बर्तोल्त ब्रेख्तको वास्तविक नाम आचर्न बर्थोल्ड फ्रीडरिक ब्रेख्त हो। उनका लागि कविता रचना गर्नु र नाटक लेख्नु दुई फरक कुरा थिएनन्। आफ्ना कविताबारे ब्रेख्तको भनाई के थियो भने उनले प्रायः नाटकका लागि काम गरेका छन्, त्यसैले सधैं नै बोलीचालीको भाषामा सोचेका छन्। बोलीचालीको यस भाषालाई कवितामा विशेष ढङ्गले राख्ने टेकनिक (प्रविधि) लाई उनी ‘भङ्गिमा’ भन्ने गर्दथे।
प्रतीकवाद र रोमान्सलाई समाप्त पार्ने काममा ब्रेख्तको ठूलो भूमिका रह्यो। त्यति मात्र होइन, जर्मन साहित्यका केही पुराना परम्पराहरूको आड लिएर उनले छन्द, कथाशैली, लोकगीत र उखान–टुक्काहरूलाई आफ्ना कवितामा पुराना कविमध्येका हेनरिख हाइनेले जत्तिकै सशक्त रुपले उपयोग गरे। ब्रेख्तका कविताहरूमा तिखो तर साधारण भाषा पाइन्छ। व्यङ्ग्यको प्रवाहले शैलीलाई बाँधेको हुन्छ। एउटै कवितामा थुप्रै आरोह–अवरोह, असम्बद्धता वा तेल र तेजाबको गन्ध एकै पटक हेर्न पाइन्छ।
युद्धका विरोधी
बर्तोल्त ब्रेख्तको जन्म १० फरवरी १८९८ मा जर्मनीको बाभेरिया प्रान्तको अग्सबर्ग नामक शहरोन्मुख गाउँमा भएको थियो। अग्सबर्गमा उनका बाबु एउटा कागज कारखानामा प्रबन्ध निर्देशक थिए। आमा बाबुको सम्बन्ध किसान परिवारसित थियो। उनका बाबु एक रोमन क्याथोलिक थिए र आमा लुथर मतकी अनुयायी थिइन्। बालककालमा ब्रेख्तको पालनपोषण लुथर पद्धतिबाटै भयो। प्राथमिक र माध्यमिक स्कुलसम्म शिक्षा अग्सबर्गमा पूरा गरेपछि सन् १९१७ को शिशिर (माघ–फागुनको महिना) मा ब्रेख्तले म्युनिख विश्वविद्यालयमा चिकित्साशास्त्रको पढाइमा प्रवेश गरे ।
तर डाक्टरी पढ्ने क्रममा उनको रुचि बढीजसो कविता र नाट्य–लेखनतिरै रहिरह्यो। उनका केही प्रारम्भिक कविता अग्सबर्गको एक अखबारमा पहिल्यै प्रकाशित भइसकेका थिए। पहिलो विश्वयुद्धको अन्तिम वर्षमा ब्रेख्तलाई सेनामा भर्ती हुन बोलाइयो। किनभने उनी चिकित्साशास्त्रको पढाइ गर्दै थिए। यसकारण उनलाई लडाइँको अग्रिम मोर्चामा नपठाएर सेनाको चिकित्सा कोरमा भर्ना गरियो। सेनाको नोकरीले उनको जीवनमा जुन प्रभाव पा-यो, त्यसको परिणामस्वरूप उनी जीवनभर युद्धका विरोधी वा शान्तिको पक्षमा रहे। यो शान्तिकामी दर्शनको प्रभाव पछि गएर उनको राजनीतिक दृष्टिकोणमा पनि प-यो।
सुरूका वर्षहरूमा ब्रेख्तका केही खास मित्रहरूमा सबभन्दा बढी मिल्ने साथी पेन्टर–डिजाइनर क्यास्पर नेहर थिए। उनी अन्तिम समयसम्म पनि ब्रेख्तका घनिष्ठ सहयोगी रहिरहे। ब्रेख्त आफ्ना गाथा–कविता (ब्याले) आफै लेख्थे, आफै तिनमा सङ्गीत भर्दथे र अनि आफ्ना मित्रहरूलाई यी गीत आफै गाएर सुनाउँथे।
लेखन यात्रा
उनले पहिलो नाटक ‘बल’ सन् १९१८ मा लेखे। यस नाटकमा एक जना युवा कविका त्यस्ता उदात्त भावनालाई नाट्यकथाको आधार बनाइएको छ, जो जीवनको नशामा मस्त भएर यति बढी उन्मत्त हुन्छ कि ऊ सम्पूर्ण सामाजिक परिपाटीलाई तिलाञ्जली दिएर आवारा र हत्यारा बन्न पुग्दछ।
शासक विलियम केइसरको पतन भएपछि ब्रेख्त फेरि म्युनिख फर्किए। युनिभर्सिटीको पढाइतिर उनको यसपटक पनि त्यति ध्यान गएन र नाटकहरूको लेखन–मञ्चनतिरै उनको बढी अभिरूचि रह्यो। केही समयसम्म उनी अग्सबर्गबाट प्रकाशित हुने एउटा वामपन्थी अखबार दर भोक्सविलेको नाट्य समीक्षक पनि भए। सन् १९१९ मा ब्रेख्तले आफ्नो दोसो नाटक ड्रम्स इन दि नाइट मञ्चन गर्न लियोन फेख्तवाङ्गलाई दिए। फेख्तवाङ्गर त्यतिखेर म्युनिखस्थित ‘कामरस्पीले थिएटर’का साहित्यिक सल्लाहकारमध्येका थिए।
पछि उनले उपन्यास लेखनमा पनि निकै नाम कमाए। ब्रेख्तसित फाख्तवाङ्गरको मित्रता पनि जीवनभर रह्यो। फाख्तवाङ्गरले ‘ड्रम्स इन दि नाइट’लाई उच्चस्तरीय नाटक मानेर त्यसको खुबै प्रशंसा गरे। २९ सेप्टेम्बर १९२२ मा यस नाटकको पहिलो मञ्चन भयो र यसैसित एक सफल र सक्षम नाटककारका रूपमा ब्रेख्तले चाँडै मान्यता पाए। मेधावी युवा प्रतिभालाई दिइने गरेको त्यस वर्षको ‘क्लाइस्ट पुरस्कार’ पनि यस नाट्य–रचनाका लागि ब्रेख्तलाई दिइयो। नाटककारका रूपमा पाएको यो पहिलो सफलताको उल्लासमा ब्रेख्तले त्यसै वर्ष नोभेम्बर महिनामा युवा अभिनेत्री मारियाने जोफसित बिहे गरे।
पुँजीवादमाथि प्रहार र दादा आन्दोलन
ब्रेख्तको नाटक ‘ड्रम्स इन दि नाइट’को कथामा माक्र्सवादको प्रभाव छैन। संक्षेपमा यस्तो कथा यस्तो छः पहिलो विश्वयुद्धताका युद्धमोर्चाबाट घर फर्कदा एकजना सिपाहीले आफ्नी प्रेमिकालाई अर्कैले गर्भवती बनाएको पाउँछ। यस्तो अवस्थामा प्रेमिकाको कामबाट खिन्न भएर जनवरी १९१९ को स्पार्टाकिस्ट्सको कम्युनिस्ट क्रान्तिकारी विद्रोहमा भाग लिनुको सट्टा त्यो सिपाही त्यही प्रेमिकासित सुविधाभोगी जीवन बिताउन पो राजी हुन्छ। यस नाटकपछि ब्रेख्तले सन् १९२१ मा ‘इन दि जङ्गल अफ सिटिज’ नाटक लेखे। यसमा उनको दिशाहीन दृष्टि जारी रह्यो।
यस नाटकको पहिलो प्रदर्शन मार्च १९२३ मा म्युनिखमा भएको थियो। सन् १९२४ मा ब्रेख्त त्यतिखेरको जर्मनीको राजनीतिक र रङ्गमञ्चीय दुवै गतिविधिको प्रमुख केन्द्र बर्लिन गए। त्यहाँ उनले म्याक्स राइनहर्ट्सको डोयचे थिएटरमा केही समयसम्म नाटक लेखक एवं सम्पादन सहयोगीका रुपमा काम गरे। बर्लिनमा उनी विशेषतः वामपन्थी कलाकार र बुद्धिजीवीहरू माझ लोकप्रिय हुँदै गए र केही समयमै यस वृत्तको केन्द्रबिन्दुका रूपमा स्थापित भए। सन् १९२८ मा उनले पहिलो पत्नी मारियाने जोफसित पारपाचुके गरे र अभिनेत्री हेलेने वाइगलसित बिहे गरे।
ब्रेख्तको कलाको मुख्य प्रवृत्ति पुँजीवादी दृष्टिमाथि तीव्र प्रहार गर्नु थियो। वास्तवमा पहिलो विश्वयुद्धको अन्त्यमा जर्मनीका जनता नराम्रो किसिमले अपमानित र सन्त्रस्त भइसकेका थिए। त्यो बेला ब्रेख्तका केही साहित्यिक मित्र कला र साहित्यको ‘दादा आन्दोलन’सित सम्बन्धित पनि थिए। स्थापित व्यवस्थाविरूद्ध नकारवादी आन्दोलनका रुपमा दादा आन्दोलनको थालनी सन् १९१६ को वरिपरिबाट ज्युरिख, स्विट्जरल्याण्डमा भएको थियो र सन् १९२० को आधा–आधीसम्ममा यस आन्दोलनका गतिविधिको प्रमुख केन्द्र पेरिस बन्न पुगेको थियो।
‘दादा आन्दोलन’का समर्थकले पुँजीवादी कला मूल्यलाई समाप्त पार्ने अभिभारा लिएका थिए। पुँजीवादी मूल्यमाथि तीखो प्रहारको उदाहरण ब्रेख्तको त्यस अवधिमा लेखिएको घरेलु स्रोत सङ्ग्रह शीर्षकको कविता सङ्ग्रहमा पाइन्छ ।
यी कविताको अङ्ग्रजी अनुवाद एरिक बेन्टलीले सन् १९२७ मा ‘म्यानुअल अफ पिटी’ नाम दिएर प्रकाशित गरेका थिए। यी कवितामा एक युवा व्यक्तिका त्यस्ता भावना छन्, जसले आफूमाथि चारैतिरबाट भाग्य, युद्ध, यौनाकाङ्क्षा र मृत्युले आक्रमण गरेको र यस आक्रमणबाट एकदमै सन्त्रस्त भइरहेको पाउँछ। यसपछि ब्रेख्त जति–जति इतिहासको सुसङ्गत एवं वैज्ञानिक विवेचनायुक्त माक्र्सवादी विचारको प्रभावमा आए, त्यति–त्यति यो अराजक नकारवादको प्रभाव उनका रचनामा हराउन थाल्यो।
मार्क्सवादको प्रभाव
यसपछि ब्रेख्तले मार्क्सवादी विचारधारालाई नै त्यस्तो एक मात्र उपाय माने, जसको माध्यमबाट मानिसका दुःखको समाप्ति हुन सक्दछ। बीसौं शताब्दीको तेस्रो दशकका अन्तिम वर्षहरूमा ब्रेख्तलाई मार्क्सवादी विचारधाराबाट परिचित गराउने व्यक्ति थिए कार्ल कोर्श । उनी एकजना प्रखर मार्क्सवादी चिन्तक हुनुका साथै राइखस्टाग (जर्मन संसद्)मा कम्युनिस्ट सदस्य पनि भइसकेका थिए।
प्रयोगधर्मी नाटक ‘बाल’को अवधिमा ब्रेख्त अत्यधिक यौवनानन्दमा मग्न थिए। यसपछि केही समयसम्म उनमा फ्रान्सेली प्रतीकवादी कवि पल वरलीन, अर्थर रिम्बाउ, अङ्ग्रेजी उपन्यासकार रुडयार्ड किपलिङ, जर्मन नाटककार ज्यार्ज बूखनेर र फ्राङ्क वेडेकिन्डको पर्याप्त प्रभाव परेको थियो । माक्र्सवादी विचारधाराबाट प्रभावित भएर उनले लेखेको पहिलो रचना ‘म्यान इज म्यान’ हो। यो नाटक पहिलोपटक ड्रामस्टडमा सेप्टेम्बर १९२६ मा मञ्चन गरिएको थियो ।
त्यसको झण्डै दुई वर्षपछि बर्लिनको सिफ बाउरदम थिएटरमा उनको नाटक ‘श्रीपेनी अपेरा’को मञ्चन भयो। यसले ब्रेख्तलाई आशातीत ख्याति दिलायो। यो नाटक अत्यधिक लोकप्रिय हुनुको एउटा ठूलो कारण कुर्त वेइलको मोहक संगीत पनि थियो। ९ मार्च १९३० मा लाइपसित्गमा एउटा अर्को ‘अपेरा राइज एन्ड फल अफ दि सिटी महोगनी’को सफल मञ्चन भयो। यसको संगीत पनि कुर्त वेइलले नै निर्माण गरेका थिए। यी नाटकमा ब्रेख्तले अराजकता, यौनलिप्सा, लोभ र हिंसालाई पुँजीवादी समाजको निरङ्कुशता र स्वार्थको देन मानेका छन्।
मार्क्सवादी आत्मानुशासन
यही क्रममा ब्रेख्तले अरु पनि थुप्रै शिक्षाप्रद नाटक र अपेरा लेखे। ती नाटकको उद्देश्य आमजनतालाई माक्र्सवादको आत्मानुशासन र आत्मनिषेधलाई बुझाउनु हो। उल्लेखनीय के छ भने यी शिक्षात्मक नाटकमा पनि ब्रेख्तले कलात्मकताका उन्नत मापदण्डलाई राम्ररी स्थापित गरेका छन्। के प्रस्ट छ भने यस्तो गर्दा उनले आफ्नो प्रारम्भिक लेखनको ओजस्विता र स्पष्ट कथनशैलीलाई निपुणताका साथ निर्वाह गरेका छन्। यस श्रृङ्खलाअन्तर्गत लेखिएका नाटकहरूमा मार्क्सवादी आत्मानुशासनको कतिसम्म पालन गरिएको छ भने व्यक्ति स्वयम् आफ्नो बलिदान गर्नसम्म राजी हुन्छ। ‘ही हु सेज यस एन्ड ही हु सेज नो’ नाटक पनि सामूहिक उद्देश्यका लागि आत्मोत्सर्गको समस्यामा केन्द्रित छ। सन् १९३० मा मञ्चन गरिएका दुई नाटक ‘दि एक्सेप्सन एन्ड दि रुल’ र ‘दि मेजर्स टेकन’ पनि शिक्षात्मक नाटकमध्येका उत्तम मानिन्छन्।
‘फैसला’ ब्रेख्तको शिक्षात्मक नाटकमा उत्कृष्ट कृति मानिन्छ। यसको संगीत हान्स आइसलरले तयार पारेका थिए। यस नाटकको कथामा के देखाइएको छ भने चिनियाँ क्रान्तिको क्रममा अनुशासन भङ्ग गर्ने एक कम्युनिस्ट युवा क्रान्तिकारी पछि आफूलाई सफाया गरियोस् भन्नेमा राजी हुन्छ। ऊ के तर्क दिन्छ भने यस्तो गरेको खण्डमा जुन जनसङ्घर्षलाई उसले खतरामा पारेको हो, त्यो पुनः जारी रहन सक्दछ।
यी साना शिक्षात्मक नाटकहरूपछि ब्रेख्तले दुईटा लामा शिक्षात्मक नाटक अरु लेखे। यस श्रृङ्खलामा पहिलो लामो नाटक उनले माक्सिम गोर्कीको उपन्यास ‘आमा’को कथालाई आधार बनाएर यही शीर्षक दिएर लेखे। यसको मञ्चन १२ जनवरी १९३२ मा भयो। दोस्रो नाटक उनले ‘सेन्ट जोन अफ स्टकयाई’ लेखे। यस नाटकमार्फत् उनले सन् १९२९ को भयानक आर्थिक मन्दीका कारणलाई शिकागो मासुबजारको उतार–चढावको माध्यमबाट अनावरण गरे। जतिखेर यो नाटक लेखिएको हो, त्यतिखेर जर्मनीको राजनीतिक स्थिति धेरै बिग्रिएको थियो, त्यसैले यस नाटकको मञ्चन हुन सकेन। तर धेरै काँटछाँट गरेपछि ११ अप्रिल १९३२ मा यस नाटकको रेडियो रुपान्तर अवश्य प्रसारित गरियो।
निर्वासित जीवन
३० जनवरी १९३३ मा हिटलरले जर्मनीको सत्तामा कब्जा जमाएपछि ब्रेख्तलाई अब जर्मनी बस्न सकिंदैन भन्ने लाग्यो। फलस्वरूप उनको जीवनमा निर्वासनको लामो सिलसिला प्रारम्भ भयो। यसै क्रममा उनी सबभन्दा पहिले जर्मनीबाट निस्किएर डेनमार्क गए। त्यहाँ उनी फिन टापुको सेभेन्डबर्ग नाउँको शहरोन्मुख गाउँमा बसे।
हिटलरको शासनको पहिलो वर्षमा त्यहाँ बसेर उनले लेखेका नाटकको विषयवस्तु धेरैजसो प्रचारात्मक थियो। अतः तिनको महत्व धेरै मात्रामा अल्पकालिक नै रह्यो। उदाहरणका लागि नस्लवादमाथि प्रचण्ड व्यङ्ग्यका रूपमा लेखिएको उनको नाटक ‘दि राउन्ड हेड्स एन्ड दि पिकहेड्स’ र त्यस अवधिमा हिटलरको जर्मनीमा व्याप्त भयलाई देखाउने स–साना एकाङ्की नाटकको संग्रह ‘फियर्स एन्ड मिजरिज अफ दि थर्ड राइख’लाई लिन सकिन्छ। एउटा अर्को नाटक उनले स्पेनी गृहयुद्धको विभीषिकाबारे पनि लेखे, त्यसको शीर्षक ‘सेनोरा क्यारर्स राइफल’ थियो।
मार्च १९३८ मा जर्मनीले अस्ट्रियालाई अधिग्रहण गरेपछि ब्रेख्तले कस्तो अनुभव गर्न थाले भने केही गरे पनि युद्धलाई टाल्न सम्भव छैन र भविष्यमा जे–जस्तो भए पनि अहिलेको परिस्थितिमा यसलाई बदल्नु उनको सामथ्र्यभन्दा परको कुरा हो। यस्तो सोचेर उनले आफ्नो लेखनलाई गम्भीर वैचारिक दर्शनतिर मोड्नु नै सर्वोपरि माने र उनी पूर्ण मनोयोगले त्यही दिशामा संलग्न भए।
यस किसिमले उनको रचनात्मक संसारको सर्वाधिक सृजनात्मक युगको थालनी भयो। उनले आफ्नो प्रारम्भिक जीवनको रचनात्मक उर्जा र शिक्षात्मक युगको वैचारिक अनुशासनलाई गाँसेर यस अवधिमा आफ्ना रचनामा एक गहन काव्यरुपकता प्रदान गरेर त्यसलाई नवीन रुप दिए।
निरन्तर प्रहार
यस अवधिको सर्वाधिक उल्लेखनीय नाटक ‘दि लाइफ अफ ग्यालिलियो’ हो। यस नाटकले एउटा त्यस्तो संसारमा रहेको प्रतिभाशाली वैज्ञानिकको साहसपूर्ण उत्तरदायित्वलाई व्यक्त गर्दछ, जो चारैतिरबाट आफूलाई प्रतिद्वन्द्वीहरूले घेरिएको पाउँछ। यसै अवधिको दोस्रो महत्वपूर्ण नाटक ‘दि गुड वुमन अफ सेचुवाँ’ हो। लोभमा आधारित समाजमा राम्रा मानिस भेटिनु अलिकति पनि सम्भव छैन भन्ने यसको कथासार छ।
उनले ती वर्षको युद्धको त्रासदीका बरोमा अर्को एउटा नाटक ‘मदर करेज एन्ड हर चिल्ड्रेन’ लेखे। यस नाटकमा उनले के देखाएका छन् भने युद्धका त्रूmरताका लागि सोझा– साझा मानिस पनि दोषी हुन्छन्, खासगरी त्यस अवस्थामा जतिखेर यस्ता मानिस आफ्ना सानातिना क्रियाकलापका लागि युद्धमा सहायक हुन्छन् र त्यसलाई महत्व दिने गर्दछन्।
दोस्रो विश्युद्धको खतरा जति –जति प्रस्ट हुन थाल्यो, ब्रेख्तलाई अब आफू डेनमार्कमा बस्नु पनि सुरक्षित छैन भन्ने लाग्न थाल्यो। यही सोचेर उनी अप्रिल १९३९ मा स्वीडेन र त्यसको एक वर्षपछि फिनल्यान्ड गए। फिनल्याण्डको पृष्ठभूमिका उनले नयाँ नाटक ‘मिस्टर पुन्टिला एन्ड हिज सर्भेन्ट माटी’ लेखे।
पुँजीवादी निपुणता र मानवीय उदारता यी दुई तत्वमा सामञ्जस्य हुनु असम्भव छ भन्ने कुरालाई नाटकमा देखाउने प्रयास गरिएको छ। यही अवधिमा उनले दि रेजोस्टिबल राइज अफ अर्तुरी प्रहसन(कयारिकेचर) हो। यसमा हिटलरको तुलनामा शिकागोका हिंसात्मक गुन्डाहरूसित गरिएको छ।
हलिउडमा असफल प्रयास
ब्रेख्त सम्भवतः युरोपको चारैतिर मडारिएको युद्धको खतराबाट बच्न चाहन्थे। प्रतिबद्ध माक्र्सवादी विचारक र कम्युनिष्ट समर्थक हुँदाहुँदै पनि यही कारण उनले सोभियत सङ्घमा बस्न उचित मानेनन्। यद्यपि सन् १९३६ देखि सन् १९३९ सम्म मस्कोबाट प्रकाशित भएको एक जर्मन साहित्यिक पत्रिकाको उनी सहायक सम्पादकका रुपमा कार्यरत थिए।
अतः अमेरिकी भिसा प्राप्त गरेपनि मे १९४१ मा उनी सोभियत सङ्घको यात्रामा निस्किए र सोभियत सङ्घको सम्पूर्ण यात्राको अन्त्यमा भ्लादिभोस्तक पुगे र त्यहाँबाट पानीजहाजमा बसेर अमेरिका गए। उनी अमेरिका पुगेको लगत्तै जर्मनीले सोभियत सङ्माथि आक्रमण ग-यो।
अमेरिकामा पुगेपछि ब्रेख्त सान्ता मोनिका, क्यालिफोर्नियामा बसे। तर बीचबीचमा लामो समयसम्म बस्नेगरी उनी न्युयोर्क पनि गइरहे। हलिउड फिल्म इन्डस्ट्रीमा काम गर्ने प्रयास पनि उनले गरे, तर यस दिशमा उनी धेरै सफल हुन सकेनन्। उनले एउटा मात्र पटकथा सिनेमा–निर्मातालाई बेचे, यसको शीर्षक ‘ह्याङ्गमेलन अस्लो दि’ थियो। सन् १९४२ मा यस फिल्मको निर्देशन प्रसिद्ध निर्देशक फ्रित्स लाङ्गले गरेका थिए।
अमेरिका प्रवासमा ब्रेख्तले आफ्नो अन्तिम महान् नाटक ‘दि ककेशियन चक सर्कल’ पूरा गरे। यसक नाटकमा पनि असलपनको समस्यालाई ज्वलन्त रुपमा चित्रण गरिएको छ र एक आततायी समाजमा न्याय पाउने बाटोमा के कस्ता अप्ठेरा आउन सक्दछन् भन्ने देखाइएको छ।
नमिठो अनुभव
हलिउडमा ब्रेख्तले ब्रिटिस अभिनेता चाल्र्स लागटनलाई भेटे। ‘दि लाइफ अफ ग्यालिलियो’को अङ्गे्रजी रुपान्तरण उनले लागटनसित मिलेर गरे। लागटनले ग्यालिलियोको अङ्ग्रेजी संस्करणको सफल मञ्चन जुलाई १९४७ मा लस एन्लसमा गरे। हुन त अमेरिकामा एक समर्थ नाटककार र कविका रुपमा ब्रेख्तलाई पर्याप्त प्रसिद्धि र मान्यतामा प्राप्त हुन थालेको थियो। तर यसैबीच ३० अक्टोबर १९४७ मा उनले अमेरिका विरोधी गतिविधिको जाँच गर्न गठन गरिएको म्याकार्थी कमिटीसामु साक्षीका रुपमा उपस्थित हुनुप-यो।
यस कमिटीले हलिउडको सिनेमा जगतमा कम्युनिस्ट समर्थकहरूबारे जाँचबुझ गर्दै थियो। म्याकार्थी कमिटीसामु ब्रेख्तले आफ्नो हाजिरी–जवाफी र तीक्ष्ण बुद्धिमत्ताको अद्भुत परिचय दिए। तर समग्रमा यो अनुभव उनलाई अत्यन्त अप्रिय लाग्यो। त्यसैको भोलिपल्ट उनले अमेरिका छाडे र युरोपका लागि प्रस्थान गरे।
अमेरिकाबाट फर्किएपछि ब्रेख्त सर्वप्रथम स्विट्जरल्याण्ड गएर बसे। यहाँ बस्दाबस्दै उनले आफ्नो विचारधाराका नाटकहरूको मञ्चन राम्ररी कहाँ गर्न सकिएला भनेर सम्भावनाको खोजी पनि गरे। यसका लागि उनी अस्ट्रियालाई उपयुक्त मान्दथे, किनभने त्यहाँको भाषा पनि जर्मन थियो र त्यहाँबाट उनी पूर्वी तथा पश्चिमी दुवै जर्मनीमा आउन जान सक्दथे।
जर्मनीमा फिर्ति
यसबीच एउटा त्यस्तो मौका पनि आयो, जतिखेर उनलाई साल्सबर्ग महोत्सवमा कला निर्देशकको पद पाइने सम्भावना छ भन्ने लाग्यो। फलस्वरूप उनले अस्ट्रियाली नागरिकताका लागि अनुरोधपत्र दिए पनि। तर यतिखेरै अक्टोबर १९४८ मा ‘मदर करेज’को मञ्चनका लागि उनले पूर्वी बर्लिनको निम्तो पाए। पूर्वी बर्लिनमा यो नाटक अति सफल भयो। नाटकको मञ्चनपछि ब्रेख्त पुनः ११ जनवरी १९४९ मा ज्युरिख फर्किए। ज्युरिख पुगेर उनले फेरि अस्ट्रियाको नागरिकता प्राप्त गर्न नयाँ रुपले दबाब दिन मात्र के थालेका थिए, पूर्वी जर्मनीबाट त्यहाँ रहेर उनले आफ्नै नाट्यमण्डलीको सञ्चालन गर्न सक्दछन् भन्ने आशयको प्रस्ताव आयो।
यो प्रस्ताव उनलाई मन प-यो र अन्ततः उनले पूर्वी जर्मनी जाने निधो गरे। त्यहाँ पुगेर उनी ‘बर्लिनर इनसेम्बले’को स्थापनामा लागिपरे। १२ नोभेम्बरमा ‘पुन्तीला’ नाटकको मञ्चनका साथै उनले विधिवत् रुपले इनसेम्बलेको उद्घाटन गरे। पूर्वी बर्लिनमा काम गर्न थालेपछि पनि ब्रेख्तले निरन्तर आफ्ना नाटकको मञ्चन पूर्वी जर्मनीभन्दा बाहिर पनि होस् भन्ने चाहे। त्यसैले उनले अस्ट्रियाली नागरिकता लिने प्रयास गरे र सन् १९५० मा यसको स्वीकृति पनि पाए। यसका साथै उनले आफ्ना नाटकको सर्वाधिकार पनि पश्चिमी जर्मनीको प्रकाशक सुरकाम्प फेरलागलाई दिए।
यसरी उनले पूर्वी जर्मनीको बाध्यता (सेन्सरशिप) बाट आफूलाई धेरै मात्रामा मुक्त गरेका थिए र पश्चिम जर्मनीमा धेरथोर कमाइको माध्यमलाई खुला राखेका थिए। पूर्वी बर्लिनमा ब्रेख्तले आफ्नो निर्वासनकालमा लेखेका नाटकको मञ्चन गरे। मञ्चनको क्रममा उनले आफ्नो विचारधाराअनुरूप यी नाटकमा आवश्यक संशोधन र सम्वर्धन पनि गरे। पूर्वी जर्मनी आउनुअघि सन् १९४८ मा ज्युरिखमा रहेका बेला उनले आफ्नो संक्षिप्त नाट्यशास्त्र पनि तयार पारेका थिए।
नयाँ–नयाँ प्रयोग
आफ्ना नाटकका लागि आफूले प्रतिपादन गरेको विचारधारालाई ब्रेख्तले महाकाव्यात्मक (एपिक) थिएटरको नाम दिए। उनले अभीष्ट माक्र्सवादी नाटक त्यसैलाई माने, जुन नाटक अरस्तूवादी नाटकहरूको परम्पराबाट पृथक हुन्छ, जुन नाटकमा दर्शकले मञ्चमा भइरहेका सबथोक उसकै अघि तत्काल घटित भएको हो भनेर हेर्दछ।
यस विपरीत ब्रेख्त के मान्दथे भने अतीतका नायकहरूः ओडिपस, किङ लियर अथवा ह्याम्लेटका मनोभावको आजका दर्शकमा उनका युगमा भएझै प्रतिक्रिया हुन्छ भन्ने मान्ने हो भने मानवीय स्वभाव स्थिर नभएर निरन्तर परिवर्तनशील परिस्थितिमा परिवर्तनशील हुन्छ भन्ने माक्र्सवादी दर्शनको विचारधारा गलतसिद्ध हुनेछ। त्यसैले ब्रेख्तले के तर्क दिए भने नाटकले आफ्ना पात्रद्वारा मञ्चमा घटित देखाइएका जे–जति कुरा हुन्, त्यससित दर्शकको तादात्म्य स्थापित गर्ने प्रयास एकदमै गर्नु हुन्न र दर्शकको दिमागमा पात्रहरूको ऐतिहासिकताको ‘सत्य’ घुसाउने प्रयत्न गर्नु हुन्न।
बरू यस विपरीत नाटकले लोकगायकको कलाले खेल्ने गरेझै भूमिका खेल्नुपर्दछ, जसमा दर्शकलाई निरन्तर के आग्रह गरिन्छ भने उसले जेजति मञ्चमा घटित भएको दृश्य हेर्दैछ, त्यो मात्र अतीतको लेखाजोखा हो, त्यसलाई दर्शकले आफ्नो तीक्ष्ण दृष्टिसहित केही दूरी राखेर (विथ डिट्याचमेन्ट) हेर्नुपर्ने हुन्छ। समग्रमा ब्रेख्तले आफ्नो एपिक थिएटरको आधार वर्णनात्मक (न्यारेटिभ) अथवा अनाटकीय (अनड्रामाटिक) लाई नै माने। एपिक थिएटरको सम्बन्ध उनले सीधै अलगाव/पृथकपन/परकीयपन/दूरस्थता अथवा अन्तरजस्ता तत्वहरूसित जोडे।
यसरी पार्थक्य प्रभाव (एलिएनेसन एफेक्ट) उत्पन्न गर्न उनले आफ्ना नाटकमा थुप्रै किसिमका विधिको प्रयोग गरे। यसको माध्यमबाट दर्शकलाई बारम्बार उसका अघि मञ्चमा यथार्थलाई कुनै भ्रमका रुपमा देखाइएको नभएर मानव स्वभावको एक नमुनाका रुपमा प्रस्तुत गरिंदैछ भनेर सचेत बनाइन्छ। अर्थात् दर्शकमात्र एउटा नाटक हेर्दैछ, कुनै वास्तविकता होइन।
‘कमेडी’को सम्मिश्रण
वाल्टर बेन्जामिनले ब्रेख्तको एपिक थिएटरमाथि टिप्पणी गर्दै भनेका थिए–त्यसले एकैपटक दुई किसिमको प्रभाव दर्शकमाथि पार्दछः ब्रेख्त जहाँ नाटकीय तत्वहरूलाई ध्वस्त पार्दछन्, त्यहीँ उनी दर्शकलाई सोच्न बाध्य पार्नुका साथै एउटा अर्कै किसिमको हास्य उत्पन्न गरेर दर्शकलाई तनावमुक्त पनि पार्दछन्। वाल्टर बेन्जामिन ब्रेख्तियन थिएटर (एपिक थिएटर) लाई समयको गर्भबाट फुटेको एउटा त्यस्तो वेगवान् सतरङ्गी धारा मान्दथे, जुन केही छिनसम्म आकाशमा फन्को मार्दै फेरि समयको गर्भमा आएर समाप्त हुन्छ।
युवा माक्र्सवादी आलोचकहरूमा टेरी इगलटनको भनाइ के छ भने अर्ट ब्लाख, जर्ज लुकाच, बर्तोल्त ब्रेख्त, वाल्टर बेन्जामिन र थियोडर अडोर्नोमध्ये ब्रेख्त नै त्यस्ता लेखक हुन्, जसमा कमेडीको तत्व पाइन्छ। केही आलोचकले ब्रेख्तका रचनामा कमेडी, विनोदप्रियता (ह्युमर) र विचारको एकैसाथ अद्भूत सम्मिश्रण भएको पाएका छन्। जीवनका अन्तिम वर्षमा ब्रेख्त आफ्ना नाटकको विचारधारालाई द्वन्द्वात्मक नाटकको संज्ञा दिन थालेका थिए। तर धेरथोर यो नाम पनि ‘एपिक थिएटर’को स्थानापन्नै थियो।
एक खास विश्व–दृष्टिकोणको माध्यमबाट ब्रेख्तका नाटकमा जुन रचनात्मक संश्लिष्टता उत्पन्न भयो, त्यसकै फलस्वरूप आधुनिक नाटकलाई त्यस्तो गहिरो अन्तर्दृष्टि र चारित्रिक समृद्धिप्राप्त भयो। ब्रेख्तभन्दा अघि लेखिएका तथाकथित आधुनिक नाटकहरूमा यसको नितान्त अभाव थियो।
समाजवादी कविको अवसान !
सन् १९२० को वरिपरि जुन ब्रेख्त आफ्नो रचना–संसारमा अत्यन्त उद्दण्ड र स्वेच्छाचारी थिए, तर छैटौं दशकको पूर्वार्द्धमा तिनै ब्रेख्त पूर्वी जर्मनीका समाजवादी समाजको शिखर पुरुषका रुपमा स्थापित भए। उनको निर्देशनमा बर्लिनर इनसेम्बलेले विश्वव्यापी प्रसिद्धि प्राप्त ग¥यो। उनले पूर्वी जर्मनीमा वाल्टर उलबिखतको शासनकाल (सन् १९५१) मा मात्रै केही कठिनाइ भोग्नुप-यो। उलब्रिख्त शासनले सन् १९४० मा प्रसारित रेडियो नाटकको आधारमा लेखेको ब्रेख्तको ‘अपेरा दि ट्रायल अफ लुकुलस’ लाई केही समय मञ्चन गरिसकेपछि शान्तिवादको पोषक भएको आरोप लगाएर प्रदर्शन गर्ने अनुमति दिन अस्वीकार गरेको थियो।
सन् १९५४ मा बर्लिनर इनसेम्बले आफ्नो निजी भवन–सिफ बाउरदम थिएटरमा स-यो। यहाँ एकताका सन् १९२८ तिर ब्रेख्तको नाटक ‘श्री पेनी अपेरा’ले औधी नाम कमाएको थियो। मे १९५५ मा ब्रेख्तलाई लेनिन शान्ति पुरस्कारले सम्मानित गरियो र पुरस्कार लिन उनी मस्को गए। २७ अगस्त १९५६ देखि बर्लिनर इनसेम्बलेको टीम आफ्ना नाटकको प्रदर्शन गर्न लण्डन जानुपर्ने थियो। तर यसको केही दिन अघि मात्रै मङ्लबार १४ अगस्त १९५६ मा हृदयाघातका कारण बीसौं शताब्दीका यी महान् कवि–नाटककारको देहान्त भयो।
सरल भाषामा सर्वसाधारणका कुरा
नाटकका लागि एक अभीष्ट माक्र्सवादी सौन्दर्यशास्त्र निर्माण गर्ने प्रयासमा ब्रेख्त कतिसम्म सफल भए, यस प्रश्नमा विद्वान्हरूबीच आजसम्म पनि मतभेद छ। तर पनि एक समर्थ नाटककार र त्यसभन्दा पनि बढी एक सशक्त कविका रूपमा उनको प्रतिष्ठा विश्व रङ्गमञ्च र कविताको फलकमा आज पनि सन्देहरहित छ। सामाजिक र राजनीतिक चेतनालाई लेखनको पहिलो सर्त मान्दै ब्रेख्तले माक्र्सवादको द्वन्द्वात्मक सिद्धान्तलाई कवितामा कायम राखे।
व्यक्ति र समूहबीचको वास्तविक द्वन्द्वलाई बलियोसित पक्रँदै उनले विशेषगरी छोटा कविता धेरै लेखे। शब्दको भरमारबाट कवितालाई जोगाए र भाषाका भड्किला कपडालाई फ्याँकेर आवरणहीन र कम्पायमान भाषालाई समाजको तल्लो वर्गसम्म पु¥याए, जहाँ यस दापबिनाको भाषाले कवितालाई हतियारको रूप दिन सक्यो।
दुई ठूला युद्धको अवधिमा मात्रै होइन, युरोप र अमेरिकाका बुर्जुवा कविहरूले कवितालाई विलासको साधन मान्दै त्यसलाई केवल सुविधाभोगी, सम्पन्न र पढेलेखेका मानिसको सम्पत्ति ठानेका बेला पनि उनी दरिलोसित आफ्ना कवितामा जनपक्षधरको नाताले लडी नै रहे। उनको यो कविता जर्मन साहित्यको समकालिक मात्र होइन कुनै पनि युगको साहित्यको अमूल्य धरोहरका रुपमा सुरक्षित राख्न लायकको छ।
दुःखको कारणको खोजी
कला र राजनीतिबारे आफ्ना विचार व्यक्त गर्दै ब्रेख्तले के प्रस्ट पारे भनेः कलाको महत्व त्यतिखेरसम्म हुन्छ जहिलेससम्म मनुष्य जातिको अस्तित्व रहिरहन्छ, मनुष्यको अस्तित्व समाप्त भएको खण्डमा कला पनि आफै नष्ट हुनेछ। अति धेरै सुन्दर शब्दलाई एकै ठाउँमा जोड्नाले मात्र त्यो कला बन्दैन भन्ने भनाइ पनि उनको थियो। मात्र यही कारण उनले आफ्ना कवितामा एक ग्रामीण काव्यभाषाको संसार पनि निर्माण गरे र अन्तिमसम्म यस लोकभाषाको जबर्जस्त समर्थक भइरहे।
नाटक र कविताका अतिरिक्त कौयनर महोदयका कथाहरू र ‘ब’ महोदयका कथाहरूमा ब्रेख्तले शब्दहरूमा जुन मितव्ययिताको परिचय दिए, त्यो पनि अन्यत्र दुर्लभ छ। जर्मन साहित्यका एक समीक्षक सीगफ्रीडले ब्रेख्तका यी छोटा कथालाई जर्मन गद्यका रत्न भनेका छन्। उनको के पनि मान्यता छ भने ‘क’ महोदयको मनपरेको जनावर कथा निश्चित रूपले ब्रेख्तको आत्मचित्र (सेल्फ पाट्रेट) हो अर्थात् ब्रेख्तको नैतिकता, शिक्षाहरू र बुद्धिमानीको मिल्दोजुल्दो रूप हो। ‘क’ (कौयनर) सिरिजका कथामा ‘क’ महोदय कि त ब्रेख्त स्वयम् हुन् वा नभए कम्युनिस्ट विचारबाट सम्पन्न व्यक्ति कोही हो भने ‘ब’ सिरिजमा स्वयम् ब्रेख्त नै ‘ब’ हुन्। ‘ब’ सिरिजको अङ्ग्रजी अनुवाद पनि धेरै कम देख्न पाइन्छ।
माक्र्सवादप्रतिको ब्रेख्तको प्रतिबद्धताले उनलाई लेख्ने गहन व्याकुलता प्रदान ग¥यो। त्यसले त्यस्तो सशक्त दृष्टिकोण पनि दियो, जसको माध्यमबाट उनी संसारमा जेजति घटना घटित हुने गरेका छन्, तिनको वैज्ञानिक सर्वेक्षण–विश्लेषण प्रस्टसित गर्न सक्षम भए। उनीभित्र एउटा मानवीय कविको जुन इमानदारी र छटपटी थियो, त्यसले उनलाई चरित्रहरूको जीवन्त सत्यबाट कहिल्यै अलग हुन दिएन।
आफ्ना रचनामा उनले दुःखको वर्णन मात्रै गरेनन्, बरु दुःखका कारणको जाँचबुझ पनि गहिरोसित गरे। यसरी नाटकका पात्रको चित्रण गर्दा उनले एकातिर इमानदार नाटककारको भूमिका खेले भने अर्कातिर यही सत्यनिष्ठाका कारण अन्तिम अवधिका नाटकमा उनी मूलभूत उद्देश्यभन्दा निकै अघि बढे। यद्यपि तिनको अवधारणा माक्र्सवादी पाठ अनुरुपै थियो। एक सत्यनिष्ठ, इमानदार र मानवीय व्यक्तिको रचनात्मक संवेदनाको यो उच्च छलाङ्गले नै ब्रेख्तलाई एक महान् कवि र नाटककारका रुपमा स्थापित ग¥यो।
निनु चापागाईँको ब्रेख्त र ब्रेख्त पुस्तकबाट