-रघु केशवन-
जनताले निर्वाचित गरेको सरकारले सधैँ आफूलाई निर्वाचित गरेका नागरिककै भावना मात्र अभिव्यक्त गर्छन् भनी विश्वास गर्नु गलत हो । प्रतिनिधित्व भनेको मतदाता र उनीहरूका प्रतिनिधिहरूबीचको संवाद हो । जनप्रतिनिधिहरू मतदाताको मतबाट चुनावमा निर्वाचित भए पछि उनीहरूले नै आफूअनुकूल निर्वाचन क्षेत्र निर्धारण गर्छन् । हामीले भारतमा यो कुरा प्रस्ट रूपमा देख्न सक्छौँ । भारतमा हामीले हरेक हप्ता नरेन्द्र मोदीका पदचाप सिङ्गो समाजले गहिरो गरी अनुभव गरेको देख्दैछौँ । सन् २०१९ मा मोदी पुनः प्रस्ट बहुमतका साथ चुनावमा निर्वाचित भएपछि धार्मिक कट्टरता अकल्पनीय हिसाबमा जनस्तरको मनस्थितिमा बिजारोपण भएको छ ।
कर्नाटकका कलेजहरूमा मुसलमान छात्राहरूलाई हिजाब लगाएको भन्दै कक्षा कोठामा पस्न नदिएको घटनाबाट बितेका केही दिनमा हामीले भारतमा फैलिएको कट्टरताको गहिराइ मापन गरेका छौँ । हिजाब लगाएकै कारण कक्षा कोठाबाट बाहिर निकालिएका ती छात्राहरूले परीक्षा नजिकिँदै गरेको समयमा भोग्नुपरेको तनावको कुरा मात्र गरेर हामीले यो बहिष्करणको घटनाभित्र निहित ऐतिहासिक महत्वबाट भने उपेक्षा गर्न सक्दैनौँ।
कर्नाटकको यो घटनाका यी तस्बिर चर्चायोग्य छन् । पहिलो, कुन्दापुरस्थित एउटा कलेजको मूलद्वारमा हामीलाई भित्र पस्न दिन आग्रह गरिरहेका एक हुल छात्राहरूको तस्विर । दोस्रो, मुसलमान छात्राहरूले आफ्नो संविधानले दिएको अधिकार माग्दा रिसाएका हिन्दु विद्यार्थीहरूको हुलले छात्राहरूको प्रतिरोधमा गेरु रङको कपडा ओढेर विद्यालयमा प्रदर्शन गरिरहेका थिए ।
अर्को समय, अर्को स्थान
कर्नाटकमा भएका घटनाका दृश्यहरू हेर्दै गर्दा मलाई अरू केही हृदयविदारक तस्विरहरूको सम्झना भयो । ती तस्विरहरू आजभन्दा ६० वर्षअघि संरा अमेरिकामा खिचिएका थिए । सन् १९५४ मा संरा अमेरिकी सर्वोच्च अदालतले सार्वजनिक विद्यालयहरूमा औपचारिकरूपमा जातीय विभेदको अन्त्यको फैसला ग-यो । यो फैसला कार्यान्वयनको शिलशिलामा नागरिक अधिकार आन्दोलनकै सबभन्दा चर्चित तस्बिरहरू खिचिए । म सम्झन्छु ती तीन तस्बिर जसमा त्यत्तिञ्जेल गोराहरूले मात्र पढ्ने विद्यालयहरूबाट तीन काला रङका छात्राहरूलाई निकालिएको थियो ।

पहिलो तस्बिर रुबी ब्रिजेजको हो । उनी त्यत्तिबेला भर्खर ६ वर्षकी थिइन् । उनलाई तीन जना फेडरल मार्सलहरूले विद्यालयबाट बाहिर डो-याउँदै थिए। एक जना रुष्ट विभेदको पक्षधरले रुबीलाई विष खुवाएर मार्ने धम्कीसमेत दिएका थिए । त्यसकारण, मार्सलहरूले उनलाई घरबाट आफैले ल्याएको खाना मात्र खान दिएका थिए ।

दोस्रो तस्बिर, दोरोथी काउन्ट्सको हो । त्यत्तिबेला उनी पन्ध्र वर्षकी थिइन् । उनी एक्लै विद्यालय जाँदै थिइन् । गोराहरूको भीडले उनीमाथि घृणा खन्याइरहेका थिए । लेखक जेम्स वाल्डविनले पछि सो तस्विरको प्रसङ्गमा फ्रान्सबाट संरा अमेरिका फर्किन आफूलाई त्यही तस्बिरले अभिप्रेरित गरेको बताएका थिए । अमेरिकामा आफूले दैनिक भोग्ने गरेको अपमानबाट भाग्दै उनी फ्रान्स गएका थिए।
तेस्रो तस्बिर एलिजावेथ इकफोर्डको हो । उनी लिटिल रक सेन्ट्रल हाइस्कुलमा जाँदै गर्दा उनको पछाडि एक हुल गोराहरूले उनीमाथि अपमानपूर्ण गालीगलौज गरिरहेका थिए । लिटिल रक सेन्ट्रल हाइस्कुलमा जाने पहिलो पुस्ताका अफ्रिकी अमेरिकीहरूलाई द लिटिल रक नाइन पुस्ता भनिन्छ । यसरी एलिजावेथको अपमान गर्ने विद्यार्थीहरूको हुलमा एक जना थिइन् पन्ध्र वर्षकी हेजल ब्रायन । उनी पनि त्यही विद्यालयकी छात्रा थिइन् । उनी रिसले यति चुर थिइन् कि उनको अनुहार पूरै रिसालु देखिएको थियो।

अमेरिकाको दक्षिणी भाग र कर्णाटकबीचको यो बेमेल तुलनाले हामीलाई केही कुरा बताएको छ । युवाहरूबीच फैलिएको त्यस्तो ऐतिहासिक कट्टरता पछिसम्म पनि कायम रहने गरेको छ । हेजल मासरी बनेका हेजल ब्रायनले केटाकेटी छँदा आफूले गरेको त्यो कामको प्रायश्चित गरेर बिताइन् । इकफोर्डले उनलाई माफी पनि दिइन् । उनीहरू केही समयको लागि साथी पनि बने । तर, लिटिल रक नाइनका अरूले उनलाई माफी गर्न सकेनन् । हेजलको ठाउँ त्यो तस्बिरले इतिहासमा निश्चित गरिदियो । विकिपेडियामा ‘घृणा’ शब्दको अर्थ बुझाउन हेजल रहेको त्यही तस्बिर प्रयोग गरिएको छ।
यो तुलनाले हामीलाई पूर्वाग्रहको सबभन्दा प्रमुख कारण भौतिक सेवा र सुविधाबाट वञ्चित हुनु हो भन्ने कुरा स्मरण गराएको छ । भौतिक वञ्चितीकरण भन्नाले आवास, शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित गर्नु हो । बुर्काको विषयमा फ्रान्समा पनि यस्तै खालको बहस भएको थियो । फ्रान्सबाट भारतमा आयातित यो बहस भारतीय जनता पार्टी र त्यसका बुद्धिजीवीहरू कर्णाटकमा फ्रान्सेली धर्मनिरपेक्षताप्रति उत्साहले अचानक अधिनस्थ भएको सङ्केत भने होइन । यसले समुदायमा रहेको धार्मिक विभेदको फोहोरी भारतीय वास्तविकता अब शिक्षा क्षेत्रमा पनि फैलिएको उजागर गरेको छ ।
बिरामी समाजका पूर्वाग्रहबाट सबभन्दा बढी पीडित त्यहाँका सबभन्दा सीमान्तकृत नागरिक बन्ने निराशाजनक तथ्य यसले उजागर गरेको छ । लेखक बाल्डविनले काउन्ट्सलाई लेखेको पत्रमा ती युवतीहरू वास्तवमै अवर्णनीय घमण्ड, तनाव र पीडाबाट पीडित भएको लेखेका छन् । जसले उनीहरूको आत्मस्वाभिमान र परपीडकहरूको आक्रोशबीच द्वन्द्व अझ बढेको छ ।
उत्साहित बन्ने कुनै कारण छैन
हेजल मासरीको पश्चाताप कुनै नजिर होइन । पगरी गुथेका हिन्दु विद्यार्थीहरूले पनि आफ्नो कामको निम्ति मासरीले जस्तै प्रायश्चित गर्लान् भनी अपेक्षा गर्नुपर्ने कुनै कारण छैन । त्यत्तिबेला अमेरिकामा विभेद औपचारिक हिसाबले समाप्त हुने दिशामा थियो । मासरीको हृदयपरिवर्तन अंशतः उत्तरी अमेरिकी राज्यहरूबाट उनले पाएका आक्रामक चिट्ठीको परिणाम पनि थियो । हेजलको तस्बिर प्रकाशन भएपछि उत्तर अमेरिकी राज्यहरूबाट त्यस्ता आक्रामक प्रतिक्रियाहरू उनले पाएकी थिइन् ।
दक्षिणी अमेरिकाका ती गोराहरूलाई ६ वर्षको काली बालिकामाथि ढुङ्गा वर्षाउने र काला विद्यार्थीहरूमाथि थुक्ने हतारोको आंशिक कारण पराजित मानसिकताको उपज पनि थियो । उनीहरू पराजित भइसकेका थिए र उनीहरूलाई त्यो कुरा थाहा थियो । अर्कोतिर हिन्दूत्व अहिले उदयीमान छ । भारतीय निकायहरू या त निरीह छन् अथवा नतमस्तक छन् । मोदीको राजनीतिक विपक्षी विभाजित छ ।
यी भिन्नताको पृष्ठभूमिमा के यो तुलनाले हामीलाई भन्न सक्ने केही कुरा छन् ? दक्षिणी अमेरिकाका गोराहरूको मनस्थितिबारे बाल्डविनको बुझाई उपयोगी छ । सन् १९६५ मा क्याम्ब्रिज युनियनमा उनले दिएको भाषणमा भनेका छन्, “…उनीहरू त्यो कुरा विश्वास गर्न नै हुर्काइएका हुन् । त्यही भएर अहिलेसम्ममा त उनीहरूसँग विश्वास गर्नुको विकल्प नै रहेन । जीवन जस्तोसुकै भयावह किन नहोस्, जीवन जतिसुकै भयानक किन नहोस्, उनीहरू जतिसुकै विफल भए पनि, उनीहरूलाई विपत्तिले जतिसुकै गाँजे पनि उनीहरूसँग सन्तोषको एउटा ठुलो ज्ञान छ जो एउटा स्वर्गीय यथार्थबोधजस्तै छ : कम्तीमा उनीहरू काला होइनन् ।”
यो आत्मसन्तोष र अरूको भौतिक बञ्चितीकरण मिलेर नै बहुमतको राजनीतिले आकार लिने हो : जतिसुकै विफल भए पनि, जतिसुकै विपत्तिले गाँजे पनि उनीहरू कम्तीमा मुसलमान थिएनन् ।
म फेरि बाहिर मुसलमान भएर हिँड्नुको अपराधवापत शिक्षाबाट वञ्चित गरिएका र कलेजबाहिर उभ्याइएका ती छात्राहरूलाई सम्झन चाहन्छु । हामी बहुमतवादी कट्टरताले पु-याउने क्षतिबाट सजग बन्नुपर्छ। विद्यालयमा आफूले भोगेको त्यो तिक्त समयबाट एलिजावेथ इकफोर्ड कहिल्यै पनि बाहिर निस्कन सकिनन्। उनलाई पोस्ट–ट्रमाटिक स्टे«स डिसआर्डर भएको पछि पत्ता लाग्यो जसबाट उनी कहिल्यै पनि मुक्त हुन सकिनन्।
कर्नाटकका यी छात्राहरूले पनि यस्तै अनुभव गर्न सक्छन् । तर, ती छात्राहरूलाई कलेजबाहिर उभ्याउने प्रधानाध्यापकहरू, उनीहरूलाई नराखी पनि कक्षामा पढाउने शिक्षकहरू र उनीहरूप्रति ऐक्यबद्धता व्यक्त गर्ने साथीहरूको लागि पनि यो घटना अविस्मरणीय रहनेछ । बहुमतवादी राजनीतिले बहुमतलाई पनि अप्रभावित राख्दैन । ‘उनीहरू’ र ‘हामीहरू’ भन्ने दाग भने कहिल्यै पखालिनेछैन ।
द स्क्रोल डट आइएनबाट अनलाइनमजदुरको अनुवाद।










