महान फ्रेन्च क्रान्तिको ११/१२ वर्ष बित्दा न बित्दै सैनिक जनरल नेपोलियन बोनापार्टले क्रान्ति माथि बुट बजार्दै आफुलाई सम्राट घोषणा गरेका थिए। त्यसको ४८ वर्ष पछि आफुलाई उनका भतिजा बताउने लुई बोनापार्ट राष्ट्रपतिमा निर्वाचित भए। काकाको सिको गर्दै उनले ४ वर्ष पछि, २ डिसेम्बर १८५१ मा राज विप्लवद्वारा आफुलाई सम्राट घोषणा गर्न पुगे। शासकहरूमा यस्तो तानाशाही प्रवृति कस्तो सामाजिक परिस्थितिमा उद्भव हुन्छ?! लुई बोनापार्टको उक्त प्रतिक्रान्तिको सुक्ष्म एवं सविस्तार वर्णन बडो सजीवढंगले मार्क्सले आफ्नो कृति ‘लुई बोनापार्टको १८ औं ब्रुमेर’मा गरेका छन्। त्यसको एक अंश :
फ्रान्समा “सानासाना किसानहरुको संख्या धेरै ठुलो छ, उस्तै उस्तै अवस्थामा बाँचेका छन्। तर उनीहरु बीच बहुआयामिक सम्बन्ध हुँदैन। उनीहरुको उत्पादन प्रणालीले नै उनीहरुलाई एक अर्काको सम्पर्कमा आउनुको साटो एक अर्काबाट पृथक राखेको हुन्छ। उनीहरुको यो पृथकता फ्रान्समा संचार साधनको दयनीय अवस्था र किसानहरुको गरिवीले गर्दा अझ चर्को छ। उनीहरुको उत्पादन क्षेत्रले, उनीहरुको खेतको सानो टुक्राले, गर्दा खेतीमा श्रम विभाजन र विज्ञानको प्रयोग गर्ने सम्भावना रहदैन, फलतः यहाँ किसानको विविधता हुँदैन, प्रतिभाको विकास हुन सक्दैन, सामाजिक सम्बन्धहरुको सम्पन्नता हुँदैन। प्रत्येक किसान परिवार प्रायजसो स्वावलम्बी हुन्छ; त्यसले आफ्नो उपभोगका अधिकांश वस्तुहरु आफैले उत्पादन गर्छ र यस प्रकारले आफ्नो जीविकाका साधन सामाजिक सम्सर्गद्वारा भन्दा बढी प्रकृतिसँग अन्तरक्रियाद्वारा प्राप्त गर्दछ। सानो टुक्रा खेत, एक किसान र उसको परिवार; उस्को छिमेकमा फेरि अर्को सानो टुक्रा खेत, अर्को किसान र उसको परिवार। यता केही किसानहरुबाट गाउँ बनेको हुन्छ केही गाउँबाट प्रदेश। यस प्रकारले, जसरी बोरामा जम्मा गरिएको आलुबाट एक बोरा आलु तयार हुन्छ, त्यसैगरी समान परिणामहरुको सामान्य जोडद्वारा फ्रान्सेली राष्ट्रको विराट जनसमुदाय बनेको छ। जब लाखौँ लाख परिवार एक यस्तो आर्थिक अवस्थामा बाँच्नु पर्ने हुन्छ जहाँ उनीहरुको जीवन विधि, रुचि र संस्कृति अन्य वर्गको भन्दा पृथक हुन्छ र अन्य वर्गको विरुद्धमा तिनीहरु उभिन पुग्दछन् तब भने उनीहरु एउटा वर्गको रुपमा देखा पर्दछन्। तर जबसम्म यस्ता ससाना किसान स्थानीय स्तरमा मात्रै अन्तरसम्बन्धित हुन्छन् र आफ्ना हितको समरुपता भएर पनि उनीहरु एक छुट्टै समुदायको रुपमा बाँधिएका हुदैनन्, उनीहरु बीचमा कुनै राष्ट्रिय बन्धन अथवा राजनीतिक संगठन हुँदैन तबसम्म उनीहरुलाई एउटै वर्ग बाँधिनु पर्ने आवश्यकता हुँदैन। तसर्थ उनीहरु आफ्नै नामबाट, चाहे त्यो संसदको नामबाट होस् या कन्भेन्टको नाममा होस्, आफ्नो वर्ग हितको रक्षा गर्न सफल हुँदैनन्। उनीहरु आफै आफ्नो प्रतिनिधित्व गर्न सक्दैनन्, अरु कसैले उनीहरुको प्रतिनिधित्व गरी दिनु पर्दछ। त्यो मात्रै उनीहरुको प्रतिनिधि बन्न काविल हुन्छ जो उनीहरुको मालिक छ, उनीहरुमाथि हुकुम छाट्ने मालिक हुन्छ, एक निरंकुश सत्ताको प्रतिनिधि हुन्छ, जसले उनीहरुलाई अन्य वर्गबाट बचाउँछ र आकाशबाट घामपानी पठाउँछ। तसर्थ कार्यकारी सत्ताद्वारा समाजमाथि आधिपत्यको स्थापना नै साना किसानहरुको राजनीतिक प्रभावको अन्तिम अभिव्यक्ति हो। …
बोनापार्ट वंश क्रान्तिकारी किसानको होइन, रुढिवादी किसानहरुको प्रतिनिधि हो। यो वंश ती किसानहरुको प्रतिनिधि होइन जो आफ्नो सामाजिक अस्तित्वको अवस्था अर्थात सानो जोत बन्धनबाट मुक्त हुन् चाहन्छन्, अपितु ती किसानहरुको प्रतिनिधि हो जसले यस अवस्थालाई(सानो जोतलाई) कायम राख्न र अझ सुदृढ तुल्याउन चाहन्छ, उ त्यो ग्रामिण जनसंख्याको प्रतिनिधि होइन जो शहरिया जनसंख्यासंग मिलेर आफ्नो शक्तिको बलमा पुरानो व्यवस्था फाल्न चाहन्छ, अपितु त्यस ग्रामिण जनसंख्याको प्रतिनिधि हो जो यस पुरानो व्यवस्थाभित्र जडवत थुनिएर बसेको छ र उसले के आशा पालेर बसेको छ भने साम्राज्यको भुतले उसलाई र उसको सानो जोतलाई जोगाउने छ र उसलाई विशिष्ट स्थानमा विराजमान गराउने छ। बोनापार्ट वंश किसानहरुको जागरणको होइन, उनीहरुको अन्धविश्वासक हो; उनीहरुको विवेकको होइन, उनीहरुको पूर्वाग्रहको प्रतिनिधि हो; उनीहरुको भविष्यको होइन, उनीहरुको अतितको प्रतिनिधि हो, त्यो किसान विद्रोहको प्रतिनिधि होइन प्रतिक्रान्तिकारी विप्लवको प्रतिनिधि हो।
प्रस्तुति टंक कार्कीबाट।