-राणा आयुब-
मलाई वाराणासी घुमाउने (टुर गाइड) त्यहीँको एक जना केटो थियो र उ फुरुङ्ङ थियो। उसले मलाई सुनायो, “अब हाम्रा योगी देशको प्रधानमन्त्री बन्नेछन्।” रामललाप्रति उसको प्रेम कति! ‘भगवान राम’ र भारतकै सबभन्दा ठुलो राज्यमा सत्तामा पुनः ठुलो बहुमतका साथ निर्वाचित बनेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई उसले त्यसरी नै सम्बोधन गरिरहेको थियो।
आलोचकहरू बारम्बार आदित्यनाथलाई अध्यात्मिकताको गेरुवस्त्र लगाउने जुझारु योगी, महत्वाकाङ्क्षी दक्षिणपन्थी राष्ट्रवादीको दर्जा दिन्छन्। जुलुस र जनसभाहरूमा ठाडो मुसलमानविरोधी कुरा बोलेर उनी बेला बेलामा चर्चामा आइरहेका हुन्छन्। उनको भाषण सुनेर मानिसहरू ताली बजाउँछन्। आफैँ भारतको मुसलमानलाई बद्नाम गर्न लागिपरेको भारतीय जनता पार्टीमा उनका यस्ता भनाइमा कुनै रोकतोक लगाइँदैन।
सञ्चारक्षेत्र पनि उस्तै छन्। लोकप्रिय समाचार च्यानल आज तकमा हालै दिएको अन्तर्वार्तामा आदित्यनाथले मुसलमानहरूलाई ठाडै ‘कठमुल्लाह’ भने। मुसलमान समुदायमा छोरोको यौनाङ्गमा घाउ पार्ने परम्परालाई इङ्गित गर्ने यो पुरुषलाई गाली गरिने अपमानजनक शब्द हो। यो शब्दप्रति न अन्तर्वार्ता लिने प्रस्तोताले आपत्ति जनाइन् न भारतकै सबभन्दा धेरै जनसङ्ख्या भएको राज्यका मुख्यमन्त्रीले त्यो गालीको शब्द प्रयोग गरेकोप्रति क्षमा माग्न आवश्यक ठाने।
बितेका पाँच महिनादेखि मैले आफ्ना पत्रकार मित्रहरूबाट उत्तर प्रदेशमा सन् २०१९ को चुनावमा जस्तै भाजपाले नै बहुमत ल्याउने चर्चा सुन्दै आएको छु। मोदी वा आदित्यनाथ कसैले पनि चुनावमा गरेका वाचा पूरा नगर्दा पनि त्यस्तो बहुमत प्राप्त गर्ने मैले अनुमान गरेँ। वास्तवमा उत्तर प्रदेशले भोगेको कोभिड–१९ महामारीको गलत व्यवस्थापन र दुःखको लहरका सबभन्दा खराब प्रभावको निम्ति उनीहरू दोषी थिए।
उत्तर प्रदेशको चुनावी परिणामबारे यस्तो दाबी गर्ने पत्रकारहरू मलाई भ्रममा बसेको भने। उनीहरूको भनाइमा मोदीको उठ्दो प्रभाव जनाउने ‘मोदी लहर’ मा मूलधारका सञ्चारमाध्यम चुर्लुम्म डुबिसकेका छन्। उनीहरू सबैलाई मैले भनेकी छु–घृणाको शक्ति, धु्रवीकरण र मुसलमानहरूलाई पराई बनाउनु नै अहिले भारतका कुनै पनि राजनीतिक पार्टीसँग भएको सबभन्दा शक्तिशाली हतियार हो। भारतीय जनताको ठूलो सङ्ख्या आज यही परपीडनको नयाँ भावलाई उपयोग गरिरहेका छन्।
शासक दलको यस्तो आक्रामकता र जल्दोबल्दो हिन्दू सशक्तिकरणप्रति हुरुक्क बनेका मतदातालाई खुशी बनाउने अर्जुन दृष्टिको कारण भाजपाले उत्तर प्रदेशको प्रादेशिक चुनावमा एक जना मुसलमानलाई पनि उम्मेदवारीको टिकट दिएन ।
पराई
मुख्यमन्त्रीको रूपमा आदित्यनाथको कार्यकाल उत्तर प्रदेशको निम्ति अतुलनीय आघात र अझ दुःखको समय रह्यो। महामारीको समयमा धेरै मानिस मरे, कति निराश भए। त्यो वियोगपूर्ण समयको भारतीय र विभिन्न देशका सञ्चारमाध्यमले प्रसारण गरेका थिए । कोभिडको दोस्रो लहरको क्रममा सन् २०२० देखि २०२१ मा कानपुर र आजमगढजस्ता नगरका अस्पतालमा मैले भेटेका बिरामीका आफन्तहरू अस्पतालमा शय्या र अक्सिजनको व्यवस्था गर्न अनुनय विनय गरिरहेका थिए। मसानघाटहरू जलिरहेका लासले भरिभराउ थिए, गङ्गा नदीमा लास बगिरहेका तस्बिरहरू बाहिरिएका थिए।
सन् २०२१ को गर्मी याममा सुरु भएको भयानक दोस्रो लहरभन्दा अघि पनि लाखौँ लाख भोका र थकित आप्रवासी मजदुरहरू अन्धाधुन्ध गरिएका बन्दाबन्दीको घोषणापछि भारतका ठूला सहरबाट उत्तर प्रदेशमा आफ्ना घर जाँदै थिए। त्यतिबेलाको दृश्यले धेरैलाई सन् १९४७ को हिन्दुस्तान विभाजनको क्षण सम्झायो। घर फर्केका ती मजदुरहरू उत्तर प्रदेशको जुनसुकै ठाउँमा पुगे पनि असहज व्यवहार सामना गर्नुप-यो। केही ठाउँमा त क्रुर व्यवहार पनि भोग्नुप-यो।
तर, यी सबै दुःखको भारी जति मुसलमानहरूको त्रास फैलाएर विषयान्तर गर्न खोजियो। उत्तर प्रदेशका स्रोतमाथि हालीमुहाली चलाउन र शान्तिप्रिय निर्दोष हिन्दूहरूको विशाल बहुमत भएको प्रदेशमा कपोलकल्पित धार्मिक प्रभुत्व जमाउन मुसलमानहरूले यस्तो चालबाजी गरेको भनेर खास कुरालाई ओझेलमा पार्न खोजियो।
‘द क्विन्ट’ नामको समाचार माध्यमले हालै प्रकाशित गरेको समाचारमा पछिल्लो वर्षमा उत्तर प्रदेशमा मुसलमानहरूविरुद्ध घृणाबाट हुने अपराध बढिरहेको उल्लेख छ। समाचारमा सन् २०१५ उता उत्तर प्रदेशमा मुसलमानविरुद्ध भएका ४१८ वटा अपराधका उदाहरण प्रस्तुत गरिएको छ। जसलाई घृणाले जन्माएको अपराध भन्न सकिन्छ। सन् २०१७ मा आदित्यनाथ सत्तामा आए। त्यो साल सन् २०१६ को तुलनामा घृणाले जन्माएका अपराधको सङ्ख्या पाँच गुणाले बढेको थियो।
गत महिना उत्तर प्रदेशमा आयोजित चुनावी सभामा भारतमा गृहमन्त्री अमित शाहले घोषणा गरे, “मोदी शासनअघि जो कोही अलिया, मलिया र जमालिया भारतमा पस्न सक्थे,” भीड खुशीले उफ्र्यो। मुसलमानहरूको अपमान गर्न भनिएको ‘अलिया, मलिया र जमालिया’ शब्द सुनेर उनीहरू खुशीले उफ्रेका थिए । (विगतमा आफ्नो भाषणमा नरेन्द्र मोदीले पनि उस्तै खालका शब्द प्रयोग गरेका थिए ।)यस्ता कुराले मतदाताबीच मुसलमानविरोधी भावनाको मलजल मात्र गरिरहेको थिएन। त्यो त उत्तर प्रदेशका धेरै बेरोजगार, गरिब र घरबार नभएका मानिसहरूका घाउ निको बनाउने जादुमयी औषधिको रूपमा बेचिएको अचुक र ठाडो घृणा थियो।
भारतमा महामारीले वित्यास पार्नुअघि सन् २०१९ को शीतकालदेखि सन् २०२० मा आदित्यनाथ सरकारले सयौँ विद्यार्थी र मुसलमानलाई नागरिकता ऐनको विरोध गरेको आरोपमा पक्राउ गरेको थियो। सन् २०१९ को नोभेम्बरमा नागरिकता ऐनविरुद्धको आन्दोलन उत्कर्षमा पुग्यो। त्यत्तिबेला उत्तर प्रदेशमा मात्र २० जना मानिसले ज्यान गुमाएका थिए। पाँच हजारभन्दा बढी मानिस (तीमध्ये अधिकांश मुसलमान थिए) हिरासतमा थिए । उनीहरूमध्ये दर्जनौँलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो । शान्तिपूर्ण विरोधलाई आतङ्कवादी र देशद्रोहसमानको गम्भीर आरोप लगाउन यस्तो मुद्दा दायर गरिएको थियो। यसले विरोध गर्नेहरूलाई कानुनी उपचारबाट वञ्चित पारिएको थियो। साथै मुसलमानहरूविरुद्ध घातक हिंसा फैलाउने बाटो खोलिदिएको थियो।
विपक्षी
उत्तर प्रदेशको लालगञ्जका मनहर यादव नामको मतदाताले मलाई आफू विकल्पहरूबाट पनि भ्रममुक्त भएको बताए। आदित्यनाथभन्दा अघि उत्तर प्रदेशका मुख्यमन्त्री समाजवादी पार्टीका अखिलेश यादवजस्ता राजनीतिक नेता त्यो राज्य विस्मातको खराब लहर सामना गर्दैगर्दा कहीँ पनि देखिएका थिएनन्। चुनाव हुन एक वर्षभन्दा कम समयअघि मात्र उनी सार्वजनिक क्षेत्रमा देखिएका हुन्।
कुराकानीकै शिलशिलामा मनहर यादवले आफ्नी बहिनीले क्षमताको आधारमा शिक्षिकाको काम पाएको र कुनै प्रतिस्पर्धात्मक परीक्षा दिनु नपरेको सुनाए। उनले चखालीका साथ सुनाए, “अखिलेशले भए अझ बढी मदर्साहरू खोल्ने थिए।” मदर्सा इस्लाम धर्मबारे पढाइने विद्यालय हो। समाजवादी पार्टीको नेतृत्व हिन्दूहरूले गर्दै आएका छन, तथापि यो तल्लो जातको सशक्तिकरण र लोककल्याणकारी राज्यको पार्टी बन्दै आएको छ। यद्यपि, धेरै वर्षअघिदेखि त्यो पार्टीलाई ‘मुसलमानहरूको पार्टी’ को बात लाग्दै आएको छ किनभने उत्तर प्रदेशका ठुलो सङ्ख्यामा मुसलमानहरूले समाजवादी पार्टीलाई नै मतदान गर्दै आएका छन्।
मुसलमानहरूमाथि वर्षौं वर्षदेखि हुँदैआएको हमलालाई समाजवादी पार्टीले पूर्णतः बेवास्ता गर्दै आएको अवस्थामा उसलाई त्यस्तो भन्नु विरोधाभासपूर्ण छ। बितेका केही सातायता भारतको दक्षिणी राज्य कर्णाटकमा हिजाबमाथि प्रतिबन्ध र हिजाब लगाएका मुसलमान महिलामाथि हमला गरेर भाजपाले उनीहरूलाई देशैभरि तर्साउने राष्ट्रिय अभियान चलाए। त्यो धु्रवीकरणले सुन्दै डरलाग्दा समाचार शीर्षक र तातो बहस जन्मायो। तथापि, उत्तर प्रदेशको भाजपाको प्रमुख विपक्षी समाजवादी पार्टीले यस्ता दुव्र्यवहारको विरोधमा उभिने हिम्मत गरेन।
अखिलेश यस्ता विषयमा मौन बस्दा नरेन्द्र मोदीको भाजपाले धु्रवीकरणबाट थप फाइदा उठायो। फेब्रुअरी महिनाको अन्त्यतिर चुनावको लागि मत सर्वेक्षणहरू चल्दै गर्दा मोदीको गृहनगर गुजरातको अदालतले एक दसकअघि मच्चिएको आतङ्क फैलाएको आरोपमा ३८ जना मुसलमानहरूलाई ज्यान सजाय सुनायो। टिप्पणीकारहरूले त्यो समयमा यस्तो निर्णय पछाडिको नियतबारे प्रश्न उठाएका थिए। तर, मोदीले यसबारे केही स्पष्टिकरण दिन आवश्यक ठानेनन्। भाजपाको गुजरात एकाइले मुसलमान पुरुषहरूलाई फाँसीको फन्दामा झुण्ड्याइएको डक्टर्ड तस्बिरहरु ट्वीट गरेको थियो। सँगै, भारतको मूल नारा ‘सत्यमेव जयते’ लेखिएको थियो।
मोदी आफैले पनि त्यो मृत्युदण्डको प्रसङ्ग आफ्नो भाषणमा ल्याउन कहिल्यै पनि चुकेनन् । आरोपित मुसलमान आतङ्कवादीहरूको सन्दर्भमा भएको फैसला बितेका केही वर्षदेखि हरेक प्रमुख पश्चिमा सञ्चारमाध्यमले नजानेरै मोदीलाई जोड्ने गरेको ‘विकास’ को ठाउँ लियो। उत्तर प्रदेशको आजको चुनावी नतिजाले दुई वटा राजनीतिक शक्तिलाई शून्यमा झारिदियो। ती दुई दलहरू भारतीय राष्ट्रिय काङ्ग्रेस र बहुजन समाज पार्टी हुन्। उनीहरू क्रमशः मुसलमान र दलित मतदाताले मत दिंदै आएका दल हुन्। चुनावी अभियानमा बहुजन पार्टीको उपस्थिति लगभग शून्य थियो भने काङ्ग्रेसलाई उल्लेखनीय शक्तिको रूपमा लिन छोडियो। प्रमुख प्रतिस्पर्धी अखिलेश यादव प्रतिस्पर्धाको लागि तयार मात्र नभएको होइन, बरु विभिन्न हिसाबबाट विभक्त समुदायलाई कुनै एउटा बृहत् मोर्चामा एकाकार बनाउन पनि असफल रहे।
भविष्य
नरेन्द्र मोदी नेतृत्वको भाजपाले विजय हासिल गरेका राज्यमध्ये आदित्य नाथको उत्तर प्रदेश मात्र होइन। भाजपाले उत्तराखण्ड र मणिपुर राज्यमा पनि विजय हासिल गरेको छ। तटीय राज्य गोवामा पनि भाजपा प्रमुख प्रतिस्पर्धी हो। त्यहाँ भाजपाको ज्यादै अलोकप्रिय वर्तमान सरकारविरुद्ध विभिन्न दलहरू एक ठाउँमा आएका छन्। त्यहाँ पनि विपक्षी नेताहरूबीच एकताको अभाव, चुनावअघि मोर्चाबन्दी नहुनु र भाजपाविरोधी मत विभाजित भएकोले हुनाले गोवामा पनि भाजपाकै जित हुने सम्भावना छ।
भाजपाको दबदबाको प्रतिकार गरेको एउटै राज्य भनेको पञ्जाब हो। त्यहाँ अरबिन्द केजरीवालको आम आदमी पार्टीले विजय हासिल गरेको छ। आम आदमी पार्टी अहिलेसम्म दिल्लीकै राज्यमा मात्र सीमित थियो। धार्मिक धु्रवीकरणको सन्दर्भमा केजरीवालको राजनीतिक मौकापरस्त रहँदै आएको छ। आम आदमी पार्टीले मुसलमान बाहुल्य कास्मिरले पाउँदै आएको विशेष अधिकारलाई समाप्त गर्ने धारा ३७० को खारेजीलाई समर्थन ग-यो। सन् २०२० को दिल्ली दङ्गामा भएका निर्ममताको आम आदमी पार्टीले देखे नदेखेझैँ ग-यो। दङ्गामा दर्जनौं मुसलमानहरूमाथि काटमार गरिएको थियो। असंवैधानिक नागरिकता ऐनको विरोधमा उभिने सयौँ विद्यार्थीहरूलाई जेल सजाय गरियो। दिल्लीको मुख्यमन्त्रीको रूपमा केजरीवालले सात वर्षमा आफूलाई समर्पित हिन्दू देखाए। उनी खुलेर धार्मिक आस्था देखाए र कहिलेकाहीं मुसलमानविरोधी विभेदमाथि आगो फुक्ने काम पनि गरे। आफूलाई मोदीको विकल्पको रूपमा देखाउन उनले यस्ता काम गरेका थिए।
पञ्जाबका मतदाताले पाँच वर्षअघि भारतीय राष्ट्रिय काङ्ग्रेसलाई सत्तामा पु-याएका थिए। तर, त्यही बेलादेखि नै पूर्व मुख्यमन्त्री अमरिन्ध्र सिंहको गलत व्यवहारबाट चिढिएका थिए। पार्टी भने अन्योलमा फसेको थियो। प्रायशः आफैलाई असजिलो हुने निर्णयहरू काङ्ग्रेसले गर्दै गयो। काङ्ग्रेसको विपक्षमा रहेको भाजपासँग मिलेको शिरोमणि अकाली दल आफै पनि भ्रष्टाचारको अथाह पोखरीमा चुर्लुम्म डुबेको थियो। आफू सत्तामा छँदा गरेका पाप उसले पखाल्न सकेको थिएन। त्यस अवस्थामा पञ्जाबले केजरीवाललाई उपयुक्त विकल्प देख्यो। केजरीवालको पार्टीले नयाँ दिल्लीमा जनस्वास्थ्य र शिक्षा क्षेत्रमा गरेका कामलाई हेरेर दशकौँसम्म पञ्जाबमा शासन गरेका भ्रष्ट नेताहरूको विकल्पको रूपमा आम आदमी पार्टीलाई चुनेको देखिन्छ।
पञ्जाबको यो नतिजाले हामीलाई तुरुन्तै एउटा निष्कर्षमा पु-याएको छ। के नरेन्द्र मोदीजस्ता लोकप्रिय बलियो नेताविरुद्ध केजरीवाल सिङ्गो भारतका नेता बन्न सक्लान्? यो वर्षको अन्त्यतिर हिमाञ्चल र गुजरात राज्यमा हुने चुनावमा पनि आम आदमी पार्टी प्रतिस्पर्धा गर्दैछ। केही वर्षअघि म गुजरात गएको थिएँ। केजरीवालको पार्टीले त्यहाँको निर्वाचनमा केही प्रभाव अवश्य पार्न सक्छ । तर, गुजरातमा चुनाव जित्नु भने अर्को असम्भव काम हुनेछ। यद्यपि, पञ्जाबमा हासिल भएको विजय र नयाँ दिल्लीमा उसको लोकप्रियताको आधारमा आम आदमी पार्टीले आफ्नो सङ्गठन विस्तार गर्दै जानुपर्छ। काङ्ग्रेसजस्ता राष्ट्रिय पार्टीलाई विभाजित गर्ने र थप खुम्च्याउँदै उसले यो कामलाई अघि बढाउनुपर्छ।
आजको अवस्थाले सन् २०२४ को चुनाव कस्तो हुने सङ्केत गर्छ ?
केही पाठकलाई यो कुरा मिठो नलाग्न सक्छ । आम निर्वाचन (संसदीय चुनाव) हुन चौबीस महिनाभन्दा कम समय रहँदासम्म कुनै बृहत् मोर्चा नबनेको आजको परिस्थितिमा आगामी चुनावमा भाजपाले नै चुनाव जित्नेछ । एक कदम अघि सरेर मैले सन् २०२४ को चुनावको पूर्वानुमान गर्नु भने कुनै नयाँ कुरा भने होइन । किनभने आम चुनावको मानक मानिने उत्तर प्रदेशको चुनावमा देखिएको निष्कर्षले नै यो कुरा देखाएको छ । यो व्याख्याले धार्मिक अल्पसङ्ख्यकमाथि थप हिंसात्मक र खतरनाक समय आउँदै गरेको देखिन्छ ।
भाजपाले सिर्जना गरेको अवस्थाप्रति भारतका विपक्षी दलहरू एकनाशको मौनता बनाएर बसेका छन्, जुन अवस्थामा २२ करोड ५० लाख मुसलमान जनता आमनरसंहारको भय पालेर बाँचिरहेका छन्। यसले मोदी, उनको नेतृत्व र उनका खास मतदातालाई बलियो बनाएको छ। यदि सन् २०२४ को चुनावमा मोदीको राजनीतिक महत्वाकांक्षामाथि कुनै खतरा आए त्यो उनकै दलभित्रबाट आउनेछ। त्यो चुनौती अरू कोही होइन, उत्तर प्रदेशको विजयका अनुहार, हिन्दुहरूका नयाँ आदर्श र मोदीले जस्तै सफलतापूर्वक चुनावी विजय दिन सक्षम योगी आदित्यनाथ हुनेछन्।
मोदीले जस्तै योदी आदित्यनाथ राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्न सफल छन्। ‘मोदीविरुद्ध योगी’ जस्तो प्रचारबाजी त सञ्चारमाध्यमले प्रचार नगर्लान्। तर, भाजपाको तल्लो तहका कार्यकर्ताहरूबीच यो कुरा व्यापक भइसकेको छ। आदित्यनाथ र मोदी–शाहबीचको प्रतिस्पर्धा अहिलेको निम्ति समान तहबीचको प्रतिस्पर्धा नहुन सक्छ। तर, सन् २०२४ को आमचुनावको प्रतिस्पर्धाको निम्ति यो रोचक विकासक्रम हुन सक्छ। दुर्भाग्यवश, आगामी लडाइँमा जसले जीत हासिल गरे पनि त्यसको अन्तिम मूल्य भने भारतका अल्पसङ्ख्यकहरूले चुकाउनुपर्नेछ। त्यही कुरामा भारतको प्रजातन्त्रका लागि चिन्ताजनक छ।
(राणा आयुब भारततीय पत्रकार हुनुहुन्छ।अनलाइन मजदुर )