हाम्रो वर्तमान शिक्षा व्यवस्थाका केही विशेषताहरू, त्यसमा हावी हुँदै गएको क्रान्तिकारी प्रवृत्ति र समाजवादले ल्याउने परिवर्तनहरू औँल्याउनु यो आलेखको उद्देश्य हुनेछ । किनभने शिक्षाको विधि र विषयवस्तुमा आएजत्तिको उल्लेख्य क्रान्ति सामाजिक गतिविधिका अन्य कुनै पनि शाखामा आएको छैन ।
शिक्षाको विषयवस्तुबारे बोल्न समाजशास्त्रीय र जैविक दुवै पक्षलाई ध्यान दिनुपर्छ । शिक्षाको सामाजिक पक्षलाई विगतमा प्रायः बेवास्ता गरिएको छ । पुराना चिन्तकहरूका निम्न परिभाषाहरूले त्यसै भन्छन् :
प्लेटो भन्छन्, “शिक्षाको उद्देश्य शरीर र आत्मालाई तिनले लिनसक्ने सबै सौन्दर्य र योग्यताहरू दिनु हो ।”
कान्टले शिक्षाको परिभाषा यसरी दिन्छन्, “व्यक्तिको प्रकृतिले अनुमति दिने सबै योग्यताहरूको विकास गराउनु शिक्षा हो ।”
जोन स्टुअर्ट मिल भन्छन्, “शिक्षा हामीलाई निपुणतातिर लग्न हामीले आफ्नो लागि गर्ने र अरूले हाम्रो लागि गर्ने कार्य हो ।”
हबर्ट स्पेन्सर छोटोमा भन्छन्, “शिक्षा पूर्ण जीवनको तयारी हो ।”
रुसोले आफूलाई अमूर्त सामान्यीकरणमा सीमित पारेका छन्, “शिक्षा बालबच्चालाई हुर्काउने र मान्छे बनाउने कला हो ।”
होरेस-मानबाट शिक्षासम्बन्धी नौलो विचारको थालनी भएको देख्न पाइन्छ । ‘शिक्षा’ शब्दले लेखपढ गर्ने र हिसाबकिताब राख्ने क्षमताभन्दा पनि बृहत् अर्थ दिन्छ । यो भद्र शब्दमा म शरीरलाई फुर्तिलो र हिम्मती बनाउने तालिम देख्छु, जसले शरीरलाई रोगव्याधीबाट जोगाउँछ र प्राकृतिक कठोरताहरूविरुद्ध जुध्न सिकाउँछ । शरिरको यही गुणले बाँझो खेतलाई खेतीयोग्य तुल्याउँछ, काठपातलाई पानी जहाजमा ढाल्छ, खानी वा माटोका खाडललाई गाउँबस्ती र सहरमा फेर्छ । शिक्षाभित्र बुद्धिको खेती पनि पर्छ, जसले भौतिक वा भावनात्मक ब्रह्माण्डका सबै छेउकुनाभरि विद्यमान स्थायी र बलशाली नियमहरू पत्ता लगाउन सिकाउँछ । यो अपरिहार्य छ किनभने यी नियम अनुसार चले सबैले जित्छन् । तर, हामीले यी नियम नमानेर यिनका विरुद्ध काम ग-यौँ भने प्रकृतिले हामीलाई रोक्छिन्, प्रतिकार गर्छिन् र सताउँछिन् । अनि अन्त्यमा उनले हामीमाथि विनाशलीला उराल्छिन् । यो ईश्वर मान्छेभन्दा शक्तिशाली हुन्छ भनेझैँ हो ।”
समाजिक र व्यक्तिगत कोणबाट हेर्दा शिक्षा भनेको व्यक्तिलाई उसको सेरोफेरोमा अनुकूलन गर्नु मात्र होइन, बरु उसलाई आफ्नो वातावरण बुझ्ने तालिम दिनु र यसरी त्यसलाई बदल्ने शक्ति दिनु पनि हो ।
भौतिक विज्ञानहरूको उदाहरण हेरौँ । यो क्षेत्रको शिक्षा तथ्यपरक हुनुपर्छ । जस्तो, प्रकृतिको ऊर्जा कसरी उपयोग गर्ने, विद्युतले कसरी काम गर्छ भनी बुझ्नु यही शिक्षाभित्र पर्छ । उत्तोलक र तेर्सो सतह आदिको प्रयोगले यी काम गर्न सकिन्छ । विभिन्न रसायनहरू मिलाएर आगो बाल्न सकिन्छ, आदि ।
यो ज्ञानलाई नयाँ आविष्कारहरूमा वा हामीसित भएका उपकरण र सामानहरू चलाउन प्रयोग गर्न सकिन्छ । अर्कोतिर शिक्षाको सवालमा घटनाक्रमको फगत ज्ञान वा व्यक्तिले तिनलाई रट्नुमा मात्र इतिहासको महत्व हुन्न । बरु भावी समाजलाई निर्धारित गर्ने सिद्धान्तहरूमा इतिहासको महत्व हुन्छ । यस्ता सिद्धान्तहरू विगतका घटनाक्रमबाट निकाल्न सकिन्छ ।
पढ्नसक्ने क्षमता आफैमा शिक्षा होइन, बरु अरूको दिमागमा जम्मा भएका तथ्यहरूको ज्ञान भावी उपयोगको लागि आर्जन गर्ने योग्यता नै शिक्षा हो । लेखकको दिमागलाई स्वतः स्फूर्त आफ्नो बनाउने पढाइको यो शैक्षिक महत्व शिक्षणको औपचारिक विधिले धेरै हदसम्म नष्ट गरेको छ । यस्तो विधिले शब्द र त्यसको बाहिरी स्वरूपमात्र हेर्ने बानी बसालेको छ ।
अरू क्षेत्रलाई झैँ आर्थिक परिस्थिति र सामाजिक आवश्यकताले विगतमा शिक्षालाई आफ्नो साँचोमा ढालेको थियो । धेरै पछि सोह्रौँ र सत्रौँ शताब्दीमा आएर शिक्षालाई विचारप्रधान विद्यालयको विषय बनाइयो । कालिगढलाई कुनै पनि कोणबाट ‘विद्वान’ को रूपमा हेरिन्न । तर, तालिमप्राप्त आँखा र हातको मद्दतले खाका कोरी वस्तु उत्पादन गर्न उसले बाहेक अरूले सक्दैन ।
गएको शताब्दी व्यापारको युग थियो । ठूलाठूला आविष्कारहरू भए, व्यापारमा बढोत्तरी भयो, मालसामानको छेलोखेलो उत्पादन भयो र कूटनीतिक सम्बन्धहरू पेचिला बन्दै गए । वर्तमान शैक्षिक विधि र विषयवस्तुको गहिरो अध्ययनले हाम्रा विद्यालयहरू औद्योगिक र व्यापारिक क्षेत्रका वर्तमान शासक वर्गको स्वार्थ पूर्ति गर्ने खालका छन् भनी देखाउँछ ।
केही वर्षयता प्राविधिक विद्यालयले राम्रा इन्जिनियर र मेक्यानिकहरू तयार गर्ने उद्देश्यको सेवा गर्दै छ । यिनै प्राविधिक विद्यालयहरूले गर्दा जर्मनी आज देशीविदेशी बजारमा बेलायतसँग टक्कर लिन सक्षम भएको छ । यी उत्कृष्ट प्राविधिक विद्यालयहरूले प्रशस्त तालिमप्राप्त कालिगढहरू तयार गरेका छन् । यी कामदारहरू श्रम बजारमा आपसमा भिड्छन्, जसले गर्दा जर्मनीमा तिनको मूल्य घटेको छ । त्यसकारण, आजभोलि जर्मनीमा सस्तो दाममा सिपालु कामदारहरू पाइन्छन् ।
बर्लिनमा वाणिज्य कलेज खोल्ने योजना बन्दै छ । अङ्ग्रेजी शिक्षा त्यसको विशेषता हुनेछ । कारण स्पष्ट छ । जर्मनीको निर्यातमध्ये धेरै मालसामान अङ्ग्रेजीभाषी देशमा जान्छ । त्यतिमात्र होइन । अङ्ग्रेजी तीव्र गतिमा व्यापारको भाषा बन्दै छ र त्यसको ज्ञानले व्यापारीहरूलाई व्यापार बढाउन सघाउने छ ।
कूटनीतिका विशाल कलेजहरू खुल्नु रोचक छ । आधुनिक आविष्कारहरूले ठूला राष्ट्रहरूबीच शत्रुता बढाएको छ । तिनको सम्बन्ध तनावपूर्ण बनेको छ । व्यापारको होडबाजी गर्नु र भूभागको लागि सङ्घर्ष गर्नु सामान्य बनेको छ । यस्तो बेला विदेशी बजार र राजनीतिक वृत्तलाई चतु¥याइँपूर्वक आफ्नो पक्षमा पार्ने र शासक वर्गको स्वार्थ जोगाउने कूटनीतिज्ञहरूलाई पुँजीले तालिम दिनुपथ्र्यो । वासिङटनस्थिति कोलम्बियन युनिभर्सिटी यस्तै विद्यालय हो ।
गुन्टन महोदय आफ्नो पत्रिकामा यस्ता विद्यालयहरूमा रुचि लिनुपर्ने लेख्छन् । शिक्षामा पुँजीपतिहरूले चासो राख्नुको एक मात्र कारण उनी “अमेरिकी व्यापार फैलाउनु हो” भन्छन् । यसरी मान्छेको चौतर्फी विकास गर्ने उद्देश्य लिनुपर्ने शिक्षालाई पूर्णतः शासक वर्गको शुभलाभका निम्ति प्रयोग गरिएको छ ।
अहिलेसम्म अमेरिकी उद्योगपतिहरू विदेशी विद्यालयहरूबाट दक्ष कामदार र डिजाइनरहरू झिकाउन बाध्य थिए । अहिले आएर उनीहरूले निजी होस् वा सार्वजनिक, स्वदेशमै यस्ता विद्यालयहरू खोल्दा खर्च कम हुने देखेका छन् । यस्ता विद्यालयहरू खोलेर असीमित सङ्ख्यामा दक्ष कामदारहरू उत्पादन गर्न सकिने र तिनीहरूबीच होडबाजी चलाएर ज्याला घटाउन सकिने उनीहरूले बुझेका छन् ।
विद्यालयहरूमा शारीरिक कामको तालिम थाल्नुको एउटा कारणको रूपमा श्रम तथ्याङ्क ब्यूरोले हालै सार्वजनिक गरेको रिपोर्टमा लेखिएको छ : “रोजगारदाताले ‘कारखानामा तलैदेखि काम थालेका’ केटाहरूलाई प्राथमिकता दिने अभिभावकहरूले महसुस गरेका छन् । त्यसैले आफ्ना छोराहरूले वास्तविक जीवनमा त्यति काम नलाग्ने विद्यालय शिक्षालाई निरन्तरता दिनुभन्दा उद्योगको अनुभव लिन थाल्नुपर्ने तिनको निक्र्योल छ । यस्तो गर्दा सानै उमेर ज्याला बढ्ने सम्भावना हुन्छ ।”
यस्तै जटिलताहरू नयाँ शिक्षाका चुनौती बनेका छन् । नयाँ शिक्षा क्रान्तिकारी छ । पुरानो व्यवस्थाबाट नयाँ शिक्षा जन्मियो र यसलाई नियन्त्रण गर्न नसकिने देखेर पुरानो व्यवस्थाले आफ्नो शुभलाभको निम्ति शिक्षालाई भ्रष्ट बनाउन खोज्दै छ । शिक्षालगायत सबै क्रान्तिकारी आन्दोलनहरूमा यही प्रवृत्ति देखिने गर्छ । यसरी शासक वर्गले विद्यालयमा पढाइने घरेलु विज्ञानलाई खालि दक्ष नोकरहरू तालिम दिने साधन देख्दै छ । अथवा हस्तकलाका औजारको ज्ञानलाई खप्पिस सिकर्मी बनाउने माध्यम देख्दै छ ।
आजको हाम्रो उद्योग प्रणालीले कामदारहरूको विशाल बथानबाट विशेष कामदारको माग गर्दैन । यन्त्रमा त्यसले विकास गरेको छ । विशाल उद्योगहरूमा थोरै मात्र आविष्कारक र कालिगढ भए पुग्छ । यो कुराले दक्ष कामदारहरूको मागलाई असर गर्दैन । दक्ष कामदार बन्न विशिष्ट वा प्रतिभाशाली कामदार हुनुपर्दैन ।
हाम्रो विद्यालय व्यवस्था आर्थिक अवस्थाका मागहरूभन्दा अगाडि बढेको छैन । यसले सबैलाई एकै ढर्रामा ढाल्छ । एकैचोटि धेरै विद्यार्थीहरू कक्षा चढ्छन् । सबैबाट उही काम र काम गर्ने शैलीको अपेक्षा गरिन्छ । ४० वा ५० विद्यार्थी हेर्ने शिक्षकसँग प्रत्येक विद्यार्थीको झुकाव अध्ययन गर्ने मौका थोरै हुन्छ । सबैलाई एकै आदेशमा चल्ने तुल्याइन्छ । पूरै व्यवस्था निरस र यन्त्रमय बनेको छ । बच्चाको अगुवाइ गर्ने शक्तिलाई धुलोपिठो पारिन्छ ।
हाम्रो युग कति व्यापारिक छ भने हाम्रो विद्यालय व्यवस्था त्यही धुनमा नाच्नुमा आश्चर्य लाग्दैन । विद्यालयका प्रशस्त भवनहरू छैनन् । पुराना विद्यार्थीहरू पढाइको आधाआधीमा पुग्दा थप दुईदेखि तीन सय बालबालिका बालोद्यानहरूमा भर्ना हुन तयार हुन्छन् । धेरै बस्तीहरूको स्थिति यस्तै छ ।
विद्यार्थीहरूको सङ्ख्या हेर्दा शिक्षकको सङ्ख्या अपुग छ । वडा विद्यालयहरूमा एकजना शिक्षकको भागमा ४५ देखि ६० जना विद्यार्थी पर्छन् । यी शिक्षकहरूसामू कामको थुप्रो हुन्छ । तर, प्रायः यिनीहरू विज्ञानका कुरा पढाउन अयोग्य हुन्छन् । यिनलाई कहिल्यै पनि वास्तविक परिस्थिति अवलोकन र नियन्त्रण गर्न तालिम दिइएको हुन्न । त्यसैले यिनले विद्यार्थीका आँखा खोलिदिन सक्दैनन् ।
दस वर्षअघि भौतिक, रसायन र जीव विज्ञान पढाउँदाभन्दा आज भौतिक विज्ञानका प्रयोगशालाहरूमा अलि बढी उपकरणहरू देख्न सकिन्छ । तर, अधिकतर विद्यालयहरूमा अझै पनि यी विषय पढाउन अत्यन्त थोरै सरसाधन पाइन्छ ।
हामी अहिले परिवर्तनको अवधिमा छौँ । व्यापार र होडबाजीको युगबाट सहकार्यको युगमा प्रवेश गर्दै छौँ । हामीबीच नयाँ शिक्षाको बीउ हुर्किँदै छ । जागरण सुरु भइसकेको महसुस हुँदै छ । रुसो, सिमेनियस र पेस्तालोज्जीले शब्दमा आधारित यान्त्रिक शिक्षाको स्थानमा आफ्ना इन्द्रीयहरूले अवलोकन गर्नुपर्ने र दृष्टिकोण बनाउनुपर्ने कुरामा जोड दिए । धेरैलाई थाहा नभए पनि शिक्षामा क्रान्ति ल्याउन स्पष्ट पहल गर्ने व्यक्ति रोबर्ट ओवेन थिए । यसको लागि हामी उनका ऋणी छौँ । सामाजिक सङ्गठनको आँखाले शिक्षादीक्षालाई हेर्ने पहिलो व्यक्ति उनै थिए ।
‘न्यु जेट’ पत्रिकामा हालै प्रकाशित एक लेख अनुसार बौद्धिक र शारीरिक शिक्षा सँगसँगै दिइनुपर्छ भनेर माग उनले अघि सारेका थिए । आठ वर्षको उमेरदेखि शिक्षादीक्षालाई नियमित घरायसी र करेसाबारीको श्रमसँग जोड्नुपर्ने उनको विचार थियो । ते-ह वर्षको उमेरदेखि बालबालिका उच्च विद्याको चरणमा प्रवेश गर्छन् र आत्मसन्तुष्टिका साथ प्रभावशाली तरिकाले समाजको भलाई गर्न र समाजको धन बढाउन योग्य हुन्छन् । ओवेनले शिक्षादीक्षामा श्रमको उपयोगलाई आवश्यक पाठ्यक्रम मात्र मानेका छैनन्, बरु मालसामानको सामाजिक उत्पादनको साधन पनि मानेका छन् ।
नयाँ शिक्षा र समाजवाद एकै सामाजिक परिस्थितिबाट विकसित भएका हुन् । तिनको सार एउटै हो – स्वतन्त्रता । हरेकलाई आफ्नै विचारशैली र पहलकदमी विकास गर्ने स्वतन्त्रता । ठोसरूपमा आफ्नो स्वत्व अभिव्यक्त गर्ने स्वतन्त्रता । आफ्नो स्वत्व ठोसरूपमा अभिव्यक्त गर्न तिनका इन्द्रीयहरूलाई निरन्तर बाहिरी संसारसँग सम्पर्कमा रहन दिनुपर्ने हुन्छ । इन्द्रीयहरूभित्र जे हुन्छ, व्यक्तिको निजी विशेषता र प्रवृत्तिले त्यसलाई गोडमेल गर्छ र सोही अनुरूप उत्पादन हुन्छ । यो कुरा पुष्टि भइसकेको छ ।
यसैकारण नयाँ शिक्षाले विद्यार्थीले पछि गएर सोच्न सक्ने र त्यो सोचलाई मूर्त रूप दिनसक्ने क्षेत्रका औजार र चीजबीजमा उसलाई अभ्यस्त बनाउनुपर्नेमा जोड दिन्छ । प्रकृतिको अध्ययन पनि नयाँ शिक्षाको विशेषता हो । गाउँघरको घुमघामले शहरीया बच्चालाई नितान्त बेग्लै जीवनसँग परिचित गराउँछ । उसले बीउ राखेको देख्छ, त्यो हुर्केको देख्छ, गहुँलाई पिठो र रोटी बनाउने प्रक्रिया हेर्छ । कपासको बोट हुर्केको, कपडा उद्योगको कच्चा पदार्थको रूपमा कपास र रुई बनेको देख्छ । यो एक अर्थमा ‘प्रकृतितिरको फर्काइ’ हो । तर, यो रुसोको प्रकृति होइन । यो विज्ञानका खोजअनुसन्धानले फराकिलो तुल्याएको प्रकृति हो । विज्ञानले हामीसामु संसारको उद्भवको रहस्य, गुरुत्व बलका नियमहरू, भौतिक प्राणीहरूको विकासका रहस्यहरू खोलेको छ । प्रकृतिका सबै रहस्यहरू केवल मान्छेले पत्ता लगाएको हो । आफूले पत्ता लगाउन चाहेका वस्तुहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्दै जाँदा पत्ता लगाएको हो ।
समाजवादमा शिक्षाले मेसिन होइन, मान्छे जन्माउनेछ । माक्र्सले भन्नुभएको छ – समाजवादको लक्ष्य भनेको “सबैको खुला विकासमा प्रत्येकको खुला विकास निहित हुने व्यवस्था हो ।” “एक यस्तो अर्थ व्यवस्थामा आधारित समाज हो, जसले सामाजिक उत्पादक शक्तिको उच्चतम् विकाससँगै मानव जातिको जतिसक्दो उच्च र समतापूर्ण विकास सुनिश्चित गर्नेछ ।”
आज प्रचार माध्यम, धर्मासन र प्रवचन कक्षजस्तै विद्यालय शासक वर्गको नियन्त्रणमा छ । उसले त्यो नियन्त्रणलाई आफ्नो फाइदाको लागि प्रयोग गर्छ । पुँजीवादले प्राविधिक सीपको माग गर्छ र उसका विद्यालयहरूले सोहीअनुसार तालिमप्राप्त मान्छेहरू उत्पादन गर्छन् । उसलाई जस्तो गुण भएको मान्छे चाहिन्छ, उसका विद्यालयहरूले त्यस्तै खाले मान्छे उत्पादन गर्छन् । अनि पुँजीवादले अज्ञानी, आज्ञाकारी र प्रश्न नगर्ने मान्छेले आफ्नो स्वार्थ पूरा हुने देखेको हुनाले उसले कामदार वर्गलाई त्यही दशामा झारेको छ ।
अझ अघि बढौँ । प्रोफेसर जोन डिवेले औँल्याएका छन्, “शिक्षा जीवन वा प्रक्रिया हुनुपर्छ र भावी जीवनको तयारी होइन ।” आजको विद्यालय खालि भावी कामका लागि मान्छेलाई तयार पार्ने नापतौल गरिएको अप्राकृतिक जीवन हो । एक औसत अमेरिकी विद्यार्थीको जीवन असामान्य छ र यो जीवनले उसलाई विद्यालय र नियमको कारिन्दा बनाउँछ । आज कथित शिक्षा कक्षाकोठामा गएर टुङ्गिन्छ । खासमा समग्र जीवन नै शिक्षा हुनुपर्ने हो । वर्तमान व्यवस्थाले सामाजिक एकता र परस्पर हितको भावना मार्दै छ । एउटा विद्यार्थीको काममा अर्कोले सघाउनुलाई दण्डनीय मानिन्छ ।
फेरि शिक्षा बुद्धिको विकास मात्र पनि होइन । ग्रिसेली दर्शनको सिद्धान्त थियो – शिक्षालार्ई सङ्गीत र अभ्याससँग जोड्नुपर्छ । समाजवादको निम्ति शारीरिक विकासलाई मानसिक विकाससँग जोड्नुपर्छ, समाजवादले त्यो सम्भव गराउनेछ । उत्पादन कार्यलाई शिक्षासँग गाँसिनेछ । बाफ इन्जिनको काम गर्ने तरिकाबारे अध्ययन गरिरहेको विद्यार्थीले एउटा इन्जिन समात्नेछ र त्यसलाई चलाउँदै त्यसका प्रत्येक पार्टपुर्जाबारे सिक्नेछ ।
कपडा कारखाना र उद्योगको विकास पछ्याउँदै ऊ तिनको सुरुआती रूप, चर्खा, लुगा बुन्ने भद्दा तान हुँदै जटिल यन्त्र र आधुनिक उद्योगका विशाल तानहरूमा पुग्नेछ । खाद्यान्न र कृषि उत्पादनसँग जोडिएका उद्योगहरूको अध्ययन गर्दै उसले गएर बाली हुर्काउन प्रयोग गरिने औजारहरू समात्नेछ अनि हलो र लौरोसम्म पुग्नेछ । अर्धसभ्य जातिहरूले हलोले खेत जोत्थे । हाम्रा पुर्खाले फनफनी घुम्ने लौरोले गहुँ झाँट्थे । यी औजार हुँदै हाम्रो विद्यार्थी थ्रेसिङ मेसिनसम्म पुग्नेछ ।
सहरीया जनता गाउँले जीवनबारे टिठलाग्दो अज्ञानतामा छन् र हाम्रा गाउँले दाजुभाइ विशाल उद्योगहरूबारे अज्ञानतामा छन् । आफ्नो कामको साँघुरो चौघेराभित्र बसेका बहुसङ्ख्यक मान्छेहरू बाहिरी संसारबारे बेखबर छन् । यो दयनीय अज्ञानता थाहा पाएर भविष्यको पुस्ता छक्क पर्नेछ ।
बालबालिकालाई कखराको रूपमा समाज चिनाइनेछ । उसले प्राचीन चरणहरूबाट सुरु गर्नेछ । समाज बर्बर र अर्धसभ्य हुँदै अघि बढेको थाहा पाउनेछ । त्यसपछि सिकाइमा बिस्तारै उक्लिँदै ऊ आधुनिक उद्योगसम्मको जटिल र पेचिलो व्यवस्थासम्म पुग्नेछ । मानवशास्त्र र व्युत्पत्तिशास्त्र उसलाई सजीव र प्रेरक विषय लाग्नेछन् ।
शिक्षा मूल्यवान् बन्न सिकाइएका कुराहरूलाई त्यसले एउटै मालामा उन्नुपर्छ । हाम्रो पुरानो व्यवस्थाले विज्ञानका प्रत्येक शाखालाई सिकारुहरूको लागि नितान्त नौलो र बिरानो बनाएको थियो, तिनीहरूबीच कहिल्यै साइनो देखाइन्नथ्यो । उदाहरणको लागि भूगर्भशास्त्र र भूगोल भयो । थोरैलाई मात्र भूगोल भनेको विभिन्न चरणहरूको लामो श्रीङ्खलामा निश्चित चरण जनाउने पृथ्वीको वर्तमान अवस्थाको अध्ययन हो, भूगर्भशास्त्र भनेको यी चरणहरू र वर्तमान स्वरूपमा प्रकट भएका पृथ्वीको सतहका परिवर्तनहरूबारे अध्ययन हो भनी हेर्न सिकाइएको हुन्छ ।
प्रत्येक शिक्षकले विषयवस्तुलाई समाज र समाजको विज्ञान वा समाजशास्त्रको सापेक्षमा व्याख्या गर्नसक्नुपर्छ । यस्तो माला, एकता वा सार नै दार्शनिकहरूको छलफलको विषय बन्दै आएको छ । तर, पाठ्यक्रम बनाउनेहरूको आँखामा यी कुरा बिरलै पर्छन् । सुरुमा हामीले शिक्षाको उद्देश्य व्यक्तिलाई उसको सेरोफेरोमा अनुकूलन गर्नु र त्यसमा परिवर्तन ल्याउन उसलाई योग्य तुल्याउनु हो भन्यौँ । यस्ता परिवर्तनहरू मानव जातिलाई प्रगतितर्फ लैजाने खालको हुनुपर्छ । तर, निकै थोरै मामिलामामात्र विज्ञानले बहुसङ्ख्यक जनताको कल्याण हुने काम गरेको छ । जस्तो शासक वर्गलाई जोगाउने मामिलामामात्र यो अगाडि छ । उदाहरणको लागि विज्ञानसङ्गत हिसाबले खाना पकाउन, सरसफाइ गर्न र रोगव्याधी रोकथाम गर्नमा अध्ययनले जोड दिएको छ ।
समाजवादमा मात्र राम्ररी तयार गरिएको शुद्ध भोजन र स्वस्थ वातावरणसँगै रोगव्याधीहरूबाट छुटकारा पाएको र मान्छेको आयु बढेको देख्न पाइनेछ । बितेको शताब्दीमा औषधि विज्ञान, प्रयोगात्मक मनोविज्ञान र शरीरविज्ञानमा ठूलो उन्नति भयो । तर, यो ज्ञानमा मुठ्ठीभर मान्छेको एकाधिकार छ । ‘युवाहरूलाई अपिल’ नामक पर्चामा क्रोपाट्किनले लेखेका छन् – “आजको हाम्रो समाजमा विज्ञान मात्र विलासको साधन हो । यसले केही मुठ्ठीभर मान्छेहरूको जीवन मोजमज्जापूर्ण बनाएर सेवा गर्छ । तर, बहुसङ्ख्यक मानिसहरूको पहुँचभन्दा यो टाढा बस्छ ।” “दार्शनिकहरूको दिमाग वैज्ञानिक सत्यले भरिभराउ छ र बाँकी सबै मानिसहरू पाँच वा दश शताब्दीअघिको अज्ञानतामा बाँच्छन् । त्यो भनेको दासतामा यन्त्रवत बाँच्छन्, स्थापित सत्य कुरा बुझ्ने खुबी छैन ।” “हामीले विज्ञानले उधिनिसकेका सत्यहरू प्रचार गर्नुपर्छ । ती सत्यलाई हाम्रो दैनिक जीवनको हिस्सा बनाउन र सबैको साझा सम्पत्ति बनाउन यस्तो प्रचार नगरी हुन्न ।”
अर्को कुरा, प्रायोगिक र शारीरिक मनोविज्ञानको क्षेत्रमा भएका खोजहरूले पढाउने पुराना तरिकाहरूमा क्रान्ति ल्याउनुपर्छ । उदाहरणको लागि वंशाणुगत मनोविज्ञानले बच्चाको शैशवकाल शारीरिक क्रियाकलापको अवधि हुनुपर्छ भनी देखाएको छ । बच्चाको शरीर नियन्त्रणमा आइसकेको हुन्न । ऊ चुपचाप बस्न सम्भव हुन्न । तैपनि विद्यालय अनुशासनको नाममा यी ससाना बचेराहरूलाई दिनको ४ देखि ६ घन्टासम्म बेञ्चमा चुपचाप बस्न लगाएको हामीलाई सम्झना छ । अचेल हाम्रा विद्यालयहरूले यी पुराना अनुशासन तोड्न थालेका छन् र यो उद्देश्यहीन तर आवश्यक क्रियाकलाप उपयोगी ढङ्गले सञ्चालन गर्न थालेका छन् ।
सपाङ्गमात्र नभई धेरै अपाङ्गहरूले पनि मनोविज्ञानका खोजहरूबाट लाभ लिनेछन् । अध्ययनहरूबाट मानसिक रूपमा विकलाङ्गहरूलाई पनि समाजको निम्ति उपयोगी बनाउन सकिने कुरा पत्ता लागेको छ । अपराधीहरूले पनि त्यस्तै लाभ पाउनेछन् । अधिकांशलाई सामाजिक अवस्थाले नै अपराधी बनाएको हुन्छ । सामाजिक अवस्थामा परिवर्तन आएपछि तिनको सङ्ख्या स्वात्तै घट्नेछ । उनीहरूलाई उत्पादक काममा खटाउन सकिन्छ । यसको अर्थ मानसिक रूपमा कमजोर र रुग्णहरूलाई जोगाएर हाम्रो नश्ल कमजोर बनाउनुपर्छ भन्ने होइन । दुवैलाई स्वेच्छाले आफ्नो वंश अघि बढाउन नदिए दुवै अन्ततः लोपोन्मुख हुनेछन् ।
(समाजवादी विचारकी अमेरिकी शिक्षिका र लेखिका मे वुड सिमोन्सले यो लेख सन् १९०१ मा लेखेकि थिइन्। अनुवाद : संयम-अनलाइनमजदुर)










