केही महिनाअघि नेकपा एमालेका एक नेताले एक सन्दर्भमा नेपाली फेमिनिस्ट(नारीवादी) हरूका दुई प्रकार रहेको बताउँदै – एउटा चाहिँ महिलाका सामाजिक कष्टहरूलाई साँच्चै बुझ्ने ‘वास्तविक फेमिनिस्ट’ र अर्कोचाहिँ सम्भ्रान्त-आत्मकेन्द्रित ‘दिज्जू फेमिनिस्ट’ रहेको बताएकी थिइन्। दिज्जू फेमिनिस्टहरू भन्नेबित्तिकै महिला आन्दोलनमा जोडिएका केही भाग्यमानी र सम्भ्रान्त महिलाहरूको चित्र मेरा दिमागमा नाच्न थाले।
सडकका छाप्रामा बस्ने महिला हुन् या ठूला बँगैचाभित्रका सम्भ्रान्त महलमा बस्ने हुन्, फरक लैंगिक परिचय भएकै कारण कुनै न कुनै रूपमा संसारभर महिला अझै पनि अपमानित र शोषित छन्। समाजमा रहेको मुलतः शोषक र शोषित वर्गका दुई बिम्ब हुन् छाप्रो र महल। समाजमा वर्गकै आधारमा सोपान (हाइरार्की) बन्छ, वर्गकै कारण मान्छेको चरित्र र स्वभाव पनि फरक हुन्छ। सम्पत्ति र सामाजिक पूँजीकै आधारमा समाजमा वर्गहरू निर्माण हुन्छन्। र, वास्तविक नारीवादी र दिज्जू नारीवादीहरू पनि वर्गीय समाजकै उत्पादनहरू हुन्।
समाजशास्त्रले समाजमा मूल रूपमा ४ खालका नारीवाद रहेको उल्लेख गर्छः र्याडिकल नारीवाद, मार्क्सवादी नारीवाद, उदारवादी नारीवाद र फरक नारीवाद (उत्तर आधुनिक नारीवाद)। यद्यपि इको फेमिजिजम्लगायतका अन्य केही नारीवादहरूको पनि अचेल चर्चा हुनेगर्छ। माथि उल्लेखित सबै खालका नारीवादीहरू हाम्रोमा भेटिएपनि नेपाली समाजमा भने ‘वास्तविक नारीवाद’ र ‘दिज्जू नारीवाद’कै प्रभाव देखिन्छन्। उसो त उग्रवादी नारीवाद, मार्क्सवादी नारीवाद, उदारवादी नारीवाद र उत्तरआधुनिक नारीवादका प्रभावहरू एकअर्कामा घुसेर बेग्लै खालको नारीवाद अर्थात् ‘हाइब्रिड नारीवाद’ पनि देखिने गरेको छ। जुनसुकै सिद्धान्तमा आधारित भए पनि नारीवादको ध्येय लैंगिक आधारमा हुने विभेदलाई कम गर्नु र निमिट्यान्न पार्नका लागि लड्नु हो, समता स्थापित गर्नु हो। सन्तुलित समाजका लागि लैंगिक विभेदविरोधी जुनसुकै आन्दोलन समाजको हितमै छ, समताको हितमै छ।
तर दिज्जू नारीवादले चाहिँ प्रकारान्तरले भालेसत्ताकै पृष्ठपोषण गर्ने भएकाले त्यसबारे टिप्पणी गर्न आवश्यक ठानिएको हो। र, नारीवादका अनेकौँ प्रकारहरूबारे विश्वविद्यायलका समाजशास्त्रीय कक्षामा छलफल हुने भएकाले यहाँ मौलिक ‘दिज्जू नारीवाद’बारे मात्रै चर्चा गर्न खोजिएको हो। सम्भवतः हाम्रोजस्तै वर्गीय र सामाजिक चरित्र भएका एशिया र अफ्रिकाका देशहरूमा पनि ‘दिज्जू नारीवाद’ अवश्य पनि कुनै न कुनै रूपमा अस्तित्वमा छ।
व्यक्तिकेन्द्रितभन्दा प्रवृत्ति केन्द्रित भइकन अब चर्चा गरौँः दिज्जू–फेमिनिस्टहरू को हुन् त? यो कस्तो नारीवाद हो? यसले के चाहन्छ? दिज्जू फेमिनिस्टहरू आत्केन्द्रित महिलावादीहरू हुन्, जो आफूले जीवनमा भोगेको स्त्रीद्वेसी व्यवहारहरूका कारणमात्र महिला र महिलाप्रति हुने केही असंवेदनशीलताप्रति संवेदनशील हुन्छन् र सस्तो भावुकताका कारण मात्रै महिला अधिकारको वकालत गर्ने गर्छन्। र, यिनीहरू मूल रूपमा समाजका सम्भ्रान्त र शासक जातिका हुने गर्दछन्। हाम्रो समाजमा ‘पुरुष महिलावादी हुन्नन्’ भन्ने चिन्तन प्रधान भएकाले दिज्जू फेमिनिस्टहरू भन्नेवित्तिकै प्रायः महिला नै हुने कुरामा कुनै सन्देह नहोला।
नेपाली शासनसत्ता र यसका वरपर रजगज गरेका र सत्तामा तर मार्ने अवसर पाएका केही उच्च जातीय, शहरीया र त्यसमा पनि खासगरी राणा, शाह, बस्नेत र थापाका छोरीबुहारीहरू नै मूल रूपमा दिज्जू फेमिनिस्टहरू हुन्। आर्थिक र सामाजिक आधारमा व्यक्ति र संस्कृति बनेको हुन्छ भन्ने पनि यिनलाई ज्ञान हुँदैन। दिज्जू फेमिनिस्टहरूलाई समाजको वर्गीय चरित्र हुन्छ भन्ने थाहा भए नै पनि सो तथ्य स्वीकार्न उनीहरू चाहँदैनन्। किनकि समाजको हिजोको शासकीय विभेदको जगमा नै यस्ता ‘भाग्यमानी दिज्जू’हरू आज ऐश्वर्यको जीवन जिइरहेका हुन्छन्।
दिज्जू फेमिनिस्टहरू आम रूपमा भाग्यवादी र रहस्यवादी हुन्छन्। विज्ञानका व्याख्या जटिल हुने भएकाले यिनलाई विज्ञानको व्याख्या पटक्कै मन पर्दैन। कुनै दैवी शक्तिको परम् चेतनाले जड पदार्थको सिर्जना गरेको मत हुन्छ यिनीहरूको। त्यसो भएपछि स्वतः रहस्य र पूर्वजन्मका कथाहरूले यिनलाई सहजै छुने नै भयो। अतः आजको आफ्नो सम्मान र सान सौकात पनि पूर्वजन्मकै कर्मको फल हो भन्ने व्याख्या दिन पछि पर्दैनन् यिनीहरू। संरचनात्मक लाभांसकै कारण कोही जन्मले नै धनी, सम्पन्न हुन्छ र इज्जत प्राप्त गर्छ तथा अर्को जन्मैले गरीब र अपमानित हुन्छ भन्ने कुरो जान्ने र पढ्ने फुर्सद यिनलाई हुँदैन।
परम्पराका रूढीग्रस्त कथा र अवधारणालाई महिमामण्डन गर्ने यिनीहरू बलात्कारका पूराना र धार्मिक लोकथाहरूको समेत प्रतिरक्षा गर्छन्। ७० वर्षका बुढाले ७ वर्षको बच्चालाई बिहे गरेर गर्भिणी बनाएको कथालाई समेत अन्सन्ट तर्क गरेर सही सावित गर्ने प्रयास गर्छन्। लोककथाका बलात्कारी पात्रहरूलाई आदर्शीकरण गर्छन्, जायज ठहर्याउने यत्न गर्छन्। र, जब जब महिला हित र समताका पक्षमा गम्भीर बहसहरू हुने गर्छन्, दिज्जू फेमिनिस्टहरू प्रकारान्तरले बलात्कारी र महिलाद्वेसीहरूकै पक्षमा उभिन्छन्, जसरी अहिले बलात्कारको आरोप लागेका एक चलचित्र कलाकारका पक्षमा यिनीहरू लाग्दै भनिरहेका छन्, ‘बलात्कारबारेको नेपाली कानून व्यवहारिक छैन। १६ वर्षकालाई समेत वयस्क करार गर्दै कानूनमा सुधार गर्नुपर्छ।’
अतः यिनीहरूलाई प्रतिगामी–फेमिनिस्ट भन्दा पनि हुन्छ किनकि यिनीहरू पुराना कथामा त रमाउँछन् नै, यिनीहरूलाई पुराना प्रेत व्यवस्थाहरूप्रति पनि उत्तिकै आशक्ति छ। हिजोकै जमाना, संस्कार र परम्परा सही थियो र आज सबै बिग्रियो भन्ने भाष्य स्थापित गर्न यिनीहरू मरिहत्ते गर्छन्। यिनीहरू किनपनि यसो भन्छन् भने सम्भ्रान्त सत्ता, शासक वर्ग/जातिविरुद्ध आज हिजोभन्दा धेरै आवाजहरू उठ्ने गरेका छन्। हिजो हेपिएका र बहिस्करणमा परेका मैलाधैलाहरू अचेल मुन्टो उठाएर कुरा गर्न थालेका छन्। दिज्जू फेमिनिस्टहरू एकाध–महिला हितको त कुरा गर्छन् तर यिनलाई निम्छरा र दुब्ला मान्छेहरूले अधिकारको कुरा गरेको मन पर्दैन।
नेपालका मात्रै होइन, संसारभरका महिलाहरू संस्कार र परम्पराका नाममा लादिएका कतिपय कुरितीकै कारण पीडित हुने गरेका छन्। प्रख्यात नारीवादी लेखक बेल हुक्सले त भनेकै छिन्, महिलामाथि सांस्कृतिक रूपबाट हुने सामूहिक शोषणको स्वरूपलाई चुनौती नदिइ र तिनलाई नबदली महिलाहरू आफ्नो वर्गका पुरुषहरूसँग बराबरी हुनसक्छन् भन्नु भ्रम हो। अश्वेत हुक्सले बारम्बार राजनीति र महिला अधिकारको कुरा सँगै लैजानुपर्छ भनेर महिला आन्दोलनलाई संसारका सबै शोषित पीडित महिलाको आन्दोलन बनाउने कुरा गरिन्।
अर्की अमेरिकन नारीवादी लेखक अन्ड्रे लर्डको यो लेख अंशको पनि हामीले यसै सन्दर्भमा ख्याल गर्नुपर्छ। उनी लेख्छिन्, ‘गरीब, काला जाति, तेस्रो विश्वका महिलाहरू, लेस्बियनलगायत आफ्नो छुट्टै पहिचान भएका महिलाहरूका बारेमा ध्यान नदिइएको तथा उनीहरूका कुरा नसुनिएको नारीवाद एक किसिमको प्राज्ञिक अभिमान मात्रै हो।’
तर दिज्जू फेमिनिस्टहरूलाई जस्तासुकै जड संस्कार र परम्पराको उधुमै माया छ। यिनीहरू पश्चिम नेपालको छाउपडी प्रथा सही होइन भन्छन् तर आफूचाहिँ छुई बार्छन्। छुई बार्ने कुरा सरसफाईसँग जोडिएको भन्दै त्यो सही परम्परा भएको दुहाई दिन्छन्। स्वास्नीले मात्रै लोग्नेको खुट्टा ढोग्ने कुराको तथाकथित शास्त्रीय परिभाषासमेत दिन अघि सर्छन्। ‘अधिकार पहिले कि संस्कार पहिले?’ भन्ने बहसमा दिज्जूवालाहरू पहिले संस्कारकै पक्षमा बहस गर्न तयार छन्। दिज्जूहरूलाई सत्ता धेरै विषयको निर्णायक हो भन्ने थाहा छ, त्यसैले सत्ता र शक्तिसँग यो या त्यो नाममा सहजै घुल्न सक्छन्। प्रायः सधैँ संस्थापनको पक्षमा उभिन्छन्। अमेरिका र युरोपका कतिपय गोरा–फेमिनिस्टहरूले दासप्रथा र रंगभेदलाई स्वभाविक मानेजस्तै दिज्जू नारीवादीहरू पनि दक्षिण एसियाको अत्यन्त अपमानजनक र लज्जास्पद जातीय व्यवस्थाको पक्षपोषण गर्छन्, त्यसबारे बिरलै बोल्छन्। किनभने यिनका लागि नारीवाद केबल शासक वर्ग र सम्भ्रान्तहरूको–बुद्धीविलास हो।
खासमा यिनीहरू फेमिनिस्ट नै होइनन्, जसरी आजका कतिपय कम्युनिष्टहरू नाममात्रैका कम्युनिष्ट हुन्। समाज परिवर्तनका लागि भन्दा पनि आत्मरंजना र मनोरंजनका लागि महिला आन्दोलनमा जोडिएका दिज्जूहरूका लागि महिला आन्दोलन केबल केही थान अन्र्तर्राष्ट्रििय सेमिनार हो, सुकिलामुकिलाहरूको जमघट हो, सपिङ होलिडेज् हो। बफे पार्टी हो र निरन्तर विदेश सयर हो। ठूलो बजेटको प्रोजेक्ट ल्याउने विषय हुन्। अतः बाहिरबाट हेर्दा महिलावादी देखिएपनि दिज्जू महिलावादीहरू महिलावादी नै होइनन्, प्रकारान्तरले भालेवादी हुन्, भालेवादी सत्ताका वफादार गेटपाले हुन्। यिनीहरु सुडो फेमिनिष्ट (छद्म नारीवादी) हुन्। त्यसो हुँदा महिला आत्मसम्मानका कुरा गर्ने र महिला विभेदविरुद्ध लड्नेहरूले यस्ता पश्चगामी दिज्जू-महिलावादीहरूबाट सधैँ सचेत रहनुपर्छ। किनकि बाख्राको छाला ओढेका ब्वाँसाभन्दा छाला नओढेकै ब्वाँसाहरू कम खतरनाक हुन्छन्।