विश्वभर कोभिडविरुद्ध भ्याक्सिन दिने क्रम शुरु हुँदै गर्दा र कतिपय राष्ट्रमा भ्याक्सिन दिइँदै गर्दा नेपाल सरकारले पनि आफ्ना नागरिकका लागि कस्तो भ्याक्सिन भित्र्याउला भन्ने चासो बढ्दैछ । नेपालले भनेजति मूल्यमा भ्याक्सिन खरीद गर्न सक्ने सम्भावना छैन । त्यसो हुँदा संयुक्त राष्ट्रसंघीय संयन्त्र ‘कोभ्याक्स’मार्फत सहुलियत र अनुदानमा हामीले भ्याक्सिन पाउने सम्भावना छ । त्यसका लागि हाम्रो तदारुकताको जरुरी छ ।
बेलायत र अमेरिकामा सबैभन्दा पहिले आपतकालीन प्रयोग गर्न स्वीकृति पाएको फाइजरको भ्याक्सिनको मूल्य करीव २० डलर छ भने मोडेर्नाको १५ देखि २५ डलर पर्न आउँछ। यसको मूल्य कम्पनीहरूले अमेरिकी सरकारसँग आपूर्ति गर्ने सम्झौताको आधारमा तलमाथि हुनेछ।
सबैभन्दा सस्तोमा, आस्ट्राजेनेका भ्याक्सिन हुने अनुमान गर्न सकिन्छ। किनकि यसले महामारीको अवधिभर खोपमा मुनाफा नलिने प्रतिबद्धता गरेको छ। यसकारण हालसम्म सम्झौता भएका सरकारहरु र अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनहरूलाई यसले प्रति डोज मूल्य २.५ डलर राखेको छ। यस भ्याक्सिनलाई फ्रिजर तापक्रममा भण्डार गर्नु पनि पर्दैन। यसकारण विशेषगरी विकासशील देशहरूमा यसको वितरण गर्न अत्यन्तै सजिलो हुनेछ।
गेमल्या (स्पुतनिक ५) सामान्य फ्रिज तापमानमा सुख्खारूपमा भण्डार गर्न सकिन्छ र यसको एक डोज करीव १० डलरमा उपलव्ध हुनेछ। चीनले खाेप विकासमा धेरैले अग्रसरता देखाएका छन्। तथापी यसका दुईवटा कम्पनीहरु- सिनोभ्याक र सिनोफार्मको खोप निकै अघि छन् र यिनीहरुले विदेशका बजार प्रवेश गरिसकेका छन्।
यसलाई २-८ डिग्री सेल्सियसमा स्तरीय फ्रिजमा भण्डार गर्न सकिन्छ, र यसको मूल्य एक डोजको करीव १३.५० डलर हुनेछ। भारतले पनि खोपहरू विकास गर्दैछ। रिपोर्ट गरिएअनुसार ६ वटा छन् र ती विभिन्न चरणहरुमा प्रयोगशाला र मानवमा परीक्षण भइरहेका छन्।
मुख्यतया, सीरम इन्स्टिच्यूट अफ इंडिया, भारत बायोटेक, जाइडस काडिला र रूसी स्पुत्निक ५ सँग धेरै आशा राखिएको छ। यिनीहरुकाे मूल्य एक डोजको ३ देखि ६ डलरसम्म हुने अपेक्षा गरिएकोछ। जाेन्सन एण्ड जाेन्सनकाे एक पटक दिइने भ्याक्सिन (JNJ-43 784367673535 नामक भ्याक्सिन) व्यापारिक हिसाबले स्तरीय फ्रिजबाट ढुवानी गर्नसकिने विशेषता भएको छ।
हरेक मुलुकले खोप भण्डारण गर्ने कोल्ड चेन आवश्यक पर्छ भन्नेबारे अनुमान गर्नु जरुरी छ। अबको छ महिनामा कति प्रतिशत जनसंख्यालाई खोप दिन सकिने हो, त्यसबारे निर्णय र तयारी गर्नुपर्छ। हालसम्मका भ्याक्सिनको भण्डारण गर्न आवश्यक तापक्रमको दायरा हेर्दा एउटा +२ देखि +८ डिग्री सेल्सियसको र अर्को -१५ देखि -२० डिग्री सेल्सियसको दुई अवस्थाका भण्डारण तयारी हुनु पर्छ ।