हरेक वर्ष नेपाल तथा भारतका नारीहरूले भदौ शुक्ल तृतीया हस्त नक्षत्रमा गौरी शङ्कर(शिव र पार्वती)को पूजा गरेर यो पर्व मनाउने गर्दछन् । सबै प्रकारका स्त्रीले यो पर्व मनाउन सक्ने शास्त्रीय विधान रहेको छ । पूजा सामग्री जम्मा गरेर, सङ्कल्प गरेर स्त्रीहरु यस पुजामा दिनभर निराहार बस्छन् । साँझ स्नान गरेर चोखो लुगा लगाएर पार्वती र शिवको प्रतिमा बनाइ पूजा गर्नुपर्ने विधान र चलन छ। ‘सौभाग्य’का सम्पूर्ण सामग्री राखेर पार्वतीलाई चढाउनु पूजाको मुख्य उद्दश्य हो । शिवजीलाई भन्दै धोती या गमछा चढाउने चलन छ। पार्वतीलाई चढाइएका सम्पुर्ण सामग्री बाहुनीलाई र धोती गमछाचाहिँ बाहुनलाई दिनुपर्ने बिधान रहेको बताइन्छ । त्यसपछि पालो आउँछ, हरतालिकाको व्रत कथा सुन्ने । यो व्रत गर्नाले ‘सम्पूर्ण सौभाग्य’ प्राप्त हुने शास्त्रीय मान्यता र जनविश्वास अझै रहेको पाइन्छ । यस व्रत पर्वको सुरुवात कहिले, किन र कसरी भयो तथा आजको समयमा यस व्रत पर्वको सान्दर्भिकता के कति छ, यस आलेखमा चर्चा गरिनेछ ।
व्रत कथा
पावन भूमि कैलाश पर्वतमा झ्याम्म परेको ठूलो रुखमुनि भगवान शिव र पार्वती आफ्ना सम्पूर्ण गणसहित बाघको छाला ओछ्याएर बसिरहेका थिए । त्यहि बेला पार्वतीले सोधिन्,‘हे महेश्वर, मेरो सौभाग्य हो कि मैले तपाईँजस्तो असल वर पाएँ। मैले अघिल्लो जन्ममा कस्तो पूण्य आर्जन गरेको थिएँ र तपाईलाइ वर पाएँ त? तपाईँ त अन्तर्यामी हुनुहुन्छ, म दासीलाइ सबै कुरा सुनाउनुहोस्।’ शिवजीले भने ‘तिमीले अति उत्तम पुण्य संग्रह गरेकी थियौ र त्यसै कारण तिमीले मलाई आज लोग्नेका रूपमा प्राप्त गर्यौ। हुन त यो अति गोप्य व्रत हो तर तिमीलाइ बताउँछु । यो व्रत भदौ महिनाको शुक्लपक्षको तीजमा गरिन्छ जुन हरतालिका तीजको नामले प्रसिद्ध छ। जसरी तारागणमा चन्द्रमा, नवग्रहमा सूर्य, वर्णमा ब्राह्मण, देवतामा गंगा, वेदमा सामवेद र इन्द्रीयमा मन श्रेष्ठ छन्, त्यसैगरि व्रतहरूमा पनि यो हरितालिका व्रत श्रेष्ठ छ।
यस्तो कुरा सुनेर पार्वतीले भनिन्,‘हे महेश्वर, मैले कहिले र कसरी यो व्रत गरेको थिएँ, त्यसबारे पनि विस्तारपूर्वक सुन्ने इच्छा छ।’ तब शिवले भने, ‘हे पार्वती, भारतवर्षको उत्तरमा उच्च हिमालय पर्वत छ । त्यहाँका राजा हिमांचल र रानी मैनाबाट तिमी जन्मियौ । तिमीले बच्चैदेखि मेरो आराधना गर्न थाल्यौ। उमेर बढेपछि हिमालयको दुर्गम गुफामा गइ मलाई पाउनका लागि आफ्ना संगिनीहरूसहित तपस्या सुरु गर्यौ। शिवजी फेरि भन्छन्,‘तिमीले ग्रीष्म ऋतुमा ढुङ्गाको आसनमा तप गर्यौ। बर्खायाममा बाहिर पानीमा तप गर्यौ। हिउँदमा चिसो पानीमा उभिएर मेरो ध्यान गर्यौ। तर छ वटा ऋतुहरूमा तपस्या गर्दा पनि मेरो दर्शन नपाएपछि तिमीले उँधोमुन्टो लाएर हावा र रूखको सुख्खा पातमात्रै खाएर शरीरलाई कमजोर बनायौ।
पार्वतीको कठोर तपस्या बारेमा रामचरितमानसमा तुलसिदास लेख्छन् , ‘रुखबाट सुकेर झरेका पात मात्र खाएर पार्वतीले तीन हजार वर्ष तपस्या गरिन्। त्यसपछि त्यो पनि खान छोडिन्। एक हजार वर्ष कन्दमुल र फल खाइन् अनि एक सय वर्ष साग खाएर तपस्या गरिन्।’ यति गर्दा पनि शिवजीको मन पग्लिँदैन। क्या भगवान छन् !
शिवजी भन्दैछन्, ‘तिम्रो यस्तो तपस्या देखेर तिम्रा बा अर्थात् राजा हिमांचललाई धेरै चिन्ता भयो अनि त्यही बेला नारद आइपुगेर भगवान विष्णुले पार्वतीसँग विहे गर्न चाहेको कुरा बताए। राजा पनि आफनी छोरी विष्णुलाई ‘दान’ गर्न राजी भए। अनि आफूलाई विष्णुलाई बिहे गराइदिन लागेको थाहा पाएर विलाप गर्न लाग्यौ। तिम्रो त्यो हालत देखेर तिम्रा संगिनीहरूले तिमीलाई कसैले भेट्न नमिल्ने टाढाको कुनै गुफामा राखिदिए । त्यस समय तिमीले गुफामा पानी अन्न केही नखाइ मेरो व्रत सुरु गरी बालुवाको लिङ्ग बनाइ फलफूलद्वारा मेरो पूजा गर्न थाल्यौ।
तिमीले गरेको तपस्याले मेरो सिंहासन हल्लिन थाल्यो । अनि मैले दर्शन दिएँ र तिमीलाई भनेँ, ‘म तिम्रो व्रत तथा पूजाबाट प्रसन्न भएँ, तिम्रो कामना के छ? भन।’ तिमीले भन्यौ, ‘म तपाइलाईँ पतिका रूपमा चाहन्छु।’ अनि त्यसपछि तिमीलाइ इच्छित वरदान दिएर म हिडेँ । पछि राजा हिमाचलले तिम्रो बिहे मसँग गरिदिए ।’ बर दिने पनि आफैँ, ब।दान माग्नेलाई बिहे गर्ने पनि आफैँ! यस्तै खालको कथा स्वस्थानीमा पनि छ। स्वस्थानीको व्रत बस्दा पनि महादेवजस्तो लोग्ने पाइन्छ भन्ने व्याख्या स्वस्थानी व्रतकथामा छ।
‘हे पार्वती, तिम्रा सङ्गिनीहरूले तिमीलाई हरण गरेर हिमालयको गुप्त गुफामा राखेर तीज व्रत गराए। यसैकारण यस व्रतको नाम हरतालिका (हरणतालिका) व्रत रह्यो र यो व्रतहरुको राजाका रूपमा यो प्रचलित भयो। यो व्रत सौभाग्यशाली पति चाहने सबै कन्याले गर्नु पर्छ । यो व्रत बस्दा पानी, खाना केही पनि खानुहुन्न। तिम्रो र मेरो सुनको प्रतिमा बनाइ केरा फूल आदिको खाँबो बनाइ, रेशमी कपडाको तोरण टाँगेर, बालुवामार्फत मेरो लिङ्ग बनाइ, वैदिक मन्त्र, स्तुतीगान सहित बाजागाजा बजाएर रातभर जाग्राम बस्नुपर्छ ।
अनि मेरो पूजा गरेपछि फलफूल पकवान, लड्डु, मेवा, खालखालका भोजन सामग्री समर्पण गरेर ब्राह्मणलाई पैसा अन्न, कपडा, भाँडाकुँडा आदि दान दिनुपर्छ । यसरी, यो व्रत पूर्ण गर्नाले नारी सौभाग्यशाली हुन्छिन्। धन र पुत्र प्राप्त गरेर सुख जीवन बिताउँछन् । व्रत गर्नाले कन्याले कुलिन, विद्वान, धनवान लोग्ने प्राप्त गर्दछन् । हे देवी, जो नारीले यो व्रत लिँदैनन्, त्यस्ता नारी पटक–पटक वैधव्य (विधवा अवस्था) र पुत्रशोकको पीडामा पर्छन् ।’
शिव भन्छन्, ‘जुन नारीले व्रतको समयमा लुकीलुकी अन्न खान्छे उसले सुँगुरनीको जन्म पाउँछे। जसले फल खान्छे, उसले बाँदरको चोला प्राप्त गर्छे। जसले पानी खान्छे उसले जुकाको जन्म पाउँछे । जसले दुध खाँन्छे, उसले साँपको जन्म पाउँछे। जो नारीले मासु खान्छे, उ बघिनी हुन्छे । दहि खानेले बिरालोको जुनी पाउँछे । मिठाइ खानेले कमिलाको जुनी पाउँछे । सबै कुरा खाने नारीले झिंगाको योनी पाउँछे । जसले यो व्रत विधीपूर्वक धारण गर्छ, उसले मजस्तै पति प्राप्त गर्छे र दोस्रो जन्ममा तिमी जस्तै रुपवती भएर संसारमा उत्तम सुख भोग गर्छे । यो व्रत गरेपछि नारीहरू शिवलोकवासी हुन्छन् ।
अप्राकृतिक वर्णन
कैलाश पर्वतजस्तो उच्च हिमालमा वटवृक्ष त के, कुनै घाँस पनि उमँ्रदैन। अनि शिवजीहरु रुखको छहारीमुनि कसरी बसे होलान्? कैलाश पर्वतमा गर्मी नै हुँदैन, सधैँजसो तापक्रम माइनस हुन्छ, त्यस्तो ठाउँमा रुखको छहारीमा किन बसिरहनु पर्यो ? यो सामान्य व्याख्याबाट पनि कथाका लेखकलाई हिमालको भुबनोट, हावापानी तथा वनस्पतीको अवस्थाबारे बिल्कुलै ज्ञान नभएको बुझिन्छ। बिचरा पण्डितजी, मैदानको गर्मीमा बसेर कैलाश पर्वतको गफ दिन्छन्। अनि अनेक ठाउँमा यसैगरी चिप्लिन्छन् । अनि पार्वती नि ? बच्चैदेखि पति चाहिने पार्वती कस्ती? फेरि हजारौँ वर्षसम्म तपस्या ? के यो साँच्चिकै सम्भव छ ? अझ भर्खरकी बालिकामा कस्तो शारीरिक तथा संवेगात्मक विकाश भएको हुन्छ र उसले लोग्नेको इच्छा राखी त्यस्तो उखुमै तपस्या गर्ली?
यस प्रसङ्गले नारीको सारा कर्म र धर्म भनेकै लोग्ने प्राप्त गर्न जपतप र ध्यान गर्नु हो, पति नै सबथोक हो भन्ने पुरुषसत्ताको शोषकीय चिन्तनलाई स्थापित गर्ने प्रयत्न देखिन्छ । धर्मको नाममा उभ्याइएको यो एउटा अति भद्दा र कुरुप कल्पनाको उदाहरण हो । त्यति मात्र होइन, यस प्रसङ्गले तमाम कलिला बालिकाको बालशुलभताकै समेत खिल्ली उडाइरहेको देखिन्छ । अर्को उल्लेख्य कुरो, शिवले अति गोप्य भनेको सो व्रतबारे पहिलो पटक कसले थाहा पाएछ? शिवले नै गोप्य भनेको व्रतको रहस्य पत्ता लगाउने अर्को महाशिव को रहेछ? अनि अर्को कुरो, पार्वतीले अघिल्लो जीवनमा गरेको व्रतमा शिवजीको मात्रै पुजाआजा गरेको प्रसंग छ। तर दोस्रोमा भने महादेव स्वयं शिव र पार्वतीको प्रतिमा बनाएर पुजा गर्न महादेव स्वयं सल्लाह दिन्छन्। यसको अर्थ, महादेवका परिवारमा जोजो जोडिन आइपुगे या भोलिका दिनमा आइपुग्छन्, ती सबैको पुजा गर्दै जाने हो या अरु केही?
अज्ञान र स्त्रीद्वेष
शिवजी चन्द्रमालाई तारा र सूर्यलाई ग्रह भनेर गफ दिइरहेका छन् । खासमा सूर्यचाहिँ तारा हो र चन्द्रमा ग्रह हो। तारा र ग्रहको सामान्य परिचय र भिन्नतासमेत थाहा नहुने व्यक्ति कसरी देवादीदेव हुन सक्छन्? आजको चार कक्षामा पढ्ने बालकको जति पनि ज्ञान सम्पूर्ण लोकका स्वामी भनिने शिवजीमा नहुनुले शिवजी अन्तर्यामी र सर्वशक्तिमान हुन् भन्ने दावीलाई पनि गम्छा लगाइदिएको छ ।
यो व्रत गर्नाका लाभसँगै नगर्दाका हानीहरू पनि बताउँछन् कथामा शिवजी।
यो व्रत नगर्ने स्त्री अनेकौं जन्ममा बिधवा हुनुपर्ने तथा पुत्रशोकमा डुब्नुपर्ने बताउँछन् । कथाको सारले सारा कर्म छोडेर महिलाले त्यहि पति प्राप्तीको उपक्रममा लाग्नुपर्ने बताउँछ। त्यसो हो भने उत्तम साथी, पति आदि ब्यक्तिको उन्नत गुण, क्षमता र प्रतिभाले प्राप्त हुने हो न कि पूजा–व्रत आदिको प्रभावले? यो त घुस्याहा कर्मचारीलाई टन्न पैसा खुवाएर काम गराएजस्तो भएन र भन्या? अनि जाबो एउटा व्रत नगर्दैमा यस्तो दण्ड सजाय भोग्नुपर्ने इश्वरीय बिधान हो भने यस्तो बिधान र इश्वरीय सत्ताबिरुद्धको विद्रोह आजको चेतनशील मानिसको आवश्यकता हो ।
त्यसो हो भने न्यायको आधारभूत मर्म, मानवियता, र करुणाजस्ता अपरिहार्य मानवोचित गुण समेतको सर्वथा अभाव रहेको पात्र आजको मानिसको इश्वर हुन सक्दैन । यस व्रत कथाले सम्पूर्ण नारी जातिको गरिमा र आत्मसम्मानको तेजोबध गरेसँगै यी र यस्ता व्रतपर्वको आवश्यकता, सान्दर्भिकता र महत्व सबै सकिँदै गएको बुझिन्छ।
पण्डित पुरोहितको जाल
व्रतको बिधी, व्रत गर्दाका फल तथा व्रत नगर्दाका दुष्परिणामका सम्पूर्ण विवरण शिवजीको मुखबाट ओकलाइएको छ। व्रत नगर्दा हुने दुष्परिणामको भय देखाएर पण्डित–पुरोहितले सोझा, अनपढ र धर्मभिरु महिलाहरूको चरम शोषणको लागि तयार पारेको जालको रूपमा यस व्रत विधानलाई बुझ्दा अन्यथा हुँदैन । धर्मको आवरणमा धूर्तहरुले प्रयोग गर्ने अचूक हतियार भय र त्रासको प्रयोग पण्डितहरुले यहाँ पनि बडो चलाखीपूर्वक गरेको देखिन्छ । बाघको छाला बेर्ने शिवजीलाई धोती र गमछा किन चढाउनु पर्ने प्रावधानबाटै यो ठगीधन्दा हो भन्ने बुझिन्छ।
ब्राह्मणलाई पैसा, अन्न, कपडा, भाँडाकुँडा दान गर्नुपर्ने र शिव पार्वतीलाइ चढाइएका सम्पूर्ण सामग्री ब्राह्मण–ब्राह्मणीलाई दिनुपर्ने ब्यवस्था गरेबाट पण्डित पुरोहितले चाडपर्व–व्रत आदिलाई आफ्नो जिविकाको साधनको रूपमा ब्यवस्थित गर्न गरेको प्रयत्नको रुपमा बुझ्न कुनै अप्ठेरो छैन । परम्पराको नाममा अन्धविश्वास, भ्रम र अज्ञान बोकेर बाँच्नु धर्म होइन। धर्म त अज्ञान, झुट, ठगीलाई तोड्नु र उज्यालो चेतना प्राप्तिको बाटोमा लाग्नु हो।
आध्यत्मलाई भौतिकताको नजरले हेरे पछि बुर्जुवा शिक्षाले मत्ता भएर बाहुन यसरी भट्किन्छन् भट्काउँछन् भन्ने कुरा यो स्तम्भ र स्तम्भकारको बिचारमा झल्किन्छ । अलिअलि पढ्न, लेख्न जान्ने भयो कि यस्ता विवेकहीन तर्क छ्याप छ्याप्ती आउँछ । कुनै पनि कुरा अन्तर मन देखि अभ्यास र अनुभव नगरी एक दुई प्याक दारू हानेर हाम्रा चाडपर्व, धर्म, संस्कृति माथि धावा बोल्छन् छानेर । कैलासमा शिव पार्वती बस्ने भन्दा यी स्तम्भकारको रौं त्यसै ठाडो भएको छ । शिव, पार्वती भनेको मानौं बोटलका बोटल दारु मासु खाएर, रात दिन विकृत मानसिकता लिएर चेवा, चर्चा गर्ने मनुवा हुन् । यसरी सोंचे पछि कताको शिव शक्ति बारेमा ज्ञान हुनु । अनि समाजलाई त्यसै भट्काएर सनातनी परम्परा धानेका पण्डित माथि धावा बोल्ने ? आध्यात्मिक शक्तिलाई देखावटीको लागि गरेको कर्मलाई तुलना गरेर भौतिकवादी जहर ओकेल्ने ? इसाईकरण र इस्लामी हरकतहरूको त कहीं कतै लेखेको बोलेको सुनिन्न त ? मन लागे मान मन नलागे नमान तर अन्ट सन्ट दारुवाला बिचार पोखेर कथित धर्म निरपेक्षता नाउँको स्वतन्त्रताको प्रयोग गरेर हाम्रा धर्म, संस्कृति माथि हमला गर्ने काम बन्द गर ।