति परिचालन र क्षेत्रभर मोरालेसले गरेको आह्वानले सफल भएको हो। जब कि ब्राजिलको दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले बोलिभियाको तुलनामा धेरै कम सफलता प्राप्त गरेकाछन्। उनले जी ७ ले आगो नियन्त्रण गर्न आर्थिक सहयोग (funding) गर्ने आग्रहलाई अस्वीकार गरेका छन् र उनको सरकारले आगो निभाउन के–कस्ता प्रयत्न गरिरहेका छ भनी देखाउन सामाजिक सञ्जालमा नक्कली (झुठा) तस्वीरहरू शेयर गरिरहेका छन्।