दमन, उत्पीडन, र अधिकार हरणमा परेकाहरूलाई आम रूपमा ‘दलित’ भनिने गरेको छ। दलनमा परेकाहरू सबै दलित हुन्। यद्यपि, आजका दिनमा दक्षिण एसियामा छुवाछुतको व्यवहार गरिने समुदायलाई ‘दलित’का रूपमा चिनिइने गरेको छ। उसो त विश्वका सबैजसो मुलुकमा दलनमा पर्ने मान्छे वा त्यस्ता समुदायहरू छन्।
दलनको अभिव्यक्ति वर्ण, नश्ल, लिङ्ग, भूगोल र आर्थिक आधारमा भइरहेको देखिन्छ। पश्चिमा दुनियाँमा काला (रेड इन्डियन) अफ्रिकी वा हिस्पानिक, महिला र श्रमजिवीहरूलाई दलित मान्न सकिन्छ। अमेरिकी र युरोपीयन समाजमा आजको भेदभाव हेर्ने हो भने एसियन, मुसलमान र ल्याटिनोहरू पनि एक प्रकारले दलित नै हुन्। गोरा, एङ्गलोस्याक्सन, पुरुष र कर्पाेरेट व्यक्तिहरुलाई त्यहाँका गैरदलित भन्न सकिन्छ।
यसका अतिरिक्त भारतीय उपमहाद्वीपमा पेशाका आधारमा समूहकृत हुँदै समाजको एक अंश नै ‘दलित’ बनेको देखिन्छ। अचेल सर्वत्र ब्राह्मणवादको चर्चा सुनिन्छ। भारतीय उपमहाद्वीपमा महिला, शिल्पी तथा किसान र जितेर प्राप्त गरेको समुदायलाई हेय र भेदभाव गर्ने चिन्तनप्रणालीलाई हामी ब्राह्मणवाद भन्न सक्छौँ। यस क्षेत्रमा सबैभन्दा ठूलो जातका रूपमा ब्राह्मणलाई लिइन्छ।
यसर्थ, अन्य जातिले पनि ‘मै ठूलो’ भनेर गर्ने विभेदलाई ब्राह्मणवाद भनिएको हो। तल्लो भनिने जातिहरूमा पनि ‘अझै तल्लो’ भनिनेलाई भेदभाव र अत्याचार गरिन्छ भने त्यो पनि ब्राह्मणवाद नै हो। ब्राह्मणवादको जग पूरानो ब्राह्मण धर्म हो। त्यस धर्मले निर्माण गरेका परम्परा र संस्कृति हुन्। दोस्रो शताब्दीका एक ब्राम्हणले रचेको ‘कात्यायन स्मृति’ शिल्पी र किसनाहरूलाई अछुत बनाएको सन्दर्भ पनि यहाँ उल्लेखनीय छ।
परिवारभित्र लिंगका आधारमा दलन
कसैलाई उसको जात उसको धर्म, उसको आर्थिक अवस्था, उसको शारिरिक बनोट वा उसको भुगोलका आधारमा गरिएको व्यवहारको वर्गीकरण नै जात हो। जातका आधारमा कसैले अवसर पाउने या नपाउने र उस/उनीमाथि हुने व्यवहारले नै को कति बढी दलनमा छ भन्ने बुझिन्छ।
बाहुन समुदायभित्र पनि उपाध्याय बाहुनले जैशी बाहुनलाई गर्ने व्यवहार दलनकै व्यवहार हो। यसर्थ, दलन सबै धर्म र समूदायमा व्याप्त छ। हिन्दु वर्णाश्रमका आधारमा सानो–ठूलो, तल्लो र उपल्लो भनेर छुट्ट्याइने समूहलाई ‘जात’ भनिन्छ। यो हिन्दू वर्ण व्यवस्थाअनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी ४ वर्ण र त्यस अन्तर्गत विभिन्न जात पर्दछन्। र, वर्णभित्र पनि विभिन्न किसिमका तहहरु निर्माण गरिएको छ।
एउटै परिवारमा जन्मिएका छोरा र छोरीबीच गरिने विभेदको व्यवहारले नेपाली समाजमा छोरीलाई छोरा भन्दा तलको दर्जामा राखेको छैन र? हिजो राणा परिवार, त्यसपछि शाह राजपरिवार र आजको सत्ताले समेत कतिपय अवस्थामा जनतालाई गरेको व्यवहार पनि दलन होइन र?
आम परिवारमा नवबुहारीमाथि हुने थिचोमिचो पनि दलनको एक स्वरूप हो। व्यवहारकै दृष्टिले हेर्दा, सुदूरपश्चिमका नागरिकलाई पूर्व या काठमाडौंले गर्ने व्यवहार पनि प्रकारान्तरले दलन नै हो। पुरुषले महिलामाथि गर्ने शारिरीक, मानसिक र सांस्कृति हिंसा पनि दलन नै हो। अपाङ्गता भएका व्यक्तिमाथि आम समाजले गर्ने व्यवहार पनि दलन हो।
व्यवहार अर्थात् संस्कृति
मानिसले मानिसलाई केवल अर्काे मान्छेका रूपमा स्वीकार्दै सम्मानित व्यवहार नगरी जात, धर्म, लिंग, वर्ण, भूगोल, पूँजी, सत्ता र शक्तिका आधारमा ‘जोखेर’ व्यवहार गर्दा त्यसले विद्रोह जन्माउँछ। विभेद जन्मन्छ। हामी जात, धर्म र वर्णभन्दा पनि सबैभन्दा पहिले मानिस हौं। संविधानले हरेक नागरिकलाई दिने हक/अधिकार एउटै हुन्। त्यसकारण, हामीले हरेक मानिसलाई आफूजस्तै
मानिसका रूपमा स्वीकार्न थालेमा हिजोदेखि भएका धेरै विभेदकारी व्यवहार हटाउन सहयोग पुग्ला। पृथ्वी हामी सबैको साझा घर हो । हामी सबै यही घर भित्र बस्छौं । एउटै वायुमण्डलको श्वास फेरिरहेका छौं । वायुमण्डललाई अक्सिजन सिलिडण्डर मान्ने हो भने यहाँ हरेक मानिसले एउटै सिलिण्डरबाट श्वास फेरिरहेका छौं ।
लामो समयसम्म हामीलाई चलाएका चलन र व्यवहार नै हाम्रो संस्कृति हो। बोल्ने, सोच्ने, विचार गर्ने, काम गर्ने, खाने/पिउने, नृत्य, गायन, साहित्य, कला आदि सबै विषय संस्कृतिअन्तर्गत पर्दछन्। हाम्रो व्यवहार हाम्रो रहन सहन र जीवन पद्धतिमा प्रकट हुन्छ। यस मानेमा आज हामीले गर्ने व्यवहार आजका लागि मात्र होइन, भबिष्यका लागि पनि महत्वपूर्ण छ।
र, हामीले गर्ने व्यवहारमा व्यापक छलफल र प्रश्नहरु उठाउनु पनि आवश्यक छ। किनकी यो हस्तान्तरण वा पुस्तान्तरण हुने विषय पनि हो। आज हामीले जिएको जीवन हिजोका हाम्रा बाउबाजे र आमाहजुरआमाहरूको सिकाएको मूल्यहरूमा आधारित छ।
भोटका लागि दुरुपयोग
पछिल्ला केही दशकहरुमा हाम्रा राजनीतिक पार्टीहरूले दलनका विषयलाई केबल भोटका लागि प्रयोग गरे। समाजको भएको दलनको कारण खोतल्ने तिनले प्रयास गरेनन्। यसर्थ, उनीहरुका लागि दलित मानिस नभइ भोट हुन्। र, दलित समुदायका लागि यही बिडम्बना पनि हो। हुनलाई प्रत्येक शोषित वर्ग दलित हो। तर दलित आन्दोलनले दक्षिण एसियामा अछुतको व्यवहार गरिने समूह नै दलित हुन्।
क्यान्सर र दलन
अचेल कतिपय दलित र गैरदलित समुदायमा एउटा बहस चलेको छ, दलित शब्द नै नकारात्मक शब्द हो। यो शब्द हटाए सबै विभेद हट्छ भन्ने तर्क गरिरहेछन् उनीहरू। जसरी मानव शरीरमा हुने क्यान्सर रोग रोगहरूमध्ये कष्टसाध्य रोग हो। दलन पनि त्यस्तै रोग हो समाजको। त्यसो हुँदा ‘क्यान्सर’ शब्द हटाउँदैमा शरीर स्वस्थ्य हुन्छ? शब्द हटाएर विभेद हट्छ त? तर यो हजारौं बर्षदेखिको शोषण हो। यो विभेद हट्नका लागि धेरै लामो समय लाग्न सक्छ। तर लामो समय लाग्छ भन्दैमा विभेदबारे बहसै नगर्ने र यो शोषणको विरुद्धमा आवाज नउठाउने हो भने यो विभेद कम हुने होइन, अझै बढी झाँङ्गिने हुन्छ।
समाजमा दलन छ। तर कतिपय उच्च जातिका भनिने युवापुस्ताहरू समाजमा विभेद समाजमा नहरेको हचुवा अभिव्यक्ति दिइरहेछन्। दलन छ भन्ने कुरा नै नस्विकार्नु समाज बदल्न नचाहनु हो। दलनमै आनन्द मान्नु हो। तर समाजमा दलन छ र मुख्य कुरा त समाज बदल्नु हो। त्यसैले त्यो पुस्ता यो बदलावका लागि तयार हुन्छ वा हुँदैन? यसका लागि हस्तक्षेपमा उत्रन्छ वा उत्रन्न? यो दलन अन्त्यका लागि आजको पूस्ताले आफूलाई कहाँ उभ्याउँछ भन्ने कुरा महत्वपूर्ण छ।
‘कुनै पनि आधारमा कोही पनि मान्छेलाई विभेद गर्नुहुन्न’ भन्न सक्ने पुस्ताले विवाह गर्दा मलाई यही जातको केटा/केटी चाहिन्छ भन्दै खोज्छ वा जुनसुकै समुदायसँग पनि प्रेम गरे जस्तै विवाह गर्न तयार हुन्छ र गर्नका लागि परिवारलाई बुझाउन सक्छ भन्ने कुराले तय गर्छ होला। देशको र विभिन्न संघसंस्थाका पदमा कार्यक्रमका मञ्चमा हुने उपस्थितिमा यो पुस्ताले प्रश्न उठाउँछ वा जे भइरहेको छ, त्यसैमा गुपचुप रहन्छ भन्ने प्रश्नको उत्तर नै यी दलनको अन्त्य कहिले हुन्छ भन्नेभित्र छ ।
बहस गलत बाटोमा
काठमाडौंको दलित र पश्चिमको पहाडी जिल्लाको बाहुनको तुलना गरेर वा कोठा र कोटाको तुलना गरेर दलनको बहसलाई बराल्ने कोसिस हुँदैछ। तर यस्तो बहसले नेपाली समाजको दलनको समाधान पनि गर्दैन। बरु यसले हामीलाई पछाडी धकेल्छ। आजसम्म प्राप्त उपलब्धिहरू गुम्ने जोखिम हुन्छ। हजारौँ वर्ष लामो संरचनात्मक लाभ पाएका विभिन्न समुदाय छन् हाम्रोमा। यसो हुँदा, समाजमा संरचनात्मक लाभाशंका कुरा र यसको प्रभावबारे बुझाउन सके बहस सही लयमा बढ्दै समाधानमुखी हुन सक्छ।