कहिलेकाहीँ मलाई लाग्छ, यो देशमा सरकार छ कि छैन ? देशमा राजनीतिक पार्टीहरू छन् कि छैनन् ? युगले खोजेको जननेता देशले पाएको छ त अहिलेसम्म देशले ? छनलाई यो देशमा नेताहरूको ठूलो जमात छ, भीड र बथान छ । तर यो देश र इतिहासको प्रतिनिधित्व गर्ने र अब आउने युगको अगुवाई गर्ने को त ? त्यसको सहज उत्तर मिलेको छैन । नेपालको राजनीतिमा कतै नेतृत्वको संकट त होइन यो ? यो खुला प्रश्न पनि हो । देशको नेतृत्वका बारेमा अब खुला बहस आवश्यक छ । हिजोको नेतृत्व आन्दोलन र लडाईँ लड्न सफल भयो । जेलनेल र कष्ट झेल्न सफल भयो । तर राज्य सम्हाल्न कुनचाहिँ नेतृत्व सफल भयो? विश्वेश्वरप्रसाद कोइराला सफल भएनन् ।
गणेशमान त सत्तामै गएनन् । गिरिजा सफल भएनन् । प्रचण्डले चुनाव जितेर पनि पहिलो सरकारबाटै राजिनामा दिनुपर्ने अवस्था आयो । अहिले करिब दुई तिहाईको सरकार हालत पनि दयनीय छ । यो नेतृत्वको असक्षमताको भागिदार को हो ? यसको कारण के हो ? यसको मूल कारण नेपाली समाजको मूल चरित्र र विशेषता पनि हो । बढी आकांक्षा राख्ने र आफ्नो जमीन बिर्सने यो समाजको चरित्र हो । हाम्रो भूगोल, इतिहास, सभ्यता,संस्कृति र जनजीवनको वस्तुगत् धरातलमा उभिएर यो देश सम्हाल्ने अब को हो त ? यस विषयमा हामी गम्भीर हुनुपर्छ । आम जनता गम्भीर हुनुपर्छ । र, त्यस खालको नेतृत्व हामीले चयन गर्नुपर्छ । खाली नेताका पछाडि दगुरेर मात्रै त हुँदैन रहेछ । एउटा ठूलो जमात पछि लगाएर र उनका मिठा भाषण सुनेर वा नेताको बढाईँ–चढाईं गरेर मात्र नहुँदो रहेछ ।
२०४६ को जनआन्दोलनपछि २०५२ को जनयुद्धसम्म हेर्दा हाम्रा नेतृत्व समग्र रूपमा आन्दोलन गर्न सफल भए । पंचायत ढाले । तर बहुदलीय व्यवस्थालाई व्यवस्थित र सुदृढ बनाउन सकेनन्।
नेतृत्व रातारात जन्मने कुरो होइन । आन्दोलनले विकाश गर्ने विषय हो । नौ महिनामा आमाको गर्भबाट बच्चा जन्मेजसरी हुँदैन नेतृत्व विकाश । २०४६ को जनआन्दोलनपछि २०५२ को जनयुद्धसम्म हेर्दा हाम्रा नेतृत्व समग्र रूपमा आन्दोलन गर्न सफल भए । पंचायत ढाले । तर बहुदलीय व्यवस्थालाई व्यवस्थित र सुदृढ बनाउन सकेनन् । झण्डै तीन–तीन महिनामा सरकार परिवर्तन गर्ने खालको वातावरण बने । गणतन्त्र कालको यो दश बाह्र वर्ष हेर्दा कुनै पनि प्रधानमन्त्री या राज्यसंचालकले सक्षमतापूर्वक शासन चलाउन सकेनन् । यसले चाहिँ देश राम्ररी सम्हाल्छ, यो राम्रो पाइलट हो र यसले राम्रोसँग आफ्नो जहाजलाई उतार्न सक्छ भन्ने देखिएन । यो ऐतिहासिक कमजोरी हो । सिंगो देश र अहिलेका पुस्ताका लागि यो बिडम्बना हो ।
नेताहरूको वरपर प्राय: भजन र गुणगान गाउने एउटा पंक्ति हुँदोरहेछ । सत्ता र शक्तिको वरीपरी सधैं रहीरहन चाहने समूह हुन् ती । उनीहरुको कामै भजन गाउने र खैँचडी बजाउने र मरिसेकपछि फेरि ठूलो स्वरमा शंख फुक्ने हुँदोरहेछ । डम्फु र मादल बजाएपछि र भजन गाएपछि नाच्ने मान्छे धेरै हुन्छन् । भोजभतेरको आयोजना गरेपछि त्यहाँ लाइन लागेर खाने मान्छे पनि धेरै हुन्छन् । तर अप्ठ्यारो र असजिलो परिस्थितिमा जिम्मेवारी बहन गर्ने मान्छे को हुन्छ त ? त्यस्ता मान्छे बिरलै हुन्छन् । खेती पाकेको बेला बाँदरले भेट्टाए खेती सबै नास गर्छन् । तर खेती गर्ने किसानलाई पीडा हुन्छ ।
नेताहरूको वरपर प्राय: भजन र गुणगान गाउने एउटा पंक्ति हुँदोरहेछ । सत्ता र शक्तिको वरीपरी सधैं रहीरहन चाहने समूह हुन् ती । उनीहरुको कामै भजन गाउने र खैँचडी बजाउने र मरिसेकपछि फेरि ठूलो स्वरमा शंख फुक्ने हुँदोरहेछ ।
नेतृत्वकै कुरा गरौं, पहिले गिरिजालाई अनेक व्यक्तिगत गालीगलौज गर्नेहरूले उनैलाई पछि पूजासमेत गरेको देखियो । हिजो ज्ञानेन्द्रलाई ढोग्नेहरू अहिले ज्ञानेन्द्रका कडा विरोधी भएका छन् । कुनै बेला प्रचण्ड भन्ने मान्छे नै छैन भन्नेहरू अहिले प्रचण्ड रहेछन् भन्दै उनका पछि लागेर हिँडेका छन् । हिजो केपी ओलीको आवश्यकता नै छैन भन्नेहरूले अन्तत: केपी ओलीसँगै मिल्न वाध्य भए ।
वस्तुगत धरातलमा उभिएर यहाँको राजनीतिक शक्ति, इतिहास, जनताले जन्माएको नेतृत्वको पंक्तिलाई सुझबुझका साथ लाने शक्तिको खाँचो छ हामीलाई । त्यसको अर्थ हो, हामीमा नेताहरूको कमी छैन । नेपालमा ठूलो रेलमा हाल्दा पनि नअटाउने नेताहरू छन् । तर नेतृत्वको संकट छ । नेतृत्व भनेको त दुरदर्शी हुन्छ, भोलिको पूस्ताको समेत ख्याल गर्न सक्ने र सोच्न सक्ने हुन्छ । नेतृत्वले नैतिक, मूल्य, मान्यता, निष्ठा र प्रतिवद्धता बोकेको हुन्छ । अगाडि बढ्दै गर्दा उसले दायाँबायाँ र पछाडि पनि हेरिरहेको हुन्छ । नेतृत्वसँग त तेस्रो नजरसमेत हुनु आवश्यक छ । आम मान्छेले देख्न नसक्ने, पहाडभन्दा पर देख्न सक्ने र कुहिरोभित्रका जटिलता ठम्याउन सक्नेलाई पो हामी नेतृत्व ठान्छौं र मान्छौं ।
यहाँको राजनीतिक शक्ति, इतिहास, जनताले जन्माएको नेतृत्वको पंक्तिलाई सुझबुझका साथ लाने शक्तिको खाँचो छ हामीलाई । त्यसको अर्थ हो, हामीमा नेताहरूको कमी छैन । नेपालमा ठूलो रेलमा हाल्दा पनि नअटाउने नेताहरू छन् ।
त्यसो हुँदा अहिले केपी ओली र प्रचण्डजीले के सोच्नुपर्यो भने उनीहरू मात्र होइनन्, यो मुलुक हाँक्ने पाइलट । भोलि अरु पनि पाइलट आउँछन् । आफूहरु नभए जहाजै भन्ने भ्रममा उहाँहरु पर्नु भएन । खाली कुरा के हो भने अब दुर्घटना नहोस् । राष्ट्रले फेरि भवितव्य व्यहोर्न नपरोस् । फेरि आँशु झारेर सडकमा रुन नपरोस् । फेरि मसाल बालेर, बम बन्दुक बोकेर लड्न नपरोस् । यी दुई नेताहरुले ट्रयाक्टर चलाउन सक्नुभयो । कच्ची बाटामा जीप पनि चलाउन सक्नुभयो । तर जहाजचाहिँ ठोक्याउनुहोला भन्ने त्रास छ । दुर्घटना निम्त्याउलान् र सबैभन्दा पहिला त्यसको शिकार आफैं होलान् भन्ने चिन्ता हामीलाई छ । र, ठूलो जहाजमा हामी पनि चढेको भएर हामीसमेत दुर्घटनामा पर्लाउँ कि भन्ने चिन्ता छ । जहाजको मुख्य जिम्मा त पाइलटहरूले नै लिने हो । देश चलाउने पाइलटहरुले दायाँ र बायाँ मुन्टो फर्काउनु भएन । आफ्नो लक्ष्य कता हो, त्यता ध्यान दिनुपर्यो । अबको हाम्रो लक्ष्य भनेको समृद्धि र समाजवाद हो र त्यसतर्फ जुट्नुपर्यो ।
हिजो धेरैजसो जनता उर्लेर र उत्रेर आएको हो यो गणतन्त्र । कसैसँग टोपी थापेर आएको होइन गणतन्त्र । अबको समाजवाद पनि विदेशीले ल्याएर हामीलाई दिने होइन । हेलिकप्टरमा ल्याएर झार्ने होइन ।
हिजो धेरैजसो जनता उर्लेर र उत्रेर आएको हो यो गणतन्त्र । कसैसँग टोपी थापेर आएको होइन गणतन्त्र । अबको समाजवाद पनि विदेशीले ल्याएर हामीलाई दिने होइन । हेलिकप्टरमा ल्याएर झार्ने होइन । यो त जनताले स्थापना गर्ने कुरा हो । यहाँको आधारभूत वर्गले ल्याउने कुरा हो । आम नेपालीले ल्याउने कुरा हो । त्यसका लागि जनताको पूँजी, चेतना, शक्ति र सामथ्र्यलाई परिचालन गर्नुपर्यो । तर खै परिचालन गरेको ? आन्दोलनमा लाखौं मान्छे उतार्ने र परिचालन गर्न सक्ने नेतृत्वले राष्ट्र निर्माणमा पनि लाखौं मान्छे उतार्न सक्नुपर्छ कि पर्दैन ? आफ्नो जेटमा ३ करोड यात्रु राखेर कुदाइरहेका पाइलटले यसबारे सोच्नुपर्छ ।
हिजो संघीयता आयो भने देश टुक्रिन्छ भन्ने मान्छेहरू पनि हाम्रो एकिकृत पार्टीमा छन् । गणतन्त्र आउँदैन भन्नेहरू पनि थिए हिजो । उहाँहरूले महसुस गर्नुपर्यो कि देशमा यति धेरै परिवर्तन भएको छ । यसर्थ, यसलाई हामीले राम्रोसँग सम्हालेर लैजानुपर्छ । यो इतिहासले सुम्पेको जिम्मेवारी हो । यसमा हामी फेल भयौं भने हामीलाई आउने पुस्ताले धिक्कार्नेछ । इतिहासमा हामी कलंकित हुन्छौं भन्ने महसुस गर्नुपर्यो । प्रचण्ड र केपी मिलेनन् भने दुईवटैको सिङ फुक्लिन्छ । र, पहिलो सिङचाहिँ जो अघि छ, त्यसकै फुक्लिन्छ । यसर्थ, उहाँहरूले आफ्ना कमजोरी महसुस गर्नुपर्छ । गल्तीहरू सच्याउनुपर्छ । युगले सुम्पेको देश सम्हाल्ने जुन जिम्मेवारी छ, त्यसलाई कुसलतापूर्वक पूरा गर्नुपर्छ ।
आफ्नो जेटमा ३ करोड यात्रु राखेर कुदाइरहेका पाइलटले यसबारे सोच्नुपर्छ ।
इतिहास साक्षी छ । कांंग्रेसहरूबीच कुटाकुट–काटाकाट भयो र फुट्यो । एमालेको हाल त्यही भयो । एकले अर्कोलाई भ्रष्टाचारीदेखि चोरडाँकासम्म घोषणा गरे । र, माओवादी भन्ने पार्टी पनि अन्तत: टुक्राटुक्रा भयो । एकले अर्कोलाई तिरस्कार त गरेकै थिए, गद्धारै घोषणा गरे । र, यसरी युगले सुम्पेको जिम्मेवारी पूरा गर्न नेपालका राजनीतिक दलहरू असक्षम भए । यो ऐतिहासिक प्रश्न हो यो । यदि अहिलेको सरकार नेपाली कांग्रेसको हुन्थ्यो भने धेरै टुक्रा हुन्थ्यो होला । राप्रपा र अन्य मधेसवादी दलहरू कति चिरा भए, त्यता नजाउँ । यसको अर्थ हो, नेपालको राजनीतिमा बिखण्डनवादी चिन्तन छ । दुरदृष्टि नभएको, आफ्ना कमजोरीहरू स्विकार्न नसक्ने, जनादेशलाई इमान्दारीपूर्वक पालन गर्न नसक्ने र कुर्सीमा गएपछि कुर्सी फुस्केको पनि थाहा नपाउने नेतृत्व छ । केपीजीमात्र होइन, सुर्यबहादुर, मरिचमान, गिरिजाप्रसाद, शेरबहादुर, प्रचण्डलाई हेर्यौं भने नेपालमा कुनचाहिँ नेतृत्व सफल भयो ? यसबारे हरेक जनता, राजनीतिज्ञ र समाजविज्ञान बुझ्नेहरूले गम्भीर समीक्षा गर्न आवश्यक छ ।
पाइलट असफल भए अर्को मान्छे निस्कन्छ । यसमा चिन्ता छैन । इतिहास कहिल्यै पनि पछाडि फर्कँदैन । ठूला बाढी पहिरो आउँछन् । तर नदी त बगिरहन्छ । रोकिन्न । केपी, प्रचण्ड र शेरबहादुरभन्दा सक्षम मान्छे धेरै छन् । त्यो उहाँहरूले पनि देख्नुपर्यो । एउटा राम्रो प्राध्यापक र शिक्षकले राम्रो विद्यार्थी देख्छन् । तब पो ती कलेज र शिक्षक सफल हुन्छन् । हेडमास्टरले कसैलाई पनि सक्षम देख्दैन भने उ कसरी असल नेतृत्व ठहर्छ ? के नेकपाभित्र ४ सय केन्द्रीय सदस्य काम नलाग्ने नै हुन् त ? ती भेडाबाख्रा मात्रै चराउने मान्छे त होइनन् । कुनै काम नपाएर केपी र प्रचण्डका पछाडि लागेका हुन् र ती ?
भिडियो:
के प्रचण्ड र केपीलाई बनाउन उनीहरूको योगदान छैन ? धेरैको लगानी छ यो कम्युनिष्ट पार्टीमा । झापा विद्रोहमा केपी ओली एक्लै थिए र ? जनयुद्ध प्रचण्ड एकलैले मात्र लडेका हुन् र ? हजारौं लाखौं मान्छेहरू लागेर उठेका हुन् ती आन्दोलन र युद्ध । त्यो उठेको हुण्डरी, आँधी र ज्वारभाटालाई आफ्नो शक्तिसँग ल्याएर अहिले तुलना गर्ने ? आफ्नो अधिकारसँग ल्याएर तुलना गर्ने ? जनताको अधिकार बिर्सने ? जनताको सार्वभौमसत्ता र जनादेश बिर्सने ? त्यो अधिकार कसैलाई पनि छैन ।
गणतन्त्र आएको छ, संघीयता आएको छ । समानुपातिक र समावेशिता आएको छ । हिजो हलो जोत्ने किसानहरू अहिले मुख्यमन्त्री र मन्त्री भएका छन् । राज्यसत्ता संचालन गर्ने विषयमा केही परिवतनहरू त देखिएका छन् । र, अर्को कुरा निश्चित छ, अब प्रतिगमन हुँदैन । पंचायत फर्कियो र ? राणा शासन फर्कियो र ? अब कसैलाई राजतन्त्र फेरि फर्कन्छ भन्ने भ्रम छ भने त्यो महाभुल हो । समाज अब अग्रगतिमै जान्छ, पश्चगमनमा जाँदैन । समृद्ध समाजवाददतिरै जान्छ । तर खालि प्रश्न के हो भने हाम्रा नेतृत्वको लापरवाही र असक्षमताकै कारण हामीले फेरि युद्ध लड्न नपरोस् ।
(नेकपा केन्द्रिय सदस्य केसीसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित)