सामान्य वैज्ञानिक कारण नबुझ्दा समाजमा अति सामान्य तथ्यहरूबारे पनि मान्छेहरू भ्रममा पर्छन्, गलत निचोड निकालिरहेका हुन्छन्। अज्ञानतावश हावादारी गफ चुटिरहेका हुन्छन्, भ्रम फैलाइरहेका हुन्छन्। जस्तो कि : मरेपछि मान्छे या अन्य जीवको शव पानीमा किन तैरन्छ भन्नेमा पनि समाजमा अनेकन् भ्रमहरू छन्।
केही मान्छेहरू भन्छन् कि शरीरभित्रको हावा अथवा श्वास शरीरभन्दा गर्हुंगो हुन्छ, जसका कारणले शरीरबाट श्वास निस्कनेबित्तिकै प्राणीको शरीर पानीमा डुब्छ। केही मान्छे के पनि भन्छन् भने आत्मा शरीरभन्दा पनि गर्हुंगो चीज हो, आत्मा नै नरहेपछि मृत शरीर हलुका हुनजान्छ। तर यी सबै मनगढन्ते कुरा हुन्।
ख्याल गर्नुपर्ने तथ्य के हो भने मर्नेबित्तिकैको ‘ताजा शव’ पानीमा तैरँदैन। त्यस्तो शब पानीभित्र डुब्छ। केही घण्टा वा केही दिनपछि मात्र प्राणीको शब पानीमा तैरने गर्छ। तर अपवादमा ताजा शवहरू पनि डुब्न सक्छन्। जस्तो कि : मृतकको शरीरमा कुनै कपडा छ र त्यो कपडाका कारण त्यहाँ हावा भरिएको छ भने शब पानीमा उत्रन सक्छ। कपडा इन्सुलेटेड (हावा नछिर्ने) या कम हावा छिर्ने खालको भएको अवस्थामा त्यस्तो हुनेगर्छ। जसरी पौडी खेल्ने क्रममा ट्युब प्रयोग गर्दा मान्छेहरू पानीमा उत्रन्छन्, यहाँ उल्लेख गरिएको अवस्था पनि त्यही हो।
मरेको केही दिनपछि चाहिँ शब के कारणले गर्दा पानीमा तैरन्छ ?
जब मृत शरीर कुहिन थाल्छ, तब त्यसबाट अनेका खालका ग्याँसहरू निस्कन थाल्छन्। शरीरबाट निस्केको ग्याँसले नै शरीरलाई पानीमाथि धकेल्न थाल्नछन्। फलस्वरूप मृत शब पानीमाथि तैरन्छ। प्राणीको मृत्यु भएपछि उसको शरीरको प्रतिरक्षा प्रणालीले काम नगर्ने हुँदा शरीर कुहिँदै जाने हो।
शरीरको प्रतिरक्षा प्रणालीले काम नगर्दा शरीरमा ब्याक्टेरियाहरू सक्रिय हुन्छन् र तिनले शरीरका कोशिकाहरूलाई फुटाउन थाल्छन् यसक्रममा शरीरबाट मिथेन, कार्बन डाइअक्साइड र हाइड्रोजन सल्फाइड र एमोनिया बाहिर निस्कन्छन्। अनि शरीरबाट निस्केको ग्याँसले मृत शरीरलाई पानीमाथि धकेल्दा शब माथि उत्रन गएको हो। ख्याल गर्नुपर्ने तथ्य यो हो कि आँखा, गुप्ताङ्गलगायतका शरीरका केही अंगहरू छिट्टै कुहिने प्रकृतिका हुन्छन्।
अर्को एउटा कारण पनि कुहिएको शव उत्रनुमा जिम्मेवार हुन्छ। त्यो हो वस्तुको घनत्व। जस्तो कि काठ पानीमा उत्रन्छ भने फलामको रड पानीमा तैरन्छ। सरल भाषामा भन्दा मृत शरीरको घनत्व धेर हुँदा शुरुमा त त्यो पानीमा डुब्छ तर मृत शरीर सडन थालेपछि शरीरको घनत्व विस्तारै कम हुँदै जान्छ र पानीमा त्यो उत्रन्छ।
शरीर कुहिने प्रक्रिया बाहिरी वातावरण (हावा)मा भन्दा पानीमा ढिलो हुन्छ। ताजा पानीमा भन्दा समुन्द्री पानीमा ढिलो हुन्छ। बगिरहेको पानीमा भन्दा स्थिर पानीमा ढिलो हुन्छ। कुहिने प्रक्रियालाई प्रभाव पार्ने मूख्य तत्व भने तापक्रम हो। शरीर जति चिसो वातावरणमा रहन्छ, उति ढिलो शरीर कुहिने प्रक्रिया ढिलो हुन्छ। अति नै चिसो पानीमा डुबेको मृत शरीर कहिल्यै पनि नउत्रन पनि सक्छ।
अत : मृत शरीर पानीमा डुब्नुमा त्यसबाट निस्कने अनेक ग्याँस र त्यसको घनत्व नै कारक हो। गर्हुंगो श्वास या आत्मा उडेर गएकाले शरीर पानीमा डुब्ने होइन। यस्ता हौवा र हल्लाहरूमा नपरौँ। विज्ञान बुझौँ।
विभिन्न एजेन्सीको सहयोगमा नेपाल रिडर्स।