ब्राजिलका क्रान्तिकारी शिक्षाशास्त्री पाओलो फ्रेयरेले आफ्नो काममा मानवीय स्वतन्त्रता र गरीमालाई जोड्ने कोशिस गरे। फ्रेयरेले अधिकारबाट बञ्चित र शोषित जनताका लागि लागु गरिएको शिक्षण कार्यक्रमलाई समाजको आधारभूत र मौलिक परिवर्तन गर्नका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरामा निरन्तर लागिरहे।
फ्रेयरे भन्ने गर्थे, ‘क्रान्तिकारी शिक्षाशास्त्रको विकास नै शिक्षाको आधारभूत लक्ष्य हो। जसले व्यक्तिमा आलोचनात्मक विवेक विकसित गराउन सक्छ।’ फ्रेयरेले विकास गरेको ‘संवादात्मक सम्बन्ध कायम गर्ने’ पद्धति सन् १९५० पछि परम्परागत पद्धतिविपरीत प्रगतिशील विकल्पको रूपमा आयो। शिक्षासम्बन्धी परम्परागत पद्धति अमेरिकी सरकारको एजेन्सी, युएसएडद्वारा सञ्चालित थियो। यो कुख्यात अन्तराष्ट्रिय संस्था ल्याटिन अमेरिकामा लोकतान्त्रिक ढंगबाट चुनिएका प्रगतिशील सरकारहरूलाई गिराउन र ‘कू’ गर्नका लागि बदनाम थियो। वर्चस्वशाली पारम्परिक पद्धतिको विकल्पका रूपमा फ्रेयरेको शिक्षाशास्त्रीय पद्धति उदायो।
प्रारम्भिक जीवन
बिसौं शताब्दीमा शिक्षासम्बन्धी सबैभन्दा विद्वान दार्शनिकहरूमध्ये फ्रेयरे पनि एक हुन्। उनको जन्म १९ सेप्टेम्बर १९२१ मा ब्राजिलको उत्तरपूर्वी इलाकाको रेसिफे नामक ठाउँमा भएको थियो। सन् १९३४ मा उनका बुवाको मृत्यु भएपछि पहिलेदेखि नै कमजोर रहेको उनको परिवारमा पहाड नै खसेजस्तै भयो। परिवारको कमजोर आर्थिक स्थितिका कारण फ्रेयरे स्कुल छोड्न बाध्य भए।
यस दौरान उनले गरिबी र भोकको प्रत्यक्ष अनुभव गरे। भोकसँगको लडाइँका साथै निरन्तरको संघर्षपछि उनी पुनः अध्ययनलाई निरन्तरता दिन सफल भए। सन् १९४३ देखि १९४७ को बीचमा उनले कानुन विषय पढे। आफ्नो ट्युसन शुल्क कम गर्नका लागि उनी विश्वविद्यालयसँग जोडिएको एउटा स्कुलमा पोर्चुगिच भाषा पढाउने गर्थे। फ्रेयरेले आफ्नो जीवनमा भोगेको यथार्थ र ब्राजिलको दुःखदायी इतिहासको प्रभाव उनको जीवनको उत्तरार्धसम्म पनि परिरह्यो।
ब्राजिल सन् १५०० देखि १८२२ सम्म पोर्चुगलको उपनिवेश बनेको थियो। यसैकारण पूरै ल्याटिन अमेरिकामा स्पेनिश भाषा बोल्ने गरिन्छ। ब्राजिलमा भने पोर्चुगिचको प्रचलन छ। उतिखेर, पोर्चुगलका लागि ब्राजील एक व्यापारिक केन्द्रको रूपमा थियो। त्यहाँका संसाधनहरूको उपयोग गरेर इंग्लयाण्ड तथा हल्याण्डलाई उछिन्दै युरोपकै शक्तिशाली मुलुक बन्ने पोर्चुगलको लक्ष्य थियो। तीन शताब्दीको बर्बर औपनिवेशिक शासनले ब्राजिलका स्थानीयलाई गरिबी र भोकमरीको चपेटामा पारेको थियो।
पोर्चुगिचले अफ्रिकाबाट अश्वेत मानिसलाई दासका रुपमा राखे, जसको परिणामस्वरुप अधिकांश ब्राजिलवासी गरिबी र असहायपनको जिन्दगी जिउन बाध्य थिए। १९औँ शताब्दीमा ब्राजिललाई नाम मात्रको स्वतन्त्रता प्राप्त भयो। राजनीतिक स्वतन्त्रताका बावजूद २०औँ शताब्दीको मध्यसम्म अधिकांश ब्राजीलवासी अभावग्रस्त थिए।
सन् १९४७ मा फ्रेयरेले पोर्चुगिच भाषा अध्ययनका दौरान एक सरकारी एजेन्सी सर्भिस, सोसल सर्विस दा इन्डस्ट्रि (एसइआइ) का लागि काम गरे। यो संस्थाले ब्राजिलका मजदुर वर्गका लागि स्वास्थ्य, आवास र शिक्षाका लागि काम गर्ने गथ्र्यो। यसैमार्फत मजदूर वर्गको जीवनसँग फ्रेयरेको राम्रो साक्षात्कार भयो। यसका साथै उनी ब्राजिलको शिक्षा पद्धतिका बारेमा पनि जानकार भए।
पछि उनी रिसर्च तथा प्लानिङ विभागमा कन्सल्टेन्ट पदमा नियुक्त भए। फ्रेयरे शिक्षालाई एकेडेमिक उपलब्धि या रोजगारसम्बन्धी कौशल सिक्ने तालिमका रूपमा मात्रै हेर्दैनथिए। उनी विद्यार्थीको सामाजिक–आर्थिक समस्याहरूलाई बुझ्न आवश्यक रहेको मान्यता राख्थे। प्रौढशिक्षाको क्षेत्रमा उनले गरेका काम राष्ट्रिय स्तरमा पनि परिचित हुन थालेपछि उनले चाडैँ नै आफूलाई एउटा प्रगतिशील शिक्षकको रुपमा स्थापित गरे।
कल्चरल सर्कल
सन् १९६१ मा रेसिफे शहरका मेयरले फ्रेयरेलाई शहरमा साक्षरता कार्यक्रमलाई विकसित गर्ने जिम्मेवारी दिए। यी कार्यक्रमहरूको उद्देश्य मुख्यतः मजदूर वर्गको साक्षरतालाई प्रोत्साहन दिनु, लोकतान्त्रिक माहौलको सृजना गर्नु तथा प्रगतिशील स्वदेशी संस्कृतिको संरक्षण गर्नु थियो। फ्रेयरेले साक्षरताका यी कक्षाहरूलाई ‘कल्चरल सर्कल’ (सांस्कृतिक वृत्त) भन्न सुरु गरे। ‘साक्षरता’ शब्दले निरक्षरताको पनि बोध गराउँछ अर्थात्, ‘साक्षरता’ शब्दसँग ‘निरक्षता’पनि सँगसँगै आउँछ, जसले निरक्षर व्यक्तिलाई अपमानित बोध गराउसक्छ। त्यस्ता कक्षामा शिक्षकहरूलाई ‘शिक्षक’को सट्टा ‘संयोजक’ र ‘छात्र’हरूलाई ‘प्रतिभागी’ भनिन्थ्यो।
पारम्पारिक भाषणको सट्टामा यस्ता कक्षाहरूमा संवादलाई प्राथमिकता दिइन्थ्यो। साथै फ्रेयरेले पहिलेदेखि चलिआएको भाषाको प्रयोग नगर्ने तय गरे। किनभने पारम्पारिक भाषाको अन्तरवस्तु किसान तथा मजदुरहरूको सांस्कृतिक यथार्थसँग मेल खाँदैन थियो। फ्रेयरेको शिक्षा सम्बन्धी अवधारणाअनुसार शब्दहरू पढेर मात्रै काफी हुँदैन, बरु दुनियाँलाई पढाउन आवश्यक छ।
यतिमात्रै होइन, यस अवधारणाअनुसार व्यक्तिमा आलोचनात्मक चेतनाको विकास बढी जरुरी पर्छ, जसले किसान तथा मजदूरहरूलाई आफ्नो सामाजिक–ऐतिहासिक परिस्थितिहरूको बोध गराउन सक्षम बनाउँछ। यसबाट जनतान्त्रिक समाज बनाउनमा पनि सहयोग पुर्याउँछ। फ्रेयरे शिक्षक र विद्यार्थीका बीचमा संवादको आवश्यकतामा जोड दिन्थे। जहाँ दुवै एक दोस्रोसँग सवालजवाफ र चिन्तनमनन गर्छन्। उनको शिक्षाशास्त्रअनुसार शिक्षकहरू समुदायमा घुलमिल हुन्छन्, आम मानिसलाई प्रश्न सोधेर सामाजको यथार्थ बुझ्ने प्रयत्न गर्छन्। यस अवधारणामा सामाजिक यथार्थलाई इंगित गर्ने खालका शब्दहरू केलाएर यी शब्दमाथि बहस चलाइन्छ र विद्यार्थीमा आलोचनात्मक चेतनालाई विकसित गर्ने कोशिस गरिन्छ।
सन् १९६२ मा फ्रेयरेको पद्धतिको प्रयोग गरेर ३०० जना खेतमा काम गर्ने मजदूरहरूलाई पढ्न सिकाइयो। लगत्तै पूरै ब्राजीलमा हजारौं ‘कल्चरल सर्कल’को स्थापना गरियो। फ्रेयरे क्यूबाको साक्षरता अभियानबाट पनि प्रभावित थिए, जसमा शिक्षक गाउँमा गएर मानिसहरूसँग साक्षात्कार गर्दै, उनीहरूबाट पनि सिक्दै उनीहरूलाई साक्षर बनाउने प्रयास गरिरहेका थिए।
ब्राजिलबाट १६ वर्षको निर्वासन
सन् १९६४ मा ब्राजिलमा लोकप्रिय वामपन्थी सरकारलाई अमेरिकी जासुसी एजेन्सी, सी आईएको माध्यमबाट कू गराएर तानाशाही व्यवस्था लागु गरियो। ब्राजीलको इतिहासमा यो सबैभन्दा बर्बर समय थियो। फ्रेयरेलाई जेलमा कोचियो। पछि फ्रेयरेलाई छोडियो तर उनले १६ वर्षसम्म निर्वासनको जीवन बाँच्नुपर्यो। त्यस अवधिमा उनी पहिले बोलीभिया, त्यसपछि चिली र अन्य देशमा बसेका थिए। चिलीमा फ्रेयरले त्यहाँका किसानसँग रहेर आफ्नो शिक्षासम्बन्धी प्रयोगलाई जारी राखे।
चिलीका किसानसँग रहने क्रममा उनले किसानका बारेमा एउटा निष्कर्ष निकालेः भलै मानिस कसैको दास नहोस्, साक्षर होस्, या भूमिको मालिक नै किन नहोस्, तर उसले आफैंलाई स्वतन्त्र सम्झिन सक्दैन। त्यसपछि फ्रेयरेको शिक्षाको लक्ष्य परिमार्जित हुन गयो। त्यसपछि उनले विद्यार्थीहरूबीच यस्तो परिस्थितिको निर्माण गर्नेबारे सोचे, जसबाट उनीहरूले आफूलाई मानिस सम्झन सकुन्। ६० को दशकको अन्तिम वर्षमा उनका दुई पुस्तकहरू प्रकाशित भए। उनको पहिलो पुस्तक, ‘प्राक्टिस् अफ फ्रिडम’ थियो भने दोस्रो ‘पेडागोजी अफ द अप्रेस्ड’ थियो, जुन विश्वविख्यात बन्न पुग्यो।
पाओलो फ्रेयरे सन् १९८० मा ब्राजील फर्किएपछि उनी साओपाउलो शहरको मेयर पदमा आसीन भए। उनलाई शिक्षा सचिव बनाइयो। यस पदमा उनी सन् १९९१ सम्म रहे। यस दौरान उनले विद्यालयको पाठ्यक्रममा परिवर्तन ल्याए। शिक्षण प्रक्रियामा विद्यार्थी सिक्नका लागि उत्साहित हुन् तथा शिक्षकले विद्यार्थीको पृष्ठभूमि, संस्कृति र मूल्यमान्यताहरूको कदर गरुन् भन्ने उद्देश्यले उनले पाठ्यक्रममा परिवर्तन ल्याए। यस तरिकाले शिक्षालाई जनतान्त्रिक र सहभागितामूलक बनाउन सकिने उनको विश्वास थियो। यिनै मौलिक चिन्तकको सन् १९९७ मा मृत्यु भयो।
पेडागोजी अफ द अप्रेस्ड (उत्पीडितहरूको शिक्षाशास्त्र)
फ्रेयरेको यो विश्वविख्यात पुस्तकमा दबाएर राखिएका उत्पीडित मान्छेहरूका लागि आवश्यक शिक्षाका बारेमा चर्चा छ। समाजमा उत्पीडक र उत्पीडित गरी दुई तप्का हुने फ्रेयरे बताउँछन्। समाजका थोरै संख्याका उत्पीडकहरू बहुमत संख्यामा रहेका मान्छेहरूलाई उत्पीडित बनाएर राख्ने क्षमता राख्छन्। उत्पीडकहरू उत्पीडतहरूलाई निस्क्रिय अवस्थामा र अमानुषिक अवस्थामा रहन विवश पार्छन्।
जीवनका अनेकौँ स्रोत र साधनहरूबाट बञ्चित बनाइने भएका कारण उत्पीडितहरू आफ्नो मनुष्यतासमेत गुमाएर बस्छन्। उत्पीडक तप्का भने मुख्य रूपमा उत्पीडतहरूमा भएको मानवोचित गुणहरूलाई पनि हटाउने या निमिट्यान्न पार्ने काम गर्छ। फलतः उत्पीडित तप्काको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी आफूहरूबाट गुम भएको मनुष्यतालाई पुनः प्राप्त गर्नु नै हुनजान्छ।
‘उत्पीडतहरूको शिक्षाशास्त्र’मार्फत उत्पीडितहरूले आफ्नो मानवीय गरिमा फेरि प्राप्त गर्नु आवश्यक छ, आफूलाई मान्छे सम्झिन आवश्यक छ। आफ्नो मानवतालाई पुनः प्राप्त गर्न उनीहरूले आफ्नो जीवनस्थितीको बारेमा सत्यतथ्य जान्नु आवश्यक छ। आफ्नै जीवनका अनेकौँ अनुभवहरूबाट उनीहरू स्वयंले समाजका अनेकौँ शोषणका प्रक्रियाहरू बझ्नुपर्छ।
मनुष्यता हाँसिल गर्नका लागि शिक्षा
उत्पीडनकारी अवस्थामा लामो समयदेखि अभ्यस्त भएका कारण उत्पीडनमा परेकाहरूले आफ्नो अवस्थालाई ‘कहिल्यै नबदलिने नियति’का रूपमा बुझ्ने र हेर्ने गर्छन्। उत्पीडनमा परेकाहरूले आफूलाई त्यस्तै देख्ने बानी पारेका हुन्छन्, जस्तो उत्पीडक वर्ग उनीहरूलाई देखाउन चाहन्छ। अर्को शब्दमा भन्दा उत्पीडकहरूले सिकाएका अनेकौँ भाष्यहरूका कारण उत्पीडनमा परेका समुदायहरू आफैँलाई उत्पीडकको नजरमा हेर्न अभ्यस्त हुन्छन्। भाग्य र नियतीकै कारण आफ्नो जीवन दुःखमय भएको ठान्छन्।
र, उत्पीडकहरूचाहिँ उत्पीडितहरूलाई ‘विषय’बाट ‘वस्तु’मा बदल्नमा सफल रहन्छन्। त्यसो भएपछि बहुसंख्यक उत्पीडितहरूमाथि उत्पीडकहरूले सजिलै शासन गर्न सक्छन्। किनकि उत्पीडितहरूभित्र भएको ‘मनुष्यता’ नखोसिकन उत्पीडितहरूमाथि शासन गर्न नै सम्भव छैन। त्यसैकारण, उत्पीडितहरूबाटै खोसिएको उनीहरूको मानवतालाई पहिलाकै अवस्थामा फर्काउने कुरा नै ‘उत्पीडितहरूको शिक्षाशास्त्र’को जोड छ। उनीहरूको मानवतालाई फर्काउने कुरा अर्थात् त्यस्तो शैक्षणिक गतिविधि नै वास्तवमा क्रान्तिकारी कारवाही हो।
उत्पीडितहरूले पहिले आफ्नो ऐतिहासिक अवस्थाबारे बुझ्नु नै त्यस्तो जागरण वा क्रान्तिको सुरुवाती कदम हो। आफ्नो स्थिति सधैँ रहिररहने स्थायी स्थिति होइन, बरु यो अवस्था निर्माण हुनुमा लामो समयदेखि जारी रहेको शोषण जिम्मेवार छ। यो एक ऐतिहासिक निर्माण हो भनेर उनीहरूलाई बुझाउन आवश्यक छ। देश र कालमा रहने यस्तो स्थितिलाई बदल्न पनि सकिन्छ भनेर हामीले बुझ्न तथा उत्पीडितहरूलाई बुझाउनु जरुरी छ।
उत्पीडितहरूले आफूलाई उत्पीडकहरूकै नजरबाट हेर्ने सोचबाट मुक्त हुने त्यस्तो जटिल प्रक्रियामा उत्पीडतहरूको आफ्नै शिक्षाशास्त्र विकसित हुनजान्छ। आफ्नै स्थिति, आफू वरपरको सामाजिक स्थिति जानेपछि उत्पीडितले आफ्नो यस्तो अवस्था किन यस्तो हुनगयो भनेर प्रष्ट बुझ्छन्। आफू ‘वस्तु’ होइन, ‘विषय’ नै हो भन्ने कुरा जान्छन्। यस प्रक्रियालाई फ्रेयरे ‘कान्सेटाइजेसन’ भन्छन्। पोर्चुगिज शब्दको अंग्रेजी अनुवाद हो यो शब्द। यो शब्दको अर्थ हो–आफैँलाई जान्नु। आफू वरपरको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्था बुझियो भने आफू किन उत्पीडित अवस्थामा रहियो भन्ने जानिन्छ। ‘कान्सेटाइजेसन’को अर्थ ‘वास्तविकता बुझिसकेपछि त्यस यथार्थलाई बदल्ने प्रयास’ पनि हो। कान्सेटाइजेसनको अर्थ नेपालीमा ‘ज्ञानात्मक संवेदना अथवा संवेदनात्मक ज्ञान’ वरपर हुन आउँछ।
उत्पीडकहरूले समाजमा आफ्नो ‘कमनसेन्स’ यसरी विकसित गरेका हुन्छन् कि आफूलगायत अन्य उत्पीडकहरूको कुरा उनीहरूलाई सहज, स्वभाविक र गम्भीर लाग्छ तर उत्पीडतहरूले उठाउने कुरालाईचहिँ ‘नचाहिँदो बकवास’का भन्दै तिनीहरू अस्वीकार गर्छन्। उत्पीडकहरू आफूलाई असहज लाग्ने कुरालाई सहजै नकार्छन्। र, उत्पीडकहरू नै यो तय गर्छन् कि समाजमा कुन व्यक्ति वा समूहलाई सम्मान गर्नुपर्छ या कुन समुदाय या वर्गले अपमान झेल्नुपर्छ। कसको जीवन महत्वपूर्ण छ र कसको जीवन महत्वहीन छ, कसको जीवनको मूल्य छ र कसको जीवनको मूल्य छैन, कसको जीवन कानूनद्वारा शासित हुन्छ र कसलाई गैरकानूनी कृत्य तथा हिंस्रक ढंगबाट दबाउनुपर्छ भन्ने कुरा उत्पीडकहरूले नै तय गर्छन्। कसको मृत्युमा शोक मनाउने तथा कसको अन्त्येष्टि हतारहतार तथा जसोतसो सम्पन्न गर्ने भन्नेबारे उत्पीडकहरूले नै समाजमा मर्यादाका चलन र नियमहरू बनाएका हुन्छन्। किनकि उत्पीडितहरूलाई ‘मानवता’को विषयभन्दा बाहिर राखिन्छ। यसकारण उत्पीडितहरूले गर्ने राजनीतिलाई समेत बेकार या षड्यन्त्रका रूपमा चित्रित गरिन्छ।
भाषण होइन, अन्तरसंवाद
पाओलो फ्रेयरे ‘प्रक्सिस’ शब्दको प्रयोग गर्थे। यसको अर्थ एक्सन र रिफ्लेक्सन दुवै हुन्छ। अर्थात्, आफ्नै स्थितिलाई बुझेपछि त्यसलाई बदल्नका लागि प्रयास र प्रतिविम्व हुनु आवश्यक छ। यसका लागि शिक्षक र नेताको भूमिका महत्वपूर्ण हुने बताउँदै फ्रेयरे भन्छन्, ‘शिक्षकहरू र नेताहरूले सबै कुरा आफूले मात्रै जानेको जस्तो गरी उत्पीडित तप्कालाई एकतर्फी ज्ञान नदिउन्।’
पाउलो फ्रेयरे मोनोलग(भाषण) होइन, डायलग(अन्तरसंवाद) को आवश्यकतामा जोड दिन्छन्। यस्तै ‘कम्युनिक’को सट्टा कम्युनिकेसनमा जोड दिने कुरा गर्छन्। शिक्षक र नेताले आफूलाई उत्पीडित वर्गको अभिभावक सम्झिने जस्तो घातक प्रवृत्तिबाट आफूलाई निकाल्न सकेमात्रै उनीहरूले असली काम गर्न सक्ने उनको तर्क छ। अर्थात्, सारा ज्ञान शिक्षक र नेतासँग मात्रै छ र उत्पीडित तप्काले त्यसको ग्रहण मात्रै गर्ने हो भन्ने प्रवृत्ति त्याग्नुपर्छ।
फ्रेयरेका अनुसार शिक्षक या नेताले पनि उत्पीडितहरूसँग मिलेर आफ्नो जीवनको अनुभव पनि साटासाट गर्दै आम मानिसको गुमेको मुनष्यतालाई फिर्ता ल्याउनका लागि प्रयास गर्न आवश्यक छ। यो कार्य एकतर्फी ढंगबाट नभएर दुवै तर्फबाट गर्न आवश्यक रहेको उनी औँल्याउँछन्। अर्थात्, उत्पीडितहरूको अनुभवबाट सिकेर नै सिकाई प्रक्रियालाई अगाडि बढाउन आवश्यक छ। फ्रेयरेको यस अवधारणाले सक्रिय नेता र निष्क्रिय जनता, बोलक्कड नेता र तीनलाई चुपचाप ग्रहण गर्ने जनताको परिकल्पना गरेको छैन। यदि जनता चुपचाप रहने हो भने नेताले उत्पीडित जनतालाई एउटा उत्पीडकले जसरी ‘वस्तु’मा बदलिदिन्छन्। नेता वा शिक्षकले आफैँलाई उत्पीडित जनताको सेवक या उद्वारकको रूपमा जतिसुकै प्रस्तुत गरिरहुन्, तर जबसम्म उनीहरूले जनता वा विद्यार्थीलाई बुझ्ने कोशिस गर्दैनन, उनीहरूले उत्पीडितहरूका मागहरूलाई नै तोडमोड गरिरहेका हुन्छन्।
फ्रेयरे भन्छन्, ‘जस्तोसुकै करिश्मावाला नेताले पनि आफूलाई आत्मसम्मान र स्वधिनताको उपहार दिन सक्दैन भन्ने कुरा उत्पीडितहरूले बुझ्नुपर्छ। उत्पीडितहरूले संघर्षकै माध्यमबाट मात्रै आफ्नो स्वतन्त्रता प्राप्त गर्न सक्छन्।’ जबकि हाम्रोमा आफूलाई क्रान्तिकारी परिवर्तनका लागि प्रतिबद्ध बताउने पार्टीहरू, आफ्नो नेताका भाषणैमात्र सुनाउनका लागि देशभरबाट विभिन्न शहरहरूमा जनतालाई उतार्ने गरिन्छ।
सबलोग डटकममा अनिश अंकुरको लेख। नेपाल रिडर्सका लागि मेनुका बस्नेतको अनुवाद।