-एन कुवँर- तत्कालीन सोभियत संघका शासक जोसेफ स्टालिन कुनै बेला कम्युनिस्टका आदर्श थिए । उनी सोभियत संघका प्रख्यात ‘हिरो’ थिए । तर, पछि उनलाई नरसंहार गर्ने नेताका रूपमा अर्थ्याइयो र त्यहीअनुसार बुझ्न थालियो, अर्थात् ‘भिलेन’ भनियो ।
उनको जीवन केलाएर हेर्दा लाग्छ, स्टालिन हिरो पनि थिए र भिलेन पनि ।
स्टालिनको नामको अर्थ हुन्छ, लौहपुरुष ।
स्टालिनले जुन खालको जिन्दगी जिए, त्यो हेर्दा लाग्छ, उनले आफ्नो नाम सार्थक पारे । उनले रुसलाई यति शक्तिशाली बनाए कि दोस्रो विश्वयुद्धमा हिटलरको जर्मन सेनालाई समेत रुसले माथ खुवायो । उनी करिब चार दशकसम्म सोभियत रुसको सबैभन्दा ठूला नेता भएर रहे ।
तर भनिन्छ, उनको शासनमा अत्याचारको पनि सीमा थिएन । उनको नीति र आदेशका कारण कथित रूपका दशाैं लाख मानिस मारिए । कुनै बेला संसारकै शक्तिशाली नेता कहलिएका स्टालिनको जिन्दगी वास्तवमा एक सामान्य परिवारबाट सुरू भएको थियो ।
निकै सामान्य परिवारका स्टालिन
स्टालिनको जन्म १८ डिसेम्बर १८७९ मा जर्जियाको गोरीमा भएको थियो । उनको बालापनको नाम थियो, जोसेफ विसारियोनोविच जुगाशविली । त्यो बेला जर्जिया रुसका बादशाह जारको साम्राज्यको हिस्सा थियो ।
स्टालिनका बुबा पेसाले एक चमार थिए, आमा कपडा धुने काम गर्थिन् । सात वर्षको उमेरमा स्टालिन स्मलपोक्सको बिरामी भएका थिए । जसका कारण उनको अनुहारमा दागैदाग बसेको थियो । यो बिमारका कारण उनको बायाँ हातमा खराबी आएको थियो ।
बाल्य अवस्थामा स्टालिन निकै निर्बल र कमजोर थिए । अरु बच्चाले उनलाई हेप्थे । उनका बुबाले रक्सी पिएर उनलाई पिट्थे । स्टालिनको उमेर बढ्दै गएको समयमा जर्जियामा जारविरुद्ध व्रिद्रोहको बिगुल फुकिँदै थियो । उनी जर्जियाको लोककथा र रुसविरोधी विचारबाट निकै प्रभावित थिए ।
पादरी बन्न अस्वीकार
स्टालिनकी आमा धर्ममा निकै विश्वास राख्थिन् । उनले सन् १८९५ मा स्टालिनलाई पादरी बनाउन भन्दै जर्जियाको राजधानी तिफ्लिस पढ्नका लागि पठाइन् । तर, स्टालिनलाई धार्मिक किताबमा पटक्कै रुचि थिएन । बरु उनी लुकी–लुकी कार्ल मार्क्सका किताबहरू पढ्थे ।
पादरी बन्न पठाइएका स्टालिनले समाजवादी विचारधारा राख्ने संगठनको सदस्यतासमेत लिइसकेका थिए । यो संगठनले रुसका वादशाहविरुद्ध मानिसहरू जम्मा गर्ने काम गरिरहेको थियो ।
आमाको इच्छाविरुद्ध गएर स्टालिनले पादरी बन्न ठाडै अस्वीकार गरिदिए । १८९९ मा उनलाई धार्मिक विद्यालयबाट बाहिर निकालियो ।
एक विद्रोही
२०औं शताब्दिको सुरुवातमा स्टालिनले तिफ्लिसको मौसम विभागमा काम सुरू गरेका थिए । र पनि उनी रुसी साम्राज्यविरुद्ध सक्रिय थिए । स्टालिनले बेला–बेला हडताल र विरोध प्रदर्शन आयोजना गर्ने गर्थे ।
जारका गुप्तचर प्रहरीले स्टालिनको गतिविधि थाहा पाइसकेका थिए । त्यसैले स्टालिन भूमिगत हुन बाध्य भए । त्यसपछि स्टालिन बोल्सेविक पार्टीमा आवद्ध भए । १९०५ मा स्टालिनले पहिलो पटक रुसी साम्राज्यविरुद्ध गुरिल्ला युद्ध मा भाग लिए ।
रुसमा बोल्सेविक क्रान्तिका अगुवा भ्लादिमिर लेनिनसँग स्टालिनको पहिलो भेट फिङल्याण्डमा भएको थियो । स्टालिनको प्रतिभा र क्षमता देखेर लेनिन निकै प्रभावित भए । १९०७ मा स्टालिनले तिफ्लिसको एक बैंकमा डकैती गरी अढाइ लाख लुटे । त्यो रकम जारविरोधी आन्दोलनमा खर्च गरियो ।
लौह पुरुष स्टालिन
जोसेफ स्टालिनले १९०६ मा पहिलो विवाह केटेवान स्वानिजेसँग गरे । स्वानिजे एउटा सानोतिनो सामान्ती परिवारकी थिइन् । विवाहको एक वर्षपछि स्टालिनको एक छोरा जन्मियो । तिफ्लिसमा बैंक डकैतीपछि स्टालिनले जर्जिया छोडेर भाग्नुपरेको थियो । उनी अजरबैजानको बाकू शहरमा गएर बस्न थालेका थिए ।
विवाहको एक वर्षपछि नै १९०७ मा स्टालिनकी पत्नी केटवानको टाइफाइडबाट निधन भयो । यो घटनाले स्टालिनलाई ठूलो झट्का लागेको थियो । स्टालिनले छोरालाई उसको हजुरबुवा–हजुरआमासँग छोडेर आफूलाई पूर्ण रूपमा रुसी क्रान्तिमा होमे । यही क्रममा उनले आफ्नो नाम बदलेर स्टालिन राखे ।
विद्रोही गतिविधिका कारण स्टालिनलाई कैयौं पटक गिरफ्तार गरियो । १९१० मा उनलाई साइबेरिया पठाइयो ।
१९१७ मा लेनिनको अगुवाइमा रुसमा कम्युनिस्ट क्रान्ति सफल भयो । लेनिनले मानिसहरूसँग अमनचयन, जग्गा र पेटभर खानाको व्यवस्था गर्ने वाचा गरे । स्टालिनले यो क्रान्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी त्यो बेला बोल्सेविक पार्टीको मुखपत्र प्रावदा चलाउँथे ।
लेनिनलाई जारको सेनाबाट छुटाएर फिङल्याण्ड भाग्न मद्दत गरेकाले स्टालिनलाई पार्टीमा ठूलो पद दिइयो । जारको शासन सकिएपछि रुसमा गृहयुद्ध सुरू भयो ।
गृहयुद्धका क्रममा स्टालिनले पार्टीका भगौडा र वागी (विद्रोही)लाई मृत्यदण्ड दिन आदेश दिए । लेनिन सत्तामा आएपछि उनले स्टालिनलाई कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्त गरे ।
जब स्टालिन बने रुसका तानाशाह
१९२४ मा लेनिनको निधन भयो । यसपछि स्टालिनले आफूलाई लेनिनको उत्तराधिकारीका रूपमा उभ्याए । यद्यपि पार्टीका धेरै नेताले लियोन ट्राटस्कलाई लेनिनको उत्तराधिकारीका रूपमा हेरेका थिए । तर, ट्राटस्कीलाई कतिपयले धेरै नै आदर्शवादी भएको मान्थे । उनीहरूलाई लाग्थ्यो कि ट्राटस्कीका सिद्धान्तलाई वास्तविक जीवनमा लागू गर्न निकै कठिन हुन्छ ।
यस क्रममा स्टालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधाराको जोडतोडले प्रचारप्रसार गरे । उनले सोभियत संघलाई मजबुद पार्नु र दुनियाँभर क्रान्तिको उज्यालो बाल्नु नै आफ्नो उद्देश्य रहेको बताए ।
जब ट्राटस्कीले स्टालिनका योजनाहरूमा विरोध जनाए, तब स्टालिनले उनलाई देश निकाला गरिदिए । १९२० को दशकको अन्तिमसम्म स्टालिन सोभियत संघको तानाशाह बनिसकेका थिए ।
सोभियत संघको औद्योगीकीकरण
बीसको दशकमै स्टालिनले पञ्चवर्षीय योजनामार्फत मुलुकको विकासका लागि काम गर्न सुरू गरे । उनी सोभियत संघलाई आधुनिक देश बनाउनमा लागेका थिए । सोभियत संघमा औद्योगीकरण भएन भने कम्युनिस्ट क्रान्ति असफल हुने, देश बर्बाद हुने र छिमेकमा रहेका पुँजीवादी देशले सोभियत संघमा कब्जा जमाउन सक्ने स्टालिनको डर थियो ।
स्टालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टिलको उत्पादन कैयौं गुणा बढ्यो । देशले तीव्र गतिमा आर्थिक उन्नति गर्यो । स्टालिनले आफ्ना योजनाहरूलाई निकै कडाइका साथ लागू गरे ।
कारखानाहरूलाई ठुल्ठूला टार्गेट दिइन्थ्यो । कहिलकाहीँ त यसरी पाएको टार्गेट पूरा गर्न कारखानाहरूलाई निकै सकस पनि पर्थ्यो । जसले लक्ष्य हासिल गर्न सक्दैन थियो, उसलाई देशको दुश्मन भनेर जेलमा हालिन्थ्यो ।
रुसमा डरलाग्दो अनिकाल
स्टालिन सत्तामा आएपछि रुसमा धेरै जमिन साना–साना टुक्रा बनाएर मोहियानी हकमा बाँडिएको थियो । रुसले त्यो बेला ठूलो अनिकालको सामना गरिरहेको थियो । खेतमा अति नै न्यून उत्पादन हुन्थ्यो ।
स्टालिनले खेतीको आधुनिकीकरण सुरू गरे । उनले धेरै जमिनलाई राष्ट्रियकरण गरिदिए । धेरै किसानले यसको विरोध पनि गरे । किसानहरूले आफ्ना जनावर मारेर र अन्न लुकाएर यसको विरोध गरेका थिए । कालान्तरमा करिब ५० लाख मानिस भोकमरीबाट मरे ।
यसबाट दुःखी बनेका स्टालिनले गुटबन्दी गर्ने र उनको नीतिको विरोध गर्नेलाई खोजीखोजी मार्न सुरू गरे । दशाैं लाख मानिस मारिए । तीसको दशकको अन्त्यसम्ममा सोभियत संघमा जमिन पूर्ण रूपमा राष्ट्रियकरण भइसकेको थियो । अन्न उत्पादन कैयौं गुणा बढेको थियो ।
स्टालिन आतंक
जोसेफ स्टालिन आफूलाई एक कोमल हृदय भएको र देशभक्त नेताका रूपमा प्रचार गर्थे । तर, स्टालिन ती मान्छेहरूलाई मार्न लगाउँथे, जो उनको नीतिको विरोध गर्थे, चाहे त्यो सैनिक होस् वा कम्युनिस्ट पार्टीकै सदस्य । पार्टीको केन्द्रीय कमिटीका १ सय ३९ मध्ये ९३ सदस्यको हत्या गर्न लगाएको आरोप पनि स्टालिनमाथि लागेको थियो । यसपछि उनले सेनाका १ सय ३ जनरल र एडमिरलमध्ये ८१ लाई मारेका थिए ।
स्टालिनको गुप्त प्रहरी संयन्त्रले निकै कडाइका साथ उनको नीतिहरू कार्यान्वयन गर्ने गर्दथ्यो । साम्यवादको विरोध गर्ने ३ लाख मानिसलाई साइबेरियाको गुलाग क्षेत्रमा बस्नका लागि पठाइयो ।
स्टालिनकी दोस्री पत्नी र छोराको निधन
१९१९ मा स्टालिनले नदेज्दा एल्लीलुएवासँग दोस्रो विवाह गरे । नदेज्दाले छोरी स्वेतलाना र छोरा वैसिली जन्माइन् । तर, स्टालिनले कान्छी पत्नीलाई निकै दुर्व्यवहार गर्थे । उनकी दोस्री पत्नी नदेज्दाले १९३२ मा आत्महत्या गरिन् । यद्यपि, उनको मृत्यु बिमारका कारण भएको भनेर प्रचार गरियो ।
दोस्रो विश्वयुद्धका क्रममा स्टालिनको जेठी श्रीमतीबाट भएको छोरा याकोवलाई जर्मन सेनाले गिरफ्तार गर्यो । जर्मनीले बन्दीहरूको ‘एक्सचेन्ज’मा याकोवलाई रुसको जिम्मा लगाउन प्रस्ताव गर्दा स्टालिनले अस्वीकार गरे । जर्मनीको युद्धबन्दी क्याम्पमै याकोवको १९४३ मा मृत्यु भएको थियो ।
हिटलरसँग सम्झौता
दोस्रो विश्वयुद्ध सुरू भएपछि स्टालिनले जर्मनीका तानाशाह हिटलरसँग सम्झौता गरेर पूर्वी युरोपेली मुुलुकलाई आपसमा बाँडे । जर्मनीको सेनाले सजिलैसँग फ्रान्समाथि कब्जा जमायो । बेलायत पनि पछि हट्नुपर्यो ।
यस क्रममा रुसी सेनाका जनरलहरूले स्टालिनलाई सचेत गराएका थिए, जर्मनीले सोभियत संघमाथि पनि आक्रमण गर्न सक्छ । तर, स्टालिनले आफ्ना फौजका कमान्डहरूको चेतावनीलाई बेवास्ता गरिदिए ।
१९४१ मा जर्मनीले पोल्याण्ड कब्जामा लियो र सोभियत संघमाथि पनि ठूलै आक्रमण गर्यो । सोभियत सेनाहरूले ठूलो नोक्सानी चुकाउनुपर्यो ।
हिटलरले धोका दिएपछि स्टालिन यतिसम्म आक्रोशित भएका थिए कि उनी कुनै निर्णय गर्न सकिरहेका थिएनन् । स्टालिनले आफूलाई एक कोठामा कैद गरे । कैयौं दिनसम्म सोभियत संघको सरकार दिशाहीन रह्यो । यस क्रममा हिटलरको सेना राजधानी मस्कोसम्म आइपुग्न लागेको थियो ।
हिटलरमाथि विजय
जर्मनीले लगातार आक्रमण गरेकाले सोभियत संघको हालत खराब भएको थियो । देश कोलाहल हुने संघारमा थियो । तर, स्टालिन नाजी सेनालाई पराजित गर्न देशका लाखौं मानिस समर्पण गर्न पनि तयार थिए ।
डिसेम्बर १९४१ मा जर्मन सेनाहरू रुसको राजधानी मस्कोबाट निकै नजिक आइपुगे । सल्लाहकारहरूले स्टालिनलाई मस्को छोड्न सुझाव दिए । तर, स्टालिनले मानेनन् । उनले नाजी सेनालाई कुनै पनि हालतमा पराजित गर्न आफ्ना सेनाका कमाण्डरलाई आदेश दिए ।
जर्मनी र रुसबीचको युद्धले स्टालिनग्राड शहरको लगाइँबाट निर्णायक मोड लियो । स्टालिनको नाममा भएकाले यो शहरमाथि हिटलरले आक्रमण गरेका थिए ।
स्टालिनग्राड जित हासिल गरेर स्टालिनलाई लज्जित बनाउन चाहन्थे हिटलर । तर, स्टालिनले कुनै पनि हालतमा आफ्ना पाइला पछि नसार्न आफ्ना सेनालाई आदेश दिए । स्टालिनग्राडको युद्धमा रुसी सेनाका १० लाखभन्दा बढी सैनिक मारिए । तर, अन्ततः सोभियत सेनाहरूले जर्मनी सेनालाई धपाएरै छाडे । सोभियत सेनाहरू नाजी सेनालाई लखेट्दै जर्मनीको राजधानी बर्लिनसम्म पुगे ।
फलामको पर्दामा बन्द युरोप
दोस्रो विश्व युद्धमा जर्मनीलाई पराजित गर्नमा स्टालिनले निकै महत्त्वपूर्ण भूमिका निभाएका थिए । युद्धपछि पूर्व युरोपको ठूलो हिस्सामा सोभियत सेनाले कब्जा जमायो । उनीहरूले जर्मनीको राजधानी बर्लिनको पूर्वी भागसमेत कब्जा गरे ।
स्टालिनले सबै देशलाई सोभियत संघमातहत रहन भने । दोस्रो विश्वयुद्धका क्रममा अमेरिका र बेलायत, स्टालिनको साथमा थिए । तर, युद्धपछि स्टालिनको नीतिका कारण उनीहरू दुश्मन बने । बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, ‘स्टालिन युरोपको एक ठूलो हिस्सालाई फलामको पर्दाले बन्द गरिरहेका छन् ।’
बर्लिनलाई लिएर बेलायत–अमेरिका र सोभियत संघबीच लुछाचुँडी चल्याे । यही लुछाचुँडीका बीच स्टालिनले पूर्व बर्लिनमा अमेरिकी र बेलायती सेनाहरूलाई प्रवेश निषेध गरिदिए । अमेरिकाले पूर्व बर्लिनमा फसेका मानिसहरूलाई ११ महिनासम्म हवाई रुटबाट मद्दत पुर्यायो ।
शीतयुद्धको सुरूवात भइसकेको थियो । सोभियत संघले २९ अगस्ट १९४९ मा आफ्नो पहिलो एटम बम परीक्षण गर्यो ।
एक युगको अन्त्य
जीवनको उत्तरार्द्धतिर स्टालिन निकै सन्की भएका थिए । उनी पार्टीका कैयौं नेतालाई आफ्नो दुश्मन ठान्थे । उनले दुश्मन ठानेकाको हत्या गर्न धेरै समय कुर्दैन थिए ।
५ मार्च १९५३ मा हृदयाघातका कारण स्टालिनको निधन भयो । सोभियत संघमा धेरै मानिसले उनको मृत्युमा शोक मनाए । उनलाई महान नेता भनियो, जसले देशलाई एउटा नयाँ उचाइमा पुर्याएका थिए, हिटलरलाई पराजित गर्न महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
तर, सोभियत संघमै लाखौं मानिस यस्ता पनि थिए, जसले स्टालिनको मृत्युमा दीपावली नै गरे । स्टालिनपछि निकिता ख्रुश्चेभ सोभियत संघको नेता बनेका थिए ।
समग्रमा स्टालिनको जिन्दगी एक यस्ता व्यक्तिको रूपमा रह्यो, जसको सुरूवात त क्रान्तिबाट भएको थियो तर पछि उनी सन्की तनाशाह बने । अर्थात् हिरो पनि थिए र भिलेन पनि ।- शिलापत्र