नेपालमा चीनबाट होइन खुला सिमाना तथा हवाइमार्गबाट कोभीड–१९ छिर्न सक्ने सम्भावना डा. मथुराप्रसाद श्रेष्ठले जानकारी दिनुभएकोछ। डा. श्रेष्ठ संसारमा नै सुपरिचित जनस्वास्थ्य विज्ञ, इमिरेट्स प्रोफेसर तथा नेपालका भूपू स्वास्थ्यमन्त्री हुनुहुन्छ।
उहाँ भन्नुहुन्छ– हालसम्म चीनको स्वाशासित प्रदेश तिव्वतमा नोभेल कोरोना भाइरसका एउटा केस पनि दर्ता भएका छैनन्, यससकारण त्यहाँबाट यो भाइरस छिर्ने सम्भावना न्यून छ। केही दिन अघि वुहानबाट आएका एक व्यक्ति संक्रमित भेटिएका थिए। उनी निको भई डिस्चार्ज भै सकेका छन् र उनीसँग सम्पर्कमाआएकालाई २४ दिन सम्म कडा क्वारेन्टाइनमा राखी केश नेगेटिभ भएकाले सबैलाई डिस्चार्ज गरिसकिएकोछ।
“याद राख्नुहोस् हाल चीनमा कोरिया, स्पेन आदिबाट आएका कोभिड- १९ का इम्पोर्टेड केश बढ्ने क्रम छ।”
उहाँले थप जानकारी दिनु भएको छ “हाल कोभिड–१९ ले बाटो बदलिएको छ। त्यसकारण यो चीनबाट होइन अन्य मुलुकहरुबाट भित्रने सम्भावना बढेको छ। हाल चिनमा नयाँ कोभिड-१९ केश एकदम न्यून हुने क्रम जारी छ तर याद राख्नुहोस् हाल चीनमा कोरिया, स्पेन आदिबाट आएका इम्पोर्टेड केश बढ्दैछ।”
उहाँले नेपालमा कोरोना छिर्ने भनेको अब चीन बाहेक बाहिरका मुलुक हुनसक्ने कुरालाई जोड दिदैं “यस कुरालाई बेलैमा ध्यान दिन नसकिए कोभिड–१९ नेपालमा प्रवेश गर्छ र हाम्रो स्वास्थ्य संरचना जुन उपचार सेवामा लठ्ठ छ र रोकथाम सेवालाई दुत्कार्नेवालाको बोलवाला छ त्यसले थेग्न सक्दैन। यसकारण सरकारले उपचारका लागि तयारी गर्दै रोकथामका कडाकडा भन्दा उपायहरु अपनाउनु पर्छ।” भन्नु भयो।