हाम्रो समाजमा एक महिला र उसको शरीरसँग जोडिएका विषयमा हुने फैसला अरु कसैले गर्छ। अचम्म नमान्नुहोला, यो आजकै युगको कुरा हो। संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) ले भर्खरै ‘माई बडी इज माइ वन’ शीर्षकमा एउटा रिपोर्ट जारी गरेको थियो। जसमा विश्वभरका महिलाहरूको स्थिति चिन्ताजनक गरेको बताइएको छ। रिपोर्टका अनुसार विश्वमा ५७ गरीब तथा विकासशील देशहरूका महिलाहरूको अवस्था दयनीय छ। यी देशहरूमा महिलाहरूलाई यौन सम्बन्धलाई अस्वीकार गर्नेसम्मको अधिकार छैन।
राष्ट्र संघको यो रिपोर्ट शारीरिक स्वायत्ततामा आधारित छ। जसमा महिलाहरू आफ्नो स्वयम्को शरीरका लागि फैसला लिन पाउँदैनन् भन्ने कुरा आएको छ। समाजमा अहिले पनि महिलाको ‘हुन्छ’ र ‘हुँदैन’को कुनै अर्थ रहदैन। अथबा बलजफ्ति चलिरेहछ।
युएनएफपीएको यो रिपोर्टका अनुसार आधा भन्दा बढी महिलाहरूलाई आफ्नै शरीरका बारेमा फैसला लिने कुनै पनि अधिकार छैन। आफ्नो स्वास्थ्य, गर्भनिरोधकको उपयोग या आफ्नो साथीसँग यौन सम्बन्ध बनाउनेसम्मको निर्णय महिला आफैँ गर्दिनन्। विश्वका धेरै महिला तथा केटीहरूको शरीर या जीवनसँग जोडिएका कुनै पनि फैैसलामा दोस्रो व्यक्तिको प्रभाव बढी रहन्छ।
शारीरिक स्वायत्तता के हो?
शारीरिक स्वायत्तताको आशय कुनै पनि महिलालाई आफ्नै जीवनको सबै फैसला लिने पूरा स्वतन्त्रता होस् भन्ने हो। अझ स्पष्ट रुपमा भन्नुपर्दा महिलाको शरीरसँग जोडिएका फैसला होस् वा उसको भविष्यसँग जोडिएका फैसला महिला स्वयम्ले गर्ने अधिकार उसमा निहित हुनु शारीरिक स्वायत्तता हो।
यसमा महिलाले आफ्नो इच्छाले आफ्नो साथी रोज्ने, उसलाई को सँग यौन सम्बन्ध राख्ने, गर्भवती हुने र चिकिसा परामर्श कहिले लिने जस्ता फैसला महिला आफैँ लिन पाउँछिन्। तर विश्वमा अधिकांश महिलासँग जोडिएका यी विषयमा कुनै न कुनै तरिकाले निगरानी गरिन्छ।
पितृसत्ताले गर्ने यो निगरानीले महिलाको हरेक स्वायत्ततालाई प्रभाव पारिदिन्छ। यसमा महिलाको आफ्नो निर्णयको कुनै महत्व हुँदैन। यसखालको वैचारिक निगरानीबाट उनको स्वास्थ्य र जीवनका योजना लगायत सबै प्रभावित हुन्छ। जहाँ पुरुष आफ्नो शारीरिक स्वायत्तताबाट भरपूर जीवन जिउँछ, त्यहाँ एक महिला आफ्नो विचार समेत राख्न पाउँदिनन्।
शारीरिक स्वायत्तताको उल्लघंन कहिले हुन्छ?
शारीरिक स्वायत्तता उल्लंघनका धेरै उदाहरण छन्। जस्तैः जब एक महिलालाई उसको जीवनसाथीले भने अनुसार गर्भनिरोधक औषधि सेवन गर्नुपर्ने हुन्छ। महिलाले आफ्नो इच्छा र सहमति बिना नै आफ्नो साथीसँग यौन सम्पर्क गर्नुपर्ने हुन्छ। जब अलग–अलग यौनिक पहिचानका व्यक्ति सडकमा डर र संकोचका साथ हिँड्नुपर्ने हुन्छ। जब शारीरिक रुपले विकलाङ्ग मानिसको अधिकार खोसिन्छ, उसले हिंसाको सामना गर्नुपर्छ। यी सबै शारीरिक स्वायत्तताको उल्लंघनभित्र पर्छन्।
कुनैपनि व्यक्तिको शरीरमाथि यदि उभन्दा शक्तिशाली व्यक्तिले हक दाबी गर्छ र उसको सहमति तथा इच्छालाई कुल्चिन्छ, त्यस्तो व्यक्तिले शारीरिक स्वायत्तताको उल्लंघन गरेको हुन्छ।
भेदभावको असरः आत्मविश्वासमा कमी
कुनै पनि समाजमा महिला र पुरुषबीचको समानताले नै त्यस समाजलाई सभ्य र विकसित बनाउँछ। तर विश्वभरको अवस्था हेर्ने हो भने सामाजिक, आर्थिक तथा राजनीतिक कारणले महिलाको निजी जीवनस्तर धेरै चिन्ताजनक छ। महिलामा शारीरिक स्वायत्तता नभएका कारण महिलाहरूले लैंगिक भेदभाव र हिंसाको सामना गर्नुपर्ने हुन्छ। जसको सीधा असर उनको मानसिक स्वास्थ्यमा पर्छ, जसका कारण महिलाहरूमा आत्मविश्वासको कमी देखिन्छ।
युएनएफपीएको रिपोर्ट अनुसार विश्वमा एक चौथाई देशका ५५ प्रतिशत महिलाहरू मात्र आफ्नो निजी जीवनसँग जोडिएका फैसला लिन सक्षम छन्। ७५ प्रतिशत देशका महिलाहरूले मात्र गर्भनिरोधक औषधि प्रयोग गर्न पाएका छन्। २९ प्रतिशत देशका महिलाहरूका लागि मातृत्वबाट छुट्कारा मिल्ने कुनै व्यवस्था छैन। पुरुषले बलजफ्ति गर्छ। उनीहरू नाईँ भन्ने सक्दैनन्। भने पनि उनको कुरा सुनिन्नँ । यसरी उनीहरू निरन्तर बच्चा जन्माइरहन्छन्।
यी तमाम आँकडाले महिला एउटा मानिसले पाउनुपर्ने सारा अधिकारबाट बञ्चित छन् भन्ने देखाउँछ। यसबाट बुझ्न सकिन्छ कि आज पनि महिला र उनको शरीरलाई एक वस्तुका रुपमा लिइन्छ। पितृसत्तात्मक मानसिकताका कारण महिला एक उपभोग्य वस्तुका रुपमा मात्रै छन्, जसलाई आफ्नो कुरा बोल्ने वा सुन्ने कुनै स्वतन्त्रता हुँदैन।
के तपाईँले यस्तो कुरा महसुस गर्न सक्नुहुन्छ? के तपाईँ आफैँ पीडित हुनुहुन्छ। ख्याल राख्नुस्, मान्छे स्वतन्त्र प्राणी हो र कमसेकम आफ्नो शरीरको अधिकार उन÷उसलाई छ । मेरो शरीर, मेरो मर्जी।
(फेमिनिजम् इन् इण्डियाबाट मेनुका बस्नेतको अनुवाद।)