हुनत सबभन्दा सुनिने, हेरिने, जनताको सबैभन्दा ठूलो प्रतिनिधि र एक हिसाबले दिशानिर्देशक, गुरु प्रधान मन्त्रीले गाली संस्कृति भित्राएको, गाली संस्कृतिलाई मलजल, प्रोत्साहन गरिरहेको बेला यस्ता सैद्धान्तिक, तर्क र तथ्यपूर्ण बहसमा नी गालीकै बहुछार आउन सक्छ तर त्यसो नगरियोस्, स्वस्थ बहस गरियोस्, कम्युनिष्टहरू विचार, बहस, सभ्यतामा उत्कृष्ट हुन्छन् भन्ने देखाउने प्रयास गरियोस् भन्ने अनुरोध सहित केही कुरा राख्ने अनुमति लिएंः
१.
जबजको सट्टा जनताको जनवाद राख्ने निर्णयमा तत्कालीन एमालेको तर्फबाट सही गर्नेहरु केपी ओली र विष्णु पौडेल हुन् । यहाँ राखिएको सहमति पत्रले देखाउँछ, हेर्नुस् : त्यसो भए त्यतिबेला गल्ती गरिएछ भनेर केपी ओलीले सार्वजनिक रूपमा माफी माग्नु हुन्छ?
२.
जबजको प्रतिपादक जननेता मदन भन्डारीले नौलो जनवाद, बहुदलीय जनवाद, जनताको जनवाद, लोक जनवाद, राष्ट्रीय जनवाद आदि एउटै हुन् भन्नु भएको छ । यहाँ राखिएको मदन भण्डारीको लिखत हेर्नुस्: त्यसो भए दुई प्रश्न : १. के मदन भण्डारी गलत थिए, २. अहिले जबजवादी एक हौँ भन्नेहरुले बताउनु पर्यो की जबज र जनताको जनवादमा के फरक छ?
३.
जबज देखाउने चीज मात्रै हो कि कार्यान्वयन गर्नु पर्ने हो? कार्यान्वयन गर्नु पर्ने हो भने जबजको १४ विशेषतामा उल्लेख भएका, संविधानको सर्वोच्चता, कानुनको शासन, बहुमतको शासन, अल्पमतमा प्रतिपक्ष जस्ता मान्यता किन जबजको नारा लगाउने ओली पक्षले उल्लंघन गरिरहेको त?
४.
सर्वाधिक महत्वपूर्ण सैद्धान्तिक सवाल, जबज आधारभूत रूपमा सामन्तवाद विरुद्धको क्रान्तिको कार्यक्रम हो तर खुलै केपी ओली सहभागी भएको, केपी ओलीलाई अध्यक्ष छान्ने एमालेको महाधिवेशनले नेपाली समाज अब सामन्तवादी रहेन, नेपाली समाज अब पुँजीवादी चरणमा प्रवेश गर्यो, सामन्तवाद विरुद्धको जबजवादी क्रान्ति मूल रूपमा पूरा भयो भन्ने निष्कर्ष निकाली सकेको हुनाले अब हाम्रो कम्युनिस्ट पार्टीको कार्यक्रम जबज नै हुन सक्छ? के अब जबजले सम्पूर्ण रूपमा हामीलाई गाइड गर्न सक्छ वा जबजको सम्पूर्ण पक्ष हाम्रो लागि बोक्नै पर्ने अवस्था छ? सक्दैन, छैन र यसको लामो व्याख्या हुन सक्छ, तर यहाँ सम्भव छैन, त्यसैले छोटो, मोटोमा केही राख्नु पर्दाः
एक, जबजले क्रान्तिको मुख्य सत्रु सामन्तवाद मान्छ, त्यसै अनुसारको कार्यनीति, कार्यक्रमको माग गर्छ तर नेपालमा सामन्तवाद नै छैन भन्ने कुरा आधारभूत रूपमा भनेपछि जबजलाई जस्ताको तस्तै मान्दा क्रान्तिको सत्रु चिन्ने कुरामा गल्ती हुने भो। एक पाइलो अगाडि सार्ने कार्यनीति, कार्यक्रमबाटै बाटो विराइने भो, आदि।
दुई, जबज र नौलो जनवाद सारमा एउटै भए पनि जबजमा दुई कुरा थप र विशेष छन्ः पहिलो क्रान्तिको बाटो सम्भव भएसम्म शान्तिपूर्ण हुने छ। दोस्रो, क्रान्तिपछि सर्वहारा वर्गको, जनताको, कम्युनिस्ट पार्टीको अधिनायकत्व रहने छैन, एकदलीय व्यवस्था रहने छैन, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था, प्रणाली रहनेछ ।
स्वभाविक रूपमा नेपालमा सामन्तवाद आधारभूत रूपमा खत्तम भईसक्यो भनेपछि क्रान्ति कस्तो हुने, शान्तिपूर्ण हुने भन्ने च्याप्टर क्लोज भयो। अनि क्रान्तिपछि प्रतिस्पर्धात्मक व्यवस्था या प्रणाली रहन्छ भन्ने जबजको मान्यताको उलंघन वा अस्वीकार के जनताको जनबादीहरुले गरेका छन् त वा गर्न खोजिरहेका छन् त? किम्मार्थ छैनन् । त्यसो भए यस मामलामा जबजवादी र जनताको जनवादी बीच के फरक भयो त?
प्रारम्भमा यत्ति नै, थप बहसको निम्तो स्वीकार गरे फेरि पनि आउँला।
Discussion about this post