गत सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजन सम्बोधन गर्दै रसियाले युक्रेनबाट छुट्टिन चाहेका दुई भागलाई आफूले किन मान्यता दिएको भन्नेबारे औचित्य पुष्टि गर्ने प्रयास गरे। जबकि, रसियाको यो ‘हर्कत’ले ठूलो युद्ध हुनसक्ने भन्दै पश्चिमाहरूले आशंक व्यक्त गरेका छन्। प्रस्तुत छ पुटिनको सम्बोधनको अंशको सार संक्षेप :
रूस समर्थक पृथकतावादीहरूलाई दिइएको मान्यता बारे
डोनेट्स्क पीपुल्स रिपब्लिक र लुहान्स्क पीपुल्स रिपब्लिकको स्वतन्त्रता तथा सम्प्रभुतालाई तुरन्तै मान्यता दिने विषयमा मेरो मत छ कि त्यस्तो निर्णय गर्नु तत्कालै आवश्यक थियो, खासमा यो काम धेरै पहिले हुनुपर्ने थियो।
यूक्रेनलाई नाटोको सदस्यता दिनेबारे
यदि यूक्रेनलाई नेटोमा सहभागी गराइयो भने त्यस कुराले रूसको सुरक्षामा सीधा खतरा पर्नजान्छ।
आधुनिक यूक्रेनको उत्पत्तिका विषयमा
आधुनिक यूक्रेन सम्पूर्ण रूपमा रूसले बनाएको हो, अझ प्रष्ट रूपमा भन्नुपर्दा बोल्शेबिक अर्थात् साम्यवादी रूसले। यो प्रक्रिया सन् १९१७ को क्रान्तिलगत्तै शुरू भएको थियो…
बोल्शेबिकको नीतिकै परिणामस्वरूप, सोभियत यूक्रेनको उदय भएको हो। र, आज पनि सोही कारण सकारात्मक रूपमा ‘ब्लादिमीर इलिच लेनिनको यूक्रेन’ भन्न सकिन्छ। वास्तवमा लेनिन युक्रेनका परिकल्पनाकार तथा डिजाइनर हुन्। संग्रहित दस्तावजेहरूका माध्यमबाटै सो कुरा पुष्टि हुन्छ। तर कृतज्ञ वंशजहरूले युक्रेनमा रहेको लेनिनको स्मारकलाई ध्य्वस्त गरिदिएका छन्। र, उनीहरू यसलाई ‘डिकम्युनाइजेसन’ भनिरहेका छन्। के तपाईँहरू ‘डिकम्युनाइजेसन’ चाहिरहनुभएको छ? ठीकै छ नि त, हामीलाई पनि त्यसो गर्ने कुरा सही नै लाग्छ। तर भनिन्छ नि, कुनै कामको बीचैमा रोकिने कुराचाहिँ ठीक होइन। युक्रेनका लागि वास्तविक ‘डिकम्युनाइजेसन’ या बिघटनको अर्थ के हो भनेर हामी तपाईँलाई देखाउन तयार छौँ।
यूक्रेनको राज्यको दर्जाबारे
यूक्रेनले वास्तविक राज्यको महसुस गर्ने खालको परम्परा कहिल्यै स्थापित गरेन।
यूएसएसआरको विभाजनबारे…
रूसले उतिखेर नयाँ घोषित स्वतन्त्र राज्यहरूसँग आफ्नो सम्पत्ति फिर्ता गर्ने सर्तमा सोभियत संघको पूरै ऋण चुक्ता गरेको थियो। सन् १९९४ मा ऋणचुक्तासम्बन्धी सम्झौता युक्रेनसँग पनि गरिएको थियो तर युक्रेनले कहिल्यै त्यो सम्झौताको पालन गरेन। रुसबाट प्राप्त हुने सबै फाइदा र अधिकारको कुरा गर्ने तर आफ्नो उत्तरदायित्व भुल्ने ढंगबाट यूक्रेनले काम गर्न चाह्यो।
हामीलाई जोड्ने हरेक कुराहरूलाई नकार्दै उनीहरूले आफ्नो राज्यको पहिचान बनाउन चाहे। उनीहरूले हामीबीचको चेतना तथा युक्रेनमा बसेका पुरै पीढिको, लाखौँ मान्छेहरूको ऐतिहासिक स्मृतिलाई समेत तोडमोड गर्न खोजे।
२००८ मा नेटोले युक्रेन र जर्जियालाई नेटोको सदस्यता दिन गरेको बाचाबारे
संयुक्त राज्य अमेरिकाका कैयौँ यूरोपीयन सहयोगीहरू यस खालको योजनाले ल्याउने जोखिमका बारेमा जानकार थिए। तैपनि आफ्नो वरिष्ठ साथीको इच्छालाई उनीहरूले नकार्न सकेनन्। यहाँनिर हामी केमा प्रष्ट हुनुपर्छ भने अमेरिकाले यी दुई देशलाई नेटो सदस्यता दिलाएर स्पष्ट रूपमा रूसी विरोधी नीतिलाई कार्यान्वयन गर्ने उदेश्य राखेको थियो।
नेटोमा यूक्रेनको सम्भावित उपस्थितिका बारेमा नेटो गठबन्धनका कतिपय सदस्य देशहरू भने अहिले पनि धेरै संशयमा छन्। हामीलाई कतिपय यूरोपीयन राजधानिहरूबाट संकेत मिलिरहेको छ कि भोलि नै त्यसो चाहिँ पक्कै हुनेछैन। हाम्रा अमेरिकन साथीहरूले पनि यसबारे कुरा गरिरहेका छन्।
तर जेसुकै होस्, भोलि नभए त्यो पर्सी त अवश्यै हुन्छ। र, यसो हुनुले ऐतिहासिक परिप्रेक्ष्यमा हामीलाई के फरक पार्छ? मूल रूपमा त्यसले केही पनि फरक पार्दैन। त्यसका अलावा, हामी अमेरिकी नेतृत्वको स्थिति तथा शब्दलाई राम्ररी बुझ्दछौँ कि पूर्वी यूक्रेनको सक्रिय रहेको द्वन्द्वपूर्ण व्यवहार युक्रेन नेटोमा संलग्न भयो भने पनि अन्त्य होला भन्ने कुरामा निश्चिन्त हुन सकिन्न।
साथै, उ(अमेरिकी नेतृत्वको नेटो) हामीलाई बारम्बार यही सम्झाउने कोशिश गर्छ कि नेटो एक शान्तिप्रिय र विशुद्ध रूपमा रक्षात्मक गठबन्धन हो र यसबाट रूसलाई कुनै पनि खतरा छैन। अझै जोड दिएर उनीहरू भन्छन् कि उनीहरूले भनेको कुरा झुटपूर्ण होइन, वास्तविक हो। तर यस्ता जालझेलपूर्ण शब्दहरूको वास्तविक मूल्य हामीलाई थाहा छ।
रुसमाथिको खतराका बारे
तर हामी स्पष्ट रूपमा यो कुरा बुझ्छौँ कि यस्तो परिदृश्यमा रूसका लागि सैन्य खतराको स्तर नाटकीय रूपमा धेरै गुणा बढ्नेछ। म यस कुरामा विशेष ध्यान दिन्छु कि हाम्रो देशविरुद्ध अचानक हमलाको खतरा धेरै गुणा बढ्नेछ।
म तपाईँलाई यो कुरा बताउँछु कि अमेरिकी रणनीतिक योजनासम्बन्धी दस्तावेजहरूमा दुश्मनको मिसाइल प्रणालीको खिलाफ तथाकथित आकस्मिक हमलाको सम्भावना उल्लेख गरिएको छ। र, भन्नुस त, अमेरिका र नेटोका मुख्य दुश्मन को हो? हामीलाई यो कुरा पनि थाहा छ कि त्यो रुस नै हो। नेटोको दस्तावेजमा, आधिकारिक र सिधै उत्तरी अटलान्टिक सुरक्षाका लागि रुस खतरा भएको कुरा उल्लेख छ। र, भोलिका दिनमा यूक्रेनले हमला भएका अवस्थामा ‘फ्रन्टलाइन स्प्रिङबोर्ड’का रूपमा काम गर्नेछ। यदि हाम्रा पूर्वजले यसबारेमा सुनेका हुन्थे भने उनीहरूले कसरी यस्तो कुरामा विश्वास गर्थे? र, हामी पनि यस्तो कुरामा विश्वास गर्न चाहँदैनौँ तर सत्य यही हो।
प्रतिबन्धका बारेमा
तिनीहरू हामीसँग फेरि पनि ब्ल्याकमेल गर्ने कोशिस गरिरहेका छन्। उनीहरू हामीलाई फेरि पनि प्रतिबन्ध लगाउने धम्की दिइरहेका छन्। यसै पनि मलाई लाग्छ कि उनीहरूले हाम्रो देशको सम्प्रभुता मजबुत हुने र सशस्त्र बलको शक्ति बढ्दै गएसँगै हाम्रो देशमाथि प्रतिबन्ध लगाउने नै छन्। युक्रेनको यो समस्या हुन्थेन भने पनि यिनीहरूले कुनै न कुनै बहाना निकाल्ने थिए या अवस्थालाई ‘फेब्रिकेट’ गर्ने थिए।
र, त्यसको केबल एउटै लक्ष्य छ, रूसको विकासलाई रोक्नु। र, पहिले यिनीहरूले जसो गर्थे, अहिले पनि त्यसै गर्छन्। औपचारिक बहानाबिनै पनि यिनीहरूले त्यसो गरेका उदाहरणहरू छन्। र, हामी अस्तित्वमै भएका कारण र हामीले आफ्नो सम्प्रभुता, राष्ट्रीय हित र आफ्नो मूल्यबाट कहिल्यै पनि सम्झौता नगरेकै कारण पनि यिनीहरूले त्यसो गर्नेछन्।
म स्पष्ट र सीधा रूपमा भन्छु कि मौजूदा स्थितिमा, जब मौलिक मुद्दाहरूमा समान वार्ताबारेको हाम्रो प्रस्तावको उत्तर संयुक्त राज्य अमेरिका र नेटोले दिएका छैनन्, जतिखेर हाम्रो देशका लागि खतराको स्तर धेरै बढिरहेको छ, यस्तो अवस्थामा रूससँग आफ्नो सुरक्षा सुनिश्चित गर्नका लागि जवाफी कारवाही गर्ने जुनसुकै अधिकार सुरक्षित छ।र, ठ्याक्कै हामी त्यही गर्नेछौँ।
अलजजिराबाट नेपाल रिडर्सको अनुवाद।