हामी ‘आजको वामपन्थ’ बहस बहस चलाउँदैछौँ। तर वामपन्थमाथि बहस केन्द्रीकृत हुनुपर्नेमा मार्क्सवाद र कम्युनिष्ट पार्टीमा मात्रै रुमल्लिरहेका छौँ, जुन कुरा ‘वृहत वामपन्थ’भित्रको एउटा अंगमात्रै हो। वामपन्थलाई कम्युनिष्ट पार्टीमा मात्रै सीमित गर्नु भनेको संकुचित बुझाई हो। जे छ त्यो भन्दा उन्नत र श्रेष्ठ कुरा जसले गर्छ र त्यसका लागि जसले संघर्ष गर्छन्, चिन्तन गर्छन् र व्यवहारमा उतार्छन् ती नै वामपन्थ हुन्। हामीमध्ये धेरैजसो व्यक्ति यहाँ कम्युनिष्ट पार्टीबाट आएकाले पनि हुनसक्छ, हामीलाई कम्युनिष्ट पार्टीसँग बढी मोह छ र त्यसकै सेरोफेरोमा रहेर हामी वामपन्थ र मार्क्सवादलाई एउटै ढंगले तुलना गछौँ र यिनलाई पर्यायवाचीका रुपमा बुझ्ने काम भइरहेको छ।
वर्चश्व र प्रभुत्वविरुद्ध जसले जहाँ र जतिखेर संघर्ष गर्छ त्यो नै वामपन्थी हो। र, वामपन्थसम्म हामी पुगेका छैनौँ। दैनिक उपभोग्य वस्तुका मूल्य र महंगीका बारेमा बहस उठाइँदैन। र, हामी धेरैजसो कम्युनिष्टहरूलाई जति सैद्धान्तिक कुराहरू थाहा छ, हामीलाई त्यसैमा आनन्द आइरहेको छ। यसैलाई कोट्याउँदा र कन्याइरहँदा मात्रै हामी लक्ष्यमा पुग्दैनौँ। बरु विषयान्तर भएको जस्तो लाग्छ। यहाँ हर्क साम्पाङले गरेको श्रमको प्रसंग पनि उठ्यो। उनले जसरी अरुसँगै मिलेर श्रम गरिरहेका छन्, त्यो श्रमको संस्कृति हो। त्यो ठीक छ। पत्रपत्रिका वा कहीँकतै त्योभन्दा उन्नत र भिन्न खालको प्रश्न कसैले उठाइरहेको छ भने त्यो वामपन्थी कोणबाट आइरहेको छ।
मसिना भन्दा मसिना कुरालाई केलाउन सक्यो भने वामपन्थको बारेमा अझै स्पष्ट हुन सकिन्छ। म यहाँ वामपन्थ र मार्क्सवादलाई जोड्दै दुईवटा कुरा उठाउन चाहन्छु। नेपालको सन्दर्भमा हेर्ने हो भने इतिहासको कुनै कालखण्डमा वामपन्थी कंग्रेस पनि थियो। अहिले पनि कांग्रेस पार्टीभित्रै पनि, राज्य पुनर्संरचनाको बारेमा एउटा अडान लिने, र्याडिकल अडान लिने र फेरि न्यायको पक्षमा कुनै न कुनै रुपमा वर्चस्वशालीको पक्षमा निर्णय गर्ने मान्छेहरू पनि देखिन्छन्। एउटा सन्दर्भमा जो मान्छे वामपन्थीजस्तो लाग्थ्यो, रुपान्तरणकारीजस्तो लाग्थ्यो, जनमुखीजस्तो लाग्थ्यो, त्यही मान्छे पछि गएर प्रतिगामी भएको देखिन्छ, दक्षिणपन्थी भएको छ। उस/उनले वामन्थि छोडेको छ। यसरी हेर्यौँ भने हामी वामपन्थको व्यापक खालको परिभाषामा पुग्न सक्छौँ होला।
नेपालका सन्दर्भमा यहाँका मार्क्सवादीले जतिखेर पनि उठाइरहने कुरा वर्ग विश्लेषणकै हो। वर्ग विश्लेषण गर्दा हामी कुन ठाउँमा वामपन्थी भयौँ, कुन ठाउँमा मार्क्सवादी भयौँ, कुन ठाउँमा वर्गीय मुक्तिका पक्षधर भयौँ भनेर कहिले हामीले सोचेका छौँ कि छैनौ? घनश्याम भूसालले कोशिस गर्नुभएको होला, श्याम श्रेष्ठ र चैतन्य मिश्रले पनि यसमा कोशिस गर्नुभएको होला। उहाँहरूले पक्कै पनि वर्ग विश्लेषणका कामहरू गर्नु भएको होला। तर उहाँहरूका विश्लेषण हेर्दा खेरी मलाई त्यस्तो आशा लाग्दैन कि त्यहाँ जात, लैंगिकतालगायतका कारणहरूले समाजमा गरिबी बढेको छ भन्ने खालका विश्लेषणहरू भेटिँदैन। मैले घनश्यामजी र चैतन्य मिश्रको किताब हेरेको छु तर त्यहाँ कहीँ र कतैपनि ती कुरा आएका भएपनि उति मजबुत ढंगसँग आएको छैन। त्यो हिसाबले पनि नेपालको कम्युनिष्ट आन्दोलनमा ती पक्षले गरिरहेको संघर्षलाई कसरी हेर्ने भनेर वैचारिक रुपमा धेरै अस्पष्टता छ।
अर्को एउटा प्रश्नः वर्गीय मुक्ति भनेकै के हो? वर्गीय मुक्तिको सपना देख्दैमा, त्यसको लागि आन्दोलन गर्दैमा के नेपालको सन्दर्भमा आमूल परिवर्तन हुन्छ? यो प्रश्न जब्बर छ। मुक्तीका सन्र्दभमा जातियता र लैंगिकतालगायतक धेरै आयामहरू छन्। ती आयामहरूका बारेमा हाम्रो सोचाई के हो भन्ने कुरा पनि उत्तिकै जरुरी छ। त्यस्तै, आम जनताले दैनिक रुपमा पाइरहेका समस्याहरूका बारेमा हाम्रा धारणा के हुन् त भन्नेबारे पनि बहसहरू चलाउन’ आवश्यक हुन्छ। ऋाम जनताका समस्या र चासोबारे कुरा गर्न सकिएन भने पनि समस्या हुन्छ।
हामीले वैचारिक रूपमा ‘डी’ क्लासको कुरा उठाइरहेका छौँ। केही केही मान्छेले मात्रै यो कुरा निकाल्छन्। तर हामी डिकास्ट हुने कि नहुने? अघि उठाएको प्रश्नलाई फेरि मैले दोहोर्याउन मात्र खोजेको हो। यस्ता धेरै प्रश्नहरू छन्, जसमा हामी गम्भीर देखिएका छौँ। आफ्नो आन्दोलनमा एक ढंगले वर्गीय मुक्तिको कुरा मात्र गर्नेलाई मात्रै मैले भन्न खोजेको हुँ। वामपन्थका बारेमा कुरा गर्दै गर्दा हामीले आफूलाई मानवीय बनाउने, लोकतान्त्रिक बनाउने र जनमुखी बन्ने सन्दर्भमा धेरै काम गर्न बाँकी छ। धेरै पुनर्विचार गर्नुपर्ने छ। हामी आफ्नै बारेमा पनि थुप्रै प्रश्नहरू बाँकी छन्।
(नेपाल अध्ययन केन्द्रले साउन १४ र १५ गते काभ्रेको पनौतीमा आयोजना गरेको ‘आजको वामपन्थ’ विषयक अन्तरसंवाद कार्यक्रममा लेखक राजेन्द्र महर्जनले गरेको सम्बोधनमा आधारित रहेर यो सामग्री तयार पारिएको हो।)
भिडियो –
यो पनि –
नेपाली समाजका ७ अन्तरविरोध – पीताम्बर शर्मा
पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ – खगेन्द्र संग्रौला
बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन – राम कार्की ‘पार्थ’
सिद्धान्तबिहिन हुनु भनेको कुहिराको काग बन्नु हो – टंक कार्की
आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने? – रोशन जनकपुरी
कम्युनिष्टहरुमा ‘डिकोडिङ’को समस्या छ – उमेश चौहान
वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने? – भूपाल राई