यश चोपडाले १९७५ मा बनाएको भारतीय चलचित्र दिवारमा एउटा जीवन्त संवाद छ । जहाँ एक प्रतिष्ठित पुलिस अधिकारी रविले(शशि कपुर) आफ्नो अपराधी दाइ विजय(अमिताभ बच्चन)लाई सामना गर्छन्ः
‘आज मेरे पास विल्डिङ है, प्रोपर्टी है, बैंक ब्यालेन्स है, बङ्गला है, गाडी है…क्या है, क्या है तुम्हारे पास ?’ विजयले चर्को स्वरमा सोध्छन्।
‘मेरे पास माँ है,’ रवि शालिन भएर जवाफ फर्काउँछन्।
यो संवादले समयलाई जितेको छ। आज ४७ बर्षपछि पनि शशि कपुरको ‘मेरे पास माँ है’ले शरीरका रौं खडा गरिदिन्छ। भारतका पुराना साँघुरा शहरी गल्लीहरूका थियटरमा यो संवादले अझै पनि ताली खाइरहेको छ।
तर इटालीयन कम्युनिस्ट एन्टोनियो ग्राम्चीले यदि ‘दिवार’ हेर्ने मौका पाएका हुन्थे भने शशि कपुरको यो डायलगपछि उनले ताली पड्काउने थिएनन्, बरु थियटरमा बजेको तालीलाई बुर्जुवा वर्गको साँस्कृतिक प्रभुत्व (हेजेमोनी)को संज्ञा दिने थिए।
२० औं शताब्दीमा इटालीको परिवर्तनकारी राजनीतिक परिवेशमा उदाएका कम्युनिस्ट चिन्तक ग्राम्ची कसरी दिवारको यो संवादमा सान्दर्भिक हुनसक्छन् ? यो बुझ्न उनी हुर्किएको इटालीयन समाजमा पुगेर त्यहाँ विद्यमान सामाजिक अन्तरविरोध र ती अन्तरविरोधले उनमा हुर्काएको राजनीतिक चेतनालाई बुझ्नुपर्छ। यो लेखमा तिनै कुराहरूलाई नियाल्ने कोसिस गरिएको छ।
संघर्षमय जीवन
सन् १८९१ मा इटालीको सार्डिनिया द्वीपमा जन्मिएका ग्राम्चीको हुर्काइ निम्न मध्यमवर्गीय परिवारमा भयो। उनका पिता सरकारी जागिरे त थिए तर १८९७ मा आर्थिक अपचलनको मुद्धामा पाँच बर्षका लागि जेल परेपछि परिवारमा आयको बाटो रोकियो। त्यतिबेला ग्राम्ची ६ बर्षका मात्र थिए।
११ बर्षको उमेरमा आधारभूत अध्ययन सकेपछि परिवारलाई आर्थिक सहायता गर्न ग्राम्चीले दुई बर्ष जागीर गरे। जागीर गर्दागर्दै पनि उनले अध्ययनलाई निरन्तरता दिए। माध्यमिक तहको अध्ययन गर्दागर्दै उनी पहिलो पटक श्रमिक वर्गको संगठनसँग नजिक भए। त्यहाँ उनले समाजवादी विचारलाई बुझ्ने मौका पाए।
ग्राम्चीको जीवनमा बर्ष १९११ निकै महत्वपूर्ण रह्यो किनभने त्यस बर्ष उनले उच्चशिक्षाका लागि युनिभर्सिटी अफ टुरीनमा छात्रवृत्ति प्राप्त गरे। विश्वविद्यालयमा उनको प्राज्ञिक र राजनीतिक यात्राले गति लियो।
राजनीतिक संघर्ष र बौद्धिक प्रतिबद्धताका बीच झांगिएको ग्राम्चीको जीवन कहानी बेनितो मुसोलिनीको उदय, फासिवादी जेलको दश वर्ष लामो जेलजीवन, आजीवन ढाडको बिरामी र रिहाइपछिको अल्पायुमा भएको मृत्युमा टुंगिन्छ। जीवनका भयानक आरोह अवरोहको सामना गर्दै उनी मार्क्सवादी परम्परामा भिन्दै ‘स्पेस’ भएका कम्युनिस्ट बौद्धिकका रूपमा उनी उदाए।
तत्कालीन ईटालीयन समाजमा उदाएको फासिवादी मुसोलिनी शक्तिकेन्द्रमा आएपछि समाजवादी राजनीतिज्ञहरूलाई धमाधम जेल हाल्न थालियो। मुसोलिनीका हातबाट ग्राम्चीले आफ्नो सक्रिय जीवनको अधिकांश समय जेलमा बिताउनु पर्यो। सन् १९२४ मा गिरफ्तारीमा पर्दा उनी इटालीको कम्युनिष्ट पार्टीको महासचिव थिए। अदालतमा उनी विरुद्ध बहस गर्दै सत्तापक्षीय वकिलले भनेको थियो— “यस दिमागलाई कम्तीमा २० वर्षसम्म सोच्नबाट बञ्चित गर्नुपर्छ।” र, फासिवादी अदालतले ग्राम्चीलाई २० वर्ष जेल सजाय फैसला गरेको थियो।
जेलमा १० बर्ष विताएपछि ग्राम्ची बिरामी परे। सन् १९३७ मा उपचारका लागि उनलाई रिहा गरियो। उपचारका क्रममा नै सन् १९३७ अप्रिल २७मा उनको निधन भयो।

जेलमा रहँदा ग्राम्चीले लेखनलाई नित्य कर्म बनाएका थिए। आफ्ना विचारहरूलाई नोटबुकमा उतारेका थिए। ती विचारहरू संगठित किताबको रूपमा नभई डायरीका रूपमा छितरिएका थिए। पछि ६० को दशकमा अध्येताहरूले उनका नोटबुकहरूलाई अंग्रेजीमा अनुवाद गरेपछि मात्रै ग्राम्ची समाजवादी आन्दोलनको ‘स्पटलाइट’मा आएका हुन्। अहिले ‘प्रिजन नोटबुक’को नाममा उनका विचारहरू संगठित भएका छन्।
नोटबुकमा राजनीतिक आदर्शलाई कसरी यथार्थमा परिणत गर्न सकिन्छ भनेर ग्राम्चीले निकै विचरण गरेका छन्। सिद्धान्तलाई वास्तविकतामा लागु गर्ने प्रक्रियालाई उनले ‘प्राक्सिस’ भनेका छन्। ग्राम्ची पहिलो मार्क्सवादी हुन्, जसले संस्कृतिलाई आर्थिक सम्बन्धको एउटा उपज मात्र नभई प्रभुत्व (हेजेमोनी)को एक महत्त्वपूर्ण तत्वको रूपमा विश्लेषण गरे।
मार्क्स र ग्राम्ची
अध्येताहरूले मार्क्सवादलाई दुई भागमा विभाजन गरी अध्ययन गर्ने गर्दछन्। मार्क्सले आफ्नो जीवनको पूर्वार्ध र उत्तरार्धमा संश्लेषण गरेका विचारहरू।
सामान्यतया मार्क्सवाद भनेर उत्तरार्धमा संश्लेषित विचारलाई मात्र लिने गरिन्छ। पूर्वार्धका उनका विचारहरू पछि गएर नवमार्क्सवादको धरोहर बन्यो। ग्राम्ची उही नवमार्क्सवादका पिता मानिन्छन्।
मार्क्सवादको वैज्ञानिक समाजवादको सिद्धान्तले भन्छ- सामाजिक उद्विकासको विभिन्न चरणहरू ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादले नै निर्क्यौल गर्छ र वैज्ञानिक तवरले अगाडि बढ्दै जान्छन्। ऐतिहासिक विश्लेषण गर्ने हो भने समाजको उद्विकासको गन्तव्य के हो भनेर पहिले नै प्रक्षेपण गर्न सकिने मार्क्सवादको तर्क हो। त्यस्तो गन्तव्यलाई मार्क्सवादले ‘टेलियोजिकल कन्क्लुजन’ भन्छ। मार्क्सको ‘टेलियोेजिकल कन्क्लुजन’ थियो, सामाजिक उद्विकासको अन्तिम गन्तव्य वर्गविहिन, राज्यविहिन समाज अर्थात् साम्यवाद हो।
यस्तो निश्चित अन्त्य भएको भनिएको वैज्ञानिक समाजवादले नतिजा निकाल्न नसकेकोप्रति ग्राम्ची भने विचरित थिए। किनभने मार्क्सको प्रक्षेपणविपरित रसिया, इटाली जस्तो पुँजीवादी समाजमा क्रान्ति सफल हुन सकेको थिएन। औद्योगिकीकरण भएका देशहरू जहाँ श्रमिक वर्ग को बाहुल्यता छ त्यस्ता देशमा पनि क्रान्ति किन हुन सकेन भएन ? मार्क्सवादी विचार वास्तविक धरातलसँग किन मेल खाएन? ग्राम्चीले सामना गर्नुपरेका आधारभूत प्रश्नहरू थिए, यी।
यस्ता प्रश्नहरूको विचरण गर्ने क्रममा ग्राम्चीले मार्क्सवादको आधार–उपरी संरचनालाई नै पुनर्सरंचना गर्न पुगे।
मार्क्सवादको तर्क के हो भने समाजको सबैभन्दा आधारभूत संरचना भनेको आर्थिक आधार हो। आर्थिक आधारको जगमा अन्य धेरै अधिसंरचना वा उपरीसंरचनाहरू हुनसक्छन्। ती अधिसंरचनाहरू राज्य, नागरिक समाज, धर्म, संस्कृति, साहित्य, मिडिया आदि हुन्। मार्क्सवादले स्पष्ट भन्छ, यस्ता अधिसंरचनाहरू आधारभूत आर्थिक संरचनाकै परावर्तन हुन्। अर्थात्, आधारभूत आर्थिक संरचनामा परिवर्तन नभई त्यसमाथि रहेका अधिसंरचनाहरू रूपान्तरण हुन सक्दैनन्। मार्क्सवादको यस्तो दावीलाई आर्थिक नियतिवाद भन्ने गरिन्छ।
ग्राम्चीलाई भने आर्थिक नियतिवादप्रति शंकैशंका थियो। ग्राम्चीका अनुसार मार्क्सले भनेजस्तो अधिसंरचनाहरू आधारभूत आर्थिक संरचनामा पूर्णरूपमा निर्भर हुँदैनन् बरु त्यस्ता अधिसंरचनाहरूको आफ्नै संयन्त्र हुन्छन्। उनका भनाइमा अधिसंरचनाहरू रूपान्तरण हुनका लागि आधारभूत आर्थिक संरचना परिवर्तन हुनै पर्छ भन्ने होइन। बरु यस्ता अधिसंरचनाहरूले आर्थिक संरचनाको रूपान्तरणलाई नै रोक्न वा परिवर्तन गर्न सक्ने ल्याकत राख्छन्।
यसलाई बुझाउन ग्राम्चीले आर्थिक आधारमाथिका अधिसंरचनालाई दुई भागमा विभाजन गरेका छन्, राजनीतिक समाज र नागरिक समाज। उनका भनाइमा राजनीतिक समाजमा न्यायपालिका, कार्यपालिका, संसद र सरकारका स्थायी सत्ता पर्दछन्। राजनीतिक समाजले प्रभूत्व, डर, धम्की देखाएर जबरजस्ती शासन गर्छ। राजनीतिक समाजको स्वरुप सत्ता हो।
अर्को अधिसंरचना नागरिक समाजलाई ग्राम्चीले निकै मिहिन ढंगले परिभाषित गरेका छन्। उनका अनुसार खास ‘जादु’ नागरिक समाजभित्र छ किनभने बुर्जुवा वर्गले शासन गर्ने उपायहरू निकाल्न र ती उपायहरू नागरिकमाथि लागु गर्न नागरिक समाजलाई प्रयोग गर्छ। नागरिक समाजले सर्वहारा वर्गलाई ‘म्यानिपुलेट’ गरी कन्सेन्ट अर्थात् सहमतिको निर्माण गर्छ।
हेजेमोनी र सहमति निर्माण
ग्राम्चीका अनुसार समाजमा तल्लो तहमा रहेको आधारभूत आर्थिक संरचना अर्थात् श्रमिक वर्ग र सबैभन्दा माथिल्लो राजनीतिक समाज अर्थात् बुर्जुवा वर्गको बीचमा नागरिक समाज हुन्छ। अर्को अर्थमा बुर्जुवा र श्रमिक वर्गको बीचमा ‘बफर जोन’ नै नागरिक समाज हो। यो दुवै तहसँग निकै नजिक हुन्छ। बुर्जुवाको शासकीय तरिका र श्रमिक वर्गको अभावका बारेमा जानकार हुन्छ। त्यसकारण ग्राम्चीले नागरिक समाजलाई सुरक्षाको तह पनि भन्छन्। धार्मिक संस्थाहरू, नीजि तथा सार्वजनिक संस्थानहरू, शैक्षिक संस्था, मिडियाहरू नागरिक समाजका अवयवहरू हुन्।
ग्राम्ची नागरिक समाजलाई लिएर सशंकित छन्। उनको मान्यता छ, नागरिक समाजले बुर्जुवा वर्गको एजेन्ट बनेर श्रमिक वर्गको क्रान्ति चेतनालाई निमिट्यान्न पार्ने काम गर्छन्। नागरिक समाजकै कारण आधारभूत आर्थिक संरचनामा क्रान्ति शक्ति संचित हुन पाउँदैन। यसलाई ग्राम्चीले ‘हेजेमोनी’ भनेका छन्। नेपालीमा हेजेमोनीको शाब्दिक अर्थको रूपमा प्रभुत्वलाई लिन सकिन्छ। सहमति निर्माण गर्नका लागि नागरिक समाजले श्रमिक वर्गहरूमाथि वैचारिक या साँस्कृतिक प्रभुत्व कायम गर्छन्।
सहमति निर्माणका लागि नागरिक समाजमा खास नेतृत्व हुन्छन्, जसले प्रभुत्व जमाउने खालका विचारहरू निर्माण गर्छन् र त्यसलाई प्रसार गर्दछन्। श्रमिक वर्गले ती विचारहरूलाई स्वीकृति दिन्छन्। फलस्वरूप क्रान्तिकारी चेत विस्तारै मर्दै जान्छ। क्रान्तिशक्ति संचय हुन पाउँदैन। यसकारण ग्राम्ची भन्छन्, “तपाइले राजनीतिक समाज अर्थात् बुजुवा वर्गमा मात्र ध्यान नदिनुहोस्। राजनीतिक समाजविरुद्ध क्रान्ति गर्नुअघि नागरिक समाजको हेजेमोनीलाई तोड्न आवश्यक छ। त्यसका लागि काउण्टर हेजेमोनी सिर्जना गर्नुपर्छ।”
ग्राम्चीको क्रान्ति
वुर्जुवा वर्गको हेजेमोनिलाई चिर्नु नै ग्राम्चीको अर्थमा क्रान्ति हो। उनका अनुसार यस्तो क्रान्ति दुई तरिकाले गर्न सकिन्छ, वार अफ मनुभर र वार अफ पोजिसन।
‘वार अफ मनुभर’ भनेको बुर्जुवा वर्गविरुद्ध क्रान्तिकारी श्रमिक वर्ग जाइलाग्नु हो। यसमा राजनीतिक समाजमाथि श्रमिक वर्गले आक्रमण गर्छन्। मार्क्सको क्रान्तिको तरिका पनि यही हो।
तर ग्राम्चीका अनुसार यो क्रान्ति हुनुभन्दा पहिले अर्को क्रान्ति जरुरी छ, वार अफ पोजिशन। यो यस्तो क्रान्ति हो जसले श्रमिक वर्गलाई किन क्रान्ति गर्ने भनेर चेतनशील बनाउँछ। यो क्रान्तिमा बुर्जुवा वर्गले नागरिक समाजद्वारा लादिएको हेजेमोनीलाई ‘काउण्टर’ गर्न श्रमिक वर्गले आफ्नै विचारहरू सिर्जना गर्नुपर्छ, जसले पुँजीवादी हेजेमोनीलाई तोड्न सकोस्। यसलाई उनले प्यासिभ रिभोल्युशन (शान्त क्रान्ति) पनि भनेका छन्।
ग्राम्चीका अनुसार प्यासिभ रिभोल्युशनका लागि खास नेतृत्वको आवश्यक हुन्छ। यस्ता नेतृत्वलाई ग्राम्चीले ‘इन्टेलेक्चुअल’ अर्थात् बौद्धिक भनेका छन्। यी बौद्धिकहरूको मुख्य काम ‘काउण्टर हेजेमोनीक’ विचारहरू प्रतिपादन गर्नु हो।
तर को हुन्, ग्राम्चीका बौद्धिकहरु ?
उनीहरुलाई बुझ्न फेरि एक पटक मार्क्सवादलाई सम्झिऔं।
मार्क्सवाद भन्छ, समाजको उद्विकास आदिम साम्यवाददेखि दासप्रथा, दासप्रथादेखि सामन्ति व्यवस्था र सामन्ति व्यवस्थाबाट पुँजीवादसम्म समाज आइपुगेको हो। पुँजीवादबाट समाज श्रमिक वर्ग या समाजवादीहरूको निरंकुशता हुँदै अन्त्यमा साम्यवादसम्म पुग्नेछ।
समाज उद्विकासको सामन्तवादी चरणमा त्यस्ता बौद्धिक वर्ग थिए जो पुँजीवादी समाजसम्म पनि विद्यमान छन्। चर्चका पादरी, आर्क विषपहरू यस्ता बौद्धिक हुन् जसले पुँजीवादी समाजमा आफूलाई तटस्थ भएको जिकीर गर्छन्। उनीहरू न श्रमिक वर्गको पक्षमा देखिन्छन्, न त बुर्जुवा वर्गको पक्षमा नै। यस्ता बौद्धिकलाई ग्राम्चीले पुरातन बौद्धिक भनेका छन्।
ग्राम्चीका अर्का बौद्धिकहरू अर्गानिक (जैविक) हुन्। उनका अनुसार यस्ता बौद्धिकहरू तटस्थ हुँदैनन्, श्रमिकको पक्षमा हुन्छन्। यसो त अर्गानिक बौद्धिकहरू पुँजीवादी व्यवस्थाबाट आएका पनि हुनसक्छन् अथवा श्रमिक वर्गबाट उदाएका पनि हुनसक्छन्।
ग्राम्चीको यो तर्कका कारण उनी धेरै आलोचित पनि हुने गरेका छन्। अध्येताहरु मान्छन्, वर्तमान समाजमा समेत श्रमिक वर्गबाट उदाएका बौद्धिकहरू निकै कम हुन्छन्, या त छैनन्। श्रमिक वर्गका पक्षमा लडेका बौद्धिकहरु धेरैजसो जो पुँजीवादी समाजबाट उदाएका छन्। विकसित चेतनाका कारण उनीहरू श्रमिक वर्गको पक्षमा भएका हुन्।
ग्राम्चीको भनाइमा श्रमिक वर्गबाट नै अर्गानिक बौद्धिक वर्गको उत्पादन हुनुपर्छ। तर कसरी ? उनी सुझाउँछन्, प्राविधिक र औद्योगिक शिक्षाबाहेक समाजमा मानविकी तथा सामाज विज्ञानका विषयहरूको अध्ययन हुनु जरुरी छ। उनको मान्यतामा सामाजिक प्रणालीमा लुकेका विषमताहरू पत्ता लगाउन समाज विज्ञानले महत्त्वपूर्ण भूमिका खेल्छ। समाज विज्ञानले सामाजिक व्यवस्थाबाट कसरी हामीलाई अत्याचार भइरहेको छ भनेर थाहा दिन्छ र त्यस्तो व्यवस्थासँग कसरी लड्ने भनेर सिकाउँछ।
अर्गानिक बौद्धिकको रूपमा भारतको संविधानका पिता भनेर चिनिने बीआर अम्बेडकरलाई लिन सकिन्छ। उनी पुँजीपति थिएनन्। उनको जातिय पृष्ठभूमि महर हो, जुन भारतमा अछुत मानिन्छ। गरिब पृष्ठभूमिका उनी अध्ययनबाटै कारण आफूलाई बौद्धिक वर्गको रूपमा स्थापित गरे। संविधान निर्माण मार्फत् उनले राजनीतिक र सामाजिक क्रान्तिमा पनि उनले ठूलो योगदान गरे। ग्राम्चीलाई मान्ने हो भने, अम्बेडकर भारतका लागि अर्गानिक बौद्धिक हुन्।
‘दिवार’ र ग्राम्ची
ग्राम्चीको हेजेमोनीलाई बुझिसकेपछि ‘दिवार’ चलचित्रको उक्त संवादमा सांस्कृतिक हेजेमोनीको चरित्र स्पष्ट देखिएको भान हुन्छ। त्यहाँ आफूसँग गाडी, बंगला नभएकोमा रविले प्रणालीगत विषमतालाई दोष दिएको छैन। बरु गरिब भएपनि आफूसँग “माँ” भएकोमा सन्तोष व्यक्त गरेको छ। अर्थात्, आफ्नो यथास्थितिलाई स्वीकार गरेको छ। ग्राम्चीका विचारलाई सापटी लिने हो भने यस्तो स्विकारोक्ति शासक वर्गको हेजेमोनीका कारण सम्भव भएको हो।
यदि ग्राम्चीले भारतको कुनै थियटरमा बसेर दिवार चलचित्र हेरेको भए मन मनमा उनले सोच्दा हुन्, “विजयसँग गाडी, बङ्गला, प्रोपर्टी हुँदा रविसँग “माँ” मात्रै भएर हुन्छ त? मान्छेले आफ्नै अव्यवस्थाप्रति यदि ताली पड्काए भने बुझे हुन्छ त्यहाँ बुर्जुवा वर्गको साँस्कृतिक हेजेमोनि झाँगिइसकेको छ।”
साभार:
![]()










